महोत्तरी समाचारदाता (नागेन्द्रकुमार कर्ण)
महोत्तरी, भदौ ४ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पताल जलेश्वरको सेवा, सुधार गर्न स्थानीयबासीहरुले मुख्यमन्त्रीलाई गुहारेका छन् ।
जलेश्वर उद्योग वाणिज्य संघको अगुवाईमा वडाध्यक्षसहितका युवाहरुको एक सम्मिलित टोली मुख्यमन्त्री कहाँ पुगेर अस्पताल सुधारको लागि चार वुँदे माँग समेत पेश गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा लापरवाहीका कारण प्रादेशिक अस्पताल जलेश्वर ‘‘रोग निको पार्ने संस्था नभई, रोगी ढिलाइमै मार्ने ठाउँ’’ बनेको आरोप लगाएका छन् । काठमाण्डौंको वीर अस्पतालसंगै स्थापना भएको प्रादेशिक अस्पताल जलेश्वरमा देखिएको चरम लापरवाही, उपकरण तथा जनशक्तिको अभावले यसक्षेत्रको जनताको स्वास्थ्य अधिकार कुण्ठित भइरहेको भन्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहको ध्यानाकर्षण गराइएको छ ।
जलेश्वरबासीले हरेक नागरिकले स्वास्थ्य उपचार पाउनु उसको मौलिक अधिकार भएपनि जलेश्वरमा रहेको प्रादेशिक अस्पतालमा उचित उपचार नपाएर मधेशका जनता अकालमै ज्यान गुमाउन वाध्य रहेको भन्दै सुधारको लागि चार वुँदे माँग प्रस्तुत गरेका छन् ।
अस्पतालमा औषधी तथा अत्यावश्यक सामग्री तुरुन्त उपलब्ध गरियोस, इमरजेन्सीमा २४ सैं घण्टा चिकित्सकको अनिवार्य उपस्थितीको व्यवस्था लागु गरियोस, भेन्टिलेटर, आइसियु, डायलायसिस लगायतका उपकरण शीघ्र सञ्चालनमा ल्याइ सक्षम जनशक्ति खटाइयोस, अस्पताल प्रशासनमा सेवामुखी, पारदर्शी र जवाफदेही प्रणाली लागु गरियोस् लगायतका माँगहरु अघि सारिएको छ ।
ज्ञातव्य छ, प्रादेशिक अस्पताल जलेश्वरमा कोराना कालमै पाँच शैयाको भेन्टिलेटरसहितको आइसियु जडान भएपनि जनशक्ति अभावमा अहिलेसम्म सुचारु हुन सकेको छैन भने विगत डेढवर्षदेखि डायलायसिस पनि सुचारुको पर्खाइमा रहेको छ । अहिलेसम्म यस अस्पतालमा १५ शैयाका स्थायी दरबन्दी मात्रै रहेको छ भने ५० शैयाको अस्थायी दरबन्दी रहेको छ जसको म्याद हरेक तिन तिन महिनामा थप्नुपरिरहेको छ ।
ज्ञापनपत्रमा मधेश सरकारले प्रादेशिक अस्पताल नाम राखेपनि यहाँ सामान्य औषधि, सिरिन्च, क्यानुला, सर्जिकल ब्लेडजस्ता आधारभूत सामग्रीहरुको समेत चरम अभाव हुनुका साथै सरकारले ९८ प्रकारको औषधीहरु निःशुल्क दिने भनिएपनि यहाँ १०÷१२ प्रकारको औषधीहरु मात्रै पाइरहेको उल्लेख गरिएको छ । पटक पटक विभिन्न निकाय र सरोकारबालाहरुले अनुगमन गर्छन तर सुधार केही नभएकोले यसक्षेत्रका जनताहरुमा निराशा देखिएको ज्ञापनमा उल्लेख छ ।
संघीयतापछि जलेश्वर अस्पतालको कायापलट हुनेमा आशावादी रहेका जलेश्वरबासीहरु प्रदेश सरकारकै अन्र्तगत रहेपनि अस्पताल आफै विरामी पर्दै गएकोमा दुःख लागेको ज्ञापनमा उल्लेख गरिएको छ ।
जलेश्वरबासीहरुले मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र बुझाउँदै जनताको स्वास्थ्यमाथि खेलवाड वर्दास्त नगरिने भन्दै प्रादेशिक अस्पताल जलेश्वरमा देखिएको लापरवाही तुरुन्त अन्त्य भएन भने आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ ।
ज्ञापनपत्र बुझनुहुदै मुख्यमन्त्री सतिश सिंहले अस्पतालमा सेवा सञ्चालनको लागि पहल गर्ने आश्वासन दिनुभयो ।
दुई चिकित्सकसहित चारजनालाई स्पष्टीकरण
महोत्तरीस्थित प्रादेशिक अस्पताल जलेश्वरमा कार्यरत दुई मेडिकल अधिकृतसहित चार स्वास्थ्यकर्मीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लिखित स्पष्टीकरण माग गरेको छ ।
मुख्यमन्त्री सिंहको निर्देशनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालका मेडिकल अधिकृतद्वय डा. शिखा अधिकारी र डा. सद्रे आलम तथा स्टाफ नर्सद्वय मन्दिकाकुमारी यादव र रञ्जिता साहलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएका छन् ।
सेवाग्राहीलाई उपचारमा समस्या भएको, सेवाप्रवाहमा लापरबाही भएको तथा स्वास्थ्यकर्मीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको सूचनाको आधारमा स्पष्टीकरण माग गरिएको छ ।
मधेश प्रदेश निजामती सेवा ऐन, दफा ८६ को उपदफा १ (खण्ड) घ अनुसार आचरणसम्बन्धी नियम उल्लङ्घन भएमा र उपदफा १ (खण्ड) च अनुसार जानाजान सेवा प्रवाहमा ढिलासुस्ती गरी सेवाग्राहीलाई हानी पु¥याएमा कारबाही गर्नसकिने व्यवस्था भएकाले सोही आधारमा स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ ।
मुख्यमन्त्री सिंहले तत्काल आवश्यक छानबिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका थिए । स्पष्टीकरण सोधिएकामाथि सेवाग्राहीलाई उपलब्ध हुनुपर्ने स्वास्थ्य सेवा नदिएको, आचारसंहितापालना नगरेको तथा कार्यसम्पादनमा लापरबाही गरेको आरोप लागेको छ ।
तीन दिनभित्र स्पष्ट जवाफ नआए मन्त्रालयले आवश्यक कारबाही अघि बढाउने पत्रमा उल्लेख छ ।
No comments:
Post a Comment