महोत्तरीको जलेश्वरमा विशाल जुलुस प्रर्दशन
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ २१ गते । विद्यालय बन्द गरी आन्दोलनमा उत्रेका शिक्षकहरुले सोमबार महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा विशाल जुलुस प्रर्दशन गरेका छन् ।
शिक्षक महासंघको अगुवाईमा शिक्षकहरुको विभिन्न फ्रन्टहरु तथा जिल्लाका स्वास्थकर्मीहरु, वित्तिय संस्थाका प्रतिनिधि, निजामती कर्मचारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पेशागत संगठन समेतको सहभागिता रहेको थियो ।
जिल्ला शिक्षा कार्यालय महोत्तरीको प्राँगनबाट शुरु भएको सो जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः शिक्षा कार्यालयमै गएर कोणसभामा परिणत भएको थियो ।
शिक्षा कार्यालयदेखि लागेको ताँती जलेश्वर नगरपालिकासम्म देखिएको थियो । २४ दिनसम्मको मधेश बन्दको क्रममा जलेश्वरमा पहिलोपल्ट यति संख्यामा सडकमा भिड देखिएको थियो ।
प्रर्दशन पश्चात भएको कोणसभामा सहभागी वक्ताहरुले मधेशको माँग पुरा नभएसम्म आन्दोलनलाई जारी राख्ने प्रतिवद्धता जनाएका थिए । सो कोणसभामा नेपाल शिक्षक संघका अध्यक्ष सुशिलकुमार यादव, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष जितेन्द्र सिंह, नेपाल शिक्षक युनियनका अध्यक्ष विनोदानन्द झा, नेपाल शिक्षक मञ्चका केन्द्रीय अध्यक्ष भागेन्द्र झा, नेपाल शिक्षक संगठनका अध्यक्ष फुलबाबु झा, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष राजवीर महतो, अखिल नेपाल स्वास्थ्यकर्मी संगठनका संतोषकुमार ठाकुर, नेपाल प्राध्यापक संघ यालना विद्यापीठ इकाईका मनोज झा मुक्ति, नेपाल राष्ट्रिय कर्मचारी संगठनका राजीशरण यादव, नेपाल शिक्षक मञ्चका रामदिनेश पाण्डेय, मधेशी स्वास्थ्य फोरम नेपालका श्यामदेव महासेठ, लोकतान्त्रिक शिक्षक युनियनका गणेश साह, नेपाल राष्ट्रिय कर्मचारी संगठनका सुर्यदेव यादव, नेपाल प्रगतीशिल शिक्षक मञ्चका अध्यक्ष देवेन्द्र झा, समाजवादी शिक्षक संगठनका अध्यक्ष कृष्ण चौधरी लगायतका वक्ताहरुले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
शिक्षक फ्रन्टहरुले आन्दोलनलाई समर्थन गर्दै अनिश्चितकालको लागि विद्यालय बन्द गरिसकेको छ भने निजि विद्यालयहरु समेत बन्द गरिएको छ ।
यसैबीच साउन ३० गतेदेखि गरिएको बन्दको कारणले जलेश्वरको जनजीवन प्रभावित बन्दै गएको छ ।