Monday, September 7, 2015

महोत्तरीको जलेश्वरमा विशाल जुलुस प्रर्दशन


महोत्तरीको जलेश्वरमा विशाल जुलुस प्रर्दशन
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ २१ गते । विद्यालय बन्द गरी आन्दोलनमा उत्रेका शिक्षकहरुले सोमबार महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा विशाल जुलुस प्रर्दशन गरेका छन् ।
शिक्षक महासंघको अगुवाईमा शिक्षकहरुको विभिन्न फ्रन्टहरु तथा जिल्लाका स्वास्थकर्मीहरु, वित्तिय संस्थाका प्रतिनिधि, निजामती कर्मचारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पेशागत संगठन समेतको सहभागिता रहेको थियो ।
जिल्ला शिक्षा कार्यालय महोत्तरीको प्राँगनबाट शुरु भएको सो जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः शिक्षा कार्यालयमै गएर कोणसभामा परिणत भएको थियो ।
शिक्षा कार्यालयदेखि लागेको ताँती जलेश्वर नगरपालिकासम्म देखिएको  थियो । २४ दिनसम्मको मधेश बन्दको क्रममा जलेश्वरमा पहिलोपल्ट यति संख्यामा सडकमा भिड देखिएको थियो ।

प्रर्दशन पश्चात भएको कोणसभामा सहभागी वक्ताहरुले मधेशको माँग पुरा नभएसम्म आन्दोलनलाई जारी राख्ने प्रतिवद्धता जनाएका थिए । सो कोणसभामा नेपाल शिक्षक संघका अध्यक्ष सुशिलकुमार यादव, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष जितेन्द्र सिंह, नेपाल शिक्षक युनियनका अध्यक्ष विनोदानन्द झा, नेपाल शिक्षक मञ्चका केन्द्रीय अध्यक्ष भागेन्द्र झा, नेपाल शिक्षक संगठनका अध्यक्ष फुलबाबु झा, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष राजवीर महतो, अखिल नेपाल स्वास्थ्यकर्मी संगठनका संतोषकुमार ठाकुर, नेपाल प्राध्यापक संघ यालना विद्यापीठ इकाईका मनोज झा मुक्ति, नेपाल राष्ट्रिय कर्मचारी संगठनका राजीशरण यादव, नेपाल शिक्षक मञ्चका रामदिनेश पाण्डेय, मधेशी स्वास्थ्य फोरम नेपालका श्यामदेव महासेठ, लोकतान्त्रिक शिक्षक युनियनका गणेश साह, नेपाल राष्ट्रिय कर्मचारी संगठनका सुर्यदेव यादव, नेपाल प्रगतीशिल शिक्षक मञ्चका अध्यक्ष देवेन्द्र झा, समाजवादी शिक्षक संगठनका अध्यक्ष कृष्ण चौधरी लगायतका वक्ताहरुले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
शिक्षक फ्रन्टहरुले आन्दोलनलाई समर्थन गर्दै अनिश्चितकालको लागि विद्यालय बन्द गरिसकेको छ भने निजि विद्यालयहरु समेत बन्द गरिएको छ ।
यसैबीच साउन ३० गतेदेखि गरिएको बन्दको कारणले जलेश्वरको जनजीवन प्रभावित बन्दै गएको छ ।

Friday, September 4, 2015

मधेश आनदोलन

कैप्महोत्तरी जिल्लाको नेपाल शिक्षक संघको हलमा पेशागत संघसंगठनहरुको बसेका भेलाले भदौ २१ गते सोमबार वृहद र्याली गर्ने निर्णय गरिएको छ । जस अनुसार सोमबार दिउँसो १ बजे जिल्ला शिक्षा कार्यालय महोत्तरीको अगाडीबाट र्याली प्रर्दशन हुने जनाइएको छ ।

महोत्तरी जिल्लाको नेपाल शिक्षक संघको हलमा पेशागत संघसंगठनहरुको बसेको भेलाले गरेको निर्णय

Wednesday, September 2, 2015

जलेश्वरको आन्दोलन जारी, ६ जना घाइते, लोकसेवामा तोडफोड

महोत्तरी समाचारदाता जलेश्वर, भदौ १६ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा वुधबार दिनभरी आन्दोलनकारी र सुरक्षाकर्मीबीच दोहोरो जुहारी चलेको छ । जुहारीकै क्रममा सुरक्षाकर्मीले लाठी प्रहार गर्दा ६ जना आन्दोलनकारी घाइते भएका छन् । प्रर्दशनकारीहरुले बुधबार बिहान जलेश्वरको जिरोमाईलमा रहेको प्रहरीको बिट जलाएको छ भने दिउँसो प्रदर्शनकारीले लोकसेवा आयोगको जनकपुर अंचल कार्यालयमा ढुंगा प्रहार गर्दै तोडफोड गरेका छन् ।
दिउँसोदेखि जारी रहेको प्रदर्शनकारीको प्रदर्शन र ढुंगा प्रहारको प्रतिकारको क्रममा बेलाएकडारा ९ बस्ने मेथल यादवसहित छ जना घाइते भएका छन् । सो क्रममा सुरक्षाकर्मीले दुई राउण्ड रबरको गोली फायर गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । जलेश्वरमा अहिले साँझ पनि प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गर्ने र सुरक्षाकर्मीले लखेट्ने र लाठीचार्ज गर्ने क्रम जारी छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले खैरा चोकबाट शुरु गरेको र्याली जलेश्वर महालिङ्ग मन्दिरसम्म पुगेर सम्पन्न भएको थियो ।
यसैबीच नेपाल बार एशोसिएसनको जिल्ला अदालत महोत्तरी ईकाईले मधेश आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै जलेश्वरमा र्याली निकाले । त्यही एकीकृत नेकपा माओवादीको वर्गीय संगठन मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल(क्रान्तिकारी)ले आयोजना गरेको सफल मधेश आन्दोलन बिषयक अन्तरक्रिया कार्यक्रममा केन्द्रिय अध्यक्ष रामकुमार शर्माले संयुक्त मधेश आन्दोलनका लागि सबैपक्ष एकजुट हुनुपर्ने धारणा राख्दै सशक्त रुपमा अगाडि बढ्न आग्रह गर्नुभएको थियो । अन्तरक्रियामा मधेशी मोर्चासहित नागरिक समाजका प्रतिनिधिहरुहरुले सम्पूर्ण जनमानसलाई मधेशमुक्तिको यो आन्दोलनमा लाग्न सबैमा अनुरोध गरेका थिए ।

Tuesday, September 1, 2015

प्रहरी विट जलाइयो, चार राउण्ड अश्रुग्याँस प्रहार,

प्रहरी विट जलाइयो, चार राउण्ड अश्रुग्याँस प्रहार, महोत्तरी समाचारदाता जलेश्वर, भदौ १६ गते । संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रहरी विट वुधबार बिहान जलाएको छ । सो क्रममा स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रुग्याँस प्रहार गरेका छन् । नाराबाजी गर्दै पुगेका मोर्चाका कार्यकर्ताहरुले जलेश्वरको जिरोमाईलमा रहेको प्रहरीको विट जलाएको हो । पेट्रोल छर्केर प्रहरीको बिटमा आगजनी गरेका हुन् । प्रहरीले आगजनी गर्न पुगेका मोर्चाका कार्यकर्ताहरुलाई नियन्त्रणमा लिन चार राउण्ड अश्रुग्याँस प्रहार गरेका छन् । झडप अहिले जारी रहेको छ ।
मोर्चाका कार्यकर्ताहरुले बिहानैदेखि विभिन्न चोकहरुमा टायर बालेर प्रर्दशन गरिरहेका छन् । साथै जलेश्वरको सिनेमा हल चौकमा डेरीको दुध लिएर जादै गरेको ज४प ६६२७ र अर्को ज२प ५६२७ नं. को मोटरसाईकलमा तोडफोड गरिएको छ । मंगलबारदेखि नै मोर्चाका कार्यकर्ताहरु पथ्थरबाजी गर्न थालेपछि सुरक्षाकर्मीले पनि स्थितीलाई नियन्त्रणमा लिन लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेका थिए । मंगलबार बिहानदेखि साँझसम्म सुरक्षाकर्मी र आन्दोलनकारीबीच जुहारी चलेको थियो । साँझमा भने तिनतर्फबाट घेराहाली पथ्थरबाजी गर्न थालेपछि स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड अश्रुग्याँस र केही रबरका गोली प्रहार गरेका थिए । जलेश्वर–६ का बिकास कुमार साहको दाहिने खुट्टा, धमौरा–९का राकेश सदाको पिठ्युमा रबरको गोली तथा जलेश्वरकी सीता उपाध्याय तथा रोशन ठाकुरको ढुंगा लागेर घाइते भएका थिए । मंगलबार मात्रै जलेश्वरको आधा दर्जन सरकारी कार्यालयहरुमा ढुँगामुढा गरिएको थियो भने नेपाली काँग्रेसको पार्टी कार्यालयमा तोडफोड गरिएको थियो । सोमबार नेकपा एमालेको कार्यालयमा तोडफोड र आगजनी भएको थियो ।
१९ दिनदेखिको बन्दको कारण जलेश्वरको जनजीवन प्रभावित बन्दै गएको छ । आइतबारदेखि खुलेको विद्यालय पनि वुधबारदेखि बन्द गरिएको छ । यता जिल्लाको पिपरामा रहेको इलाका प्रहरी कार्यालय खाली गराउन लागिपरेका छन् । सर्वसाधारणहरु सहोडवामा तोकिएको प्रहरी कार्यालय पिपरामा राखिएको भन्दै इप्रका पिपरा घेराउ गर्दै खाली गराउन थालिएको स्थानीयहरुले जनाएका छन् ।

