Sunday, July 17, 2016

महिला तथा बालबालिका कार्यालयमा आर्थिक हिनामिना

महिला तथा बालबालिका कार्यालयमा आर्थिक हिनामिना
महोत्तरी, ३० असार । महिला तथा बालबालिका कार्यालयले सहभागीलाई आय व्ययको तथ्याङ्क नदिएरै बार्षिक समिक्षा गरेको छ । कम्प्युटरबाट एक करोड रुपैयाभन्दा बढीको खर्च विवरण सरर् सुनाएर सहभागीलाई कुनै तथ्याङ्कीय प्रमाण दिइएन । सहभागीका अनुसार कार्यालयले पायक पर्ने तथा प्रश्न नसोध्नेहरुलाई प्राथमिकताका साथ बार्षिक समिक्षा कार्यक्रममा आमन्त्रणा गरेको हो । 

प्रश्न सोध्ने तथा विश्लेषण गर्नेहरुलाई बोलाए महिला तथा बालबालिका कार्यालयले गरेको कार्यक्रमहरुको पोल खुल्न सक्ने ती सहभागीको तर्क थियो । कार्यालय प्रमुख तथा कर्मचारीहरुले कहाँ कुन कार्यक्रम गरेको बारे संचारकर्मीहरुलाई समेत जानकारी दिन मानेका छैनन् । 

कार्यालयबाट पहिलेदेखि सूचना सम्प्रेशनका लागि प्रयोग गर्दै आएको सामाजिक संजालहरुमा नितु दुवे प्रमुख भएर आएदेखि कुनै गतिविधिको तस्विर तथा तथ्याङ्कहरु सार्वजनिक भएका छैनन । महिला तथा बालबालिका कार्यालयले बार्षिक समिक्षा कार्यक्रममा समेत कुनै संचारकर्मीलाई बोलाएको थिएन । यता जिल्ला बिकास समितिको कार्यालयबाट समझौता भएको भौतिक तथा सामाजिक कार्यक्रमहरुको रकम भुक्तानी माग्न जाँदा आज भोली गर्न थालिएको छ । 

आफूहरुमार्फत अख्तियार र पत्रकारलाई मनाएपछि मात्रै कार्यक्रमहरुको भुक्तानी हुने दाबी सम्बन्धित सरोकारवालाहरुले गर्ने गरेको उपभोक्ताहरुले बताए । जिल्ला बिकास समितिले बिना कुनै आधार गैरसरकारी संस्था, दबाब समूह तथा जातीय समूहलाई झण्डै एक करोड रुपैया बराबरको कार्यक्रम बाँडेको थियो । 

बाँडिएको रकमले खासै कुनै उपलब्धि हासिल नगरेको गुनाँसो समूदायबाट आएपनि अख्तियारले कुनै चाँसो नदेखाएको सर्वसाधारणको दाबी छ ।

जिविसमार्फत झण्डै एक करोड दोहन

जिविसमार्फत झण्डै एक करोड दोहन

महोत्तरी, २४ असार । जिल्ला विकास समिति महोत्तरीले गैरसरकारी संस्था, दवाव समूह, नागरिक समूहमार्फत झण्डै एक करोड रुपैयाँ चेतनामूलक कार्यकै लागि खर्चिएको छ । तर यो खर्च बालुवामा पानीसरह साबित भएको छ । जिविसले बिना कुनै अध्ययन मनपरी शीर्षकमा खर्च गर्न ७२ भन्दा बढी गैससस्था, दवाव समूह, नागरिक समूहलाई ५० हजार रुपैयाँको दरले कार्यक्रम खर्च बितरण गरेको हो । 

सम्बन्धित कार्यालयले यस सम्बन्धी कुनै पनि विवरण संचारकर्मीलाई दिन सकेको छैन । एउटा कोठामा अटाउन सक्ने भन्दा पाँच गुणा बढीको बिल भपाई पेश भएको स्रोतले जनाएको छ । त्यस्तै पहुँच भएका गैसस र ब्यक्तिगत समूहलाई आठ लाख रुपैयासम्म दिइएको छ । दुई दिनको कार्यक्रम भनिएपनि एक दिन, यातायात खर्च समेत सहभागिलाई नदिइएको, कुनै ठाउँमा कार्यक्रम नै नगरि बिलभपाई पेश गरिएको जस्ता समस्या देखिएको छ । जिबिस स्रोतले भन्यो,‘यो रकमबाट जनस्तरमा सहयोग पुग्न सकेकोमा शंका छ । तर दबाब थेग्न गाह्रो छ ।’

आफ्नै आर्थिक सहयोगमा सम्पन्न भएका कार्यक्रमहरुको अनुगमन समेत जिबिसबाट भएको देखिएन । यसबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला बिकास समितिमा गुनासो गर्दा समेत कुनै सुनुवाई नभएको नागरिक समाजका अगुवाहरुले बताए । गत हप्ता जिबिसले पत्रकार सम्मेलन गर्दा समेत कुनै पनि भौतिक निर्माण कार्य तथा जनचेतनामूलक कार्यक्रमको आवश्यक जानकारी संचारकर्मीलाई दिएको थिएन ।
- See more at: http://www.madheshvani.com/details/12714/madhesh-update#sthash.0e9rd49i.dpuf

Friday, July 15, 2016

आफुहरुलाई शहिद परिवारको हैसियतमा राहत दिनुपर्ने सशस्त्र द्वन्द पीडित परिवारको माँग

Nagendra kumar karna
महोत्तरी समाचारदाता
जलेश्वर, असार २९ गते । सशस्त्र द्वन्दका कारण घरका सदस्य गुमाएका पीडितका परिवारहरुले आफुहरुलाई मृतकको परिवारको हैसियतले नभई शहिद परिवारको हैसियतले क्षतिपूर्ति उपलब्ध हुनुपर्ने माँग गरेका छन् ।
स्थानीय शान्ति समिति महोत्तरीले आयोजना गरेको द्वन्द पीडितहरुलाई पुर्नमिलन तथा सम्मान कार्यक्रममा पीडित परिवारका व्यक्तिहरुले यस्तो धारणा राखेका हुन् । सशस्त्र द्वन्दको क्रममा परिवारका सदस्य गुमाउनुभएका महोत्तरीका रामश्रेष्ठ मण्डलले कार्यक्रममा भन्नुभयो,‘हामीहरु मृतक परिवारको हैसियतमा राहत रकम पाइरहेका र्छौ तर हामीलाई अबदेखि शहिद परिवारको हैसियतमा राज्यले राहत रकम दिनुपर्छ ।’
देश, समाजकै लागि हामीहरु परिवारका सदस्यहरु गुमाएको वताउनुहुदै राज्यले हामीहरुलाई पनि शहिद परिवारको हैसियतमा सेवा, सुविधा उपलब्ध गराउँदा सबैलाई गौरबको अनुभूति हुने उहाँको तर्क थियो ।
सो कार्यक्रममा सशस्त्र द्वन्दबाट पीडित भएका परिवारका सदस्यहरुले एक अर्कालाई अबिर र माला लगाएर पुर्नमिलन गर्नुका साथसाथै स्वागत गरेको देख्दा उपस्थित सबैका आँखा रसाएको थियो ।
कार्यक्रममा पीडितका परिवारहरुले अहिले पनि आफुहरु मध्ये धेरैले राहत नपाएको, छोराछोरीले शिक्षा नपाएको गुनासो पोख्नुभएको थियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले यसरी नै सौहाद्र्धपूर्ण वातावरणमा सबै मिलेर बस्ने हो भने देशमा अमनचयन कायम हुनुका साथै विकास गर्न सहज हुने उल्लेख गर्नुभयो । उहाँले पीडित परिवारहरुले राहत नपाएको भए प्रमाणसहित स्थानीय शान्ति समितिमा आए आफुहरुले त्यसको वातावरण बनाउने आश्वासन दिनुभयो ।
स्थानीय शान्ति समितिका संयोजक बजरंग नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा शान्ति समितिका सदस्य तथा पत्रकार महासंघ महोत्तरी शाखाका निवर्तमान सभापति हरिप्रसाद मण्डल, शान्ति समितिका सदस्य वीरेन्द्र यादवलगायतका वक्ताहरुले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
स्थानीय शान्ति समितिका अधिकृत दामोदरप्रसाद मैनाली सशस्त्र द्धन्द्धका बेला महोत्तरीमा ८८ जनाको मृत्यु, सात वेपत्ता, ७१ परिवार विस्थापित, पाँच अपहरित र १७ जना अपाँग बनेको तथ्याँक प्रस्तुत गर्नुभएको थियो ।

