फेरी समातियो तस्करी गर्न लागेको गाई

जलेश्वर, साउन १४ गते ।
महोत्तरीमा भारत निकासी गर्न लागेको १९ थान  गाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागि छोटी भन्सार कार्यालय सम्सीमा बुझाएको छ । भारतसंग जोडिएको अधिकांश नाकाहरुबाट विगतमा समेत गाईहरु तस्करी भईरहेकोमा प्रहरीले सो माथी निगरानी राख्दै आएकोमा ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिगएको टोलीले शुक्रवार विहान ति गाईहरु नियन्त्रणमा लिएको हो ।

यता जलेश्वर भन्सार कार्यालयले गाईहरुको संख्या धेरै भएको र मुख्य भन्सारसम्म ल्याउन समस्या रहेकोले सम्सी स्थित छोटी भन्सार कार्यालयवाटै ति गाईहरुको लिलामी गर्ने जनाएका छन । महोत्तरी र सर्लाहीको साँँधमा पर्नेे वाँके नदी हुँदै भारतीय वजारतर्फ  तस्करीको लागि ति गाईहरु लग्दै गरेको अवस्थामा पक्राउ परेका थिए ।

सहज छैन वैदेशिक रोजगार


रंजन भण्डारी, जलेश्वर, १४ साउन । वैदेशिक रोजगारी अधिकांश नेपालीको सपना हो । विदेशमा गएर मनग्य आम्दानी गरी आफ्नो र आफ्नो परिवारको पुर्ण भरण पोषण गर्ने तथा सुनिश्चित भविष्य निर्माणको कामना गरी विदेशिनेको संख्या दिनानुदिन वढ्दै छ । यहि सपना वोकेर खाडी मुलुक साउदी पुगेका महोत्तरी जिल्ला कै सिस्वा कटैया गाविस वार्ड नं. ८ सहसरामका राम तलेवर साह । आज भन्दा करिव एक वर्ष छ महिना अगाडी १५०० रियाल तलव पाउने एजेन्टको भनाईमा विश्वास गरि उनी त्यहाँ पुगे तर यहाँ एजेन्टले भनेको काम नपाएको र तलव समेत सवै मिलाई जम्मा १ हजार रियाल दिएकोमा उनी ५ महिना काम गरि कमाएको पैसाले नै टिकट बोकि घर फर्के । 

एजेन्टले गाउँ मै ८० हजार लिईदिएर म्यान पावर कम्पनीमा नबुझाई भागेको, साउदी जान पुनः म्यानपावर कम्पनीलाई ६० हजार बुझाउनु परेको पिडासँगै साउदीमै पाएको पिडाले थप मर्माहत भएका उनी फर्केर वैदेशिक रोजगारमा जानेहरुलाई परामर्श दिँदै आएको संस्था सामी परियोजनाको जिल्ला विकास समिति महोत्तरी अन्तर्गतको सुरक्षित आप्रवासन तथा सुचना केन्द्र पुगे । त्यही पाएको सल्लाह र सहयोगले पिपुल्स फोरममा निवेदन हाली पुनः शुन्य लागतमा साउदी नै पुगे । तर, जसले जे जति साथ दिएपनि भाग्यमा लेखेको कसैले मेट्न सक्दैन उनी फेरी त्यस्तै दलदलमा फसे र ३ महिनामै फर्के । तर साथीले देखाई दिएको वाटो अवलम्वन गरि उनी ४० हजार क्षतिपुर्ती पाएर पुन अहिले गाउँमै सानो औषधी पसल खोलेर वसेका छन् । उनी भन्छन्, आज साथी नभईदिएको भए सायद म बवार्द नै हुने थिए । तर, साथी कै कारण टुटि सकेको हौसला पुनः फर्केको छ र अव गाँउ मै काम गर्ने भनी अठोट लिएको छु । 
यीनि एउटा पात्र मात्र हुन । वैदेशिक रोजगारमा जाने सबभन्दा वढी मानिसको जिल्लाहरुमा महोत्तरी दोस्रो नम्बरमा पर्छ । गत आर्थिक वर्षमा मात्रै यस केन्द्रमा परेको ६६ उजुरी मध्ये ३४ समाधान भैसकेको र २४ प्रकृयामा रहेको परियोजना संयोजक कमलेश सिंह वताउँछन् । केन्द्रमा उजुरी परेका विषयहरुमा स्वदेश तथा विदेशमा ठगी, विदेशमा मृत्यु, विदेशमा विरामी पर्दा कम्पनीले उपचार नगराई दिएको, मेडिकल फेल भएर आएकाहरु रहेकोमा केन्द्रले सो विषयमा पहल गरि विदेशमा उनीहरुलाई न्याय दिलाउन भने सफल भएको परियोजना संयोजक सिंह बताउँछन् ।
- See more at: http://www.madheshvani.com/details/13046/news#sthash.Uqjms5kb.dpuf

म्याद गुज्रेकोे औषधी वितरण गर्ने स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

महोत्तरी समाचारदाता, जलेश्वर, १४ साउन । महोत्तरी जिल्लाको विभिन्न स्वास्थ्य चौंकीहरुमा जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले डेटस्पायर(म्याद नाधेको औषधी) पठाउने गरेको खुलासा भएको छ । महोत्तरी जिल्लाको श्रीपुर स्थित स्वास्थ्य चौंकी कार्यालयका इन्चार्ज सिनियर अहेब रामकिशोर साहले एक जना विरामीलाई म्याद नाधेको औषधी (डेटस्पायर) वितरण गरेपछि यस्तो खुलासा भएको हो ।

सिनियर अहेब साहले श्रीपुर गाविस वडानं. ९ बस्ने सन्तोष झाको छोरा वर्ष ६ को सर्वेश झालाई क्षय रोगको औषधी दिएपछि उनको स्वास्थ्य अवस्था विग्रेपछि चेकजाँचको क्रममा डेटस्पायर औषधी फेला परेको हो ।
डेटस्पायर औषधी फेला परेपछि स्थानीय सन्तोष झाले ईलाका प्रहरी कार्यालय गौशालामा कालोबाजार विरुद्ध कारवाही गरीपाउँ भन्ने निवेदन दर्ता गराएपछि गरिएको छानविनमा यस्तो फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले जिल्लाको सरपल्लो वडानं. २ निवासी सिनियर अहेब साहलाई पक्राउ गरेर कारवाही थालेका छन् । 
उजुरीको आधारमा खान तलासी गर्दा श्रीपुर स्वास्थ्य चौकीवाट क्षयरोगको HRZ RIFAMPICIN 60 mg , ISomiazid 30 mg and pyrazinamide 150 mg tablet  Mfd.05/2014 / EXP. DET 04/016 भएको ९ पैकेट (२५२ टेवलेट) फेला परेको थियो । 
म्याद गुज्रेको औषधी फेला परे लगतै स्वास्थ्य चौकी ईन्चार्ज साहलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक जनक भटटराईले जानकारी दिए ।
यता जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा.मनिष पाण्डेयले गत जेठ १९ गते मात्रै लोजिस्टिक म्यानेजमेन्टको तालिम सवै स्वास्थ्य चौकीहरुमा दिएकोमा यस्तो गल्ती कसरी भयो आफुलाई थाहा नभएको बताए । 
उनले सवै स्वास्थ्यचौकीहरुमा म्याद भएको औषधी पुगिसकेको अवस्थामा म्याद गुज्रेको औषधी किन र कसरी वितरण गरियो भन्ने बुझन आफुले टोली खटाईसकेको समेत जानकारी दिएका छन । उनले क्षयरोग कुष्ठरोग फाँटका सुपरभाईजर रामबाबु यादव, उमेश यादव तथा ईलाकाका रामनाथ साहलाई छानविनको लागि पठाइसकिएको जानकारी दिँदे भुलवस यस्तो गल्ती भएको हुन सक्ने बताए ।
उनले अरु सरकारी कार्यालयमा पुरानो सामानहरुलाई लिलामी गर्ने सिस्टम नभई औषधी नष्ट नै गर्नुपर्ने भएपनि भण्डारमा रहेको कारणले यस्तो भएको बताउँदैै म्याद गुज्रेको औषधीको क्षमता मात्र कम हुने हुनाले त्यसले ज्यानमै खतरा गर्ने सम्भावना नरहेको दावी समेत गरे । उनले छानविन टोलीले प्रतिवेदन दिएपछि आफुहरुले पनि सत्यतथ्य जानकारी गराउने बताए ।
- See more at: http://www.madheshvani.com/details/13047/news#sthash.ZGFiKadb.dpuf

पुरक परिक्षा संचालनमा

जलेश्वर,साउन १४ गते ।
हालै प्रकाशित भएको प्रवेशिका परिक्षाको नतिजामा बढीमा दुई विषयमा डि र ई ग्रेड ल्याउने विद्यार्थीहरुको ग्रेडिंग बढाउन शुक्रवार देखि पुरक परिक्षा सुरु भएको छ । जम्मा १९२ परिक्षा केन्द्रहरु मार्फत लिईने परिक्षामा महोत्तरीमा महेन्द्र आदर्श महिला माध्यमिक उच्च माध्यमिक विद्यालय र लक्ष्मी चण्डी मुरारका उच्च माध्यमिक विद्यालय गरि जम्मा दुई केन्द्रबाट शुक्रवार १७० परिक्षार्थीले अंग्रेजी विषयको परिक्षा दिएका छन ।

केन्द्रले पठाएको लेजरमा २२६ परिक्षार्थीले अंग्रेजी विषयको परिक्षा दिनुपर्नेमा १७०ले मात्र परिक्षाको फारम भरेको महोत्तरीका जिल्ला शिक्षा अधिकारी ठुलो वावु दाहालले जनाएका छन । यता अन्य विषयहरुको परिक्षामा कति विद्यार्थीले परिक्ष दिने भन्ने तथ्यांक अहिले तयार हुदै गरेकोले तुरुन्त उपलव्ध नरहेको समेत उहाले जनाएका छन । यता जिल्ला शिक्षा कार्यालय महोत्तरीको परिक्षा फाटले ग्रेडिंग पद्दती पहिलो पटक भएकोले समेत तथ्यांक वारे धेरै अन्यौलता रहेको जनाएका छन ।

