नेपाल भ्रष्टाचार हुने देशको सूचीमा १२२ औं स्थानमा, गत वर्षभन्दा केही सुधार

नेपाल भ्रष्टाचार हुने देशको सूचीमा १२२ औं स्थानमा, गत वर्षभन्दा केही सुधार

बिहीबार, १० फागुन, २०७४ मा प्रकाशित,

काठमाडौं, फागुन १० । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा परेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले १८० वटा देशलाई समेटेर सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३१ अंकसहित १२२ औं स्थानमा परेको हो ।
गतवर्षको तुलनामा नेपाल ९ स्थानले माथि उक्लिएको हो । गत वर्ष नेपाल १३१ औं स्थानमा थियो । सन् २०१७ को नयाँ प्रतिवेदनमा नेपालको स्थितिमा केही सुधार देखिए पनि सन्तोषजनक भने छैन ।
ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार ४० भन्दा कम अंक ल्याउने देश निकै भ्रष्टाचार हुने भनेर चिनिन्छन् ।
प्रतिवेदन सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष श्रीहरि अर्यालले नेपालमा राजनीतिक र व्यावसायिक भ्रष्टाचार बढी हुने गरेको देखिएको बताए ।
उहाँले निगमनकारी निकाय प्रधानमन्त्रीको कार्यालय कमजोर देखिएको र पटक-पटकका सुशासनसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न बेवास्था गरेका कारण भ्रष्टाचार नियन्त्रण हुन नसकेको बताए ।
ट्रान्सपरेन्सीको प्रतिवेदनमा सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा न्यूजील्याण्ड परेको छ । त्यसैगरी डेनमार्क दोस्रो स्थानमा छ ।
उनीहरुले क्रमशः ८९ र ८८ अंक पाएका छन् । सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा भने सोमालिया परेको छ ।
सोमालियाले ९ अंक मात्र प्राप्त गरेको छ ।
दक्षिण एसियाली देशमध्ये बंगलादेश १४६ औं, पाकिस्तान १२३ औं, माल्दिभ्स ११८ औं, श्रीलंका ९७ औं, भारत ८५ औं, भुटान २९ औं स्थानमा छन् ।