प्रहरी र विद्यार्थीबीच अन्तरक्रिया

Nagendra kumar karna
महोत्तरी समाचारदाता
जलेश्वर, असार २७ गते । महेन्द्र आदर्श महिला उच्च माध्यमिक विद्यालय जलेश्वरका कक्षा १० मा अध्ययनरत छात्रा प्रिया शर्माले जब जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक जनक भट्टराईलाई शान्तिपूर्ण आन्दोलनमा प्रहरीले किन लाठीचार्ज र कुटपिट गर्छ भनी सोध्दा उहाँ एकछिन मुसुक्क हाँस्नुभयो । उहाँले अरुको अधिकारमा हनन नपुगेसम्म आफुहरु कुनै हस्तक्षेप गर्ने नगरेको वताउनुहुदै शान्तिपूर्ण आन्दोलनको विपक्षमा प्रहरी कहिल्ये नभएको र नहुने जानकारी गराउनुभयो ।

‘प्रहरी मेरो साथी’ कार्यक्रमको उदघाटन पश्चात विभिन्न विद्यालयका भाईवहिनीहरुसंगको अन्तरक्रिया कार्यक्रममा विद्यार्थी शर्माले नै प्रहरी हाम्रो साथी भएपनि समाजमा प्रहरीलाई किन असहयोग भइरहेको र उनीहरुको नकारात्मक छबी रहेको सोध्दा प्रहरी उपरिक्षक भट्टराईले पनि त्यसलाई सहजै स्विकार गर्नुभयो । उहाँले अपराध अनुसन्धान गर्ने क्रममा कसैलाई थुन्नेलगायतका काम गर्ने गरेका कारणले पनि यस्तो धारणा रहेको बताउनुहुदै प्रहरी मेरो साथी हो भन्ने भावनाको विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी अर्का विद्यार्थी चन्दन मण्डलले राख्नुभएको प्रहरीसहित अन्य कार्यालयहरुमा खुलेआम घुसखोरी भइरहेको र बिना पैसा एउटा पनि काम नहुने गरेको जिज्ञासाप्रति प्रहरी उपरिक्षक भट्टराईले पैसा लिएर सेवा दिने प्रहरीको नीति नरहेको स्पष्ट गर्नुहुदै त्यस्तो भएको खण्डमा सुचना दिन सबैसंग अनुरोध गर्नुभयो । उहाँले एकजना प्रहरीको गलत क्रियाक्लापको कारणले संगठन नै वदनाम हुने गरेको तथ्य इंकित गर्नुहुदै प्रहरी अब सबैको साथी हुन चाहेको बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीहरुले लागुऔषध, वालविवाहका समस्यासहित प्रहरीले गर्ने काम, कारवाहीप्रति जिज्ञासा राखेका थिए । अन्तरक्रिया पश्चात करिब ५० जना भन्दा बढी विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालयमा लगेर प्रहरीले गरिरहेको कामबारे अवलोकन गराईएको थियो ।
नेपाल सरकारको आ.व.२०७२÷०७३ को नीति तथा कार्यक्रममा समावेश भए वमोजिम प्रहरी–नागरीकबीचको सम्बन्धमा एक आयाम स्वरुप ‘प्रहरी मेरो साथी’ कार्यक्रम आएको हो ।
सो कार्यक्रमको उदघाटन सत्रमा प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवले प्रहरी तपाईहरुको साथी बन्न तयार रहेको बताउनुहुदै तपाईहरुले पनि अप्ठयारापक्षहरु सेयर गरेर प्रहरीलाई साथी बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले बन्दुक बोकेकोसंग साथी कसरी बन्न सकिन्छ ? भन्ने जिज्ञासामा प्रहरी रक्षक भएको र रक्षाको निम्त्ति बन्दुक बोक्नु परेको बताउनुहुदै पहिलाजस्तो अहिले प्रहरी संगठनको नीति, कार्यक्रमहरुमा हेरफेर भइरहेको जानकारी दिनुभयो ।
उदघाटनसत्रमा स्थानीय विकास अधिकारी कृष्ण चाँपागाई, प्रहरी उपरिक्षक जनक भट्टराई, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष ईश्वरी पौडेल, उद्योग वाणिज्य संघ जलेश्वरका अध्यक्ष कृपाशंकर साह, शिक्षक रामसागर साह, प्रहरी निरिक्षक सुर्यबहादुर बोगटीलगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियो । 

अस्थाई शिक्षकहरुद्वारा जिशिकामा तालावन्दी

नागेन्द्रकुमार कर्ण
महोत्तरी समाचारदाता
जलेश्वर, असार २७ गते । महोत्तरीका अस्थाई शिक्षकहरुले जिल्ला शिक्षा कार्यालय महोत्तरीमा तालावन्दी गरी कामकाज अवरुद्ध पारेका छन् ।
अस्थाई शिक्षक संघर्ष समितिका अध्यक्ष राधेश्याम झाले आफुहरुको माँग पुरा नभएको वताउनुहुदै कामकाज अवरुद्ध गर्ने गरी जिशिकामा तालावन्दी गरी कामकाज अवरुद्ध पारेको जानकारी दिनुभयो ।
अस्थाई शिक्षकहरुलाई स्थाई गर्नुपर्ने, आठौं शिक्षा विधेयक संशोधन गर्नुपर्ने, अस्थाई शिक्षकहरुलाई एकपल्ट आयोग दिन लगाई अनुर्तिर्ण भएकाहरुलाई गोल्डेन ह्यानसेक दिएर विदाई गर्नुपर्ने लगायतका माँग अस्थाई शिक्षकहरुले सारेका छन् ।
विगत एक महिनादेखि आन्दोलनरत अस्थाई शिक्षकहरु माँग पुरा नभएसम्म आन्दोलनका कार्यक्रमहरुलाई जारी राख्ने वताउनुभयो ।
महोत्तरीमा करिब ३ सय भन्दा बढी अस्थाई शिक्षकहरु रहेका छन् ।

विश्व जनसंख्या दिवस महोत्तरीमा पनि मनाइयो

नागेन्द्रकुमार कर्ण
महोत्तरी समाचारदाता
जलेश्वर, असार २७ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सोमबार विश्व जनसंख्या दिवस २०१६ अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ ।
जिल्ला विकास समिति महोत्तरीको आयोजना तथा शान्ति तथा विकासका लागि युवा सञ्जालको सहआयोजना र युएनएफपीएको सहयोगमा सुखद भविष्यको लागि किशोरीहरुमा लगानी विषयमा अन्तरक्रिया गरिएको थियो ।
सो अवसरमा जिल्ला स्वास्थ्य कार्यालयका संतोष ठाकुरले एक कार्यपत्र प्रस्तुत गर्नुहुदै नेपालमा २४.१९ प्रतिशत जनसंख्या १० वर्षदेखि १९ वर्षसमूहका अर्थात किशोर र किशोरीहरुको रहेको जानकारी दिनुभयो । उहाँले कार्यपत्रमा २८.८ प्रतिशत किशोर किशोरीहरुको विवाह १५ देखि १९ वर्ष अवधिमा हुने गरेको उल्लेख गर्नुहुदै यो अवधिको भोगाईले जीवनपर्यन्तसम्म गहिरो छाप छोडने उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथी जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शम्भुप्रसाद यादवले किशोर किशोरीहरुलाई शिक्षासहित सीपमूलक तालिमको आवश्यकतामाथि जोड दिनुभयो । यो उमेरका महिला पुरुषहरुमा जोश जाँगर अत्याधिक हुने गरेपनि त्यसको व्यवस्थापन गर्न सकिएन भने ठुलो दुर्घटना निम्त्निे सकिने चेतावनी समेत दिनुभयो । उहाँले यो उमेरका किशोर किशोरीहरुलाई विशेष हेरचाहको जरुरी रहेको समेत उहाँले जानकारी दिनुभयो ।
जिल्ला विकास समिति अन्तर्गत रहेका एलजीसीडीपीका फोकल पर्सन सुनिल मिश्रको सभापतित्वमा भएको कार्यक्रममा युवा सञ्जालका अध्यक्ष सुरेश ठाकुरसहितका वक्ताहरुले आ–आप्mनो मन्तव्य राख्नुभएको थियो । 