गृहिणीबाट ‘नेताइन’ बन्दै महिलाहरु


नागेन्द्रकुमार कर्ण
महोत्तरी
Nagendra Kumar Karna
गृहिणीको शाब्दिक अर्थ भन्नुपर्दा घरकी मालकिनी, गृहस्वामिनी, पत्नी, स्वास्नी आदि हो । यो शब्दले बाहिर काम गर्ने नभई घरमै काम गर्ने अर्थ दिन्छ । नौकरीको अर्थमा यसलाई लिइन्न् । कतिपयले कुशल गृहिणी पनि भन्छन् । यसले पनि घरमै रहेर घरको सम्पूर्ण कामगर्ने, घरपरिवारका सबै सदस्यको हेरचाह गर्ने वुझिन्छ । त्यसैगरी ‘नेताइन’ भने मैथिली स्त्रिलिङ्गी ठेट शब्द हो । यसलाई नेपाली भाषाको नेतृत्वसंग तुलना गर्न सकिन्छ । नेपालीमा नेतृत्वको अर्थ कुनै दल वा जनसमुदायको सामुदायिक कल्याण गर्ने, मार्ग प्रर्दशक, नेताको काम वा पद, अगुवाले गर्ने कार्य लगायतका वुझिन्छ । यसरी हेर्दा मधेशका कुनै महिलाहरुले मार्ग प्रदर्शनको लागि अगाडी आएपछि, नेताको काम वा कुनै पद लिएपछि, अगुवाले गर्ने कार्य गरेपछि उनीहरुलाई ‘नेताइन’ शब्दले सम्बोधन गरिन्छ । कतिपयले यसलाई गिज्याउने शैलीमा पनि भन्ने गर्छ । तर महिलाहरु अगाडी आएर आफ्ना समूहको बारेमा, आफ्ना हक, अधिकारको बारेमा बोल्न थालेपछि, वा कार्य गर्न थालेपछि उनीहरुलाई पुरुषवादी मानसिकताले गाँजेका समाजका उपल्ला केही व्यक्तिहरुले गिज्याउने शैलीले यो शब्दको प्रयोग बढी गर्ने गरेको पाइन्छ । मधेशका महिलाहरु सदियौंदेखि गृहिणीको रुपमा बस्दै आएको तथा केही दशकदेखि मात्रै अगाडी आउन थालेपछि महिला नेतृको रुपमा गिज्याउन ‘नेताइन’ शब्द आएको हो । पहिला पहिला यो शब्द महिलाहरुलाई पचाउन ग्राहो भएपनि अहिले भने यो शब्दले सफलताको श्रेयको रुपमा वुझिन शुरु भइसकेको छ । त्यसैले पनि यो आलेखमा गिज्याउने दृष्टिकोणले नभई महिलाको सफलताको श्रेयको रुपमा, आदरको रुपमा ‘नेताइन’ शब्दको प्रयोग भएको हो ।
भनिन्छ, सफलताको शिखरमा पुग्न शुन्यबाट नै शुरु गर्नुपर्छ । शुन्यबाट शुरु गर्नुको अर्थ तलबाट (केही नभएको अवस्थाबाट) नै शुरु गर्नु हो । रुखको माथिल्लो भागमा पुग्न जडो समात्नैपर्छ । एकैचोटी रुखको टुप्पोमा पुग्न कठिन मात्रै होइन नामुमकिन नै छ ।जडो समातेर पनि सहजताका साथ पुग्न सकिदैन् । अलिकति पनि कमजोरी भयो भने पछार्न बेर लाग्दैन् । जसरी जहाजको एउटा सानो प्वाल नै ज्यान जानेसम्मको स्थिती सिर्जना गर्न सक्छ । त्यस्तै नै यसमा पनि हुन्छ । यसको लागि सिप, धैयर्ता, साहस र गर्न सक्ने आँट भने हुनैपर्छ । यो कुरा हरेक क्षेत्रमा लागु हुन्छ । मधेशमा पनि महिलालाई कुशल गृहिणीबाट ‘नेताइन’ बन्न दशकौं लागेको छ र अहिले पनि यो क्रम जारी रहेको छ । अपेक्षित सफलता हात नलागेपनि केही महिलाहरु गृहिणीबाट ‘नेताइन’ कहलिन शुरु भइसकेका छन् । ‘नेताइन’ बनाउन भने महिलाहरुको चेतनास्तर, व्यक्तिगत तथा सामुहिक क्षमता विस्तारको लागि थुप्रै संघसंस्थाहरुले दशकौंसम्म गरेको र गरिरहेको मेहनतको प्रतिफल हो । यो क्रममा भने केहीले गलत फाइदा उठाएर आफै नेता वा ‘नेताइन’ भएपनि समग्रमा भने थुपै्र हातहरुको सहयोग यसमा रहेको छ । 
अरु संघसंस्थाहरु झै ८ वर्ष अगाडी महोत्तरीमा आएका गरिबी निवारण कोषले पनि यी कार्यक्रमबाट विभिन्न गाउँ विकास समितिमा विभिन्न कार्यक्रमहरुका साथसाथै ‘नेताइन’ उत्पत्ति गर्ने काममा लागेका हुन् । आत्मनिर्भर र सीप नभएसम्म अहिले महिलाहरु ‘नेताइन’ बन्न नसक्ने तथ्यलाई आत्मसात गर्दै कोषले यस सम्बन्धमा विविध कार्यक्रमहरु आयोजना गर्दै आएको छ । आत्मविश्वासले पछाडी पारिएका तथा परेका, अन्धविश्वासले जकडिएका, पुरुषवादी मानसिकताले गाँजेको समाजमा पिल्सिएका महिलाहरुलाई उचित सम्बोधन कोषले गरेको देख्न सकिन्छ । कोषले महोत्तरीमा विभिन्न ९ वटा संस्थासंगको साझेदारीमा थालेको कार्यक्रमले भने अपेक्षित सफलता पाएको देख्न सकिन्छ । समाजका गरीब र सिमान्तकृत समुदायको आवश्यकतालाई सम्बोधन गर्न पूर्वाधारको निर्माण तथा आयवृद्धिका विविध क्षेत्रमा लगानी गरी समुदायलाई अगाडी बढाउन कोषले कार्य गरिरहेको छ । महोत्तरीमा महिला सचेतना समूह, जिल्ला विकास समिति, सिडिपी, आरसिडीएससी, जुप, आईआरडिएफ, डब्लुई, सोडेप र रतौली युवा क्लवसंग कोषले सहकार्य गरी ४५ वटा गाविसमा कार्यक्रम गरिरहेको छ । विशेष गरी आयआर्जन र भौतिक पूर्वाधार निर्माणको लागि कोषका कार्यक्रम लक्षित रहँदै आएको छ । आयआर्जन तर्फ पशुपालन, कृषि, लघुउद्यम, साना व्यवसाय, व्यापार तथा क्षमता विकास र सेवाक्षेत्र जस्ता क्षेत्रहरु रहेका छन् भने भौतिक पूर्वाधार निर्माण तर्फ सडक विस्ता, कल्भर्ट एवम् पुल निर्माण, विभिन्न बाजारहरुमा सेड निर्माण जस्ता कार्यहरु कोषको सहयोगमा यी ९ वटा संस्थाहरुले महोत्तरीमा गर्दै आएको छ । महोत्तरीमा कोषले २१ करोड भन्दा बढीको लगानी गरिसकेको अवस्था रहेको देखिएको छ । जिल्लामा कोषका कार्यक्रमबाट समेटिएका कुल १६ हजार ५ सय ९ घरधुरी मध्ये अति गरिबको संख्या १२ हजार ९ सय ९० अर्थात ७८.६८ प्रतिशत रहेको कोषले केही समय अगाडी प्रकाशन गरेको एक पुस्तकमा उल्लेख छ । लैङ्गिक दृष्टिकोणले १४.५३ प्रतिशत पुरुष र ८५.४७ प्रतिशत महिला रहेका छन् । महिला सशक्तिकरण र परिचालनलाई विशेष जोड दिइएको यस कार्यक्रमले सबैभन्दा बढी दलित महिला, समुदाय यस कार्यक्रमले लाभान्वित भएको देख्न सकिन्छ । कार्यक्रमबाट ६ हजार ३ सय ३५ घरघुरी दलित, ५ हजार ३ सय ८५ घरधुरी जनजाति र ४ हजार ७ सय ८८ घरधुरी अन्य जाति लाभान्वित भएको कोषको पुस्तकमा उल्लेख छ । कोषसंग सहकार्य गरेका महोत्तरीका संघसंस्थाहरुले आयआर्जनका कार्यक्रम छनोट गर्दा स्थानीय स्रोत, साधनको सम्भाव्यता, उचित प्रविधि, क्षमता र बजारको बारेमा विचार गरेर लगानी दिने गरेको छ । आयआर्जनमा दिगोपनाको लागि सो सम्बन्धी तालिम र उचित ज्ञान समेत प्रदान गदैैै आएको छ । समुदायले आफैले गरेको निर्णयलाई उचित मार्गदर्शन दिई सोही अनुसार लगानी ति संघसंस्थाहरुले गरिबी निवारणको क्षेत्रमा गर्दै आएको हो । कोषको कार्यक्रमले नै अहिले महिलाहरुमा एक अर्काको प्रति सम्मान बढेको छ, नेतृत्व गर्ने क्षमताको विकास भई ‘नेताइन’ बन्न थालेका छन् भने उनीहरुको जीवनमा सुधारोत्मक अवसरहरु आएका छन् । पहिला पहिला घरबाहिर निस्कन पनि लाज लाग्ने, परपुरुषसंग बोल्न पनि हिचकिचाउने महिलाहरु सामूहिक मञ्चमा पनि ‘नेताइन’ बन्दै बोलेको देख्न सकिन्छ । यसले पनि एक दशक अगाडीको महिला र अहिलेको महिलालाई तुलना गर्दा पनि सफलतालाई आत्मसात गरेको भन्न सकिन्छ ।
समय परिवर्तनशील छ । हिजो जे थियो, जस्तो थियो आजको अवस्थामा त्यस्तो हुनैपर्छ भन्ने जरुरी छैन् । यदि त्यस्तै छ भने त्यसमा परिवर्तन आएको भन्न सकिन्न् । तर समय परिवर्तनशील भएकोले नै होला परिवर्तन भएकै छ । तर आज जे छ त्यसलाई भोली कसरी राम्रो बनाउन सकिन्छ त्यसको बारेमा भने आजैदेखि गर्नुपर्छ । किनकी, परिवर्तन रातारात हुदैन्, न त फिल्मा देखाए झै तुरुन्त जादुको छडीले गर्न सकिन्छ । समाजमा आफ्ना अधिकारको बारेमा वुझन थालेका, बोल्न थालेका तथा आ–आफ्ना क्षेत्रमा ‘नेताइन’ बनेर अगाडी अएका महिलाहरुलाई कसरी स्थायी राख्न सकिएला यसमा भने कोषलगायत यसका साक्षेदारहरुले सोच्नैपर्छ । उपयोगमा नआएपछि जसरी फलाममा खिया लागेर त्यो काम नलाग्ने अवस्थामा पुग्छ त्यस्तो नहोस् बरु आगोमा तताएर भएपनि सुनझै चम्काउन लाग्नुपर्छ । पोखरीमा एउटा ढुङ्गा हान्दा जसरी लहर चल्छ, कोषको कार्यक्रमले पनि विपन्न, गरिब र सिमान्तकृत समुदायमा लहर चलेको छ र त्यो लहरलाई जिवित राख्न सक्नुपर्छ । गरिब, गरिबी र सिमान्तकृतको नाउँमा कतिपयले आफनो गरिब र गरिबी मिटाई सकेका छन् । लक्षित समुदायलाई लाभ नपुगेको होइन तर जति पुग्नपथ्र्यो त्यत्ति नपुगेको सत्य हो । जे भएपनि उनीहरु अब ‘नेताइन’ बन्न थालेका छन् र पछि उनीहरु आफनाबारेमा आफै नै अगाडी आउने निश्चित छ । तर पनि जो छ यो भन्दा अझ राम्रो गर्नुपर्ने आवश्यकता छ र यसको लागि आयआर्जन तर्फ पकेट क्षेत्र घोषणा, ऋण सहयोगमा बढोत्तरी, उचित तालिम तथा ज्ञानको प्रबन्ध, बजारीकरण, पशुविमा, विभिन्न संघसंस्थाहरुसंगको सहकार्य, अझ चेतनामूलक कामकारवाहीबारे जानकारी दिन पनि त्यत्तिकै अनिवार्य छ । कोषले साक्षेदार संघसंस्थाको कामकारवाहीलाई सुक्ष्मरुपले बेलाबेलामा अनुगमन मार्फत केलाउनुपर्छ र यसको उचित प्रबन्ध पनि गर्नुपर्छ । अहिलेको अवस्थामा संघसंस्थाहरु फाइदाकै लागि काम गर्ने परिपाटीदेखिएको तथा कणिका छरेसरी देखाउनकै लागि काम गरिरहेको अवस्थामा कोषको भूमिका अझ बढने देखिन्छ । कोषले यसक्षेत्रमा काम गरि आयआर्जन र भौतिक निर्माणको क्षेत्रलाई अझ बढोत्तरीका गर्नुका साथै अरु गाउँहरुलाई पनि यस पुनित कार्यमा समेटनु जरुरी छ ।