जलेश्वरमा १३ राउण्ड अश्रुग्याँस प्रहार,

जलेश्वरमा १३ राउण्ड अश्रुग्याँस प्रहार, महोत्तरी समाचारदाता जलेश्वर, भदौ १५ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुलाई नियन्त्रणमा लिन मंगलबार साँझ प्रहरीले १३ राउण्ड अश्रुग्याँस प्रहार गरेका छन् । class="separator" style="clear: both; text-align: center;">
सरकारमा रहेपनि मधेशको माँगप्रति वेवास्ता गरेको भन्दै काँग्रेसको पार्टी कार्यालयमा तोडफोड गरेका हुन् । त्यसैगरी जिल्ला निर्वाचन कार्यालयको साईनबोर्ड आन्दोलनकारीहरुले उखेलेर लगेका छन् भने जिल्ला प्रशासन, जिविस, जलेश्वर नगरपालिका लगायतका कार्यालयहरुमा पत्थरबाजी गरेका छन् । त्यस्तै मोर्चाका कार्यकर्ताहरुले इलाका प्रहरी कार्यालयमा बलवामा मधेश सरकार लेखिएको स्टीकर टाँसेका छन् ।

महोत्तरी एमाले कार्यालयमा तोडफोड

एमाले कार्यालयमा तोडफोड महोत्तरी समाचारदाता जलेश्वर, भदौ १४ गते । विभिन्न माँग सहित आन्दोलनमा उत्रेका संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुले सोमबार महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा नेकपा एमालेको कार्यालयमा तोडफोड गर्नुका साथै साईनबोर्ड उखेलेर जलाएका छन् । संघीयता, सिमांकन र मधेश अधिकारको माँग गर्दै विगत दूई सप्ताहदेखि जारी अनिश्चितकालिन आम हड्तालको क्रममा आक्रोशित आन्दोलनकारीको एक समुहले एमालेको पार्टी कार्यालयमा तोडफोड गरेको हो । सो क्रममा आन्दोलनकारीहरुले साईनबोर्ड उखालेर सडकमा ल्याएर जलाएका थिए ।
नगरमा जुलुस भइरहेको बेला एक्कासी एक समूहले कार्यालय भित्रै प्रवेश गरेर तोडफोड गरेका थिए । दुईहप्तादेखिको महोत्तरी बन्दले जनजीवन प्रभावित बन्दै गएको छ । दैनिक उपभोग्य सामग्रीहरुको मूल्य बढदै गएको छ भने यातायात समेत नचल्दा जनजीवन प्रभावित बन्दै गएको हो ।

लोकसेवा कक्षा

#‎राजस्व‬ भनेको के हो ? -प्रचलित कानून बमोजिम सरकारलाई तिर्नु वा बुझाउनुपर्ने भन्सार महशुल अन्तशल्क, आयकर, मूल्य अभिबृद्धि कर, सवारी साधन कर, घर बहाल कर, सम्पत्ति कर, घर जग्गा कर, रजिष्ट्रशन दस्तुर तथा प्रचलित कानून बमोजिम लाग्ने अन्य कर तथा गैरकर लाई राजस्व भनिन्छ । ‪#‎गैर_कर‬ भनेको के हो ? -सबै प्रकारको प्रशासनिक दस्तुर (मालपोत, रोयल्टी), सेवा शुल्क, रोयल्टी लाभांश, साँवा ब्याज, सार्वजनिक सम्पत्तिको विक्रिबाट प्राप्त आय तथा नेपाल सरकारले प्रचलित कानून बमोजिम लगाएको सबै दस्तुर तथा शुल्कलाई गैरकर भनिन्छ । ‪#‎राजस्व_चुहावट‬ भनेको के हो ? :- राजस्व नतिर्ने वा कम तिर्ने नियतले कुनै काम गरेमा, :- राजस्व कम तिर्ने वा नतिर्ने उद्देश्यले गलत लेखा, विवरण वा कागजात प्रस्तुत गरेमा, :- भन्सार विन्दुमा तिर्नु वा बुझाउनु पर्ने राजस्व नतिरेमा वा कम तिरेमा, :- कुनै व्यक्तिले अर्काको नाममा उद्योग व्यापार वा व्यवसाय गरी निकासी पैठारी गरेमा वा कुनै विदेशी कम्पनी वा संघ संस्थाको एजेन्ट भएमा सो कुरा देखाई तिर्नु वा बुझाउनुपर्ने राजस्व नतिरेमा वा छलेमा, :- कर्मचारीको कार्यमा वाधा विरोध गरेमा, कर्मचारीलाई प्रभाव पारी तिर्नु वा बुझाउनु पर्ने राजस्व नतिरे वा कम तिरेमा,वा मिलेमतो गरी गलत लिखत वा कागजात तयार गरेमा

मधेश केन्द्रित दल वादीदलका शिर्षस्थ नेताहरुले जलेश्वरमा गरे सम्बोधन

महोत्तरी समाचारदाता जलेश्वर, भदौ १० गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा मधेशवादीदलका शिर्षस्थ नेताहरुले बिहीबार साँझ सम्बोधन गर्नुभएको छ । संघीय फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो, तराई मधेश समाजवादी पार्टीका अध्यक्ष महेन्द्रकुमार यादवले सम्बोधन गर्नुभएको थियो । जलेश्वरको दुर्गा चोकमा भएको सम्बोधनको क्रममा मधेशका शिर्षस्थ नेताहरुले विगतमा सरकारले मधेशवादीदलहरुसंग गरेको सम्झौता पुरा नभएसम्म वार्तामा नजाने अडान राख्नुभएको थियो । त्यसैगरी नेताहरुले मधेशका जिल्लाहरुमा गरिएको सेना परिचालन प्रति आपत्ति जनाउनुहुदै सेना परिचालन फिर्ता गर्नुपर्ने माँग समेत राखेका थिए । सम्बोधनको क्रममा संघीय फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक पद्धतिबाट भइरहेको अधिकार प्राप्तीको लागि यो आन्दोलन माँग पुरा नभएसम्म जारी रहने बताउनुहुदै यो आन्दोलनले मधेशलाई अधिकारसम्पन्न बनाउने दावी गर्नुभयो । वर्तमान सरकारले रोजगार, विकास र अधिकारबाट मधेशलाई बन्चित राखेको वताउनुहुदै उहाँले यी आन्दोलनले सबै अधिकारलाई संस्थागत गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्तमान सरकारले मधेशीलाई रोजगार, विकास र अधिकारबाट बन्चित राखेकोले आन्दोलन गर्नुपरेको छ र यो आन्दोलनले अधिकारलाई संस्थागत गर्ने छ ।’ राजा लगायत अन्य आन्दोलनहरुमा पनि अहिलेसम्म जनताको विरोधमा सेनाको परिचालन नगरेको वताउनुहुदै उहाँले तत्काल सेना परिचालन फिर्ता लिनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी तराई मधेश लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले तराईमा भइरहेको घटना सुनियोजित भएको आरोप लगाउनुहुदै सरकारले तत्कालै यी घटना रोक्नुपर्ने वताउनुभयो । उहाँले विगतमा प्राप्त भएको अधिकारलाई पनि खोस्ने प्रयास भइरहेको वताउनुहुदै अब मरेर पनि आन्दोलनलाई संस्थागत गरेर जाने वताउनुभयो । त्यस्तै तराई मधेश सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष महेन्द्रकुमार यादवले अहिलेको आन्दोलनलाई उचाईमा पु¥याउन जनतालाई अपिल गर्नुहुदै अबको आन्दोलन निर्णायक आन्दोलन हुने वताउनुभयो । कार्यक्रममा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि सेना परिचालन फिर्ता लिनुपर्ने वताउनुहुदै विगतका सम्झौता कार्यान्वयन नभएसम्म सरकारसंग वार्ता नगर्ने वताउनुभएको थियो । मधेशवादीदलका शिर्षस्थ नेताहरु सम्बोधन पश्चात आ–आफ्नो पार्टी कार्यालयमा गएर कार्यकर्ताहरुलाई आन्दोलनलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको थियो भने बिहीबारै महोत्तरीको गौशालामा पनि सम्बोधन गर्ने जनाइएको छ ।

पुर्व सहमति कार्यान्वयन नभएसम्म वार्ता असम्भव ः महन्थ ठाकुर

पुर्व सहमति कार्यान्वयन नभएसम्म वार्ता असम्भव ः महन्थ ठाकुर महोत्तरी समाचारदाता जलेश्वर, भदौ १० गते । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री सुशिल कोइरालाले आव्हान गरेको वार्ता नाटक मात्रै भएको बताउनुभएको छ । वुधबार साँझ महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आन्दोलनकारीहरुलाई सम्बोधन गर्नुहुदै उहाँले वार्ता मधेश आन्दोलनलाई वंग्याउने षडयन्त्र भएकोले पुर्वमा भएको सहमति कार्यान्वयन नभएसम्म वार्तामा जाने औचित्य नभएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, ‘आन्दोलनमा भइरहेको दमन बन्द गर्नुपर्ने, विभिन्न भागमा परिचालन गरिएको सेना फिर्ता गर्नुपर्ने, पक्राउ परेकाहरुलाई रिहा गर्नुपर्ने तथा विगतमा भएको सहमति र सम्झौतालाई सम्बोधन नगरेसम्म वार्ता गर्नुको औचित्य नै छैन् ।’ प्रधानमन्त्रीले आफुलाई फोन गरेको बताउनुहुदै अध्यक्ष ठाकुरले मधेश र मधेशी माथी सत्तापक्षले बारम्बार धोका गर्दै आएकोले यसपालिको आन्दोलन निर्णायक आन्दोलन हुने बताउनुहुदै ठगिने वार्तामा आफुहरु बस्न तयार नरहेको जानकारी समेत दिनुभयो । उहाँले अहिलेको अवस्थामा जति दमन, अत्याचार गरेपनि समग्र मधेश एक स्वायत्त प्रदेशको माँग पुरा नभएसम्म पछाडि फर्किन नसकिने अडान समेत राख्नुभयो । उहाँले सम्बोधनको क्रममा मधेशको कुनै भागलाई पहाडमा मिसायो भने आफुहरुलाई मान्य नहुने अडान समेत दोहो¥याउनुभएको थियो । सम्बोधनपश्चात रात्री विश्रामको लागि ठाकुरसहित आएका अन्य कार्यकर्ताहरु भिठा पुग्नुभएको थियो ।