नगरपालिकास्तरीय शान्ति समितिद्वारा कार्यक्रम सम्पन्न

महोत्तरी, २१ असार ।
जलेश्वर नगरपालिका क्षेत्रमा सक्रिय नगरपालिकास्तरीय शान्ति स्थापनामा संचारकर्मीको भूमिका तथा समितिका सदस्यहरुको नेतृत्व क्षमता बिकास तालिम सम्पन्न गरेको छ ।
     जलेश्वरमा सम्पन्न शान्ति स्थापनामा संचारकर्मीको भूमिका बिषयक अन्तरक्रिया छलफल कार्यक्रममा जिल्लाका सक्रिय संचारकर्मीहरुको सहभागिता रह्यो । कार्यक्रममा पत्रकार नागेन्द्रकुमार कर्ण, बैधनाथ चौधरी, महेश दास, रंजन भण्डारी ,रेडियोकर्मी घनश्याम भगत, दिपिका साहसहितका पत्रकारहरुले शान्ति स्थापना, द्वन्द्व न्यूािकरणमा लेखनीको मार्फत भूमिका खेलिरहेको प्रतिक्रिया दिए । राकेश प्रसाद चौधरीले संचारकर्मीकै हैसियतमा आफू समितिका संयोजकको जिम्मेवारी पाएकोले थप जिम्मेवार भई पत्रकारिता गर्नुपरेको धारणा राखेका थिए ।
    यस्तै शान्ति समितिका सदस्य तथा सरोकारवालाहरुको नेतृत्व क्षमता बिकास भए मात्रै संस्था जीवन्त रह्नुका साथै सदस्यहरुमा नेतृत्व विकास हुने सहजकर्ता सुदिपकुमार झाले तर्क अगाडि राखेका थिए । तालिम समापन सत्रमा जलेश्वर नगरपालिका कार्यालयका कार्यकारी अधिकृत एवं समितिका सदस्य सचिव माघबेन्द्र चौधरीले शान्ति स्थापनार्थ सक्रिय यस समितिको काम कारवाहीलाई जनस्तरसम्म पुर्याइने प्रतिबद्धता ब्यक्त गरे ।
शान्ति समितिका संयोजक राकेश प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जलेश्वर नगरपालिका कार्यालयका लेखा अधिकृत राजेन्द्रप्रसाद चौधरी, सामाजिक शाखा प्रमुख बसन्त ठाकुर, उद्योग वाणिज्यका प्रतिनिधि शिवचन्द्र चौधरी, राजनीतिकर्मीहरु रमण चौधरी, अनिल पाठक, सरोज साह, गजेन्द्र गुप्ता, प्रगाश साह, कुलानन्द झासहितको सहभागिता थियो । 

आफ्नैले विरानो बनायो

जिल्लाकै एक ग्रामिण वस्तीमा दलित समुदायमा दुई दलित परिवारको भातपानी काटिएको छ । भातपानी काटिएकोमा एकडारा वेला वडा नं. ५ का झगरु पासमान र सोहि ठाउ निवासी उग नारायण पासमानको परिवार रहेका छन । गाउमै मजदुरी गरेर आफ्नो परिवारको भरण पोषण गर्दै आएका दुवै परिवारले विगत पाच वर्ष देखि भात पानी काटिएका सोहि गाउ निवासी सुरेश पासमानलाई समाजमा मिलाउनु होस भनेपछि यिनीहरु वहिष्करणमा परिएको दुवै परिवारको गुनासो छ । उनीहरु गाउमा जग्गा आफ्नो जग्गा सम्बन्धि विवाद समेत अदालतमा चल्दै गरेकोले पनि विपक्षीहरुले समाजलाई उक्साएर आफुहरुलाई वहिष्करणमा पारेको आरोप लगाउछन ।


उग नारायण पासमान कि श्रीमति शोशिला देवीका अनुसार शुक्रवार हुने सल्हेश महाराजको पुजामा समेत आफ्नो परिवारलाई नजान गाउका पन्चले उर्दी जारी गरेका छन । पासमान जातिका पन्चहरुले ति  परिवारलाई कुनैपनि जातिय कार्य तथा भोज भतेर तथा विवाह र संस्कारमा अव उप्रान्त सहभागी नहुन समेत भनेका छन । समाज विकास तर्फ उन्मुख भईरहेको वेला अझै जातिय निति नियम र फैसलाले मानवको सामाजिक अधिकार कुण्ठित भईरहेको वेला सरोकारवालाहरु यतातिर गम्भिर हुनु आवश्यक छ । हाल न्यायको लागि सदरमुकाममा भौतारिरहेका दुवै परिवार समाजले विना कारण दिएको सजायले अपमानित गरेको बताउछन ।

रक्सी सेवनबाट पाँचको मृत्यु भएपछि भट्ठी नष्ट गर्न प्रहरी सक्रिय

नागेन्द्रकुमार कर्ण
महोत्तरी समाचारदाता
जलेश्वर, असार ७ गते । महोत्तरी जिल्लाको सहसौलामा अत्याधिक रक्सी सेवनले एकै परिवारका पाँच जनाको मृत्यु भएपछि प्रहरी अहिले मदिरा भट्ठी उन्मूलन गर्न लागिपरेका छन् ।
अत्याधिक रक्सी सेवनका कारण सहसौला वडानं. ६ बस्ने वर्ष ७० का रामवृक्ष मल्लिक डोम, उनका छोरा वर्ष ४० का प्रकाश मल्लिक डोम, उनका छोरी कलावती डोम, उनका छोरी ज्वाँई गौशाला ७ बस्ने पंचु मल्लिक डोम तथा उनका आफन्त औरही वडानं. ३ बस्ने बद्रि मल्लिक डोमको मृत्यु भएको हो ।
रामवृक्ष, उनका छोरा प्रकाश र छोरी ज्वाँई पंचुको शनिबार राति मृत्यु भएको हो भने बद्रि र कलावतीको आईतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
लोकल मदिरा खाएर एकै परिवारका आफन्तसहितको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवको निर्देशनमा गाउँघरमा रहेका मदिरा भट्ठीहरुमा प्रहरीले छापामार्न शुरु गरेका हुन् ।
प्रहरीले शनिवार र आईतवार मात्रै लोकल मदिरा पसल र भट्ठीबाट ४ हजार दुईसय लिटर मदिरा बनाउने कच्चा पदार्थ र ८ सय ३५ लिटर मदिरा नियन्त्रणमा लिई नष्ट गरेको प्रहरी उपरिक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।
सो परिमाणका मदिरा तथा सो बनाउन प्रयोग गरिने कच्चा पदार्थ भने जिल्लाकै धर्मपुर, मटिहानी, सरपल्लो र गोनरपुरा गाविसबाट प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको जनाईएको छ ।
लोकल मदिरा नियन्त्रण गर्न गत वैशाखदेखि नै अभियान चलाइए पनि अहिले यसलाई तीव्र पारिएको जानकारी दिनुहुदै प्रहरी उपरिक्षक भट्टराईले भन्नुभयो, ‘हामीले यो अवधिमा ३७ भट्ठीबाट ४ हजार ६ सय ५५ लिटर मदिरा तथा २० हजार २ सय ६५ लिटर मदिरा बनाउन सकिने कच्चा पदार्थ नष्ट गरिसकेका छौं ।’
प्रहरीले सहसौलामा पाँच जनाको मृत्यु भएदेखि नै तीव्र बनाएको यो अभियानको क्रममा जिल्ला मातहतका सवै प्रहरी चौकीहरुमा लोकल मदिरा नियन्त्रण गर्न सर्कुलर जारी गरिएको र सोहि अनुरुप दैनिकरुपमा हजारौ लिटरको परिमाणमा मदिरा र कच्चा पदार्थ नष्ट गर्ने गरिएको प्रहरी उपरिक्षक भट्टराईले जानकारी दिनुभयो ।
प्रहरीले छापामारी गरी मदिरा नष्ट गरेपनि भट्टी संचालकहरु भने पक्राउ पर्ने गरेका छैनन् । प्रहरी उपरिक्षक भट्टराईले अबदेखिको अभियानमा लोकल मदिरा वा सो बनाउने पदार्थ फेला परेमा संचालकको फाईल समेत अन्तःशुल्क कार्यालयमा पठाउने र त्यो व्यक्तिको पछिसम्म पनि खोजविन गरि कार्यवाहीको दायरामा ल्याउने नया अभ्यासको थालनी गरिएको बताउनुभयो ।
जलेश्वर अस्पतालका मेडिकल अधिकृत डा.राजिव झाले लोकल मदिरामा मिलाईने स्प्रिट र युरियाले मिथाईल अल्कोहल बन्ने र सो मिथाईल अल्कोहलले स्नायुु प्रणालीमा असर गरि श्वासप्रश्वास र धड्कनमा असर पुर्याउदा मानिसको मृत्यु हुने गरेको जानकारी दिनुभयो ।
स्थानीयबासीहरुले प्रहरीको यो अभियान राम्रो भएपनि भट्ठी संचालक पक्राउ नपर्नुले प्रहरीको यो अभियानमा खोट लगाउने प्रशस्त ठाउँ भएको बताएका छन् ।

ढल निकासी र बाटो अभावमा जलेश्वरमा फोहर व्यवस्थापनमा समस्या

नागेन्द्रकुमार कर्ण
महोत्तरी समाचारदाता
जलेश्वर, जेठ १८ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शनिबार आयोजित एक कार्यक्रममा फोहर व्यवस्थापनको लागि मुख्य समस्या बाटो र ढलको रहेको वक्ताहरुले वताएका छन् । फोहर व्यवस्थापनको लागि सबै सरोकारबालाहरुले हातेमालो गरेर जानुपर्ने आवश्यकतामा समेत वक्ताहरुले जोड दिएका छन् ।
सामुदायिक प्रहरी सेवा केन्द्र जलेश्वर महोत्तरीले शनिबार उद्योग वाणिज्य संघको हलमा आयोजना गरेको फोहर व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथी तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विनोद सिलवालले सरसफाई अभियानको लागि सबैले मिलेर जानुको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अभियान व्यक्तिगतमा गरिदैन्, त्यसमा सबैको सहभागिता उत्तिकै हुन्छ, सबैले मिलेर जाने हो भने जलेश्वरलाई पनि सरसफाई गर्न सकिन्छ ।’
जिल्ला प्रहरी कार्यालयले सदरमुकाम जलेश्वरको विभिन्न ठाउँहरुमा फोहर व्यवस्थापनको लागि डस्टविन राखेको जानकारी दिनुहुँदै प्रहरी नायव उपरिक्षक सिलवालले सोही डस्टविनमा सबै व्यापारीहरुले फोहर राख्नुपर्ने आग्रह समेत गर्नुभयो ।