(गरिबी निवारण कोष पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएका कर्ण महोत्तरीबाट प्रकाशित हुने मैथिल संदेश साप्ताहिकका प्रकाशक÷ सम्पादक हुुनुहुन्छ) 
(गरीबी निवारण कोष महोत्तरीद्वारा प्रकाशित गरीबी विरुद्वको अभियान पुस्तकमा प्रकाशित) 

मधुश्रावणी पर्वको रौनकताले मिथिला झुम्दै

महोत्तरी समाचारदाता
जलेश्वर, साउन ११ गते । मिथिलाञ्चलका नवविवाहिता मिथिलानीहरुले हर्षोल्लास र धुमधामका साथ मनाउने पर्व मधुश्रावणीको रौनकतामा मिथिला झुमेको छ ।
१५ दिन सम्म मनाइने यो पर्वमा नवविवाहिता महिलाहरु १५ दिनसम्म गृहस्थी कसरी चलाउने भन्ने बारेमा शिक्षा प्राप्त गर्ने कथाहरु सुन्ने गर्दछन् । त्यसैगरी पतिको दिर्घायुको कामना गर्दे उनीहरु गौरी, विषहरा लगायतका पुजा समेत गर्ने गर्दछन्  ।
“ सखी फुल लोढ चलु फुलबरिया, सीताके संग सहेलिया, कोई बेली फुल लोढे चमेली फुल लोढे, कोई लोढेला चम्पाके कलिया, सीताके संग सहेलिया..” लगायतका गीतहरु गाउँदै जब समुहमा महिलाहरु निस्किने गर्छिन तवको दृश्यले सबैलाई मनमोहक बनाउने गर्छ ।
हरेक श्रावण कृष्णपञ्चमी देखि शुरु भई श्रावण शुक्ल द्धितिया सम्म यो पर्व मिथिलाञ्चलका कायस्थ, बा्रहमण, सोनार र देवजातिका नवविवाहिता महिलाहरुले मनाउने गरेका छन ।
श्रावण मासको झरी, कालो वादल र न्यानो घामको स्पर्श गदै युवतीहरु नाच्ने, गाउने, र विवाहिताहरुले आफ्नो पतिसंग वितेको मधुर क्षणबारे साथीसंगीहरुसंग कुराकानी गर्ने गरेकोले यो पर्वलाई मधुश्रावणी भनिएको हो ।
यो पर्वमा नवविवाहिताले आफ्नो साथीहरुलाई यौनको कुरा देखि लिएर पति संग विताएको क्षण सम्म भन्ने गरेको कारण यसलाई यौन शिक्षा दिने पर्व समेत भनिएको छ । यो पर्वमा नवविवाहिताले नागपञ्चमी सम्बन्धि कथाहरु सुन्नुका साथै नागको अर्थात विषधरको पुजा गर्ने गर्दछन् ।
पतिप्रेम बढोस र पति प्रति आदर भाव जागोस भनी यो पर्व अवधिभर शिवगौरी, विषहारा, शिवलिला र श्रवणकुमार लगायतको कथा सुनाउने गरिन्छ । यो पर्व माईतमै मनाउने प्रचलन रहे पनि आज भोली यो पर्व ससुरालमा समेत मनाउन थालिएको छ ।
यो पर्वको विशेषता भनेको विषघरको पुजा बासी फुल र पातबाट गर्नु र पुजा अवधि भर नवविवाहिताले खानेकुरा सबै ससुराकै खानुपर्ने रहेको छ । सोही कारण ससुराबाट नवविवाहिताहरुको लागी पुजा अवधिभरको लागी सबै सामान जोहो गरी पठाईने गरेको हुन्छ । यो पर्व १५ दिनसम्म मनाईने गरिन्छ ।
श्रावणको झरी, कालो वादल, चारैतिर हरियाली, नवविवाहिता महिलाको सिंगारपटार लगायतका दृश्यहरुले कामोत्तेजना बढाएको हुन्छ र यो पर्वमा सोहीकारणले जतिसुकै टाढा पति भएपनि आउने गरेको कारणले यसलाई मिथिलाञ्चलको हनिमुन भनेर भनिन्छ ।
विषहाराको पुजा बासी फुल र पातबाट हुने गरेको कारण नवविवाहिता महिलाहरु लगायत छरछिमेकका संगीसाथीहरु मिलि समुहमा गित गाउँदै गाउँ बाहिर स्वछन्द भई घुम्ने गर्दछन ।  कहिले पनि घर बाहिर ननिस्कने महिलाहरु समेत पुजा अवधिभर साथीहरुसंग गफिदै झरीको मजा लिन चुक्दैनन भने उनीहरु समुह समुह बनाई चौमासा, छमासा, बटगवनीको सुमधुर गीतहरु पनि गाउने गर्छिन । सो समयमा नवविवाहिता महिलाहरुले सिंगारपटार गरी निस्कदा केटा देखि बुढो सम्मको हेर्नको लागी घुईचो लाग्ने गर्दछ ।
यो पर्व टेमि (आगोले पोल्ने कार्य) दिएर सकिने गरिन्छ । महिलाहरुलाई अग्नि परिक्षा स्वरुप घुँडामा टेमि दिईन्छ र जति ठुलो फोका उठ्छ त्यत्ति बढी नै पति प्रति माया र पतिको दिर्घायु हुन्छ भन्ने मान्यता रहेको पाईन्छ । यो पर्वलाई समय सापेक्षरुपमा अगाडी बढाउदै लगियो भने अझ पनि यसको महत्व बढने देखिन्छ । 

बाढी Mahottari

बाढीको कारण महोत्तरीको विभिन्न सडकबाट पानी बग्न थालेपछि यातायात बाधित बनेका छन् । जनकपुर जलेश्वरसडक खण्डको पिपरामा तथा जलेश्वर मटिहानी सडकखण्डको सुगा भन्दा अगाडी दुई ठाउँमा दुई फिट भन्दा बढी पानी सडकबाट बग्न थालेपछि यात्रुहरु मर्कामा परेका छन् । विभिन्न यात्रुहरुले सो सडकमा फोटो खिचेर राखेका केही तस्व्रि हरु ः सभाार फेसबुक ज्ञानीबाबाको वालबाट, माइकल वर्माको वालबाट,



सदरमुकाम विकासको लागि ५० करोड

Nagendra Kumar Karna
महोत्तरी समाचारदाता
जलेश्वर, साउन ९ गते । तराई मधेशका जिल्ला सदरमुकामहरुलाई आर्थिक तथा व्यवसायिक केन्द्रको रुपमा विस्तार गरी आधुनिक शहरमा रुपान्तरण गर्न सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा एक अन्तरक्रिया आयोजना गरेको छ ।
‘जलेश्वर नगरपालिकामा सघन सहरी विकास’ कार्यक्रम अन्तर्गत जलेश्वर नगरपालिकाको आयोजनामा सहरी विकास मन्त्रालयले अन्तरक्रिया आयोजना गरेको हो । नयाँ सहर आयोजनाका आयोजना निर्देशक चक्रवर्ती कंठको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा प्रमुख अतिथी कंठले तराई जिल्लाको सदरमुकामको विकासको लागि ५० करोड रुपैया आएको जानकारी दिनुहुदै सदरमुकामहरुलाई आर्थिक तथा व्यवसायिक केन्द्रको रुपमा विकास गरिने लक्ष्य मन्त्रालयले लिएको जानकारी दिनुभयो ।
उहाँले भौतिक संरचना निर्माण, सडक विस्तार, ढल व्यवस्थापन, मनोरञ्जन पार्क, सौर्यउर्जा, बसपार्क, खानेपानी लगायत पूर्वाधार निर्माण, बजार व्यवस्थापन तथा सौन्दर्यकरणको लागि यी रकम खर्च गरिने जानकारी दिनुहुदै यही साउन १५ गते भित्र उच्च प्राथमिकताहरु छनौट गरी प्रतिवेदन वुझाउनुपर्ने भएकोले अन्तरक्रिया गरिएको जानकारी दिनुभयो ।
नगरपालिकाहरुमा बजेट कार्यान्वयन गर्न गठित मिसन टोलीका संयोजक समेत रहनुभएका निमित्त आयोजना निर्देशक कंठले नगरपालिकाको कार्यक्षेत्र भित्र एकिकृत कार्यमूलक योजना, आवद्यिक योजना, भौतिक विकास योजना, रणनैतिक शहरी विकास योजना लगायतका प्राथमिकताकाक्षेत्रहरु पहिचान गरी सोही अनुसार प्रतिवेदन पेश गर्ने बताउनुहुदैं उहाँले ईमान्दारीपूर्वक काम भएको खण्डमा जलेश्वरको विकास सम्भव रहेको बताउनुभयो ।
उहाँले यी योजनाहरुको लागि कम्तीमा पनि सडक २० फिटको हुनुपर्ने जानकारी गराउनुहुदै यसको लागि राजनैतिकदलहरु, नागरिकसमाज, सञ्चारकर्मीहरु तथा स्थानीयहरुको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले यहाँका सरोकारबालाहरु सबैले सकारात्मक सोचले काम गर्ने हो भने तिनवर्षको लागि कम्तीमा पनि डेढ सय करोडको आयोजनाको काम गरिने जानकारी दिनुहुदै सबैलाई सहयोगको लागि आग्रह गर्नुभयो । 
जलेश्वर नगरपालिकाका अधिकृत माघवेन्द्र चौधरीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियरद्वय सशीन्द्र घिमिरे, विश्वराज प्रजापतिसहित जलेश्वरनगरपालिका राजनैतिकदलका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु, नागरिकसमाजका अगुवाहरु, युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
सो अवसरमा स्थानीयहरुले नगरभित्रकै विभिन्न वडाहरुले शहरको अनूभूति नगरेको अवस्थामा आएको यो कामको सराहना गर्नुहुदै यो आयोजना कार्यान्वयनको लागि आफुहरुले सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए ।

