भर्चुअल कक्षाको लागि प्रचारप्रसार गरिदै
महोत्तरी समाचारदाता
जलेश्वर, असार २ गते । सरकारले शिक्षण सिकाईलाई प्रभावकारी बनाउन शुरु गरेको भर्चुअल कक्षामा महोत्तरीका माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई पहुँच पुरयाउन शिक्षा समन्वय र स्थानीयतहहरु लागिपरेका छन् ।
असार १ गतेदेखि विभिन्न टेलिभिजन तथा रेडियोबाट शुरु भएको भएको सो कक्षाहरुमा विद्यार्थीहरुको पहुँच पु¥याउन अभिभावक तथा विद्यार्थीहरुमा सुचना पु¥याउन आफुहरु लागिपरेको शिक्षा समन्वय इकाई महोत्तरीका प्रमुख शत्रुधन यादवले बताउनुभयो ।
उहाँले महोत्तरी जिल्लाको ८४ वटा विद्यालयमा सुचना प्रविधिको पहुँच पुगिसकेको जानकारी दिनुहुदै आफुहरुले विद्यालय, अभिभावक तथा विद्यार्थीहरुलाई सुचना प्रविधिको माध्यमबाट शिक्षण सिकाईको फाइदा लिन समन्वय गरिरहेको बताउनुभयो । कतिपय विद्यालयहरुमा यसको अभाव भएकोले विद्यालय तथा स्थानीयतहहरुलाई समन्वय गर्न आग्रह गरिरहेको जानकारी दिनुहुदै लकडाउनको अवधिमा हामीले विभिन्न विद्यालयहरुसंग ६ पटक जुम मिटिँग समेत गरेको जानकारी दिनुभयो ।
अधिकाँश विद्यालयहरुमा क्वारेन्टाइन राखिएको तथा सबै विद्यार्थीहरुसंग टिभी र इन्टरनेट अभाव रहेको कारणले केही समस्या देखिएको बताउनुहुदै आफुहरु यसको लगत संकलन गरेर विकल्पको खोजी गर्ने जानकारी दिनुभयो ।
उहाँले जिल्लाको अधिकाँश माध्यमिक विद्यालयहरुलाई कम्प्युटर, इन्टरनेट जडानको लागि साढे ६ लाख दिएको जानकारी दिनुहुदै उहाँले कतिपय विद्यालयहरुमा कम्प्युटर शिक्षक अभावमा केही समस्या भएपनि भर्चुअल शिक्षाको लागि समस्या नरहेको दावी गर्नुभयो । कतिपय विद्यालयहरुले कम्प्युटर जानेका शिक्षकहरुबाट काम गर्ने गरेका छन् भने अधिकाँश मावितहमा स्थानीयतहहरुले कम्प्युटर शिक्षकको व्यवस्थापन गरेको उहाँको भनाई थियो ।
त्यसैगरी जलेश्वर नगरपालिकाका शिक्षा शाखाका अधिकृत जयकुमार साहले बैकल्पिक शिक्षाको सहजीकरणको लागि सरकारले शुरु गरेको टिभी रेडियो कार्यक्रमबारे प्रचारप्रसार भइरहेको जानकारी दिनुभयो । उहाँले घरमा इन्टरनेट र टिभी नभएका विद्यार्थीहरुको लगत संकलनको काम पनि भइरहेको जानकारी दिनुभयो ।
महोत्तरी जिल्लामा बाहिरबाट आउनेहरुको लागि तयार गरिएको क्वारेन्टाइनहरु अधिकाँश विद्यालयमा राखिएका छन् । जिल्लामा रहेको ९२ वटा क्वारेन्टाइनहरु मध्ये ६ दर्जनभन्दा बढी क्वारेन्टाइन विद्यालय र मदरसामा नै छन् । कति विद्यालयहरुमा क्वारेन्टाइन राखिएको छ भन्ने कुनै तथ्याँक शिक्षा समन्वय इकाईसंग नभएपनि स्वास्थ्य कार्यालय महोत्तरीका कोरोना कोभिड १९ हेर्नुहुने फोकलपर्सन गिरेन्द्रकुमार झाले ६ दर्जनभन्दा बढी क्वारेन्टाइन विद्यालय, मदरसा र क्याम्पसमा रहेको बताउनुभयो ।
जलेश्वर नगरपालिमामा २७ वटा, सम्सी गाउँपालिकामा ४ वटा विद्यालय र ८ वटा मदरसामा १२ वटा, भंगहा नगरपालिकामा ११ वटा, गौशाला नगरपालिकामा ११ वटा रामगोपालपुरमा ८वटा, मनरामा ६ वटा बलवामा ४ वटा, औरहीमा २ वटा, मटिहानीमा ४ वटालगायतका सबै स्थानीयतहहरुमा क्वारेन्टाइन विद्यालयमा बनाइएको फोकल पर्सन झाले बताउनुभयो ।
الاشتراك في:
الرسائل (Atom)