सुन्दर नगर जलेश्वर बनाउने अभियान ढिलो भइसकेको छ, हामी अहिलेदेखि नै यस्तो अभियानमा हातेमालो गर्नु जरुरी छ उहाँको तर्क थियो ।
त्यस्तै, जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत माघवेन्द्र चौधरीले सदरमुकाम जलेश्वरमा फोहर व्यवस्थापनको मुख्य समस्याको रुपमा बाटो व्यवस्थापन र ढल निकासी रहेको बताउनुभयो ।
उहाँले जलेश्वर नगरपालिकाले विगतमा प्लानिङ्ग नै नगरी ढल निकासी र बाटोको व्यवस्थापन गरेको वताउनुहुदै सोही समस्याको कारणले अहिले अलिकति पानी परेपछि जलेश्वरमा पानी सडकमै जम्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगतमा प्लानिङ्ग नै नगरी नपाले ढल बनाउँदै गएकोले समस्या देखिएको हो, यसलाई सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ ।’
अब जलेश्वर नगरपालिकाले ६० करोडसम्म बजेट पाउने जानकारी गराउनुहुदै कार्यकारी अधिकृत चौधरीले नगरपालिकाले अब एकिकृत प्लानिङ्ग गरी बाटो व्यवस्थापन तथा ढल बनाउने दावी गर्नुभयो । उहाँले नगरपालिका र समाज दुवै मिलेर काम गर्ने हो भने काम सहज हुने वताउनुहुदै आफु नगरबासी भएकैले पनि आफुमा जिम्मेवारी बोध रहेको स्पष्ट गर्नुभयो ।
सदरमुकाम जलेश्वरमा रहेका विभिन्न वित्तिय संस्थाहरु तथा विभिन्न संघसंस्थाहरुसंग मिलेर जलेश्वर सुन्दर बनाउने अभियान अन्तर्गत छलफल भइरहेको जानकारी दिनुहुदै अधिकृत चौधरीले सरसफाई अभियानमा नगरपालिका अगाडी बढीरहेको वताउनुभयो ।
त्यसैगरी कार्यक्रममा गोरखापत्रका महोत्तरी समाचारदाता नागेन्द्रकुमार कर्णले सदरमुकाम जलेश्वरमा डम्पिङ्ग साइटको अभाव रहेको बताउनुहुदै यसतर्फ नगरपालिकाले समयमै ध्यान पु¥याउनुपर्ने बताउनुभयो । सडकको दुरावस्था, ढल निकासको उचित प्रबन्ध, घर व्यवस्थापन नहुँदा सदरमुकाममा फोहरको समस्या देखिएको वताउनुहुदै सञ्चारकर्मी कर्णले सदरमुकाम जलेश्वरलाई फोहर व्यवस्थापनको लागि प्लाष्टिक मुक्त नगर घोषणा गर्नुपर्ने वताउनुभयो ।
कार्यक्रममा वक्ताहरुले सरोकारबाला सरकारी निकायहरु कार्यक्रममा उपस्थित नभएकोप्रति दुःख व्यक्त समेत गर्नुभएको थियो ।
सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य सचिव तथा प्रहरी जवान कृष्णमुकुन्द रायले आफुहरुले यो कार्यक्रमको लागि हरेक निकाय सहित स्थानीयहरु गरि ४ सय ५० भन्दा बढीलाई आमन्त्रण गरेका थियौं तर कार्यक्रममा भने १० प्रतिशत मात्रै उपस्थित हुनुले उहाँहरु सरसफाईप्रति सचेत नभएको जानकारी गराउनुभयो ।
कार्यक्रममा वक्ताहरुले पुस मसान्तसम्ममा जिल्लालाई खुला दिसामुक्त गर्ने अभियानसहित सरसफाई अभियान चलिरहेपनि कार्यक्रममा ति निकायहरुकै अनुपस्थितीले ठुलो प्रश्नचिन्ह खडा गरेको वताउनुहुदै ति निकायहरुको अनुपस्थितीप्रति दुःख व्यक्त गर्नुभएको थियो
सामुदायिक प्रहरी सेवा केन्द्र जलेश्वर महोत्तरीका अध्यक्ष दिपु कापरको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजसेवी अर्जुन शर्मा, मुनेश्वर राय, जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ मेडिकल अधिकृत द्वारिका प्रसाद साह, एमालेका जिल्ला अध्यक्ष जामुन मण्डल, सामुदायिक प्रहरी सेवा केन्द्रका संस्थापक अध्यक्ष शेषनारायण झा, सुमन पौडेल, कृष्णमुकुन्द राय लगायतका वक्ताहरुले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।

Monday, May 23, 2016

लाखौं रुपैया खर्च गरी रात्रिमा गरियो फाईनल खेल

लाखौं रुपैया खर्च गरी रात्रिमा गरियो फाईनल खेल
महोत्तरी समाचारदाता
जलेश्वर, जेठ १० गते । कुनै पनि प्रतियोगिताका आयोजकहरुले फाईनल खेललाई भव्य र रोमाञ्चक बनाउन चाहन्छन् र त्यसको लागि कुनै पनि कसर बाँकी राख्दैनन् । यही क्रममा महोत्तरी जिल्लाका खोपी गाउँ विकास समितिका युवाहरुले पनि ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाईनल खेललाई भव्य र रोमाञ्चक बनाउन सफल भएँ ।
जिल्लामा पहिलोपल्ट त्यहाँका युवाहरुले लगन र मेहनतका साथ लाखौं रुपैया खर्च गरेर रातमा फाईनल खेल खेलाएर यो प्रतियोगितालाई नै भव्य र रोमाञ्चक बनाउन सफल भएको प्रतियोगिताका संयोजक विरेन्द्र यादवले जानकारी दिनुभयो ।
उहाँले फाईनल खेलको लागि मात्रै भारतको मुजफ्फरपुरबाट ५० हजार भारतीय रुपैया खर्च गरेर ६० वटा फेपर लाईट (हेलोजिन लाईट) मँगाएको तथा रातभरी विजुलीको लागि तिनवटा जेनरेटर समेत लगाइएको बताउनुभयो ।
संयोजक यादवले जिल्लामै पहिलोपल्ट आफुहरुले रात्रीकालिन फाईनल खेल खेलाएको बताउनुहुदैं यो खेल हेर्न मात्रै जिल्लाका ३० हजार भन्दा बढी दर्शकको सहभागिता रहेको तथा विभिन्न एफएम÷रेडियोहरुले प्रत्यक्ष प्रसारण गरेको बताउनुभयो ।
उहाँले भारतीय सिमावर्ती क्षेत्रहरुमा रात्रीकालिन खेलहरु हुने गरेपनि यसक्षेत्रमा रात्रीकालिन खेल नहुने गरेकोेले आफुहरुले यो प्रतियोगितालाई रोमाञ्चक बनाउन रात्रीकालिन फाईनल खेल गरेको वताउनुहुदै भन्नुभयो, ‘फाईनल खेलमा मात्रै दुई लाख भन्दा बढी खर्च भयो ।’ करिब एक महिनादेखि चलेको प्रतियोगितामा अन्य खेल भने दिनमा नै आयोजना गरिएको थियो ।
रात्रीकालिन फाईनल खेलमा दर्शकहरुलाई व्यवस्थापन गर्न विभिन्न गाविसका पाँचसय भन्दा बढी युवालाई स्वयंसेवकको रुपमा परिचालन गरिएको तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सुरक्षा दिएको वताउनुहुदै संयोजक यादवले भन्नुभयो,‘हामीले सोचे भन्दा बढी दर्शकको उपस्थिती भएँपनि हामीहरुले सफलतापूर्वक फाईनल खेल सम्पन्न गर्यों ।’
राति ११ बजेदेखि बिहान ४ बजेसम्म भएको फाईनल खेलमा पर्सा क्रिकेट क्लवले रतौली युवा क्लवलाई हराँउदै प्रतियोगिताको उपाधी जित्न सफल भएका थिए ।
टस जितेर पहिलो व्याटिँग रोजेको पर्सा क्लवले निर्धारीत ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएका थिए । प्रतिउत्तरमा उत्रेका रतौली युवा क्लवलाई ७५ रनमै अलआउट गरी पर्सा क्लवले उपाधि हात पार्न सफल भएका थिए ।
विजयी भएका टिमलाई १८ इन्चको एलईडी टिभी, १२ किलोको एउटा खसी, पाँचहजार नगद तथा शिल्ड प्रदान गरिएको थियो । विजयी खेलाडीहरुलाई शिल्ड, प्रमाणपत्र संयोजक यादवले वितरण गर्नुभएको थियो ।