प्रधानमन्त्रीबाट ओलीको राजिनामाले जलेश्वरका युवा खुशी, मैनवत्ती बालेर खुशी जाहेर

Nagendra Kumar karna
महोत्तरी समाचारदाता
जलेश्वर, साउन ९ गते । नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिएकोमा जलेश्वरका युवाहरुले मैनवत्ती बालेर खुशीयाली प्रकट गरेका छन् ।
मधेश आन्दोलनमा दर्जनौंलाई गोली ठोकेर हत्या गरेको तथा मधेशको माँगलाई सम्बोधन नगरेको आरोप युुवाहरुले लगाउँदै आएका छन् ।
देशको प्रधानमन्त्री बनेदेखि नै मधेशको माँगमा सम्बेदनशिल बन्न नसकि आन्दोनललाई नै मजाक बनाएको आक्रोशमा पटक पटक जलेश्वरका युवाहरुले प्रधानमन्त्री ओली विरुद्ध प्रर्दशन गरिसकेका छन् ।
आईतबार ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिएपछि जलेश्वरका युवाहरुले स्वस्र्फूत रुपमा दुर्गाचोकमा ओली विरुद्ध नाराबाजी गर्दै मैनबत्ती बालेर खुशीयाली प्रकट गरेका थिए । युवाहरुले प्रधानमन्त्रीबाट ओलीको बर्हिगमनसंगै मधेशको माँग अब पुरा हुने विश्वास समेत व्यक्त गरेका छन् ।
सो अवसरमा जलेश्व्रका युवाहरु गजेन्द्र गुप्ता, सुशिल राउत, पप्पु साह, राकेश साह, अर्जुन साह लगायतका उपपिस्थती रहेको थियो ।





किन पछाडि पर्‍यो मधेस ?

