धिरेन्द्र राय
महोत्तरी, भदौ ६ गते । ट्राफिक कार्यालय जलेश्वरले श्रावण महिनामा ४३५ वटा सवारीहरुलाई विभिन्न किसिमको जरिवानाबाट तिन लाख ८३ हजार रुपैया राजश्व संकलन गरेको छ ।
ट्राफिक कार्यालय जलेश्वरका प्रमुख प्रहरी सहायक निरिक्षक रमेश कुमार श्रेष्ठले जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका तथा पिपरा गाउँपालिकाको कार्यक्षेत्रबाट श्रावण महिनामा सो राजश्व उठाउन सफल भएको जानकारी दिनुभयो ।
उहाँले सो क्रममा सबभन्दा बढी मोटरसाइकल चालकलाई कारवाहीको दायरामा ल्याइएको बताउनुभयो । उहाँले २९६ मोटरसाइकल, ६९ ट्रक, ४३ कार, २१ टेम्पु, तिन बस, दुई टै«क्टर र १ टिपरलाई जरिवाना तिराइएको जानकारी दिनुभयो ।
सवारी चालकहरुले तोकिए भन्दा बढी स्पिड तथा क्षमता भन्दा बढी सरसामान राखेको पाइएपछि जरिवानाको दायरामा ल्याएको तथा मोटरसाइकलका चालकहरुले हेल्मेट नलगाएको, ब्लुबुक र लाइसेन्स नबोकेकोले जरिवाना गराइएको बताउनुभयो ।
उहाँले प्रतिदिन ट्राफिक प्रहरी विभिन्न रुटमा सवारी चालकहरुलाई जनचेतनामूलक जानकारी समेत उपलब्ध गराउने गरिएको बताउनुहुदै अटेर गर्ने चालकहरुलाई कानूनी दायरामा ल्याएर जरिवाना तिराउने गरिएको बताउनुभयो ।
उहाँले चेकजाँचलाई निरन्तरता दिएको कारण अहिले जनचेतना बढेर कागजात तथा लाइसेन्स बोक्नेहरु बढेकोले कारवाहीको संख्या कम भएको ट्राफिक प्रमुख श्रेष्ठले बताउनुभयो ।
No comments:
Post a Comment