टोल सुधार समिति बनाउने नाममा भ्रम छर्दै नगरपालिका प्रमुख चौधरी

टोल सुधार समिति बनाउने नाममा भ्रम छर्दै नगरपालिका प्रमुख चौधरी
महोत्तरी समाचारदाता
जलेश्वर, जेठ १० गते । महोत्तरी जिल्लाको सदरमुकाम रहेको जलेश्वर नगरपालिकाको १८ वटै वडामा अहिले टोल सुधार समिति गठनका लागि तछाडमछाड भई रहेको छ ।
जलेश्वर नगरपालिकाले १८ वटै वडामा टोल सुधार समितिका गठन गर्न थालेपछि ती समितिको अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष बन्नैका लागि सवै वडामा टाठाबाठा र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको हानथान भई रहेको छ ।
टाठाबाठाहरु तथा राजनीतिकदलहरुकै हानथापको कारणले जलेश्वरको वडानं. ४,८,१०,१६ लगायतका वडाहरुमा अहिले विवाद देखिएको र समिति गठन हुन सकेको छैन् । अन्यमा पनि केही व्यक्तिहरुलाई मात्रै बोलाएर समिति गठन गरिएकोले असन्तुष्टि बढदै गएको देखिएको छ ।
टोल सुधार समितिमा वस्नकै लागि अहिले विवाद भएका वडाहरुमा गुट उपगुट समेत बनेको छ । ती गुटउपगुटमा बाँडिएकाहरुले आ–आफ्ना गुटकै मान्छे टोल सुधार समितिको अध्यक्ष र विभिन्न पदाधिकारीमा चुनियोस भन्ने चाहना राख्दै मान्छे तानातानमा लागेको देखिएको छ ।
टोल सुधार समिति गठन जस्ता सामान्य कामका लागि यतिका तछाड मछाड, हानथाप र मान्छे तानातान हुनुको कारण भने जलेश्वर नगरपालिका प्रमुख माघवेन्द्र चौधरीले उक्त समितिको क्षेत्राधिकारबारे छरेको भ्रमले यो परिस्थिति श्रृजना भएको हो ।
सिनियर कर्मचारीहरुलाई पैसाको बलमा पाखा लगाउँदै कार्यकारी अधिकृत बन्न सफल जलेश्वर नगरपालिकाका अधिकृत माघवेन्द्र चौधरीले टोल सुधार समिति मार्फत नै बजेट पठाएर वडामा काम गर्ने आश्वासन दिदैं टोल सुधार समिति निर्माणमा भ्रम सिर्जना गर्नुभएको हो ।
पूर्व जिल्ला शिक्षा अधिकारी तथा मैथिल संदेश साप्ताहिकका संस्थापक प्रकाशक÷सम्पादक कृष्णचन्द्र झाले भन्नुभयो, ‘टोल सुधार समिति र उपभोक्ता समितिबीचको फरक छुट्याउन नसक्ने अधिकृतले अहिले भ्रम सिर्जना गर्ने कार्य गरिरहेका छन्, यो ठगी हो यसलाई तत्काल बन्द गर्नुपर्छ ।’
टोल सुधार समितिले उपभोक्ता समिति जस्तो कुनै विकास निर्माणको कार्यमा प्रत्यक्ष रुपमा संलग्न नभई ति कामहरुमा रचनात्मक तवरले सहयोग गर्ने टोलका वुद्धिजीवीहरुको समूह भएको तर्क राख्नुहुदै सम्पादक झाले भन्नुभयो, ‘कार्यकारी अधिकृत चौधरीले टोल सुधार समितिका काम, कर्तव्य र अधिकारबारे जानकारी नै नराखी वडाहरुमा लडाउने गरी भ्रम छर्ने काम गरिरहनुभएको छ ।’
टोलमा हुने सामाजिक, आर्थिक, साँस्कृतिकदेखि लिएर हरेक गतिविधिहरुलाई सुक्ष्म ढंगबाट अवलोकन गर्ने, त्यसको विश्लेषण गर्ने र दिगो विकासको लागि सबैलाई उत्प्रेरित गर्ने सिनियर सिटिजिन्सहरु (अनुभवी व्यक्तित्वहरु) सहभागी भएको टोल सुधार समितिको अवधारणा रहेको बताउनुुहुदै जलेश्वरका युवा लक्ष्मी साहले भन्नुभयो,‘नगरपालिकाका अधिकृतले भ्रम छर्ने काम गरी स्थानीयहरुलाई लडाउने काम गरिराख्नुभएको छ ।’ उहाँले टोल सुधार समितिलाई उपभोक्ता समिति जसरी ठान्नु अल्पज्ञान मात्रै रहेको स्पष्ट गर्नुभयो ।
जलेश्वर नगरपालिकाको वडानं. १५ सुगामा टोल सुधार समिति गठन गर्न आउनुभएका वडा सचिव रामकिशोर कापरलाई समेत सहभागीहरुले यो समिति किन निर्माण गर्नुपरेको हो र यसको काम, कर्तव्य, अधिकारबारे जानकारी माँग्दा उहाँ निरुत्तर बन्न पुगेको स्मरण गर्नुहुर्दै युवा लोकेन्द्र लालले भन्नुभयो, ‘कार्यकारी अधिकृत माघवेन्द्र चौधरीले पनि समिति गठनको अवसरमा यो वडामा हुने कामको सम्पूर्ण जिम्मेवारी टोल सुधार समितिलाई दिने गरी भ्रम सिर्जना गर्नुभएको हो ।’
यदि टोल सुधार समितिले नै सबै काम गर्ने हो भने वडा नागरिक मञ्च, उपभोक्ता समितिसहितका अन्य समितिहरुको काम के हुने तर्क गर्नुहुदै लालले यो भन्दा अगाडी पनि जलेश्वर नगरपालिकाको विभिन्न वडामा टोल सुधार समिति बनाइएपनि ति समितिहरु वर्षोदेखि कुनै उल्लेख्य काम नगरेको दावी गर्नुभयो ।
जलेश्वर नगरपालिकाको वडानं. ४ मा समिति गठनको अवसरमा अधिकृतसहितका कर्मचारीहरुले नगरपालिकामा ५० लाख रुपैया बराबरको सोलार बत्ती जडान गर्न नगरपालिकाले टोल सुधार समितिलाई दिने आश्वासन दिएको बताउनुहुदै युवा साहले भन्नुभयो, ‘हचुवाको भरमा कुनै योजना विना नै भ्रम सिर्जना गर्ने कार्यमा नगरपालिका लागेको छ, यो कार्यलाई तत्काल रोक्न जरुरी छ ।’
यही भ्रम सिर्जनाको कारण टोल सुधार समिति बनाउने कार्यमा नै वादविवाद बढेको छ । जसको कारण विभिन्न वडाहरुमा सो समिति बन्न सकिरहेको छैन् ।
यस विषयमा नगरपालिकाका कार्यकारी अधिकृत चौधरीसंग फोन सम्पर्क गर्दा उहाँले आफु मिटिँगमा भएको बताउनुहुदै यससम्बन्धी कुराकानी गर्नबाट पन्छिनुभयो ।