विचार/विश्‍लेषण
[विशेष रिपोर्ट] किन पछाडि पर्‍यो मधेस ?
- भूषण यादव, काठमाडौं

धराशायी कृषिक्षेत्र, रुग्ण उद्योगधन्दा, हुलाकी राजमार्ग निर्माणमा राज्यको उदासीनता नै मधेस पछाडि पर्नुका मूल कारण हुन् ।
श्रावण ८, २०७३- झन्डै ५६ वर्षअघि नै मुलुकको आर्थिक मेरुदण्ड भइसकेको मधेस किन पछाडि पर्‍यो त ? समतल भूभाग मात्रैले विकास सहज हुँदोरहेनछ भन्ने उदाहरण हुन्, मधेसका विपन्न बस्तीहरू, जहाँ शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पूर्वाधार लगायत अत्यावश्यक सेवा पहाडका दुर्गम जिल्लाको जस्तै दयनीय छ । कतिपय ठाउँ त पहाडी जिल्लाभन्दा पनि दयनीय छन् ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य शम्भुशरणप्रसाद कायस्थका अनुसार मधेस पछि पर्नुमा राज्य र त्यहाँका नेताहरूको हात छ । ‘मधेसको विकास गर्न राज्य र त्यहाँका नेताले ध्यान दिएका छैनन्, राजनीति मात्र गरेका छन्’, उनले भने, ‘मधेसका नेताहरू भ्रष्टाचारमा लिप्त छन् । कसरी
पैसा कमाउने भन्ने ध्याउन्नमा छन् । विगतमा राज्यले पनि विभेद गर्‍यो ।’
मुलुक संघीय संरचनामा गएपछि हाल प्रदेश नम्बर दुईका ८ जिल्ला पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीका दक्षिणी सीमावर्ती क्षेत्रमा आर्थिक–सामाजिक पूर्वाधारको अवस्था विकराल छ । बिभिन्न अध्ययन अनुसार यस क्षेत्रमा गरिबीको गहनता तुलनात्मक रूपमा बढिरहेको देखिन्छ । अघिल्लो दुई आर्थिक वर्षदेखि सरकारले सीमाक्षेत्र विकास तथा आयआर्जन र सचेतना अभिवृद्धिका लागि विशेष कार्यक्रम नै सञ्चालन गरेको छ । पछिल्लो मधेस आन्दोलन र नाकाबन्दीमा सबैभन्दा बढी मार यही प्रदेशका जनताले भोगे । प्रदेशका ८ वटै जिल्ला विकासमा कति पछाडि परेका छन् भनी जान्न सन् २०१४ को मानव विकास सूचकांकका आधार पर्याप्त छन् ।
राजधानीबाट मात्र ३ सय किलोमिटरको दूरीमा रहेका मध्य मधेसका महोत्तरी र रौतहट मानव विकास सूचकांकको सबैभन्दा तल्लो बिन्दुमा छन् । भौगोलिक रूपमा सुगम र राजधानीबाट नजिकको दूरीमा रहेर पनि मानव विकास सूचकांकमा दुर्गम र विकट हुम्ला, कालिकोट र रौतहट, महोत्तरीको अवस्था एउटै छ । समग्र तराईको मानव विकास सूचकांक ०.४६८ रहेको छ भने पहाडी क्षेत्रको ०.५२० रहेबाटै थाहा हुन्छ, मधेस विकासमा कति पछाडि छ भन्ने । आर्थिक सम्भावना धेरै भएका मधेसका जिल्लाहरू मानव विकास सूचकांकमा भने धेरै पछि परेका छन् । गरिबी, अशिक्षा र त्यसले निम्त्याएको चेतनाको अभावमा मध्य मधेसका जिल्ला धेरै पछि परेको जानकारहरू बताउँछन् । सुविधा र सेवाको माग पनि गर्न नसक्ने जनता र तिनीहरू लक्षित कार्यक्रम कार्यान्वयन गर्न नसक्नाले अविकास र पछौटेपन बढ्दो छ ।
यस क्षेत्रका अधिकांश युवा वैदेशिक रोजगारमा गएका छन् । महोत्तरी र धनुषाबाट वैदेशिक रोजगारमा जानेको संख्या अधिक छ । पछिल्लो समय पर्सा र बाराका युवा पनि रोजगारका लागि विदेशिन थालेका छन् । परम्परागत खेतीतर्फ विकर्षण बढ्दो छ । चालु आर्थिक वर्षको बजेटमा पनि सरकारले तराई मधेसलाई प्राथमिकतामा राखेको छ । विभिन्न शीर्षकमा मधेसको पूर्वाधार विकासका लागि झन्डै ३६ अर्ब रुपैयाँ विनियोजन गरेको छ । मधेसमा विगतमा पनि बजेट नआएको हैन । तर खर्च गर्ने परिपाटीको विकास नहुँदा बजेट बढाएर कुनै फाइदा नहुने आर्थिक विश्लेषकहरू बताउँछन् । हालकै संरचनामा विनियोजन गरिएको बजेट खर्च गर्न असम्भव रहेको आर्थिक जानकार विनोद गुप्ताको दाबी छ । मधेसको पूर्वाधार २०५८ सालको जनगणना अनुसार पर्सादेखि सप्तरीसम्मका ८ जिल्लाको गरिबी १९ प्रतिशत थियो । १० वर्षपछि गरिबी बढेर २४ प्रतिशत पुग्यो ।
अर्थ मन्त्रालयको २०१४/१५ को अध्ययन अनुसार नेपाली अर्थतन्त्रमा क्रमिक परिवर्तन हुँदै गएका छन् । कुल गार्हस्थ उत्पादनमा कृषि र उद्योगको योगदान घट्दै गएका छन् । सेवा क्षेत्रको योगदान बढ्ने क्रममा छ । २०००/०१ मा कृषिको कुल गार्हस्थ उत्पादनमा ३६.६ प्रतिशत योगदान थियो ।
२०१४/१५ मा ३३.१ प्रतिशतमा झरेको छ । गैरकृषि क्षेत्रको त्यही अवधिमा ६३.४ प्रतिशत बाट ६६.९ प्रतिशत पुगेको छ । धान, गहँु, मकैको कुल उत्पादनसमेत अघिल्लो आवको तुलनामा २०१४/१५ मा ३ प्रतिशतले घटेको छ । अनुकूल मौसमका कारण राष्ट्रिय बाली धानको उत्पादन ५.१ प्रतिशत ४.७८ सम्म कमी आएको छ । उद्योगी अनिल रुंगटा राज्यले मधेसलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्न नचाहेकाले यो क्षेत्र धराशायी बनेको दाबी गर्छन् । ‘भौतिक पूर्वाधारमा लगानी नै भएन,’ उनले भने, ‘छिमेकमा ठूलो बजार भारत भएको अवस्थामा यहाँ औद्योगीकरण फस्टाउने प्रबल सम्भावना छ ।’ तर ऊर्जा अभावमा उद्योग रुग्ण बनेका छन् ।
१९६० को दशकसम्म तराई–मधेस नेपालको आर्थिक मेरुदण्ड भइसकेको थियो । मुलुकमा आर्थिक रूपले सक्रियमध्ये ९४ प्रतिशत मानिस जीविकोपार्जनका लागि कृषिमा निर्भर थिए । कुल राष्ट्रिय उत्पादनको मुख्य स्रोत कृषि थियो । नेपाल राष्ट्र बैंकले गरेको अनुमानअनुसार आर्थिक वर्ष १९६४–६५ मा ६५ प्रतिशत कुल गार्हस्थ उत्पादन कृषि क्षेत्रबाट प्राप्त भएको थियो । मधेस कृषिको उर्वर भूमि थियो । मधेसको आर्थिक महत्त्वलाई अंकमा बुझ्नका लागि नेपालको कुल गार्हस्थ उत्पादन र राजस्वमा त्यसबेला मधेसको योगदान हेर्दा प्रस्ट हुन्छ ।
त्यसबेलाको कृषि मन्त्रालयको तथ्यांकअनुसार तराईमा उत्पादन हुने ११ वटा मुख्य बालीले मुलुकको कुल कृषि उत्पादनको ४८ प्रतिशत हिस्सा ओगटेको थियो । राष्ट्र बैंकको कृषि उत्पादन सम्बन्धी आंँकडामा ११ वटा प्रमुख बालीबाहेक अन्य बाली, पशुपालन र वनबाट हुने आम्दानी संलग्न नभएकाले यो आम्दानी यसभन्दा १५ प्रतिशत बढी हुन्थ्यो । यसैले तराईको कृषि क्षेत्रको योगदान झन्डै ५५ प्रतिशत हुन आउँथ्यो । खाद्यान्न अभाव हुने नेपालका पहाडी भेगमा ठूलो परिमाणमा तराईबाट चामल लगिन्थ्यो । त्यतिमात्र होइन, तराईको धान भारतमा समेत ठूलो परिमाणमा निर्यात हुने गरेको थियो । १९६५ मा ३ लाख ४८ हजार मेट्रिक टन धान तराईबाट भारत निर्यात गरिएको अनुमान राष्ट्र बैंकले गरेको थियो । त्यस वर्ष नेपाल विश्वको पाँचौँ ठूलो धान निर्यात गर्ने मुलुक बनेको समेत राष्ट्र बैंकले त्यसबेला उल्लेख गरेको थियो ।
त्यस वर्ष नेपालले धान निर्यातबाट २३ करोड ७७ लाख ७२ हजार भारतीय रुपैयाँ आर्जन गरेको थियो । राष्ट्र बैंकले आर्थिक वर्ष सन् १९६४–६५ मा कुल गार्हस्थ उत्पादनको ११ प्रतिशत हिस्सा औद्योगिक क्षेत्रको रहेको अनुमान गरेको थियो । सन् १९६२ मा नेपालका निजी क्षेत्रका १ हजार ६ सय ८६ वटा साना उद्योगमध्ये ७२ प्रतिशत मधेसमा सञ्चालित थिए । सार्वजनिक क्षेत्रका केही ठूला उद्योग पनि मधेसमै रहेकाले नेपालको औद्योगिक उत्पादनमा मधेसको योगदान ७२ प्रतिशतभन्दा बढी थियो । सन् ६० को दशकमा अमेरिकी नागरिक फ्रेडरिक एच गेजले गरेको अनुसन्धानमा आधारित पुस्तक ‘रिजनालिजम एन्ड न्यासनल युनिटी इन नेपाल’मा लेखेका छन्– ‘सारांशमा, तराईले नेपालको कुल क्षेत्रफलको करिब १७ प्रतिशतमात्र जमिन ओगटेको भए पनि र यहाँ ३१ प्रतिशतमात्रै मानिस बस्ने गरेका भए पनि यसले नेपालको कुल राष्ट्रिय उत्पादनमा ५९ प्रतिशत र राजस्वमा ७६ प्रतिशत योगदान गर्छ ।’ भन्सार विभागका प्रवक्ता सूर्य सेढाईंका अनुसार गत आर्थिक वर्षको ११ महिनामा २१ अर्ब १२ करोड रुपैयाँको चामल, धान, कनिका मुलुकमा आयात भएको छ ।
संकटमा कृषि
केही दशक अघिसम्म कृषि र खेतीपातीलाई नै आफ्नो मुख्य पेसा बनाएको मधेसी समाजले यतिखेर वैदेशिक रोजगारलाई मुख्य पेसा बनाएको छ । वैदेशिक रोजगार नै रोजगारीको मुख्य आकर्षण बन्न पुगेको छ । ‘कृषिमा लाग्ने जनशक्ति सबै खाडीतिर छ, घरमा बूढाबूढी मात्र छन्’, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य कायस्थले भने, ‘कृषि उद्योगलाई आधुनिकीकरण गर्नेबारे नेताको ध्यान छैन । उनीहरू केन्द्रमा बसेर मधेसको राजनीति गर्छन् ।’
विगतमा रोजगारका लागि छिमेकी भारतको पन्जाब र हरियाणा जाने मधेसी युवाले अहिले मलेसिया र खाडी मुलुकलाई आफ्नो गन्तव्य बनाएका छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालबाट १९ लाख १७ हजार ९ सय ३ विदेशिएका मध्ये मधेसबाट मात्र ८ लाख ११ हजार ८ सय ८० जना रहेका थिए । यो संख्या कुल विदेशिने मध्येको ४२.३ प्रतिशत रहेको छ । कृषि उत्पादनको अपार सम्भावना हुँदाहुँदै पनि आकाशे पानीको निर्भरता, सस्तो भारतीय कृषि उपजसँगको प्रतिस्पर्धा, मलको अभाव, उत्पादनले बजार र मूल्य नपाउनु, कृषिलाई सम्मानजनक पेसाको रूपमा नलिइनु, युवा जनशक्तिलाई व्यावसायिक खेतीमा आकर्षण गर्न नसक्नु लगायत राज्यको प्रभावकारी नीतिको अभावमा युवा जनशक्ति कृषि पेसाबाट टाढा हुँदै गएका छन् । यससँगै छिमेकी भारतले कृषिमा आधुनिकीकरण गर्दै कृषि क्रान्ति नै गर्‍यो । बीउ–बिजन, मलमा अनुदान दिने गरेको छ । पारिको सस्तो उत्पादन लागतको तुलनामा वारिको उत्पादन महँंगो भएपछि धान व्यापारीले पारिबाटै सस्तोमा धान आयात गर्न थालेका छन् । अन्न भण्डारलाई सिञ्चित गर्न सुनसरी–मोरङ, वागमती, नारायणीजस्ता ठूला सिंचाइ योजना निर्माण नभएका हैनन् । तर क्षमताअनुसार पानी नआउनु, हिउँदमा सुख्खा रहनाले यसको उपादेयता रहेन । सरकारले समयमै मर्मत—सम्भारसमेत गर्नसकेको छैन । मर्मत—सम्भारका लागि बजेट निकासा भए पनि सिंचाइ योजनाबाट जनता लाभान्वित हुनसकेका छैनन् । देशकै ठूलो सुनसरी–मोरङ सिंचाइ योजनाको नहरमा वर्षमा मुस्किलले ३ महिनामात्रै पानी बग्छ ।
सरकारको वार्षिक करिब ४५ करोड रुपैयाँ खर्च हुने योजनाले गहुँखेती र चैते धानको मौसममा किसानलाई पानी उपलब्ध गराउनसकेको छैन । वर्षायाममा पनि ६० क्युसेफ पानी छोड्नुपर्नेमा नहर जीर्ण भएको जनाउँदै मुस्किलले ३५ क्युसेफमात्र पानी छाड्दै आएको छ । पर्सा, बारा र रौतहट जिल्लाको खेतीयोग्य जमिनलाई सिंचाइ गर्ने उद्देश्यले १९५९ मा नेपाल र भारतबीच गण्डक सम्झौता भएको थियो । नवलपरासीस्थित नारायणी (गण्डक) नदीमा निर्माण गरिएको व्यारेजबाट नेपालका लागि पर्साको जानकी टोला भएर गण्डक नहरमा पानी आउने गरेको छ । ८१ किलोमिटर लम्बाइको नहरमा हाल ५६ किलोमिटरसम्म मात्र पानी आउँछ । बहाव क्षमता ८ सय ५० क्युसेफ भए पनि सम्झौताअनुसार भारतीय पक्षले पानी छाड्दैनन् । रौतहटसम्म सिंचाइ गर्ने योजना भए पनि बाराको आधा भागसम्म मात्र पानी पुग्ने गरेको छ । सर्लाहीमा सञ्चालित वागमती सिंचाइ योजनामा पनि हिउँदे बालीका लागि पानी अपुग हुने गरेको छ ।
रुग्ण उद्योग
पछिल्लो मधेस आन्दोलन र साढे ४ महिनाको भारतको अघोषित नाकाबन्दीको अत्यधिक मारमा यही क्षेत्र परेको थियो । वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योग बढी प्रभावित भए । भैरहवा, विराटनगर नाका केही दिनको अवरोधपछि सुचारु भएको थियो । वीरगन्ज नाका पहिलो दिनदेखि अन्तिम दिनसम्म ठप्पै रह्यो । छिटपुट खुलेका उद्योगले अन्य नाकाबाट कच्चा उद्योग महँंगो ढुवानी भाडा तिरेर यहाँसम्म ल्याएका थिए । मधेस आन्दोलन र नाकाबन्दीको ‘इपिसेन्टर’ वीरगन्ज बनेपछि औद्योगिक लगानी पलायन भएका छन् । सिप्रदी प्रालिले भैरहवा नाकाबाट ६० प्रतिशत काम थालेको छ । चौधरी ग्रुपले समेत त्यही नाकाबाट आयात थालेको छ । ठूलो औद्योगिक घराना निम्बस ग्रुपले भैरहवा सेजमा नयाँ उद्योग खोल्नका लागि पहल गरेको छ । वीरगन्ज उद्योग वाणिज्य संघका अनुसार नयाँ उद्योग खोल्न चाहने उद्योगीले तत्काल वीरगन्जमा लगानी गर्न चाहेका छैनन् ।