महोत्तरीको सदरमुकाम जलेश्वर तनावग्रस्त

महोत्तरीको सदरमुकाम जलेश्वर तनावग्रस्त महोत्तरी समाचारदाता जलेश्वर, भदौ ९ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपको कारण जलेश्वरको स्थिती तनावग्रस्त बनेको छ । जलेश्वरको दुर्गाचोक, शंकर चोक लगायतका विभिन्न ठाउँमा प्रहरी र प्रर्दशनकारीबीच झडप भएको हो । झडपमा प्रहरी तर्फ केहीलाई ढुँगा लागेको छ भने प्रहरीको लाठीचार्जबाट पनि केही प्रर्दशनकारी घाइते भएको जनाइएको छ । झडपको बीचमै प्रर्दशनकारीहरुले कार्यालय परिसरमा लगाइएको नापी कार्यालयको बा१झ ७५७७ नम्बरको गाडीमा आगजनीको प्रयास गरेको छ । त्रिपालले छोपेर राखिएको गाडीमा आगो लगाएपछि त्रिपाल जलेपनि गाडी भने जल्न पाएनन् । अहिले पनि जलेश्वरमा प्रर्दशनकारीहरु छरिएर रहेका छन् । झडपको कारण सदरमुकाम जलेश्वर जोडने विभिन्न सडकखण्डमा अहिले मुढाहरु तेर्सयाएर सुरक्षाकर्मीको लागि अवरोध श्रृजना गर्ने कार्य गरिएको छ ।

सशस्त्र प्रहरीको वेशक्याम्प जाने बाटोको तिन ठाउँमा सुगा गाविसका युवाहरुले ठुलठुला मुढाहरु तेर्सयाएर बाटो अवरुद्ध गरेका छन् । त्यसैगरी जिल्लाको मटिहानी, सरपल्लो, रामगोपालपुर लगायतका ठाउँहरुमा समेत बन्द गरिएको छ । यसैबीच जिल्लाको बर्दिबासमा सदभाव ¥याली निकालिएको छ । स्थानीय वासिन्दाहरु मिलेर हिमाल पहाड तराई कोही छैनन् पराई भन्दै सदभाव ¥याली निकालेका हुन् ।

Monday, August 31, 2015

Tuesday, March 17, 2015

जिल्ला स्वास्थ्य कार्यालयमा लाखौको अनियमितता

जिल्ला स्वास्थ्य कार्यालयमा लाखौको अनियमितता कमलेश मण्डल महोतरी, चैत ३
जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीमा ब्यापक आर्थिक अनियमितता भएको खुलासा भएको छ। जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा.रामपरिक्षण यादव र लेखापाल रामप्रसाद लुइँटेलले सार्वजनिक खरिद ऐन र निमावली विपरित औषधि, सजिर्कल उपकरण र मसलन्द लगायतका साम्रगी खरिदमा व्यापक आर्थिक अनियमितता गरेको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयले ९ बुँदे स्पष्टीकरण माग गरेपछि सो प्रकरण बाहिर आएको हो। जनस्वास्थ्यको औषधी खरिद प्रक्रियामा खरिद गरेको औषधीको मूल्य बजारमा विक्री हुनेभन्दा तीन गुणाले बढी देखिएपछि अनियमितताको शंका गरिएको छ। आन्तरिक औषधी खरिदमा कर्मचारी नै सप्लायर्सको मिलोमतोमा आपूर्ति गर्दै आएकोमा यसपटक डा. रामपरिक्षण यादव र लेखापाल लुइँटेलले आफना निकट सप्लायर्सबाट ५ लाख रुपैयाँको औषधि खरिद गरी सोझै बिलबाट भुक्तानी गरेपछि अनियमितता उजगार भएको हो। प्रजिअ दीपक काफ्ले आर्थिक अनियमितताबारे आवश्यक छानवीन र अनुसन्धान थालिएको बताए। उनका अनुसार डा.यादवलाई इन्धन खरिद, मसलन्द खरिद, सर्जिकल उपकरण खरिद लगायतका ९ बुँदे शीर्षकमा स्पष्टीकण सोधिएको छ। अस्पताल सञ्चालन समितिको स्वीकृति विना गरिएको औषधी खरिदमा अनियमितता गरेको अस्पताल विकास समिति पूर्व अध्यक्ष धर्मेन्द्र रायले बताए। उनका अनुसार टेण्डर विनै विरामीका लागि आवश्यक नभएका औषधी समेत खरिद गरिएको बताए। औषधी खरिद सँगै एम्बुलेन्स सञ्चालनमा पनि अनियमितता भएको छ। अस्पतालको गाडी र एम्बुलेन्स मर्मत र इनधन विलमा डा. यादवले अनियमितता गरेका छन। उनले आफनो निजि कार्यमा प्रयोग गरिने गाडीको इनधन विल समेत अस्पतालमा तिराउने गरेका छन। उनले पेट्रोल पम्पको नक्कली विल पेश गरी भुक्तानी लिएका लेखा शाखाले जनाएको छ । दराज, औषधी खरिदमा नक्कली विल समेत पेश गरी भुक्तानी लिएको लेखास्रोतले जनाएको छ। स्वास्थ्य विभागले गर्भवती तथा सुत्केरी उत्पे्ररणा सेवाका लागि ८ लाख, आमा सुरक्षा कार्यक्रमको सेवा प्रदान सोध भर्ना तथा यातायात शिर्षकमा ७३ लाख गरी ८१ लाख रुपैया बजेट जिल्ला स्वास्थ्य कार्यालयलाई निकासा गरेपनि यसको समेत दुरुपयोग भएको पाइएको छ। उता कार्यालयले आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा विनियोजन गरेको रकम मध्ये महोत्तरीमा ६७ लाख १६ हजार १ सय रुपैया मात्र खर्च भई १३ लाख ८३ हजार ९ सय रुपैया फ्रिज भएको छ। यसको पनि सम्पूर्ण रकम खर्च भएको भनी बिल बनाएर रकम दुरुपयोग भएको आरोप लागेको छ। तर सवै रकमको विल भर्पाई नक्कली भेटिएपछि अख्तियार चासो लिई फाईल नियन्त्रणमा लिएपछि जिल्ला स्वास्थ्य कार्यालय महोतरी कर्मचारी वृतमा खैलाबैला मचेको छ। आमा सुरक्षा कार्यक्रम अन्तर्गत जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट तथा जन स्वास्थ्य प्रमुख डाक्टर राम परिक्षण यादवले विना टेण्डर आहवान गरी ११ लाख रुपैयाको न्यानो झोला खरिद गरेको हो। आमा सुरक्षा कार्यक्रमको निर्देशिका र सार्वजनिक खरिद ऐन नियमावली विपरित सो समान काठमाण्डौ स्थित आकु ईन्टरप्राईजेज मार्फत खरिद गरिएको हो। सो प्राईजेजलाई पुसको अन्तिम सातामा ११ लाख रुपैया भुक्तानी दिईएको जिल्ला स्वास्थ्य कार्यालय लेखा शाखाले जनाएको छ।। खरिद गरिएका न्यानो झोलामा आमाका लागि म्याक्सी, सरसफाइ सामग्री र नवजात शिशुका लागि टोपी, भोटो, मोजा नेप्किन पेटो बच्चाको घाँटीमा बाँध्ने र्याले रुमाल भुइँमा ओछ्याउने म्याटलगायत १३ वटा सामानहरु रहेका छन्। लेखा शाखा स्रोतका अनुसारस्वास्थ्य कार्यालयका कर्मचारीहरुले आर्थिक चलखेल गरि न्यानो झोला अर्न्तगत खरिद गरिएका समानहरु महगो मुल्य देखाईएको छ तर सो समानहरु स्ास्तोमा गुण्स्तरहीन खरिद गरि स्टोर दाखिला गरेको छ। गुण्नस्तरहीन खरिद गरेपछि स्वास्थ्यकर्मीले विरोध समेत जनाएका थिए तर हाकिमको ठाडो आदेशले सार्वजनिक खरिद ऐन नियमावलीलाई मिच्दै प्राईजेजलाई ११ लाख रुपैया भुक्तानी दिईएका लेखा शाखाले जनाएको छ। त्यस्तै आव २०७०।०७१ अस्पतालको मर्मत खर्चमा २ लाख ५ हजार २ सय ५३ रुपैया, कार्यालय खर्चमा १० लाख ३५ हजार ४ सय १० खर्चमा १ लाख ४६ हजार ९ सय ३१ रुपैया हेजार्ड र डिलेभरीको नाममा ३ लाख ४५ हजार ८ सय ८१ रुपैयाको आर्थिक अनियमितता गरेका छन भने चालु आवमा माघ मसान्त सम्ममा अस्पतालको भत्तामा १ लाख ७९ हजार ५ सय ९५ औषधी खरिदमा २ लाख ५९ हजार ५ सय ८९ कार्यालय खर्चमा ७ लाख ७७ हजार ५० रुपैयाको आर्थिक अनियमितता गरेको अस्पताल स्रोतले जनाएको छ। जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरिन्टेन्डेन्ट समेत रहेका डा. यादवले स्वास्थ्य केन्द्रहरुका लागि १७ लाखको मसलन्द, तौलिया, सावुन विना टेण्डर आवहान गरी खरिद गरी आर्थिक अनियमितता भएको भन्दै जिप्रकामा उजुरी परेका थियो। डा.यादवले जिल्ला अस्पताल सुदृढिकरण तथा सेवा सञ्चालनका लागि ४२ लाख रुपैया बजेटमा मनोमानी तरिकाले बजेट खर्च अनियमितता गरेका छन। उनले कागजमै बढी काम देखाएको छ। निर्देशिका विपरित १३ लाख रुपैया पोखरी मर्मत सम्भारमा खर्च गरिएको छ। अस्पतालको शुरु योजना नै नबनाई ३ लाख रुपैया खर्च गरेका छन। अस्पतालका लागि फर्निचर खरिद औजार खरिद तथा मर्मत, विधुत खानेपानी तथा ढल निकास व्यवस्थापन, अस्पतालजन्य फोहर मैला व्यवस्थापन तथा संक्रमण रोकथाम र मर्मत सम्भारको रकम मनोमानी तरिकाले खर्च गरी आर्थिक अनियमितता गरेका छन। प्रमुख डा.राम परिक्षण यादवले विपन्न विरामीलाई निःशुल्क औषधी खरिदका लागि आएको सामाजिक सुरक्षा इकाइ बजेट समेत दुरुपयोग गरेका छन। तर यता डा.यादवले आफूले सार्वजनिक खरिद ऐन र नियामावली विपरित कुनै काम नगरेको बताए। आफूले कुनै नियत बस कुनै गल्ती नगरेको समेत बताए। सार्वजनिक खरिद ऐन नियमावली २०६४ को अनुसार पाँच लाखभन्दा बढीको समान खरिद गर्नुपर्दा बोलपत्र आहवान गर्नुपर्ने प्रावधान रहेको छ। समान खरिदका लागि अनिवार्य स्थायी लेखा नम्बर भएको कम्पनी छनोट गर्नुपर्ने व्यवस्था छ। पत्रिकामा सूचना प्रकाशन गर्ने व्यवस्था छ। प्रकाशित मिति: मंगलबार, चैत्र ३, २०७१ १३:३४:२०