Friday, May 20, 2016

मधेसी सम्भ्रान्तका विवशता

मधेसी सम्भ्रान्तका विवशता
Nagarik Daily | 20.05.2016 | ७ जेष्ठ, २०७३
सबै समानार्थी शब्दका अर्थ समान हुँदैनन्। एउटै शब्दको अभिप्रायसमेत विषय, प्रसंग वा प्रयोग गरिनेबेलाको लवजका कारण फरकफरक हुन सक्छ। त्यसैले फ्रान्सेली दार्शनिक भोल्तेयर भन्ने गर्थे, 'संवाद गर्नुअगाडि कम्तीमा पारिभाषिक शब्दको तात्पर्यमा सहमति कायम गरिनुपर्छ। सम्भ्रान्त भनिने अभिव्यक्तिबारे केही भ्रान्ती छन्, तिनलाई सम्बोधन नगरी मधेसी सम्भ्रान्त कसलाई र किन भनिएको हो भन्ने कुरा स्पष्ट हुँदैन।
शासकीय कुलमा जन्मिएकालाई सामान्यतः अभिजात (नोविलिटी) भन्ने चलन छ। त्यस अर्थमा नेपालमा शाह, राणा एवं तिनका कुलसँग लामो कालदेखि वैवाहिक सम्बन्धले जोडिँदै आएका सीमित ठकुरी(क्षेत्री) परिवारबाहेककाले अभिजात भएको दाबी गर्न सहज छैन। आफ्नै ससुरालीको वंशसमेत निमिट्यान्न गर्ने गोर्खाली विजेताले अन्य कुनै समकक्षी शासकको सन्तानलाई जीवित रहन दिने कुरै भएन। केही झिनामसिना जो बाँकी बचेका थिए, तिनलाई जंगबहादुरले कोतपर्वमा कत्लेआम गरिदिए। गोर्खालीहरूकै 'जनै–जाति'मा त अभिजात थोरै छन् भने जनजाति वा मधेसीमा त्यस्तो समूह हुन सक्ने कुरै भएन।
केन्द्रिकृत एवं एकल जातीय राज्य व्यवस्थाले गर्दा नेपालमा सामन्त (फ्युडल लर्ड) अवधारणा नै वामपन्थी लफ्फाजीमात्रै हो। नेपालका रजौटा, चौतारिया, भाइभैयाद वा भारदारहरूको हैसियत कहिल्यै पनि तत्कालीन शासकको 'पाउको सेवक' भन्दा बढी हुन सकेन। झन् मधेसमा सामन्त हुन सक्ने त कुरै भएन। रामराजाप्रसाद सिंहजस्ता ठूला जमिनदारले राणा हजुरियाको जुत्तामा बिन्तीपत्र राखिदिनुपर्ने अवस्था सन् १९४० दशकको अन्त्यसम्मै कायम थियो।
कुलीन (ऐरिस्टोक्रेसी) वा खानदानीको हैसियत जाति व्यवस्थामा हिन्दु सोपानतन्त्रभित्रको स्थानसँग जोडिएको हुन्छ। सत्तासँगको निकटताले त्यस्तो हैसियतलाई बलियो बनाउँछ। नयाँ संविधानले किटान गरिदिएको खस–आर्य जातीय समूहबाहेक कुलीन भएको दाबी गर्न सक्ने परिवार नेपालमा थोरै छन्। शाह–राणा दरवारसँग निकटताले गर्दा केही नेवार परिवारले कुलीन हैसियत कायम राख्न सफल भए।
विभिन्न दरवारसँग जोडिएका गुरू–पुरोहित एवं भाइभारदारहरूको कुलीनताको दाबी पनि आधारहीन छैन। जति नै सम्पत्ति भए पनि मधेसी रैती नै रहिरहने हुँदा तिनको खानदानी रबाफ सत्ताका सामान्य बहिदार–खरदारका अगाडिसमेत फिक्का हुन जान्थ्यो। राज्याभिषेकमा हिन्दु जाति व्यवस्थाको शुद्र प्रतिनिधि भएर राजालाई तिलक लगाउने पहाडी जनजाति त कुलीन कहलिन सकेनन् भने सामान्य चौधरी, मुखिया र देवानको के कुरा भयो र!
नेपालको अर्थतन्त्र पनि लामो कालखण्डसम्म 'जिउ–धन सरकारको' मान्यतामा चलेकाले वैभवशाली पनि सामान्यतः केन्द्रिकृत एवं एकल जातीय व्यवस्थासँग जोडिएका फौजी तथा निजामती जागिरदार, निगाह बकस पाएका कुलीन बिर्तावाल एवं शासकका नातेदारमात्रै हुने गर्थे। सम्पन्नको श्रेणीमा राख्न मिल्ने केही सिंह, यादव, चौधरी, मिश्र, साह, रौनियार र शुक्ल परिवारबाहेक मधेसमा अहिलेसम्म पनि खासै धेरै छैनन्। मधेसी हुन् वा होइनन् भन्ने द्विविधाले गाँजिएका मारवाडी समुदायले गर्दा खस–आर्यबाहिरका जनै–जातिमा सम्पन्नता व्यापक भएको भ्रम सृजना भएको हो। एकल जातीय अर्थराजनीतिको हालिमुहाली बढ्दै गयो भने नाका व्यापारमा कायम रहेको मारवाडी बाहुल्यता पनि धेरै कालसम्म कायम नरहन सक्छ।
अभिजात, सामन्त, कुलीन एवं सम्पन्नभन्दा बेग्लै सम्भ्रान्तको सामाजिक–आर्थिक हैसियत जन्मसँगै कर्मसँग पनि जोडिएको हुन्छ। जाति व्यवस्थाका दंश सजिलै मेटिँदैनन्। परम्परागत धर्म र संस्कृति कायम रहेसम्म पहाडकै पनि एउटा दलित परिवारमा जन्मिएको व्यक्ति समृद्ध बन्न सक्छ, तर कुलीन त के सम्भ्रान्त पनि कहलिन सक्दैन। सम्पत्तिले केही प्रभाव र शक्ति दिएको जस्तो त हुन्छ, तर त्यो जाति व्यवस्थाको तेजका अघिल्तिर धेरैबेर टिक्न सक्दैन। मधेसका केही जनै–जातिले नश्लवादी राज्यव्यवस्थाको बहिष्करण नीतिका कारण सम्भ्रान्त हैसियत हासिल गर्न सफल भएका छन्। त्यसका पछाडि केही व्यावहारिक कारण छन्।
औलो उन्मूलन कार्यक्रम सुरू नभएसम्म मध्यपूर्वी तराईका अधिकांश बिर्तावालको जग्गाजमिन थारू, यादव किसानकै रेखदेखमा रहने गर्थ्यो। तिनमा पढाइबाहेक अगाडि बढÞ्ने अरू कुनै बाटो नै नभएको आत्मानुभूति अपेक्षाकृत छिटो भयो। पश्चिमी तराईतिर भने बिहेवारीमार्फत् राणाहरूले 'जात किन्न' आफ्ना बिर्ता विपन्न ठकुरीका जिम्मा लगाइदिएकाले त्यताका थारू शिक्षाको ज्योतिबाट वञ्चित रहिरहे। मैथिल ब्राह्मण संस्कृतका प्रकाण्ड विद्वान् हुने गर्थे। आधुनिक शिक्षा अंगिकार गर्न तिनलाई गाह्रो भएन। मुगल साम्राज्यकालदेखि नै फारसी भाषामा पोख्त कायस्थहरूमा औपचारिक शिक्षाको परम्परा राणाशासनका बेला पनि टुटेन। व्यापारबाट केही हैसियत हासिल गरेपछि सम्मानका लागि उच्च शिक्षा ग्रहण गर्ने चाहना साह–रौनियारमा पनि भयो। यस प्रकार सन् १९५० को दशकपछि सानो सम्भ्रान्त समूह मधेसमा पनि बन्न पुग्यो। तर, पढेरमात्रै नपुग्ने रहेछ।
परम्परागतरूपमा लडाका रहने गरेका मधेसका राजपूत र भूमिहारले गोर्खाली सेनामा अधिकृत हुने कुनै सम्भावना नै नदेखेपछि इन्जिनियर, डाक्टरजस्ता 'शुद्र पेशा' अँगाल्न बाध्य भए। पाण्डित्यका लागि प्रख्यात यादवका गोइत र मैथिल ब्राह्मणका सोइत शिक्षा र शोधतिर लागे। शासन–प्रशासन चलाउने परम्परा भएका कायस्थ लेखापाल, लेखापरीक्षक एवं लेखनदासजस्ता व्यवसायमा समेटिए। देश चलाउने एकाधिकार खस–आर्यमा रही नै रह्यो। सामाजिक परिवर्तन एवं राजनीतिक सशक्तिकरणमा भने नवोदित मधेसी सम्भ्रान्त प्रवर्गको भूमिका अत्यन्त सीमित रहने गरेको छ। समान्यतः मध्यमवर्ग अग्रगामी परिवर्तनको संवाहक हुने गर्छ। मधेसी सम्भ्रान्तको सम्पूर्ण ऊर्जा नेपाली मूलधारको स्वीकार्यता हासिल गर्नमै खर्च हुने गरेकाले तीमध्ये अधिकांशले यथास्थितिको जालो तोड्ने आँट कहिल्यै जुटाउन सकेका थिएनन्। त्यस्तो अवस्था सुस्तरी फेरिन थालेको छ। तर, परिवर्तनको गति र दिशा अझैसम्म पनि आशलाग्दो हुन सकेको छैन।
अदवको राजनीति