भैरहवा, बुटवल, चितवन, हेटौंडा लगायतका क्षेत्रमा उद्योगका लागि जग्गा खरिद गर्न थालेका छन् । पटक—पटकको बन्द र श्रम समस्याका कारण सिमराको सूर्य टोबाकोले तनहुँको टोवामा नयाँ प्लान्ट निर्माण गरेको छ । पर्साको सिर्सियाबाट रुस्लान भोड्का उत्पादन गरिरहेको हिमालयन डिस्टिलरीले समेत उक्त प्लान्ट रूपन्देही सारिसकेको छ । मुलुकको प्रमुख आर्थिक क्षेत्र राजनीतिक अखडामा बदलिएपछि लगानीकर्ता हच्किएका छन् । ‘पुँजी र बजारको सुरक्षा जहाँ हुन्छ, व्यापारी त्यहीं आकर्षित हुन्छन्,’ एक उद्योगीले भने, ‘फाइदा हुने ठाउँमा व्यापार गरिन्छ ।’ पछिल्लो दशकयता पर्सा, बारा औद्योगिक करिडोरका ठूला र साना गरी २७ उद्योग बन्द भइसकेका छन् । सञ्चालनमा रहेका उद्योग पनि रुग्ण अवस्थामा छन् । ऊर्जा संकटको मार खेपिरहेका उद्योगले क्षमता बमोजिम उत्पादन गर्न सकिरहेका छैनन् । भूकम्प र नाकाबन्दीपछि पुनर्निर्माणको समयमा अत्यधिक माग रहेको डन्डीको भारतबाट आयात बढ्दो छ । जगदम्बा स्टील्स प्रालिका प्रबन्धक रोसित उन्नेथानका अनुसार बढ्दो लोडसेडिङले उनको उद्योगले क्षमताभन्दा ५० प्रतिशत कम उत्पादन गरिरहेको छ ।
‘लाइफ लाइन’ हुलाकी मार्ग
मधेसका बस्ती हुलाकी राजमार्ग वरपर नै छन्, तर सडक छैन । अन्नको भण्डार र कृषिको मेरुदण्ड, तराई जहाँको उत्पादनले मुलुकलाई पाल्न सक्छ, यस्तो ठाउँमा व्यवस्थित सडक नहुँदा पुराना बजारहरू उजाड भएका छन् । व्यवस्थापिकाको विकास समितिका अध्यक्ष रविन्द्र अधिकारी नेतृत्वको टोलीले गत जेठमा हुलाकी राजमार्गको स्थलगत अध्ययन र मधेसमा विकास कार्यक्रमको अवस्थाबारे जानकारी लिँदा कतिपय स्थानमा गाडी चल्न पनि गाह्रो, धुलाम्य, स्पष्ट बाटोको डोबसमेत नभएको हुलाकी राजमार्गलाई नछाडिकन झापा, सुनसरी हुँदै पर्सा आइपुगेका थिए । जिल्ला विकास समिति पर्साको कार्यकक्षमा भएको छलफल कार्यक्रममा अध्यक्ष अधिकारीले भनेका थिए, ‘यातायात र सिंचाइ मात्रको व्यवस्थाले यहाँको जीवनमा धेरै ठूलो परिवर्तन हुनसक्छ ।’
हुलाकी राजमार्गको विकास र विस्तारले मधेसमा पुराना बजारहरू जुर्मुराउनेछन् । ‘यही हुलाकी राजमार्ग मात्र सम्पन्न हुने हो भने पनि मधेसमा रहेको आक्रोश र ६० प्रतिशत मनोवैज्ञानिक समस्या समाधान हुनेछ,’ उनले भनेका थिए, ‘मधेस आन्दोलनको सम्बोधन विकासबाट गर्नसके मात्र दिगो हुनसक्छ ।’ यदि हुलाकी राजमार्ग राम्रो हुन्थ्यो भने मधेसका ग्रामीण भेगसम्म सडक सञ्जाल विस्तार गरी कृषि उपजको बजारीकरण गर्न सघाउ पुग्थ्यो । शिक्षा र स्वास्थ्यमा पहुँच पुग्थ्यो । कृषि व्यापार, उद्योग, पर्यटन विकास भई रोजगारी सिर्जना हुने थियो । पूर्व–पश्चिम राजमार्ग, हुलाकी राजमार्ग र तिनीहरूलाई जोड्ने सहायक मार्गले मधेसमा अकल्पनीय आर्थिक वृद्धि, समुन्नति, विकास कार्य र स्थानीय जनताको जीवनमा अभूतपूर्व परिवर्तन आउने उनले छलफलमा बताएका थिए ।
१९७० को दशकमा मेचीदेखि महाकालीसम्म तराईलाई वारपार जोड्ने पूर्व–पश्चिम राजमार्ग निर्माण भएपछि एकअर्कासँग अलग रूपमा रहेका देशका विभिन्न भाग जोडिएका थिए । त्यस अघि एउटा क्षेत्रबाट अर्को क्षेत्रमा जानका लागि दक्षिणतिर झरेर सबैभन्दा नजिकको भारतीय रेल स्टेसनमा पुगेर त्यहाँबाट आफू जाने ठाउँभन्दा दक्षिणमा रहेको भारतीय बजारसम्म रेल चढी त्यहाँबाट पैदल हिँडेर जानुपथ्र्यो । गेजले किताबमा लेखेका छन्, ‘पूर्व–पश्चिम राजमार्गको निर्माणपछि यसले राष्ट्रिय एकात्मताको प्रक्रियालाई सहज बनाउने आशा नेपालीहरूले गरेका छन् ।’ तर मधेसी विश्लेषकका अनुसार तराईको घना जंगल पँmडानी गरी निर्माण गरिएको उक्त सडकले मधेसका सदरमुकामहरू अहिले मृत बन्न पुगेका हुन् । पूर्व–पश्चिम राजमार्गका दमक, इनरुवा, इटहरी, लालबन्दी, बर्दीबास, नवलपुर, चन्द्रनिगाहपुर, निजगढ, पथलैयाजस्ता नयाँ सहर गुलजार भए । राजविराज, गौर, जनकपुर, कलैया, मंलगवाजस्ता विगतमा मधेसका आर्थिक केन्द्र मानिएका सहरहरू अहिले मृतप्राय: बनेका छन् । राजमार्ग निर्माणसँगै मधेसका सदरमुकामहरूलाई जोड्ने सडक निर्माण भए पनि मुख्य व्यापारिक नाका विराटनगर र वीरगन्ज बाहेकका सडकको अवस्था जीर्ण छ ।
विभेदको सुरुवात
१९५० को दशकमा औलो उन्मूलन भएपछि सरकारले ठूलो संख्यामा पहाडी बासिन्दालाई तराईमा झर्न प्रोत्साहित गर्‍यो । यसले पहाडको भूमिहीनताको समस्यालाई केही कम गर्‍यो । तर थारु र मधेसीहरूको जमिन पहाडेका हातमा पुग्यो । यसले ठूलो असन्तुष्टि सिर्जना गर्‍यो । यसको अलावा राज्यले सञ्चालन गरेका पुनर्वास कार्यक्रम अथवा भूमिसुधार कार्यक्रम कुनैबाट पनि तराईका सुकुम्बासीले फाइदा नपाएकाले वा थोरैमात्र फाइदा पाएकाले पनि समस्या चर्कियो । गेजले भनेझैँ ‘निश्चय पनि सरकारका केही प्रभावशाली अधिकारीहरूले भूमिसुधार कार्यक्रमलाई मैदानी मानिसको स्वामित्वमा भएको जमिन पहाडेका हातमा हस्तान्तरण गर्ने साधनका रूपमा उपयोग गर्न सकिने’ आशा गरेका थिए । राज्यको लक्ष्य बफादारीमाथि शंका नहुने जनसंख्या तयार गर्ने थियो । उनीहरूका बुझाइमा यसले बफादारी शंकास्पद ठानिएका मैदानी मानिससँग सन्तुलन मिलाउँथ्यो ।
तराईमा १८ महिना स्थलगत अध्ययनपछि गेजले लेखेको पुस्तकको नयाँ संस्करणको भूमिकामा अर्जुन गुणरत्नेले भनेका छन्, ‘ब्रिटिसले भारत छाडेर गएपछि राष्ट्रिय पहिचान बनाउन नेपाललाई राजनीतिक रूपले आवश्यक पर्‍यो र उसलाई दक्षिणको विशाल मुलुकभन्दा भिन्न पहिचान दिने राष्ट्रियताको भावना जोगाउनु बाध्यता हुनगयो । नेपाल र भारत बीचको सीमा खुला भएको र नेपालमा परिचयपत्रको व्यवस्था नभएकाले सरकारलाई मधेसी र खुला सीमा नाघेर आउने भारतीयहरूबीच अन्तर छुट्याउन कठिन भयो । महेन्द्रले १९६० मा गरेको ‘कू’पछि शक्तिकेन्द्रमा पुन:स्थापित भएका नेपालका परम्परागत कुलिन वर्गले आफूलाई सबैभन्दा महत्त्वपूर्ण लागेका विशेषतामा राष्ट्रिय पहिचान खोजे । यसरी राज्यको दृष्टिमा नेपाली हुनका लागि प्रभुत्वशाली बाहुन, क्षत्री समूहको भेषभूषा, संस्कार र भाषा अपनाउनुपर्ने भयो ।
जहानियाँ राणाशासनको अन्त्य भएपछिको छोटो अवधिका लागि फक्रेको शिशु प्रजातन्त्र बाँचिराखेको भए तराई र यहाँका मानिसको अवस्थामा फरक हुनसक्थ्यो । अपदस्थ प्रधानमन्त्री बीपी कोइराला लगायत नेपाली कांग्रेसका धेरै नेताहरू पहाडे मूलका भए पनि तराईमा बसोबास गरेका थिए ।
ठाकुरराम बहुमुखी क्याम्पसका समाजशास्त्रका प्राध्यापक वीरेन्द्र साहका अनुसार सामाजिक, राजनीतिक, आर्थिक हिसाबले मधेस पहाडभन्दा पछाडि परेको छ । मधेस कृषिमा आश्रित छ । कृषिलाई व्यवसायीकरण गर्नुको सट्टा राज्यले पञ्चायतपछि कृषिको लगानीसमेत घटाउँदै लगेको उनले बताए । बीउ—बिजन, मल र सिंचाइको अभावमा उत्पादन लागत बढ्दै गयो । यसले गर्दा कृषि उब्जनी घट्यो । उनले भने, ‘उत्पादन लागतभन्दा सस्तोमा धान बिक्री गर्ने अवस्था आएको छ । राज्यले हरेक गाविसलाई एकै अनुपातमा बजेट विनियोजन गरे पनि पहाडी गाविसमा ५ सय जनसंख्या भएका गाविस र मधेसका ५ हजार जनसंख्या भएका गाविसलाई समान रूपले बजेट वितरण गरिँदै आएको छ ।’ भौतिक पूर्वाधारका बजेट विनियोजनमा समेत विभेद रहेको उनले औंल्याए । आधी जनसंख्या बस्ने मधेसमा मुलुकको आधा बजेट विनियोजन गर्नुपथ्र्यो, उनले भने । सामाजिक शास्त्रका प्राध्यापक साहका अनुसार मन्त्रिपरिषदमा सहभाग हुने मधेसी नेतासमेत औसत स्तरका परे, चाहे ती ठूला ३ दलका हुन्, चाहे मधेस केन्द्रित दलका । उनीहरूको आवाज न पार्टीमा सुनिन्छ, नत मन्त्रिपरिषदमै, उनले भने, ‘केन्द्रलाई हाँक्न सक्ने मधेसी नेता हालसम्म देखिएनन् ।’ पहुँचको आधारमा समेत मधेसी पछाडि परेको उनको बुझाइ छ । ‘शिक्षादेखि लोकसेवाको परीक्षा नेपाली भाषामा सञ्चालन हुँदै आएका छन्’, उनले भने, ‘त्यसमा पहाडी समुदायकै सामाजिक, सांस्कृतिक र भौगोलिक विषयबारे सोधिएका हुन्छन् । कृषिमा आधारित समाज भएकाले मधेसी समुदाय पहिलेदेखि बढी रुढीवादी समाज हो । सदरमुकाम टाढाका गाउँमा गाह्रोसाह्रो पर्दा अझै मुखियाले नै निर्णय लिन्छन् ।’
आर्थिक विश्लेषक विनोद गुप्ताका अनुसार पृथ्वीनारायण शाहको पालादेखि मधेसलाई हेर्ने जुन सोच थियो, त्यसलाई राणाकाल, पञ्चायतदेखि प्रजातन्त्र हुँदै अहिलेसम्मको राज्यले एउटै बनाइराख्यो । ‘मधेस मौजा उठाउने क्षेत्र हो, करमात्र संकलन गर्ने, तर यहाँको जीवनस्तर उकास्न र भौतिक पूर्वाधार निर्माणमा राज्यले कहिल्यै चासो लिएन’, उनले भने । राणाकालदेखि सञ्चालनमा रहेको हुलाकी राजमार्ग अलपत्र पारेर चारकोसे झाडी फाँडेर पूर्व–पश्चिम राजमार्ग निर्माण गरियो । यसले अहिले मधेसमा भूस्खलन, मरुभूमि र समयमा पानी नपर्ने विकराल समस्या देखिएको छ । जनघनत्व बढी भएको मध्य मधेसमा नारायणी उपक्षेत्रीय अस्पताललाई स्तरोन्नति गरी क्षेत्रीय अस्पताल नबनाई हेटौंडाको जिल्ला अस्पताललाई क्षेत्रीय अस्पताल बनाएको उनले टिप्पणी गरे । शैक्षिक जनशक्ति तयार गर्नका लागि मधेसमा एउटा पनि विश्वविद्यालय स्थापना गरिएको छैन ।
मध्य पहाडी लोकमार्ग निर्माणका लागि राज्यले आफैँ बजेटको व्यवस्था गरे पनि हुलाकी राजमार्ग निर्माणका लागि अघिल्लो वर्षसम्म भारतको भर पर्‍यो । निजीकरणको नाममा बन्द गरिएका विराटनगर जुट मिल, वीरगन्ज चिनी मिल, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखानाको विकल्पमा राज्यले आश्रित परिवारलाई कुनै अवसर दिएन । वीरगन्ज चिनी मिल सञ्चालनमा हुँदा ३ जिल्लाका किसान लाभान्वित थिए । मिल आफैँले ६४ किलोमिटर सडकको मर्मत—सम्भार जिम्मा लिएको थियो । जनकपुर चुरोट कारखाना खुलेको बेला बयलबासदेखि मिर्चैयासम्म व्यापक रूपमा सुर्ती खेती हुने गरेको थियो ।
कांग्रेसका युवानेता राकेश सिंहका अनुसार मधेसी समुदायमा हरेक कार्य राज्यले नै गरिदिने परिपाटी विकसित हुँदै गएकाले पनि पछाडि परेको हो । उनका अनुसार विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समितिको एउटै मोडल पहाडमा सफल हुन्छ, तर मधेसमा यसले अनेक समस्या खडा गरेको छ । ‘विकासका लागि सबै एकजुट भएर बढ्नुपर्ने भावनाको विकास नै भएको छैन’, उनले भने, ‘यहाँका सांसद पनि योजना तर्जुमा गर्ने बेलामा कुनै चासो नै राख्दैनन् ।’
पञ्चायत गएपछि आएको प्रजातन्त्र र गणतन्त्रमा गठन भएको मन्त्रिपरिषदमा मधेसका नेताले प्रभावशाली मन्त्रालय पाएकै छन् । तर खोइ त राष्ट्रिय गौरवका योजना ल्याएको ? । सर्लाहीको नवलपुरदेखि सदरमुकाम मलंगवासम्मको सडक अझै पक्की हुनसकेको छैन । जबकि महन्थ ठाकुर, राजेन्द्र गुप्ता, महेन्द्रराय यादव, अमरेशकुमार सिंह त्यही क्षेत्रका नेता हुन् । विकासप्रति सबैमा उदासीनता छ, उनले भने, ‘अब भावनात्मक नारा छोडेर आर्थिक विकासलाई एजेन्डा बनाउनुपर्छ ।’ मधेसबाट केन्द्रमा पुगेका व्यक्ति आत्मकेन्द्रित भएकाले विकास हुन नसकेको उनले औंल्याए । तत्कालीन समयमा भूराजनीतिक अवस्थाका कारण गरिएका निर्णयलाई अगाडि सारेर मुलुकमा दुई समुदायबीच द्वन्द्वमात्र गरिराख्ने समय यो हैन ।
भाग्यवादको परिणाम
डा. सुरेन्द्र लाभ