मासिँदैछ हिन्दुहरुको प्रशिद्ध जनकपुर धाम भगवान रामको ससुरालीमा भ्रष्टाचारको धमिरा

मासिँदैछ हिन्दुहरुको प्रशिद्ध जनकपुर धाम भगवान रामको ससुरालीमा भ्रष्टाचारको धमिरा २०७१ चैत ३ गते १२:१० मा प्रकाशित 624 18 1 नवीन झा ३ चैत, जनकपुर । हिन्दु मिथकअनुसार भगवान रामचन्द्रको शासनलाई भ्रष्टाचार र बेथितिबाट मुक्त ‘राम राज्य’ मानिन्छ । तर, तिनै भगवान रामचन्द्रको ससुराली घर मानिने जनकपुर धाममा यतिबेला ‘राम राज्य’को साटो भ्रष्टाचारी र भूमाफियाहरुले ‘हराम-राज्य’ चलाइरहेका छन् । जानकी मन्दिर जानकी मन्दिर धनुषाको जनकपुर नगरपालिकाभित्र मात्रै १४ वटा राजगुठीहरु छन् । जानकी मन्दिर, सीताकुण्ड र वीरपुर गुठी भने छुटगुठी अन्तरगत राखिएका छन् । यहाँका सबै गुठीहरु अतिक्रमणमा परेका छन् । प्रशिद्ध जानकी मन्दिरको जमीनमा सबैभन्दा बढी अतिक्रमण भएको छ । जनकपुर नगरपालिका क्षेत्रको गुठीको जमीनमा कतिसम्म अतिक्रमण भएको छ भने राममन्दिरको साविक २ हजार ८ सय ६७ विगाहा जग्गामध्ये २५ सय विगाहा अतिक्रमणमा परिसकेको छ । जानकी मन्दिरको ६ सय विगाहमध्ये ५ सय ३० विगाह, लक्ष्मण मन्दिरको ४ सय १० विगाहामध्ये ३ सय ९० विगाहा र रत्नसागरको ६५ विगाहामध्ये ४२ विगाहा जमीन अतिक्रमणमा परेको छ । त्यस्तै कुवा मठको ४ सय ८५ विगाहामध्ये ४ सय ६० विगाहा र हनुमान मठको १ सय ४३ विगाहा मध्ये १ सय ३० विगाहा जमीन अतिक्रमणमा परेको छ । गुठीकोे शरणमा आएका महन्थहरुले नै गुठीको श्रीसम्पति नै विनाश गर्ने खेलको अगुवाइ गरेकाले देवभूमिमा भूमाफियाको व्यापार चलिरहेको छ । यसमा गुठी संस्थान, मालपोत, नापी कार्यालय र महन्थ मात्र होइनन्, अपराधकर्मीहरु समेत सक्रिय देखिएका छन् । जनकपुरधाममा ७२ तलाउ, १५ कूप (कुवा), १५ शिवालय, २४ देवीपीठ, ५ उपवन, २६ ऋषि आश्रम बनेको तथ्यांकमा देखिन्छ । तर, ती मठमन्दिर, कुटी, सरोवर र कुण्ड आदि अतिक्रमणमा परेर लोपोन्मुख छन् । रामानन्द सम्प्रदायका उन्नायक सन्त रामानन्दको गुठी जमीनसमेत भूमाफियाको हातबाट बेचिइसकेको छ । वैष्णव सन्त रामानन्दका नाममा अहिले सार्वजनिक चोकमात्रै बाँकी छ । जानकी माताका लागि बनेको पवित्रतम् पयश्विनी सर (पोखरी) मासेर निरन्जन साहले मानकी होटल खडा गरेका छन् । पवित्र जनक सरोवरलाई वकिल टोलका वासिन्दाले लोप गराइसकेका छन् । अमृतकुण्ड, बलदेवसर र गोपालसरलगायतको जमीन व्यापारीहरुले कब्जा गरेर मांस मदिरा बेच्ने बजार बनाएका छन् । त्यस्तै जनकपुरका प्रशिद्ध तैलघृतिकासर, मण्डनसर, चन्द्रकुप, रामसागर, मुरली-सर, पादप्रक्षालन (गोडधोई)सर, पुरन्दरसर, पाकवतीसर, दीर्घिकासर, लक्ष्मणसर, सेवामन्तकसर, धूतपापसर, सीताकुण्ड, पापमोचनीसर आदिले पनि निरन्तर अतिक्रमण झेल्दैछन् । भारत टिकमगढकी महारानी वृषभानु कुँवरले जानकीको जन्म क्षेत्रलाई धार्मिक र दैविक पहिचान दिन सन् १९९८ मा जानकी मन्दिर बनाइदिएकी थिइन् । यसै मन्दिरको संरक्षणका लागि धनुषा र महोत्तरी जिल्लामा विभिन्न २३ गुठी खडा भई ६ हजार विगाहाभन्दा बढी जमीनको देवगुठी स्थापित भएको थियो । यी गुठीको ५ हजार विगाहा भन्दा बढी जमिन व्यक्तिको भोगचलनमा पुगिसकेको छ । महन्थलाई लुटको लाइसेन्स जानकी मन्दिरको जमीन राजगुठी भए पनि छुटगुठीमा राखेर महन्थको जिम्मा लगाएदेखि नै जानकी भूमि हरणको खेल शुरु भएको देखिन्छ । MAHANTHA यो गुठीको रेखदेख संस्थान आफैले गर्नुपर्नेमा सो नगरी मन्दिरको कुनै पनि सम्पति कुनै पनि तवरले बेचबिखन, दान दातव्य वा मनखपद्वारा कसैलाई पनि दिन नपाउने शर्तमा गुठी संस्थानले सम्पूर्ण जिम्मेवारी महन्थलाई सुम्पिएपछि गुठीको जमीनमा महन्थको मनोमानी चल्न थालेको हो । यसमा गुठी संस्थान आफैं लुटको साक्षी बनेको छ । गुठी संस्थानको जनकपुर कार्यालयले नै जानकी मन्दिरको पुरानो श्रेस्ता, अर्थात् सम्वत १९८३ को लागत गायव बनाइदिएपछि यस देवभूमिमा भूमाफियालाई कब्जा जमाउन सजिलो भएको छ । गुठीको पुरानो श्रेस्ता नभेटिएपछि, ०२९ सालमा जनकपुर अञ्चलाधीश कार्यालयले तत्कालीन महन्थ रामशरणदास वैष्णवबाट गुठीको जग्गाको फाँटवारी मागेको थियो । महन्थ रामशरणदास वैष्णवले फाँटवारी दिँदा धेरै जमीन लुकाए । तर, गुठी संस्थानले यसै फाँटवारीलाई जानकी मन्दिरको आधिकारिक दस्तावेज मान्यो । रामशरणदासले अञ्चाधीश कार्यालयलाई साविक बेल्ही बिर्ताको किशोरनगर, रजौली र पिडारी वरपरको ९७ विगाहा ८ कठ्ठा ८ धुर जतिको लगत दिएका थिए । धेरै जमीन लगतमा नपारिएपछि देवगुठीको सम्पति बेवारिसे हुन गयो । स्थानीयले गुठी संस्थानलाई हारगुहार लगाएपछि, गुठी संस्थानले छुटगुठी बनाएर रेखदेखको सम्पूर्ण जिम्मेवारी महन्थ रामशरणदास वैष्णवलाई नै सुम्पियो । यसपछि महन्थले मनोमानी गर्ने लाइसेन्स पाएजस्तो गरेर गुठीको जमीन बेचविखन गर्न थाले । रामशरणदासले बेंगा शिवपुर गाविसमा रहेको जानकी मन्दिरको जमिन स्थानीय नेता तथा व्यापारीहरुलाई प्रतिकठ्ठा २५ हजार देखि ५० हजारसम्ममा बेचविखन गरेर देवभूमि विनाशको कार्य शुरु गरेका थिए । महन्थको मनखप (खाईपाई तलव), दोकानी (खुद्रा खर्च) तथा पूजा (खर्च) चलाउने वहानामा रामशरण दासले देवभूमिको जमीन ०४४ देखि नै बेच्न थालेका हुन् । ०४६ सालमा व्यवस्था परिवर्तन भएको ५ वर्षे लुटको अवधिमा महन्थको दरबारमा गुठी जमीन किनबेचको ठूलो धन्धा चल्यो । महन्थले मनखप वापत आफूले गुठीको जमीन लिएर सो जमीन व्यक्तिलाई बेचिदिएको लिखत बनाइदिन्थे । त्यही लिखतका आधारमा ०५१ सालको नापीको मौका छोपेर व्यक्तिहरुले गुठीको जमिन आ-आफ्नो नाममा गराए । ०५१ सालमा नापी गरिएको जमीन गुठी संस्थान ऐन २०३३ को संसोधनसहितको दफा २५ (३) लगाएर रैतानी दर्ता गरिएको थियो । महन्थको जालसाजपूर्ण लिखतलाई गुठी संस्थान, मालपोत कार्यालय र नापी विभागले मान्यता दिएपछि महन्थले स्थानीय भूमाफियासँग मिलेर गुठी जमीनको खुला कारोबार नै चलाए । मनगढन्ते मनखपका आधारमा जानकी मन्दिरको जमीनमा अहिले ४ सय ५० भन्दा बढी परिवारले घर र बजार बनाएका छन् । छानविन अयोगले के भन्छ ? घिमिरे आयोगको प्रतिवेदनको २ सय ४६ औं नम्बरमा जानकी भूमि अतिक्रमणकारी भनेर एमालेका वरिष्ठ नेता रघुविर महासेठको नाम दिएको छ । दशरथ तलाउको पूर्वको जानकी मन्दिरको जमीनमा रघुविर महासेठसहित अशोक महासेठ, रामबाबु महासेठ, विजय महासेठ र मुकेश महासेठहरुको समूहले ६० कित्ता जमीन कब्जा गरेको बताइएको छ । त्यस्तै प्रतिवेदन अनुसार पिडारी चोकको गोडधोई पोखरी, अरगजा पोखरी र तेलहा पोखरीको जमीन स्थानीय ३७ परिवारले कब्जा गरेका छन् । मराह पोखरीको २४ कित्ता जमिनमा डा.