जलेश्वरको आन्दोलन जारी, ६ जना घाइते, लोकसेवामा तोडफोड
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ १६ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा वुधबार दिनभरी आन्दोलनकारी र सुरक्षाकर्मीबीच दोहोरो जुहारी चलेको छ । जुहारीकै क्रममा सुरक्षाकर्मीले लाठी प्रहार गर्दा ६ जना आन्दोलनकारी घाइते भएका छन् ।
प्रर्दशनकारीहरुले बुधबार बिहान जलेश्वरको जिरोमाईलमा रहेको प्रहरीको बिट जलाएको छ भने दिउँसो प्रदर्शनकारीले लोकसेवा आयोगको जनकपुर अंचल कार्यालयमा ढुंगा प्रहार गर्दै तोडफोड गरेका छन् ।
दिउँसोदेखि जारी रहेको प्रदर्शनकारीको प्रदर्शन र ढुंगा प्रहारको प्रतिकारको क्रममा बेलाएकडारा ९ बस्ने मेथल यादवसहित छ जना घाइते भएका छन् । सो क्रममा सुरक्षाकर्मीले दुई राउण्ड रबरको गोली फायर गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
जलेश्वरमा अहिले साँझ पनि प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गर्ने र सुरक्षाकर्मीले लखेट्ने र लाठीचार्ज गर्ने क्रम जारी छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले खैरा चोकबाट शुरु गरेको र्याली जलेश्वर महालिङ्ग मन्दिरसम्म पुगेर सम्पन्न भएको थियो ।
यसैबीच नेपाल बार एशोसिएसनको जिल्ला अदालत महोत्तरी ईकाईले मधेश आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै जलेश्वरमा र्याली निकाले । त्यही एकीकृत नेकपा माओवादीको वर्गीय संगठन मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल(क्रान्तिकारी)ले आयोजना गरेको सफल मधेश आन्दोलन बिषयक अन्तरक्रिया कार्यक्रममा केन्द्रिय अध्यक्ष रामकुमार शर्माले संयुक्त मधेश आन्दोलनका लागि सबैपक्ष एकजुट हुनुपर्ने धारणा राख्दै सशक्त रुपमा अगाडि बढ्न आग्रह गर्नुभएको थियो । अन्तरक्रियामा मधेशी मोर्चासहित नागरिक समाजका प्रतिनिधिहरुहरुले सम्पूर्ण जनमानसलाई मधेशमुक्तिको यो आन्दोलनमा लाग्न सबैमा अनुरोध गरेका थिए ।