केही दशक अघिसम्म राष्ट्रिय आयमा योगदानमात्र हैन, धानको निकासी गर्ने तराईको उत्पादन खस्कँदो छ । विगतमा जनसंख्या थोरै थियो र उब्जनी धेरै हुन्थ्यो । भूमिको उर्वरा शक्ति राम्रो थियो । जनसंख्याको बढोत्तरीसँगै कृषिलाई आधुनिकीकरण गर्न सकेनौँ । माटोको उर्वरा शक्ति पनि घट्दै गयो । तराईतिरका मान्छे बढी भाग्यवादी भएदिए । पहाडतिर कर्ममा केही बढी विश्वास गर्छन् । उता बढी कर्मशील छन् । हामी बढी भाग्यमा विश्वास गर्ने भयौँ । खेतीपातीमा उब्जनी कम हुँदा ठिकै छ, भगवानको यही मर्जी रह्यो यसपाली भनेर चित्त बुझाउँछौँ । उत्पादन नहुँदा पनि भाग्यलाई दोष दिएर बस्यौँ । भाग्यवादी जनता भएकाले राज्यको विभेदको विरुद्धमा जोडले विरोध गर्न सकेनन् । पछौटेपनको कारण पनि हो, भाग्यवादी हुनु । सचेत भएर राज्यले गर्नुपर्ने काम किन गरेन भनेर सोधेनौँ ।
अन्नको भण्डार मानिने मधेसमा बजेट पनि कम आयो । त्यसको पनि खोजी गरिएन । कृषिमा उचित लगानी हुनसकेन । अझै पनि सम्भावना धेरै छन् । यस क्षेत्रमा रहेका ठूला नदीलाई नेटवर्कमार्फत हिउँदमा सुख्खा हुने साना नदीमा पानी ल्याउन सकिन्छ । यो कार्य किसान आफैले गर्न सक्दैन ।
योजना बनाएर राज्य आउनुपर्छ । विगतमा राज्यले पनि गम्भीरता लिएन । मल, खाद्य पुगेन भने त्यसको विकल्पमा अर्गानिक खेती गर्न सिकाउनुपथ्र्यो, तर सिकाएन । कृषि मन्त्रालयको बजेट ठूलो भए पनि लक्षित समूहसम्म बजेट पुग्न सकेन । मधेसी जनता भाग्यवादी, सरकार उदासीन र योजना कार्यान्वयन पक्ष एकदमै फितलो देखियो । मानव सूचकांकमा पहाडका विकट जिल्लाकै सूचीमा हामी आइसक्यौं ।
तराईका मान्छे बढी भाग्यवादी भए । पहाडतिर कर्ममा विश्वास गर्छन् ।
मधेसका ३ वटा लाइफ लाइन छन्, जसले मधेसको कायापलट गर्न सक्छ ।
१. सिंचाइ : यसको व्यापक प्रबन्ध गर्नुपर्‍यो । सिंचाइको कुनै विकल्प छैन । सिंचाइको एउटा नेटवर्क बनाउन आवश्यक छ । यहाँ सञ्चालित सिंचाइ योजनामा आवश्यक परेका बेला पर्याप्त पानी नआउने र हिउँदमा सुख्खा हुने समस्या छ । कोशीदेखि कर्णालीसम्म रहेका नदीको नेटवर्किङ गरी नहरको माध्यमले जोड्न सकिन्छ । यसले केही हदसम्म बाढी पनि नियन्त्रणमा आउँछ र सुख्खा रहेका क्षेत्रमा सिंचाइ पनि गर्न सकिन्छ । सिंचाइ बिना तराई मधेसको प्रगति हुनेवाला छैन ।
२. हुलाकी राजमार्ग : मधेसको सडक पूर्वाधारको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग वर्षौंदेखि चर्चामा छ । तर अझै निर्माण हुनसकेको छैन । मधेसको कायापलटका लागि हुलाकी मार्ग पनि महत्त्वपूर्ण अङ्ग हो । पूर्व–पश्चिम राजमार्गको सट्टामा यो राजमार्ग निर्माण भएको भए अहिले मधेस कहाँबाट कहाँ पुगिसक्थ्यो, त्यसको हामी कल्पना पनि गर्न सक्दैनौँ । हुलाकी मार्गको निर्माणले चुरेक्षेत्रको संरक्षण पनि हुन्थ्यो । यति वन फँडानी पनि हँुदैन्थ्यो । तर राज्यको दुर्भाग्यपूर्ण नीति नै भन्नुपर्छ हुलाकी मार्गलाई ओझेलमा पार्नेगरी पूर्व–पश्चिम राजमार्ग निर्माण गरियो । त्यसमा व्यापक रूपले वन फँडानी गरियो । यसले मधेसमा वातावरण सन्तुलन बिगारेको छ र निकै पछाडि धकेलेको छ । हुलाकी मार्गले एउटा ठूलो बजारको निर्माण गर्न सक्छ । कृषि, उद्योग, जनजीविकाका लागि ठूलो वरदान सावित हुनसक्छ ।
३. रेमिट्यान्स : बेरोजगारी बढेसँगै यस क्षेत्रका अधिकांश युवा वैदेशिक रोजगारमा जान थालेका छन् । यसले रेमिट्यान्स धेरै भित्रिन थालेको छ । तर रेमिट्यान्स बढी अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । यसपालीको बजेटले पनि रेमिट्यान्सको पैसा जग्गामा लगाए करमा २५ प्रतिशत छुट दिने गलत नीति ल्याएको छ । रेमिट्यान्सलाई कृषि आधारित उद्योगमा लगाउन सक्यौँ भने यसले मधेस र मधेसीको जीवनस्तर बदलिन सक्छ, वरदान सावित हुनसक्छ । साना तथा घरेलु उद्योगमा रेमिट्यान्सको रकम लगाउन सक्यौँ भने दुई किसिमले फाइदा लिन सकिन्छ । एक, आर्थिक प्रगति हुन्छ ।
अर्को, परिवारमा देखिएको विचलन रोक्न सकिन्छ । परिवारको पुरुष सदस्य विदेशमा रहँदा कतिपय महिला गलत बाटोतर्फ लागेको पाइएको छ । यसले परिवार विखण्डन भइरहेका छन् । रेमिट्यान्सको लगानी घरेलु उद्योगमा लगाउँदा महिलाको पनि काममा आकर्षण बढ्छ । समूहमा महिला काममा व्यस्त हुन्छन् । यसले सामाजिक कुरीति रोक्छ र आर्थिक प्रगति पनि हुन्छ । राष्ट्र बैंकमार्फत नीति ल्याएर रेमिट्यान्स कृषि उद्योगमा लगानी गरिए कर छुट दिने, कच्चा पदार्थ आयातमा छुट दिने, बजार व्यवस्थापन गरिदिने व्यवस्था राज्यले गर्न सक्छ । यसले मधेसको कायापलट हुनसक्छ ।
आर्थिक, राजनीतिक र सामाजिक रूपले राज्यले विभेद गरेकै छ । मधेसी समाजमा आन्तरिक विभेद पनि छँदैछ । जाति विशेषले यो काम गर्नु हुन्छ, यो गर्नु हुन्न भन्ने रुढ मान्यता अहिलेसम्म जारी नै छ । राज्यसत्ताको प्रयोगमा पनि मधेसको भाग कमै छ । राज्यको विभेदभन्दा पनि मनोवैज्ञानिक विभेद डरलाग्दो छ । मनोवैज्ञानिक विभेद कुनै संविधान वा नियम कानुनले हट्दैन । ‘यिनीहरू भारतीय हुन्, भारतपरस्त हुन्,’ शाषक वर्गले मधेसीलाई हेर्ने मनोविज्ञान हटाउन लामो संघर्ष चाहिन्छ । राजनीतिक संघर्ष त आफ्नो ठाउँमा छँदैछ, मनोवैज्ञानिक विभेद र थिचोमिचो हटाउन पनि आवश्यक छ । विकासको नाममा पहाडमा कम झगडा हुन्छ । तर मधेसमा विकासको नाममा बर्चस्वको झगडा गर्ने प्रवृत्ति बढी छ । यसले भ्रष्टाचार मौलाउँदै गएको छ । विकास बजेट बढी फ्रिज भएर फर्किने गरेका छन् ।
लाभ रारा बहुमुखी क्याम्पस जनकपुरका प्राध्यापक हुन् ।
प्रकाशित: श्रावण ८, २०७३