रामवृक्ष साह समेतले अतिक्रमण गरेका छन् । लक्ष्मण मन्दिरको जमिनमा भने २९ ठूला घरानाले कब्जा जमाएका छन् । खान्कीका नाममा जालझेल रामशरणदास वैष्णवको ०५३ सालको असारमा रहस्यमय मृत्यु भएपछि उनका चेला रामतपेश्वर दास जानकी मन्दिरका हर्ताकर्ता बने । यिनले ०५३ सालपछि पनि पुरानै मितिका रामदास वैष्णवका हस्ताक्षरमा नक्कली मनखप लिखत तयार पारेर गुठीको जमिन बेच्ने उद्योग शुरु गरे । घिमिरे आयोगले भनेको छ -“०५३ सालमा नापी हुँदा सर्वे नक्शामा घर नरहेको र मन्दिरका खाली रहेको जमीनमा पनि मन्दिरका महन्थद्वारा पहिलेको मितिको जालसाजी मनखप कागज तयार गराई घर बनाउन लगाए ।” यसपछि अरगजा तलाउ, मराहा पोखरी, तेलाहा पोखरी, पाकवती पोखरी, रामानन्दचोक पूर्वको खाली जग्गा, जनस्वास्थ्य कार्यालय पूर्वको जग्गा, देवी चोकको जमीन, दशरथ तलाउ र मणिमण्डप तथा हनुमान मन्दिरको जग्गा रामतपेश्वरले बिक्री गरिदिए । प्रतिवेदनले किटेरै भनेको छ- “महन्थ रामतपेश्वरदास स्वयंले अनधिकृत रुपमा जानकी मन्दिरको पोखरी, त्यसको डीलको जग्गामा घर, शटर आदि बनाउन लगाए । सर्वे नापीपछि खाली रहेको जग्गालाई पुरानो मितिको कबुलियतको कागज लेखी आफ्ना स्वर्गीय गुरु रामशरणदासको नक्कली हस्ताक्षर गरी छाप लगाई आफूले हालसम्मको मनखप बुझेको भरपाई दिई विक्री गरेको छ ।” यसैगरी रामचन्द्र गुठी, लक्ष्मण मन्दिर गुठी र हनुमान मन्दिर गुठीको ४ विगाहा जमीन पनि बिक्री भएको छ । रानीपाटी (तोत्रादी मठ)को ५ विगाहा जमीन अतिक्रमण गरेर रैकर दर्ता गराई विक्री गरिसकेका छन् । ०२६ सालको सर्वेनापीमा ८० बिगाहा देखिएको रत्नसागर गुठीको जमीनमध्ये महन्थ बैकुण्ठदास वैष्णवले ५५ विगाहा जति बिक्री गरिसकेका छन् । यस गुठीको १० विगाहा जमीन त राजाका नातेदार कुमार खड्गविक्रमले हडपेका थिए । उसैबेला ५ बिगाहा जमिन रैतान गरेता पनि ५ विगाहा जमीन भने रैतानी हुन पाएको थिएन । तर, यो जमीन पनि बिक्री भइसकेको छ । जनकपुरमा छोटो समय बसेका एसपी विश्व जबरा, स्थानीय नेता वृषेशलाल र ब्रम्हचारी रामबाबुले समेत रत्नसागर गुठीको जमीन लिन भ्याए । रत्नसागर गुठीको १७ बिगाहा जमीन वर्षको ७० हजार भाडा दिने गरी मणिपाल अस्पतालले लिएको छ । रत्नसागर मठका महन्थ वैकुण्ठदास वैष्णवले मनोमानी मनखप बनाई यहाँको जमिन बेचविखन गरी आफ्नो नाममा वैकुण्ठपुरी नामको एक बस्ती बसाएका छन् । दशरथ मन्दिरका महन्थ जगरनाथदासले चाहिँ गुठीको जमीन आफ्नो नाममा दर्ता गराएर निजी नम्बरी बनाएर बेचविखन गरे । लक्ष्मण मन्दिरको ३० कित्ता जमिन पनि भूमाफियाको कब्जामा परिसकेको छ । राम जानकी दुलाहा भगवान बेलाकोटीको जमिनमा जीवनाथ चौधरीले सीता प्यालेस नामको भव्य होटल खडा गरेका छन् । रामजानकी दुलहा भगवान बेलाकुटीको विन्धि गाउँको १ सय ३ कित्ता जमीनमा हीरादेवी ठाकुर, ललन झा, कृष्णकुमार झा, विनोद चौधरी, उदय चौधरी आदिले अतिक्रमण गरेका छन् । ललन झा मन्त्री विमलेन्द्र निधिको सिफारिसमा संविधानसभा पुगेकी नेपाली काँग्रेसकी सभासद मिनाक्षी झाका पति हुन् । हाल कुवा मन्दिरको २० विगाहा जमीनमा बेचविखन र अतिक्रमण चलिरहेको छ । कुवा फूलवारीको जमीनमा दिगम्वर झासमेत सय बढी परिवारले अतिक्रमण गरेका छन् । कुवा फूलवारी गुठीको ६३ कित्ता जमिन चाहिँ राजकिशोर यादव, महेन्द्र चौधरी आदिले लिएका छन् । सीताकुण्डको जमीनचाहिँ महालक्ष्मी देवी, महानन्द सिंह आदिले ओगटेका छन् । त्यहाँको सीताकुण्ड नै विलोप गराएर व्यापारीले घर ठड्याएका छन् । रामसागर पोखरीको जमीनमा २६ परिवार र धनुष सागरको जमीनमा १३ परिवारले घर बनाएका छन् । राम मन्दिरको गिरिनारी कुटीदेखि उत्तरतिरको गोडधोई पोखरीको जग्गामा जगदीश महासेठ, गणेश महासेठ, अरुण महासेठ, महेश महासेठ र सुरेश महासेठ आदिले कब्जा गरेका छन् । राममन्दिरकै पुरण घरसर पोखरीको जमीनमा विश्वनाथ साह, विजय साह, महेश साह, रमेश साह आदि ३४ परिवारले र वडा नं ७ को लवकी पोखरीको जमीनमा ४ परिवारले घर बनाएका छन् । मध्यमासर पोखरीको जमिन धोवीले ओगटेका छन् भनेे चन्द्रकूप भन्ने देवान पोखरीको जमीन प्रकाशलाल कर्ण आदिले ओगटेका छन् । विषहरा पोखरीको जमिनमा १८ परिवारको घरसहित महेन्द्रनारायण निधि प्रतिष्ठान बनेको छ । कदमचोक, विद्युत कार्यालयपूर्वको जमीनमा मिश्र परिवारले भोगचलन गरेका छन् । पिपरिया माईको जमिनमा सञ्जय साहसहित १३ परिवारले कब्जा जमाएका छन् भने यसै जमिनमा नेपाली काँग्रेसले पार्टी कार्यालय बनाएको छ । हनुमान सिनेमा हलदेखि दक्षिणको राममन्दिरको जमिनमा जालान परिवार बसेका छन् । कपालमोचनी पोखरीको जमीनमा १९ परिवार बसिसकेका छन् । यहाँ वेचविखन चलिरहेको छ । लक्ष्मण मन्दिरको रजौल बगैचामा महेन्द्र श्रीवास्तव र कृष्णसिंह आदिले ५५ कित्ता हडपेका छन् भने रजौलपूर्वको ३० कित्ता जमिनमा रामसागर यादव आदिले कब्जा गरेका छन् । प्रो पब्लिकले ०५९ सालमा अनुसन्धान रिपोर्ट प्रकाशित गरेर जनकपुरका नेताहरु विमलेन्द्र निधि, रामचन्द्र झा, वृषेशचन्द्र लाल, रघुवीर महासेठ लगायतका सबैले मन्दिरको जग्गाहरु लिएको प्रतिवेदनमा उल्लेख छ । घिमिरे आयोगको रिपोर्टमा भनिएको छ- ‘मन्दिरको नामबाट महन्थ तथा पुजारीले प्राप्त गरेको ठूलो धनराशी पनि मन्दिरका नाममा नभएर महन्थले निजी आर्जनमा लिएको देखिन्छ । अतिक्रमणमा परेका ऐतिहासिक पोखरीहरु तथा तिनको डिलमा महन्थले आफना भाइ भतिजा, नातेदारहरुलाई राखेका छन् । जानकी मन्दिर वरिपरिका धार्मिक एवं संवेदनशील स्थानमा महन्थज्यूले आफै वा आफना व्यक्तिद्वारा अतिक्रमण गरी धार्मिक र सांस्कृतिक धरोहर नष्ट गर्नुभएको छ ।’ केही महिनाअघि जनकपुरमा बृहतर विकास परिषदको अतिक्रमण गर्ने घर टहराहरु भत्काउन लाग्दा महन्थहरुले राजनीतिक शक्ति लगाएर त्यो काम रोकिदिएका छन् । - See more at: http://www.onlinekhabar.com/2015/03/253695/#sthash.tUjIvvoD.dpuf

