प्रहरी विट जलाइयो, चार राउण्ड अश्रुग्याँस प्रहार,
प्रहरी विट जलाइयो, चार राउण्ड अश्रुग्याँस प्रहार,
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ १६ गते । संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रहरी विट वुधबार बिहान जलाएको छ । सो क्रममा स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रुग्याँस प्रहार गरेका छन् ।
नाराबाजी गर्दै पुगेका मोर्चाका कार्यकर्ताहरुले जलेश्वरको जिरोमाईलमा रहेको प्रहरीको विट जलाएको हो । पेट्रोल छर्केर प्रहरीको बिटमा आगजनी गरेका हुन् । प्रहरीले आगजनी गर्न पुगेका मोर्चाका कार्यकर्ताहरुलाई नियन्त्रणमा लिन चार राउण्ड अश्रुग्याँस प्रहार गरेका छन् । झडप अहिले जारी रहेको छ ।
मोर्चाका कार्यकर्ताहरुले बिहानैदेखि विभिन्न चोकहरुमा टायर बालेर प्रर्दशन गरिरहेका छन् ।
साथै जलेश्वरको सिनेमा हल चौकमा डेरीको दुध लिएर जादै गरेको ज४प ६६२७ र अर्को ज२प ५६२७ नं. को मोटरसाईकलमा तोडफोड गरिएको छ ।
मंगलबारदेखि नै मोर्चाका कार्यकर्ताहरु पथ्थरबाजी गर्न थालेपछि सुरक्षाकर्मीले पनि स्थितीलाई नियन्त्रणमा लिन लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेका थिए । मंगलबार बिहानदेखि साँझसम्म सुरक्षाकर्मी र आन्दोलनकारीबीच जुहारी चलेको थियो । साँझमा भने तिनतर्फबाट घेराहाली पथ्थरबाजी गर्न थालेपछि स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड अश्रुग्याँस र केही रबरका गोली प्रहार गरेका थिए । जलेश्वर–६ का बिकास कुमार साहको दाहिने खुट्टा, धमौरा–९का राकेश सदाको पिठ्युमा रबरको गोली तथा जलेश्वरकी सीता उपाध्याय तथा रोशन ठाकुरको ढुंगा लागेर घाइते भएका थिए ।
मंगलबार मात्रै जलेश्वरको आधा दर्जन सरकारी कार्यालयहरुमा ढुँगामुढा गरिएको थियो भने नेपाली काँग्रेसको पार्टी कार्यालयमा तोडफोड गरिएको थियो । सोमबार नेकपा एमालेको कार्यालयमा तोडफोड र आगजनी भएको थियो ।
१९ दिनदेखिको बन्दको कारण जलेश्वरको जनजीवन प्रभावित बन्दै गएको छ । आइतबारदेखि खुलेको विद्यालय पनि वुधबारदेखि बन्द गरिएको छ ।
यता जिल्लाको पिपरामा रहेको इलाका प्रहरी कार्यालय खाली गराउन लागिपरेका छन् । सर्वसाधारणहरु सहोडवामा तोकिएको प्रहरी कार्यालय पिपरामा राखिएको भन्दै इप्रका पिपरा घेराउ गर्दै खाली गराउन थालिएको स्थानीयहरुले जनाएका छन् ।