औपनिवेशिक मानसिकताको सम्भवतः सबभन्दा तार्किक व्याख्या फ्रान्ज फैननले गरेका छन्। नश्लवादी सत्ताले शासित समुदायलाई नेतृत्वविहीन तुल्याउन तिनका प्रतिभाशाली व्यक्तिहरूको सहवरण गर्छ। कसैलाई भन्छ, तिमी चिकित्सक, इन्जिनियर, वकिल वा पत्रकार छौ। त्यसैले हामीजस्तै छौ। कसैलाई फकाउँछ, प्राविधिक, कलाकार एवं व्यापारीको समुदाय संसारभरि एउटै हुन्छ। जातीय विविधता सामान्यजनका व्यसन हुन्। विशिष्ट व्यक्ति त्यस्तो प्रतिस्पर्धाभन्दा माथि हुन्छन्। मान्यता एवं स्वीकार्यताका लागि लालायित शासित समुदायका व्यक्तिहरू अनि सहर्ष अनुकारी व्यवहार गर्न थाल्छन्। तिनको भाषा, संस्कृति एवं जीवनशैली बिस्तारै शासकहरूको जस्तै हुन थाल्छ। तिनले जति नै नक्कल गरे पनि सक्कलजस्तो हुनै नसक्ने कुरा चाल पाउँदासम्म धेरै ढिलो भइसकेको हुन्छ। अनुकारी व्यक्ति (मिमिक म्यान) को नियति नै जे हो त्यो भइरहन नचाहनु र जे होइन त्यो बन्न सतत प्रयत्न गरिरहनु हो। त्यस्तै, निरर्थक उपक्रममा अनुकारी व्यक्तिको जीवन व्यतित भइरहेको हुन्छ। प्रयास निष्फल भए पनि पराजय स्वीकार गर्न जोसुकैलाई गाह्रो हुन्छ। सम्भ्रान्तले त झन् हार स्वीकार गर्ने कुरा पनि भएन। अनि ती आफ्ना कुण्ठा एवं नैराश्यतालाई बाहिर देखिने भौतिक सफलताको आवरणले छोप्ने प्रयत्न गर्छन्। अफ्रिकीमूलका अमेरिकीहरूमा देखिने यो प्रवृत्तिलाई अदवको राजनीति (रिस्पेक्टाबिलिटी पोलिटिक्स) भनिएको हो।
बहिष्कृत समुदायका व्यक्तिहरूमा तीव्र सफलताको अदम्य इच्छा हुन्छ। त्यसैले ती दोब्बर मेहनत गर्छन्। फलको आशा अपेक्षाकृत कम हुने भएकाले सानो उपलब्धिमै सन्तुष्ट हुन्छन्। र, एउटा मुकाममा पुगेपछि आफ्नै समुदायका व्यक्तिलाई होच्याउँछन्। कहाँ छ संरचनागत विभेद? यी हेर, म जहाँ पुगेको छु, आफ्नो सामर्थ्यले गर्दा नै हो। मालिकहरूको इलाज गर्छु, तिनका महल बनाउँछु, मुद्दा लड्छु र कुममा कुम जोडेर सँगै हिँड्छु। मेहनत गरे जे पनि सम्भव छ। औरंगजेब बादशाहका कैयन् सेनापति हिन्दु थिए। सम्राट अकबरका दरवारमा बीरबल एवं टोडरमलजस्ता मन्त्री भए। अध्यक्ष ज्ञानेन्द्र शाहले बद्रीप्रसाद मण्डललाई उपप्रधानमन्त्री बनाए। क्षमताले अवसर स्वयं खोज्ने त्यस्तो तर्क उपलब्धिको गौरवभन्दा पनि प्रभावको सीमितताबाट जन्मिएको हुन्छ। पूर्वराष्ट्रपति रामवरण यादवमा यही तŒवबोध उनको पद जेसुकै भए पनि हैसियत 'सुइ लगाउने' भन्दा बढी नभएको जानकारी गराइएपछि मात्रै भयो।
अदवको राजनीतिमा बहिष्कृत एवं तिरष्कृतलाई सेवक हुन पाएकोमा नै सन्तुष्टि हुन्छ। डाक्टरले रोगीको सेवा गर्छन्। इन्जिनियर आफ्ना यजमानका लागि काम गर्छन्। वकिलको जिम्मेवारी झगडियालाई कानुनी परामर्श एवं सेवाद्वारा सन्तुष्ट तुल्याउनु हो। त्यस्ता कुनै पनि कामले वर्चस्वशाली समुदायको आधिपत्यलाई चुनौती दिँदैन। शान्तिसुरक्षा एवं जनप्रशासन भने राज्य सञ्चालनका संरचना हुन्। त्यो एकाधिकारलाई प्रश्नको घेराभित्र तान्ने प्रयत्न भयो भने यथास्थितिवादीलाई सह्य हुँदैन। आफ्नो सफलताका सीमितता राम्ररी ठम्याएका मधेसी सम्भ्रान्त सकेसम्म प्रभावको अदृश्य परिसीमा नाघ्ने हिम्मत कहिल्यै गर्दैनन्। बरू 'हामी सबै नेपाली' जस्तो कर्णप्रिय राग अलापेर बस्छन्। तिरष्कारको भय एवं स्वीकार्यताको लोभले मधेसी पेशाकर्मीलाई आफ्नो व्यवसायको घेराबाट बाहिर निस्केर व्यापक जनहितप्रति समर्पित पेशाधर्मी बन्न दिँदैन।
राजनीतिक चेतनालाई दबाएको कुण्ठा भौतिक सफलता हात पारेका पेशाकर्मीले आफ्नै समुदायका राजनीतिकर्मीलाई होच्याएर व्यक्त गर्छन्। त्यस्तो सार्वजनिक मुखरताले एकसाथ दुईवटा काम गर्छ। वर्चस्वशाली समुदाय खुसी हुन्छ। वहिष्कृतजतिलाई तिरष्कृत समुदाय लगाएर होच्याउनुजतिको प्रभावशाली रणनीति अरू हुन पनि सक्दैन। मधेसी र जनजातिलाई त्यस्तै कार्यनीतिले अलमलाइएको हो। दोस्रो फाइदा भने बिनाकुनै प्रयत्न नैतिकवान् भएको सार्वजनिक छविका रूपमा देखिन्छ।
लोभ र डर त जे छ छँदैछ, यथास्थितिको अभ्यस्तताले पनि मधेसी सम्भ्रान्तलाई वर्चस्वको जालो तोड्नबाट रोक्छ। दोयम दर्जामा समानता छ। खस–आर्यका लागि मधेसका अगडा–पिछडा जातिहरूजति जम्मै एकै हुन्। आफ्नो जिम्मेवारी आफै सम्हाल्न तम्सिने हो भने त चुनावी संख्याको जातीय जोड–घटाउले गर्दा अवसरको प्रतिस्पर्धामा पछाडि परिने जोखिम पनि उठाउनुपर्ने हुन्छ। त्योभन्दा त बरू भइरहेकै संरचनाभित्र मोलमोलाइ गरेर मौका छोप्नु आकर्षक ठहरिन सक्छ। तथाकथित मूलधारका दलहरूको गणेश परिक्रमा गर्ने मधेसी सम्भ्रान्तले सैद्धान्तिक नभएर सजिलो बाटो रोजेका हुन्। गणतन्त्रको आवरणमा संस्थागत गर्न खोजिएको भागबण्डातन्त्रले गर्दा त्यस तरिकाको प्रभावकारिता कम हुँदै गइरहेको छ। नचाहँदानचाहँदै पनि मधेसी सम्भ्रान्तलाई अब आफ्नो नैतिक जिम्मेवारी निर्वाह गर्नुपर्ने बाध्यात्मक अवस्था उत्पन्न हुन सक्छ।
साँघुरिँदो विकल्प
शंकाको लाभ दिनेहरूले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई विदुषकको उपाधि दिन्छन्। तर, कालजयी रंग परम्परामा विदुषक सत्यको उपासक हुन्छ। साँचो कुरा सुन्ने आँट नभएका दर्शकलाई ऐना देखाउन उसले कहिले अतिशयोक्तिको सहारा लिन्छ त कहिले उटपट्याङ अभिव्यक्तिमार्फत् व्यंग्य गर्छ। दर्शक हाँस्छन्, तर हँसाउनु विदुषकको अभीष्टचाहिँ होइन। हाँस्यपात्र(जोकर) भने नाटककारले हँसाउनैका लागि सृजना गरेको हुन्छ। हाँस्यपात्र नैतिक जिम्मेवारीबाट मुक्त हुन्छ। ऊ ठट्टामै रमाउँछ। देशको कार्यकारी प्रमुख हाँस्यपात्रजस्तो देखिनु खतरनाक संकेत हो। प्रम ओली त जे छन्, छँदैछन्। त्यसभन्दा अत्यास लाग्दो उनका समर्थकहरूको बढ्दो जमात हो। हाँस्यपात्रलाई रूचाउनेहरू मूलतः वर्तमानमा बाँच्न रमाउने हुन्छन्। र, त्यस्तो जमातको भविष्य चेतना स्वभावतः कमजोर हुन्छ। क्षुद्र प्रवृत्ति (बेस इन्स्टिंक्ट) सबभन्दा पहिले यही समूहमा देखिन्छ। र, यस प्रवृत्तिको तार्किक परिणति अधिनायकवादको सामाजिक स्वीकार्यतामै गएर टुंगिने गर्छ। प्रख्यात अमेरिकी गायक बब डायलनको गीतको एउटा पंक्तिले भन्छ– रात अझै परी नै सकेको त छैन, तर अँध्यारोले छोप्दै लगिरहेको छ।
आश्रयदाताको ओत संकटका बेला काम लाग्दैन। राजनीतिक सक्षमताबेगरको सम्पन्नता ध्रुवीकरण एवं द्वन्द्वमा हुरीबतासमा उडाइएका सुकेका पातजस्ता बन्न पुग्छन्। सार्वजनिक हितका लागि नभए पनि आफ्नै स्वार्थ रक्षार्थ पनि अब मधेसी सम्भ्रान्तले राजनीतिक अग्रसरता नदेखाई सुखै छैन।
http://nagariknews.com/opinion/story/73153.html