Friday, February 27, 2015

तस्करसँग मिली मुद्दा छिनोफानो गर्दै वन पदाधिकारी

तस्करसँग मिली मुद्दा छिनोफानो गर्दै वन पदाधिकारी कमलेश मण्डल महोत्तरी, फागुन १४ print फितलो कानुनी व्यवस्थाका कारण बन तस्करीका अभियुक्तहरु ध्माधाम धरौटीमा छुट्न थालेका छन्। जिल्ला वन कार्यालय महोत्तरीमा बुझाइएका तस्कर तोकिएको सजायवापत केही रकम धरौटी राखेर उम्कने पाउने कानुनी व्यवस्थाका कारण बन तस्करी नियन्त्रणमा आउन नसकेको हो। इलाका वन कार्यालय बाँकेले खयरमारा जंगलमा जंगल फडानी गरिरहेकै अवस्थामा खयरमारा ७ का अरुणकुमार यादवलाई पक्राउ गरी ८ क्यूफिट काठ बरामद गरेको हो। कार्यालयले एक अधिकृत तोकेर कारबाही अगाडि बढाएको जिल्ला सहायक वन अधिकृत वैदेहीशरण लाल कर्णले बताए। उनका अनुसार तस्करीमा सँलग्न रहेको आरोपमा पुस २४ गते पक्राउ परेका यादव विरुद्ध वन ऐन २०४९को दफा ४९(ङ) अनुसारको कसुर अपराध गरेको ठहर हुन आएकाले वन कार्यालयले ४ हजार रुपैया र ६ महिनाको कैदको माग दावी गर्दै मुद्दा चलाएको छ।। पक्राउ परेकाहरुले जंगल फडानी गरी काठ तस्करीको गरेको स्वीकार समेत गरेको थिए। यादवले सकारी बयान गरेको हुनाले वन कार्यालयको न्यायिक अदालतले सोही ऐनको दफा ५० घ उनलाई चार हजार जरिवाना र ६ महिनाको जेल सजायको फैसला सुनाए। तर उनी २७ पुसमा आठ हजार पाँच सय रुपैया धरौटी राखेर उम्किसकेका छन्। मुख्य तस्कर को हुन् यसको अझ सम्म खुल्न नसकेको कार्यालयले जनायो। त्यस्तै हातीलेटको जंगल बाट ज १त १९५६ नम्बरको ट्याक्टरमा १५ क्वीन्टल साखुको दाउरा ल्याउदै गर्दा औरही ३ मंगल महतोलाई औरही बाटै वन गस्ती टोली पक्राउ गरी वन कार्यालयमा बुझाएको छ। महतोले आफनै प्रयोजनका लागि दाउरा ल्याएको वन कार्यालयको अनुसन्धान बाट खुलेको छ। त्यस्तै जंगल फडानी गरी भारत तर्फ तस्करी गरीरहेकै अवस्थामा वेलगाछी ७ का वीरेन्द्र कुमार महतो, कमलेश महतो, विजय कुमार महतोलाई वनले पक्राउ गरियो। उनीहरु सँग ७ सय ८५ क्यूफीट साखुको काठ बरामद गरेको थियो। हाल उनीहरुलाई वनले जनही १ हजार १ सय ७७ रुपैया धरौटी लिई छाडेका छन। त्यस्तै माइस्थान ३ का सूर्यमान थोका, शुभ लाल थिंग लाई ३ दशमलव ६७ क्यूफीट काठ सहित पक्राउ गरियो। त्यस्तै सशस्त्र प्रहरी बल सितापुर भंगहाले सिंग्याही ७ का जगदिस यादव, देवनारायण यादव, कान्छा यादवलाई २ टायरगाडामा लोड गरी भारततर्फ तस्करी गरेका साखुका काठ सहित पक्राउ गरेको थियो। पक्राउ परेका तीन जनालाई वन लाई बुझायो। पछि वनले छानविन गर्दा दोषी ठहरिएका उनीहरु २३ हजार धरौटी राखि तारेखमा रिहा भएका छन। त्यस्तै भारततर्फ चोरी निकाशी गरि लान लागिएकेा ३१ थान साखु जातको चिरान फर्निचर र ट्रयाक्टरसहित जिल्ला प्रहरीले पक्राउ गरेका औरही ३ का २६ वर्षिय ट्रयाक्टर साहू निरंजन यादव , चालक इन्दल मण्डल र आफुलाई ठेकेदार खुट्टापिपराडी ८ का विकाश यादवलाईसमेतलाई १० दिन म्याद लिई अनुसन्धान शुरु गरेका जिल्ला वन सहायक अधिकृत वैदेहीशरणलाल कर्णले बताए। रात्री गस्तिमा रहेकेा प्रहरीले लोहरपट्टी ४ स्थित रातु खोलाको बगरबाट शंकास्पद अवस्थामा मध्यरततिर ज१त ५१७२ नंको ट्रयाक्टरलाई नियंत्रणमा लिएकेा थियो। तलासी लिदा साखुका चिरान फेला परेपछि उनीहरुलाई पक्राउ गरिएकेा हेा। वन ऐन २०४९ अर्न्तगत फितलो कानुनकै कारण बन तस्करहरु धमाधम छुटने गरेको वनका कर्मचारीहरु ब्ाताउछन। बनका कर्मचारी स्रोतका अनुसार बन तस्करहरु अनुसन्धान गर्ने अधिकृतहरुले आर्थिक चलखेल गरी कार्यालय समयपछि छाडने गरेको बताए। प्ाक्राउ परेका ९ जना विरुद्ध वन कार्यालयले मुद्दा चलाई सोही आधारमा आर्थिक चलखेल गरि समान्य अहिले धरौटीमा छाडेका उनीहरु बताउछन। यो त चालु आवको सात महिनामा ९ जना समान्य धरौटीमा छुटने प्रतिनिधीमात्र हो। तीन साल यता ८४ जना समान्य धरौटीमा बन ले छाडेका थिए। ६३ वटा बनपैदावर चोरी निकासा मुद्दामा १६ वटा अदालतमा र ४७ वटा जिल्ला वन कार्यालयको ईजलासमा विचाराधीन रहेको छ। जसमा १ सय ६४ जना पक्राउ परेका थिए। ८४ जना प्रारम्भिक सुनवाईको क्रमा समान्य तारेखमा रिहा भएका छन भने ८० जना पुर्पक्षका लागि थुनामा रहेको जिल्ल्ाा बन कार्यालय महोतरीले जनाएको छ। आर्थिक चलखेल गरी अभियुकहरुलाई बन कार्यालयबाट न्युनतमभन्दा न्युनतम सजाय सुनाउने गरिएको छ। जिल्ला बन कार्यालय महोतरीका प्रमुख वन सन्तमाया श्रेष्ठले यसवारे आफुलाई केही थाहा नभएको बताईन।उनका अनुसार अधिकांश मुद्दामा कार्यालय आफै जाहेेरी भएको छ र यस सम्बन्धमा थप अनुसन्धान थालिने उनले बताईन। वन पैदावर चोरी निकासी मुद्दा अन्तरर्गत पाँच हजार रुपैया विगोसम्म भएको वन पैदावार चोरी निकासी मुद्दा जिल्ला वन कार्यालयको अधिकार क्षेत्र भित्र पर्दछ। पाँच हजार रुपैया भन्दा वढी विगो भएको वन पैदावार चोरी निकासी मुद्दाको निरुपण जिल्ला अदालतले गर्ने गर्छ। यसरी वन जंगल संरक्षण लगायत वन अपराधमा पक्राउ भई दायर भएका मुद्दाको वा अन्तिम किनारा लगाउने काम समेत जिल्ला वन कार्यालयले गर्ने गर्छ। वन कार्यालयमा जाने मुद्दामा वन कार्यालयका रेन्ज स्तर सम्मका कर्मचारीहरुले अनुसन्धान गर्ने, प्रमाण जुटाउने काम गर्दछन्ा भने प्रमुख वन अधिकृतले फैसला गर्ने गर्दछन्ा। कानुन फितलो भएपछि माइस्थान, खयरमारा, पाटु, गौरीवास लक्ष्मीनिया गाविस क्षेत्रमा पर्ने सालको सरकारी जंगल फडानी गर्दै आएका काठ तस्करले अहिलेसम्म सयौं रुख कटान गरिसकेका छन्। सदरमुकाम जलेश्वर देखि ४०/५० किलोमिटर उत्तरमा पर्ने सो क्षेत्रमा भइरहेको जंगल फडानीको सूचना सम्बन्धित निकायले पाएको छ। सूत्र भन्छ तर भइरहेको काठ तस्करी र जंगली फडानी नियन्त्रण गरी संलग्न व्यक्ति पक्राउ गर्नु जिल्ला वन कार्यालयले कुनै प्रयास गरेको छैन। सो क्षेत्रमा सालको जंगल फडानी गर्ने गराउने माथि वन कार्यालयले कारवाही नगरेपछि काठ तस्करी एवं वन फडानीमा कर्मचारीको मिलोमतो र सँलग्नताको पुष्टि भएको छ।

Sunday, February 1, 2015

'सिंगापुर' जस्तै साना प्रदेश बनाऔं

पहिचानको ‘डिस्कोर्स': एक नागरिकको ‘नोट अफ डिसेन्ट’
तीन-हरेक राज्यलाई आत्मनिर्णयको अधिकार हुन्छ, जुनकुनै वेला प्रादेशिक संसदले चाहेमा केन्द्रबाट सम्बन्धविच्छेदको घोषण गरी राज्यलाई नयाँ देश बनाउन सक्ने छ । चार- प्रदेशको मुख्य जातिको भाषालाई प्रदेशिक भाषा बनाइनेछ, सबै जातिका मान्छेले त्यही भाषामा बोल्ने र शिक्षा लिने बाध्यात्मक व्यवस्था हुनेछ । पाँचौं अतिवाद चाहिँ मधेसको थियो- समग्र मधेस, एक प्रदेश । यसको सिद्धान्त र भावना नराम्रो हैन । तर, यो व्यवहारिक थिएन । राजनीति भनेको न सिद्धान्त मात्र हो न व्यवहार मात्र । सिद्धान्त र व्यवहारले एकअर्कालाई कसी लगाउँदा ‘जस्टिफाइड’ भयो भने मात्र त्यो राजनीति हुन्छ । दोस्रो अतिवादको उदयः एकप्रकारको अतिले अर्को प्रकारको अतिलाई प्रश्रय दिन्छ भन्ने भनाइ राजनीतिमा सधैं लागु हुँदै आएको छ । पहिचानको जब उपरोक्त व्याख्या आयो, नेपालको खसआर्य समुदाय भित्रभित्रै चिडिइसकेको थियो । तातातोमा उनीहरु चर्का प्रतिवाद गर्न चाहन्नथे । तर मनमनै मुमुर्रिदै उचित मौका पर्खेर बसेका थिए । पहिलो संविधानसभा निर्वाचनमा मुद्दाहरु तलतलसम्म पुगिसकेका थिएनन् । मधेस आन्दोलनको राप र माओवादी शसस्त्र विद्रोहको पृष्ठभूमिमा मतदाताले मुद्धालाई भन्दा घटनालाई महत्व दिए । माओवादी र मधेसवादी दल ठूला भएर आए । उपरोक्त अतिवादमध्ये ‘दुई कार्यकालको मुख्यमन्त्री’ नामको प्रावधान संविधानसभाभित्र छिर्‍यो । अरु कतिपय चाँहि सडकमै अलपत्र रहे । आज कतिपयका लागि पहिचानबारे बोल्नु वा लेख्नु तत्कालिन युरोपका सबैभन्दा ठूला बुर्जुवामध्ये एकको सन्तान फ्रेडरिख एंगेल्सले ‘सर्वहाराको सिद्धान्त’ लेख्न कार्ल माक्सलाई सघाएजस्तो भइरहेको छ दोस्रो संविधानसभा निर्वाचनममा त्यो भावना ध्रुविकृत भयो । त्यही मुर्मुराहट र प्रतिशोध आज पहिचानलाई ‘साँधेको गुन्द्रुक भन्दा पनि अर्थहीन’ भन्ने विन्दूमा पुगेको छ । त्यसको नेतृत्व एमालेको एउटा जमात लिएको छ जो यतिखेर एमालेभित्रको जबरजस्त संस्थापन हो । कांग्रेस एमालेभन्दा एकस्टेप पछाडि बसेर एमालेलाई उकास्दैछ । एमालेलाई उकासेर भिडाउँदा नै काम फत्ते भइहाल्छ भने आफू किन ‘हात हाल्ने’ भन्ने मनस्थितिमा मुस्कुराउँदैछ ।समग्रमा उनीहरु माओवादीलाई निहुँ बनाएर सीमान्तकृत समुदायका आन्दोलन र भावनासंग प्रतिशोध साँध्दैछन । कांग्रेस-एमालेभित्रका सीमान्तकृतहरुको मानसिकतामा ‘हृवीप’ नामको कोर्राले रगतपच्छे निलडामहरु बनाएछन । राजनीति क्यारियर नामको गुलियो मिठाईका लागि उनीहरु इतिहासले दिएको महानतम् अवसर त्याग्न तयार छन । सुवास नेम्बाङ्ग, भीष्मराज आङदाम्बे, शेरधन राई, धनराज गुरुङ्ग आदिलाई पहिचान नचाहिने, त्यसको चिन्ता कुनै अमूक बाहुनले गर्दिन पर्ने विरोधाभाषको अन्तर्य बुझ्ने हो भने संसार एकपटक हाँस्ने छ । आज कतिपयका लागि पहिचानबारे बोल्नु वा लेख्नु तत्कालिन युरोपका सबैभन्दा ठूला बुर्जुवामध्ये एकको सन्तान फ्रेडरिख एंगेल्सले ‘सर्वहाराको सिद्धान्त’ लेख्न कार्ल माक्सलाई सघाएजस्तो भइरहेको छ । जसको महत्व न तत्कालीन सर्वहाराहरुले बुझे, न एंगेल्सको आफ्नो सर्कल र समाजले नै उनलाई राम्रो मान्यो । अलिकति दर्शनको कुराः ग्यालिलियो, न्यूटन, आइस्टाइन हुँदै जब भौतिक विज्ञान स्टेफेन हकिंन्सको युगमा आयो, सामाजिक विज्ञानलाई निर्देशित गर्ने दर्शनका आधारहरु पनि फरक भएर गए । न्यूटनीय युगको सामाजिक विज्ञान ‘माक्र्सवाद’ ले ‘वर्ग’ आधार हो, बाँकी सबै कुरा त्यसका अधिरचना हुन भन्थ्यो । स्टेफेन हकिंन्सको ‘क्वान्टम भौतिकी’ पछि समाज विज्ञानमा ‘चौथो विचार’ को जन्म भयो जसले कुनै पनि तत्वलाई आधार वा अधिरचनाका रुपमा हैन वृतको परिधीमा भएका हज्जारौं विन्दूझैं व्यतिकरण (इन्टरफेरेन्स) मा हेर्दछ । ‘सत्य’ को त्यतिन्जेलसम्म कुनै अर्थ हुँदैन, जबसम्म ‘शक्ति’ ले त्यसलाई पुष्टि गर्दैन । ‘शक्ति’ ले पुष्टि नगर्दैमा ‘सत्य’ छोड्न सकिँदैन । किनकि ‘सत्य’ नै भविष्यका लागि ‘शक्ति’ को आधार हो व्यतिकरण सिद्धान्तमा मानव जीवनका मुख्य ७ वटा प्रेरक तत्वहरु हुन्छन । ‘वर्ग’, ‘अहं’ ‘यौन’, ‘पहिचान’, ‘प्रज्ञान’ ‘शक्ति’, र ‘आत्मसन्तुष्टि’ । यी तत्वहरु मध्ये समय र परिस्थिति (टाइम एण्ड स्पेश ) अनुरुप जुनकुनै गौण र जुनकुनै प्रधान हुन सक्छन । उदाहरणका रुपमा भारतमा बीजेपीको उदय ‘वर्ग’ गौण, ‘पहिचान’ प्रमुख भएर आउँनु हो । मध्य एशियामा ‘स्लामिक स्टेट’ को उदयको कारण पनि त्यही हो । व्यतिकरण तत्वहरुको ‘द्वन्द्वात्मक सन्तुलन’ नै चौथो विचारको सारतत्व हो । समाज विज्ञानको सबैभन्दा पछिल्लो निष्कर्ष पनि यही हो । नेपालमा पहिलो संविधानसभामा बलियो रहेको पहिचानको मुद्दा आज कमजोर भएको छ, तर सधैंका लागि सकिन्छ, यसलाई संवोधन नगरिकनै समाप्त हुन्छ, कांग्रेस-एमालेको दुई तिहाईले सबैलाई सधैंका लागि चैनको निन्द्रा सुत्न दिन्छ भनेर कसैले सोचेको छ भने त्यो मुर्खता मात्र हो । जसरी ‘गज्जुबाबु’ को मधेसवादभन्दा ‘उपेन्द्र बाबु’ को मधेसवाद शक्तिशाली भएर आयो, जसरी ‘गोरेबहादुरको जनजातिवाद’ भन्दा पछिल्लो जनजातिवाद शक्तिशाली भएर आयो, अहिले यसलाई दबाइयो नै भने पनि, दशक लाग्न सक्छ तर यो आन्दोलन झन शक्तिशाली भएर आउने छ । प्रश्रित र सौरभः राजनीतिक हिसाबले भन्दा मान्छेले ‘कमल थापा’ र ‘खुमबहादुर खड्का’ भन्लान् । तर, बौद्धिक हिसाबले म यो प्रवृतिलाई ‘प्रश्रित’ र ‘सौरभ’ भन्न चाहन्छु । दुबैको चिन्ता एउटै छ- दक्षिण एशियाली सभ्यताको ‘पश्चिमाकरण’ नहोस् । ‘हिन्दूत्व’ र अरु पूर्वीया दर्शनमा आधारित देशको ‘इसाइकरण’ नहोस् । ‘पृथ्वीनारायाण शाह’ को ‘महान दुःख’ र जंगबहादुरको ‘महान भक्ति’ बाट आर्जेको देशको विखण्डन र विभाजन नहोस् । यतिसम्म उनीहरुको कुरा ठीकै छ । तर, सत्यको अर्को पाटो पनि छ, उनीहरुले ‘पश्चिमाकरण’ नहोस्, ‘इसाइकरण’ नहोस् भनेजस्तै नेपालभित्रकै कुनै समुदायले मेरो ‘खसकरण’ नहोस्, ‘हिन्दूकरण’ नहोस् शाह र राणाको साटो मलाई मेरै पुर्खाका ‘लिड सिम्बोल’हरुमा गौरब गर्न देऊ भन्दाखेर त्यसलाई कसरी नाजायज भन्न सक्नु हुन्छ ? कुन बौद्धिक नैतिकता बाँकी रहन्छ त्यहाँनेर ? बनिबनाउँ शक्तिसंचरनाभित्र इतिहासले नै कमजोर बनाएकाहरुप्रति औलो ढठ्याएर ‘राष्ट्रवादको धमास’ पिट्न सजिलो हुन्छ । त्यतिधेरै बलिदानी भावना भएकाहरुले सुगौली सन्धीमा गुमेका भूभागमा गएर नेपाली राष्ट्रवादको पक्षमा ‘एक्टिभिज्म’ गरे हुने नि ? अरुणपूर्व लिम्बुहरुले धाननाच नाच्दा, अरुण पश्चिम खम्बुहरुले चण्डीनाच नाच्दा बाहुनहरुको के बिग्रेको छ र ? सँस्कृतिको विषय धेरै विवादित छैन प्रेत मन्साउने पहिचानः