Saturday, May 7, 2016

जिल्ला मतदाता मञ्चको गठन गरियो Mahottari Matdata manch

जिल्ला मतदाता मञ्च गठन कार्यक्रम
जिल्ला मतदाता मञ्चको गठन गरियो
महोत्तरी समाचारदाता
जलेश्वर, वैशाख २३ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा वुधबार एक समारोहका बीच हरिप्रसाद मण्डलको संयोजकत्वमा जिल्ला मतदाता मञ्चको पूर्नगठन गरिएको छ ।

पूर्नगठन गरिएको मतदाता मञ्चको जिल्ला सदस्यहरुमा कृपाशंकर साह, ईश्वरी पौडेल, धर्मेन्द्र झा, विनोद झा, सुशिल राउत, हरिनारायण मण्डल, चन्दनकुमार मिश्र, सत्येन्द्र यादव, सुरेश ठाकुर, खुश्वु झा, प्रकाश साह, प्रविण कर्ण, कमलेश मण्डल, चन्दा अधिकारी, राजेश शर्मा, गजेन्द्र गुप्ता, अकवर अंसारी तथा काजल गुप्ता रहनुभएको छ ।

युएसएआईडी तथा इन्टरनेशनल फेडरेशन अफ इलेक्ट्रोल सिस्टमस्को सहयोग तथा बागमत्ती सेवा समाज नेपाल सर्लाहीको आयोजना र मधेश जागरण अभियान नेपाल बर्दिबास महोत्तरीको स्थानीय आयोजनामा भएको कार्यक्रममा जिल्ला मतदाता मञ्चको पुर्नगठन गरिएको हो ।

जिल्लामा अवस्थित निर्वाचन, लोकतन्त्र, मानवअधिकार, सुशासन, उद्योग व्यवसाय, सरकारी तथा गैरसरकारी संघसंस्था, पत्रकार महासंघ सहित सञ्चारकर्मीहरु र विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरु राखेर यो मतदाता मञ्चको गठन गरिएको बागमत्ती सेवा समाज नेपाल सर्लाहीका परियोजना संयोजक प्रमोदकुमार महतोले जानकारी दिनुभयो ।

परियोजना संयोजक महतोले जिल्लामा नागरिकताबाट बञ्चित तथा फोटोसहितको मतदाता नामावलीमा दर्ता कार्यबाट बञ्चित भएका स्थानीयहरुलाई यी दर्ता कार्यमा सहयोग गर्न तथा चुनावको समयमा मतदाताहरुलाई सहज ढंगले मतदान कार्यमा पहुँच भए÷नभएको कार्यको सहजीकरण मतदाता मञ्चले गर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘लोकतन्त्र, निर्वाचन, मानवअधिकार र मतदाता शिक्षा सम्बन्धि स्थानीयस्तरमा सूचना, अनुभव र ज्ञान आदानप्रदान गर्नका लागि साझा थलोको रुपमा मतदाता मञ्च रहेको छ ।’ जिल्ला प्रशासनले दिने नागरिकता प्रमाणपत्र तथा निर्वाचन कार्यालयले दर्ता गर्ने फोटोसहितको मतदाता नामावलीमा दर्ता गर्न सहयोग गर्ने मुख्य काम पनि यो मञ्चले गर्ने उहाँको भनाई थियो ।

महोत्तरी जिल्लामा रहेको ६ वटा निर्वाचन क्षेत्रको तिन नगरपालिका र ६६ गाउँ विकास समितिमा २०६८ को जनसंख्या अनुसार १६ वर्ष र सो भन्दा माथि ३ लाख ६५ हजार ९९ जना रहेका छन् जसमध्ये २ लाख ९१ ह्जार ८ सय १५ जना फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराइसकिएको जिल्ला निर्वाचन कार्यालयको तथ्याँकमा उल्लेख रहेको जानकारी परियोजनाका महोत्तरी संयोजक नागेन्द्रकुमार कर्णले दिनुभयो । उहाँले वैशाखको पहिलो सातादेखि जिल्लाको एक नगरपालिकासहित ६० गाविसमा जिल्ला निर्वाचन कार्यालयले विशेष अभियान चलाएपनि अहिलेसम्म जिल्लामा ६९ हजार ३ सय ६३ जना मतदानको अधिकारबात बञ्चित हुन सक्ने देखिएको जिकिर गर्नुभयो ।

सो मतदाता मञ्च पुर्नगठन कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी पिंकी रायले पुर्नगठित जिल्ला मतदाता मञ्चका पदाधिकारीहरुलाई शुभकामना दिनुहुदै जिल्लामा फोटोसहितको मतदाता नाम दर्तामा छुट भएकाहरुलाई ल्याउन पहल गर्नुपर्ने वताउनुभयो । उहाँले नागरिकता र मतदाता नाम दर्तामा सहजीकरणको लागि मञ्चको योगदान महत्वपूर्ण हुने जिकिर गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष ईश्वरी पौडेल, प्रयास महोत्तरीका प्रविणकुमार कर्ण, नैन्ही गाविसका सचिव राजेशकुमार शर्मा, एकिकृत माओवादीका सत्येन्द्र यादव, तराई मधेश सदभावना पार्टीका गजेन्द्र गुप्ता, तराई मधेश लोकतान्त्रिक पार्टीका हरिनारायण मण्डल, मतदाता मञ्चका संयोजक हरिप्रसाद मण्डलले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
परियोजनाले जिल्लाको दश गाविसमा मतदाता शिक्षा, मतदानमा सहभागीता र नेपाल नागरिकता प्रमाणपत्रमा सहयोग कार्यक्रम गर्दै आएको छ ।
गठन पश्चात सामूहिक फोटो

थर्ड एलायन्सका साईकल यात्रीलाई जलेश्वरमा सम्मान

थर्ड एलायन्सका साईकल यात्रीलाई जलेश्वरमा सम्मान
महोत्तरी समाचारदाता
जलेश्वर, वैशाख २३ गते । साईकल मधेश आन्दोलनको क्रममा शहादत दिनुभएका शहिद परिवारहरुको स्थिती वुझन साइकल यात्रामा निस्कनुभएका तराई मानवअधिकार रक्षक सञ्जाल थर्ड एलायन्सका मानवअधिकार अधिकृत शिवेन्द्रकुमार दासलाई बिहीबार महोत्तरीमा स्वागत सहित सम्मान गरिएको छ ।

पूर्वाञ्चलको विराटनगरबाट दुईहप्ता पहिला यात्रा शुरु गर्नुभएका साईकल यात्री दास ७ जिल्लाको यात्रापछि महोत्तरी आईपुग्नुभएको हो । सो क्रममा उहाँले सप्तरी, सिरहा, धनुषा र महोत्तरीका १७ जना शहिद परिवारसंग भेटधाट गरी जलेश्वर आईपुग्नुभएको हो ।

जलेश्वरमा शान्ति र विकासको लागि युवा सञ्जाल र युवा सुचना केन्द्र महोत्तरीले संयुक्त रुपमा दोसल्ला, माला र अबिर लगाई साईकल यात्री दासलाई सम्मान गरेको हो । युवा सञ्जालका सूचना प्रमुख सत्येन्द्र यादवले एक कार्यक्रम गरी उहाँलाई सम्मान गर्नुभएको हो । त्यसैगरी थर्ड एलायन्सका महोत्तरी प्रतिनिधि नागेन्द्रकुमार कर्णलाई पनि सोही कार्यक्रममा मधेश आन्दोलनमा थर्ड एलायन्सले पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरिएको थियो ।
सम्मान समारोहमा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका पूर्व अध्यक्ष दशरथ भण्डारीले मधेश आन्दोलनमा सुरक्षाकर्मीले मानवअधिकारको घोर उल्लंघन गरेको बताउनुहुदै पिडित परिवारको घाउमा मलम लगाउन हिडनु भएका साईकल यात्री दासको कार्यको उच्च प्रशंसा गर्नुभयो । उहाँले मधेश आन्दोलनका शहिद परिवारलाई सबैतर्फबाट उपेक्षा भइरहेको समयमा थर्ड एलायन्सका प्रतिनिधिहरु तथा मानवअधिकार दासले साईकल यात्रा गरी घर घर पुगेर पिडित परिवारसंग भेटधाट गर्नु राम्रो रहेको बताउनुभयो ।

युवा सञ्जालका सूचना अधिकृत सत्येन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा साईकल यात्री शिवेन्द्रकुमार दास, नैन्हीका गाविस सचिव राजेशकुमार शर्मा, तराई मधेश सदभावना पार्टीका गजेन्द्र गुप्ता, थर्ड एलायन्सका महोत्तरी प्रतिनिधि नागेन्द्रकुमार कर्ण,  उहाँसंगै थर्ड एलायन्स महोत्तरीका प्रतिनिधि नागेन्द्रकुमार कर्णले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

यो भन्दा अगाडी जलेश्वरनाथ महादेव परिसरमै पुगेर नागरिक समाजका राकेशप्रसाद चौधरीसहित मोर्चासम्बद्ध युवाहरुले साईकल यात्री दासलाई स्वागतसहित सम्मान गरेका थिए ।