पहिचानको आन्दोलन अन्ततः अधिकारबाट खुम्चिएर नामांकनमा सीमित हुन खोज्दैछ, त्यो दूर्भाग्यपूर्ण हो । केही समय अघि संघीय समाजवादी पार्टीका एक नेताले यो पंक्तिकारसंग नामांकनको लडाईलाई ‘प्रेत मन्साउने’ पहिचान भनेका थिए । नेपालको सामाजिक मनोविज्ञानले जातीय नामहरु सजिलै स्वीकार्य हुन सकिरहेका छैनन् । नाम जातिबाट मात्र उत्पति हुन्छ वा जातिबाट हुँदैहुँदैन भन्ने दुबै तर्कहरु प्रमाणित छैनन् । जस्तै युरोपमा इंगलैण्ड, स्कटलैण्ड, आयरलैण्ड, फ्रान्सजस्ता नामहरु जातिबाट आएका हुन । एग्लो जातिको भूमि इंगलैण्ड, स्कटिस जातिको भूमि स्कटलैण्ड, आइरिस जातिको भूमि आयरलैण्ड, फ्रांक जातिको भूमि फ्रान्स । ठीक यही सिद्धान्त रुस वा जर्मनीका लागि लागू हुँदैन । रुस शब्दको उत्पति राजकुमार रुरिकबाट भएको हो । रुरिकले शासन गरेको देश भनेर रुस भएको । जर्मनी शब्दको अर्थ त झन फरक छ । जर्मनी जर्मनिया भन्नेबाट शब्दबाट बनेको हो जसको अर्थ हुन्छ दुई नदी (रायन र डेन्यूव) बीचको भूमि । अमेरिकाको नाम इटालियन अन्वेषक अमेरिगो भेस्सपुचीको नामबाट राखेको मानिन्छ । तर अमेरिकाको नाम फेर्ने आन्दोलन त्यहँा छैन । नामाकंन त्यो क्षेत्रको प्राचीन इतिहास र परम्परासंग तादाम्य छ भने त्यो स्वीकार्य हुनु पर्ने हो । सबै प्रदेशका नाम खसआर्य भाषाका नदी र पहाडका नामबाट खोज्ने ‘बहुपहिचानवादी कपट’ सांस्कृति सम्पदाको न्यायोचित वितरण गर्न नचाहने चिन्तनको उपज हो । उदाहरणका लागि यदि लिम्बुवान भन्न मान्छेहरुलाई अप्ठ्यारो लागेको हो भने लिम्बु मौलिकताकै अरु शब्दहरु जस्तै फेदेन, खान्चुङ्गजुंखा, सिरजंगाजस्ता शब्दले पनि लिम्बुवानी पहिचान नै बुझाउँछ । यतिसम्म पनि लचक नराख्नेहरुले ‘राष्ट्रवाद’ को कुरा गर्नु भन्दा डाडुमा पानी तताएर डुबुल्की मार्नु राम्रो हो । अधिकारको प्रश्नः नामभन्दा अधिकारको प्रश्न मुख्य हो । नाम ‘खरो पहिचानवादी’ तर अधिकार नहुनुभन्दा नाम बरु अलिक ‘नरम पहिचानवादी’ नै होस् तर संघीयताको संरचनाभित्र खोजिएको के हो ? त्यो नछुटोस् । मुख्यतः मैले बुझेको अधिकार ३ वटा हो । भाषिक अधिकार, आर्थिक अधिकार र सामाजिक/साँस्कृतिक अधिकार । यी ३ अधिकारहरुलाई ‘ब्रेक डाउन’ गर्दा जुनजुन कुराहरु देखा पर्दछ, त्यसमा कसैले कन्जुस्याइँ गर्नु पर्दैन । अरुणपूर्व लिम्बुहरुले धाननाच नाच्दा, अरुण पश्चिम खम्बुहरुले चण्डीनाच नाच्दा बाहुनहरुको के बिग्रेको छ र ? सँस्कृतिको विषय धेरै विवादित छैन । भाषाको विषयमा दुई वटा तरिका अपनाउँन सकिन्छ । त्यस ‘क्लस्टर’ को मुख्य भाषालाई प्रादेशिक भाषाको मान्यता दिने । बाँकी भाषाहरुका लागि ‘सँस्कृत विश्वविद्यालय’ को नाम फेर्ने, त्यसलाई बहुभाषिक विश्वविद्यालय बनाउने । आज सँस्कृत भाषाका विद्यार्थीहरुले राज्यबाट जुन सुविधा पाएका छन, सबै भाषी विद्यार्थीलाई त्यहीस्तरको सुविधा दिने । बाँकी रहन्छ, आर्थिक र प्रशासनिक विषय त्यो स्वशासन र स्वायक्ततामा आधारित हुनै पर्छ । अधिकारमुखी दृष्टिकोणबाट हुन सक्ने कुरा यही नै हो । सानो तर सुन्दरः यसो भन्न यो पंक्तिकारलाई कुनै हिचकिचाहट छैन कि म साना र धेरै प्रदेशको पक्षधर हुँ । पहाडमा पनि, मधेसमा पनि । मधेसमा कम्तिमा ३ र पहाडमा कम्तिमा ८ गरी कम्तिमा ११, त्यसभन्दा बढी १५ वटासम्म प्रदेश बनाउँदा देशको विकास झन छिटो हुन्छ र ‘संघीयताको लागत’ पनि कम लाग्छ । ‘बहुपहिचान’ र ‘सामर्थ्य’ वादी साथीहरुलाई यस्तो कुरा नपच्न सक्छ । यदि हैन रहेछ भने एउटा स्वतन्त्र आयोग बनाएर अध्ययन गरौं भन्ने चुनौति पनि राख्न चाहन्छु । तर, त्यो आयोग कम्तिमा ‘मदन परियार आयोग’ जस्तो पनि नहोस् र जस्तो नियतिमा पनि नपुगोस् । तर, यसका लागि विकास क्षेत्र र अन्चल मात्र हैन, जिल्लाको धारणा पनि खारेज गर्नु पर्छ । ७५ जिल्लाको धारणालाई कायमै राखेर जतिवटा प्रदेश थपे पनि ‘संघीयताको लागत’ बढ्छ, त्यसमा शंका छैन । प्रादेशिक भाषाको व्यवस्थापन गर्न पनि साना र धेरै प्रदेशहरु नै चाहिन्छ । मानौं कि लिम्बुवान भनिएको र खम्बुवान भनिएको क्षेत्रलाई एक बनाएर किराँत वा कोशी प्रदेश बनाइयो । त्यसको प्रादेशिक भाषा कुन हुन्छ ? एकभन्दा बढी प्रादेशिक भाषालाई एक साथ प्रदेशस्तरमा कामकाजमा ल्याउँन कति सजिलो होला ? अर्को कुरा- लिम्बु र खम्बु दुई मनोविज्ञानबीच सधै पुनर्विभाजनीयताको संभावना बाँकी नै रहन्छ । प्रदेश बनेको भोलिपल्टदेखि पुनर्विभाजनको आन्दोलन शुरुवात् भएमा त्यसले राजनीतिक अस्थीरतामात्र निम्त्याउँछ । हाम्रो ध्यान विकास र आर्थिक संमृद्धितिर केन्द्रित हुनै पाउँदैन । साना र धेरै प्रदेश फाइदाजनक हुने अर्को कारण विकास र व्यवस्थापनको दृष्टिकोणबाट हो । साना एकाईहरु व्यवस्थापन गर्न जति सजिलो हुन्छ, ठूला एकाईहरु व्यवस्थापन गर्न त्यति सजिलो हुँदैन । अबको युग भनेको ‘व्यवस्थापकीय शासन’ (म्यानेजरियल रुल) युग पनि हो, जसले ‘स्मल इज ब्यूटी’ मा विश्वास गर्दछ । ‘व्यवस्थापकीय शासन’ को दृष्टिकोणबाट सोच्दा ठूला प्रदेहरुभन्दा ‘नगर राज्य’ (सिटी स्टेट) बढी प्रभावकारी हुन्छन् । सिंगापुरको विकास मोडेल नै त्यही हो । धेरै बटा प्रदेश बनाउँदा धेरैवटा राजधानी शहर बन्छन, हरेक शहरले वरिपरिको गाउँको अर्थतन्त्रलाई गतिशील बनाइदिन्छ । हाम्रा प्रत्येक राज्यहरु आफैमा एउटा नगरजस्तो बन्छन । प्रदेशको संख्या धेरै हुँदा खर्च बढ्ने ‘हाइपोथेसिस’ ठूला प्रादेशिक संसद, राज्यपालको व्यवस्था, सांसद र मन्त्रीमण्डलको तलबभत्ता र जिल्ला संरचनाहरु खारेज नगर्ने मानसिकतासँग जोडिएको छ । हामी साना प्रदेश र सानो सरकारको अवधारणाबाट जान सक्छौं । २१ देखि ४१ सम्मको संसद ७ देखि ११ सम्मको छरितो प्रादेशिक मन्त्रीमण्डलको व्यवस्था गर्न सकिन्छ । प्रादेशिक सरकार प्रमुख प्रत्यक्ष जनमतद्धारा निर्वाचित हुने व्यवस्था गरेमा राज्यपालको आवश्यकता नै रहँदैन । अझ रमाइलो कुरा त के छ भने साना प्रदेश बनाउँदा सबै गाउँको पहुँच प्रादेशिक राजधानीमा सजिलो गरी हुन्छ । सांसदहरुले आफ्नो घरमा बसेरै विधायकी भूमिका पूरा गर्न सक्छन् । जस्तो कि पहिले जिल्लाका सभापति, उपसभापति र इलाका सदस्यहरुले विना यातायात र आवास खर्च नै ती भूमिका गर्थे । अन्त्यमा यो पंक्तिकारलाई बढो राम्रो थाहा छ कि ‘सत्य’ को त्यतिन्जेलसम्म कुनै अर्थ हुँदैन, जबसम्म ‘शक्ति’ ले त्यसलाई पुष्टि गर्दैन । त्यसैले मैले यसलाई इतिहासको यो महानतम् बहसको क्षणमा एक नागरिकको ‘नोट अफ डिसेन्ट’ भनेको हुँ । तर, ‘क्वाइवात’ छैन । ‘शक्ति’ ले पुष्टि नगर्दैमा ‘सत्य’ छोड्न सकिँदैन । किनकि ‘सत्य’ नै भविष्यका लागि ‘शक्ति’ को आधार हो । - See more at: http://www.onlinekhabar.com/2015/02/236544/#sthash.0e8IvtOE.dpuf