http://bit.ly/2a0oQit

यस्ता छन् आम सञ्चार नीतिका ८ विशेषता

यस्ता छन् आम सञ्चार नीतिका ८ विशेषता

अनलाइनलाई वर्गीकरण गरिने, विदेशी टीभी विज्ञापनरहित हुने

प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै सूचना तथा सञ्चारसम्वन्धी उच्चस्तरीय समितिका संयोजक काशीराज दाहाल । साथमा सञ्चारमन्त्री, मुख्यसचिव र सञ्चारसचिव ।
प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै सूचना तथा सञ्चारसम्वन्धी उच्चस्तरीय समितिका संयोजक काशीराज दाहाल । साथमा सञ्चारमन्त्री, मुख्यसचिव र सञ्चारसचिव ।
नेपाल सरकार मन्त्रिपरिषद्को मिति ०७२ माघ २० को निर्णय बमोजिम गठित सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिलाई मन्त्रिपरिषद्को निर्णय बमोजिम तोकिएको कार्यादेश अनुसार समितिले सरोकारवाला र विज्ञहरूसँग परामर्श, राजनीतिक दलहरूसँग छलफल, आमसञ्चारसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामग्रीहरूको अध्ययन तथा विश्लेषण र अन्तर्राष्ट्रिय अनुभवको अध्ययनसमेत गरी प्रस्तुत राष्ट्रिय आमसञ्चार नीति, २०७३ तयार गरेको छ ।
नेपालको संविधान (२०७२) ले सुनिश्चित गरेको सूचना तथा सञ्चारको हकका साथै प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रतासम्बन्धी मान्यतामा आधारित भई यो नीति निर्माण गरिएको छ । यो नीति निर्माण गर्दा मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, विभिन्न जातजाति, धर्म, सम्प्रदायबीचको सु-सम्बन्धमा खलल नपुग्ने र विश्वव्यापी मानवाधिकारका मान्यता प्रतिकूल नहुने कुरामा ध्यान दिइएको छ ।
संविधानमा नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था गरेको सन्दर्भमा सञ्चार तथा सूचनासम्बन्धी संविधानको अनुसूचीमा निर्धारण गरिएका विषयलाई सोही अनुरूप स्पष्ट गरिएको छ । साथै आमसञ्चारसँग सम्बन्धित सबै निकाय समानुपातिक समावेशीमैत्री हुनुपर्छ भन्ने मान्यताबाट निर्दिष्ट छ । रेडियो फ्रिक्वेन्सी राज्यको सम्पत्ति भएकाले यसको वितरण पारदर्शी र न्यायोचित ढङ्गले गरी फ्रिक्वेन्सी उपभोगको अवधि तोक्नुपर्ने अन्तर्राष्ट्रिय प्रचलनलाई लागू गर्ने व्यवस्था सिफारिस गरिएको छ ।
मुलुकको भौगोलिक, समुदाय, जाति तथा सास्कृतिक भाषागत रूपले विविधतायुक्त भएको तथ्यलाई आत्मसात् गर्दै सबै भौगोलिक क्षेत्रमा सञ्चारको पहुँच पुग्ने, वहुलवादी विचार प्रतिविम्बित हुने र सबै भाषा तथा संस्कृतिको संरक्षण तथा सम्बर्द्धर्नका साथै भाषिक तथा नेपाली सस्कृतिसँगै सम्बन्धित सञ्चार माध्यम र चलचित्रका लागि विशेष व्यवस्था गर्नुपर्ने कुरा सिफारिस गरिएको छ ।
१. यो आमसञ्चार नीतिका मूलभूत विशेषता
क. मुलुकले अपनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्दै जनताको जीवनस्तर उठाउन सहयोगी माध्यमको रूपमा सूचना तथा सञ्चार प्रणालीको विकास गर्ने ।
ख. राष्ट्रिय हित र राष्ट्रिय एकताको प्रबर्द्धनद्वारा समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समृद्ध सूचना समाजको निर्माण गर्ने सूचना तथा सञ्चार प्रणालीको विकास गर्ने ।
ग. पत्रकारिताको गुणस्तर वृद्धि र व्यावसायिक विकासका लागि आमसञ्चारमाध्यमलाई सम्बन्धित भूगोलमा बसोबास गर्ने जनसङ्ख्याप्रति लक्षित राष्ट्रिय, प्रादेशिक वा स्थानीय, सेवामूलक, सामुदायिक वा व्यापारिक उद्देश्यका साथ सञ्चालित समाचारमाध्यम तथा स्वरोजगार, साना, मझौला र ठूलो लगानीका आधारमा वर्गीकरण गरी सञ्चारमाध्यमलाई सूचना तथा ज्ञानमा आधारित सेवामूलक उद्योगको रूपमा मान्यता दिई सहुलियत प्रदान गर्ने ।
घ. स्वच्छ र मर्यादित पत्रकारिताको विकासका निम्ति समाचार माध्यमहरूलाई आमपाठक, श्रोता र दर्शकहरूले थाहा पाउने गरी लिखितरूपमा सार्वजनिक स्वनियमन, स्वमूल्याङ्कन र सम्पादकीय नीतिको सार्वजनिकीकरण गर्ने व्यवस्था गर्ने ।
ङ. आमसञ्चारमाध्यमको स्वतन्त्ररूपमा सञ्चालन र विकासका लागि लगानीको स्रोतको वैधानिकता एवम् आर्थिक पारदर्शिताको सुनिश्चितता गरी सञ्चार माध्यममा राष्ट्रिय लगानीलाई प्रोत्साहन गर्ने ।
च. नेपाली जनताको विचार र अभिव्यक्ति स्वतन्त्रता र राष्ट्रिय हितमा असर नपुर्‍याउने गरी पूर्वाधार र प्रविधिको विकासमा विदेशी लगानी खुला गर्नुपर्ने अवस्थामा प्रकाशन र प्रसारण माध्यममा सम्पादकीय स्वतन्त्रताको सुनिश्चितताका निम्ति विशेष शर्तहरू तोकी त्यस्तो सञ्चारमाध्यममा पत्रकार, कामदार र कर्मचारी नेपाली नागरिक मात्र रहने व्यवस्था गर्नेे, विदेशी लगानीकर्ताको भूमिका निणर्ायक हुने गरी विदेशी लगानीलाई प्रोत्साहन नगर्ने ।
छ. स्वस्थ र मर्यादित पत्रकारिताको विकासका निम्ति मिडिया एकाधिकार (Media Monopoly) र मिडिया सघनता (Media Concentration) बाट उत्पन्न हुन सक्ने नकारात्मक परिणामलाई निरूत्साहन गर्न छापा र विद्युतीय एउटै प्रकृतिको राष्ट्रियस्तरको प्रकाशन वा प्रसारण माध्यमको स्वामित्व धारण वा सञ्चालन गरेको एक व्यक्ति, परिवार वा समूहलाई अन्य प्रकाशन वा प्रसारण माध्यमको स्वामित्वमा निर्णायक हिस्सा नहुने गरी निश्चित शर्तसहित लगानीको सीमा तोक्ने सम्बन्धमा आवश्यक कानुनी व्यवस्था गर्ने ।
ज. सञ्चारमाध्यमले शिक्षा, सामाजिक उत्तरदायित्व, विज्ञान तथा प्रविधि, पर्यटन, जनस्वास्थ्य, वातावरण, कृषि, जलस्रोत, ग्रामीण विकास तथा पूर्वाधार, उपभोक्ता अधिकार तथा जनचेतना र सुशासनमूलक समाचार र सामग्री प्रकाशन तथा प्रसारण गर्न प्रोत्साहन गर्ने ।
झ. एफएम रेडियो र टीभीका फ्रिक्वेन्सीलाई सार्वजनिक सेवा प्रसारण, सामुदायिक प्रसारण र व्यापारिक प्रसारणका लागि बाँडफाँड गर्ने र यसरी बाँडफाँड भएका फ्रिक्वेन्सीहरूमध्ये सामुदायिक प्रसारण र व्यापारिक प्रसारणका फ्रिक्वेन्सीलाई पारदर्शी तथा खुला प्रतिस्पर्धाको आधारमा प्रदान गरी एफएम रेडियोलाई प्रदान गरिएका फ्रिक्वेन्सीको अवधि अठार वर्षसम्म कायम हुने गरी व्यवस्था गर्न आवश्यक कानुन बनाई लागू गर्ने ।
ञ. उपभोक्ता समूह, स्थानीय निकाय, सार्वजनिक यातायात, जलवायु परिवर्तन, हावा, पानी तथा मौसम, जनस्वास्थ्य र कृषिसँग सम्बन्धित सरकारी निकाय, गैरसरकारी संस्था वा सहकारी, स्थानीय क्लब, गुठी, सामुदायिक वा सार्वजनिक शैक्षिक संस्थाको स्वामित्वमा रहेको नाफा आर्जन नगर्ने उद्देश्यका लागि सञ्चालित एफ.एम. रेडियो र टेलिभिजनहरूलाई सामुदायिक सेवा प्रसारणको रूपमा परिभाषित गरी रेडियो र टेलिभिजनलाई उद्देश्य, स्थायित्व र विषयवस्तुको आधारमा वर्गीकरण गरी तदनुरूप मापदण्ड बनाई सुविधा र सहुलियत प्रदान गर्ने, तोकिएको मापदण्डका आधारमा सामुदायिक प्रसारकको आवधिक मूल्याङ्कन गर्ने प्रचलनलाई प्रोत्साहन गर्ने ।
ट. समाचारमूलक अनलाइन माध्यमलाई वर्गीकरण गरी अन्य समाचार माध्यम सरह सुविधा र नियमनकोे व्यवस्था गर्ने ।
ठ. नेपाली चलचित्रलाई नेपालको जातीय, सांस्कृतिक र भाषिक विविधताबीच एकता कायम गरी नेपाली कला, संस्कृति, साहित्य शिक्षालाई प्रवर्द्धन गरी सिर्जनशील, सांस्कृतिक र स्वस्थ मनोरञ्जनात्मक उद्योगको रूपमा विकास, विस्तार र सम्बर्द्धन गर्ने, टिकट बिक्री र त्यसबाट भएको आम्दानी, कर, प्रदर्शन-अवधि र लोकप्रियतासम्बन्धी सूचनाको पारदर्शिताका निम्ति चलचित्र क्षेत्रमा ‘वक्स अफिस’ प्रणाली लागू गर्न प्रोत्साहन गर्ने, यसैगरी चलचित्र क्षेत्रमा लामो समयसम्म महत्वपूर्ण योगदान गर्ने चलचित्रकर्मीलाई प्रोत्साहन र सम्मान गर्ने नीति लिने ।
ड. नेपालभित्र प्रसारणको अनुमति लिने विदेशी टेलिभिजन च्यानललाई विज्ञापनरहित (Clean Feed) बनाउने नीति अवलम्बन गर्ने र प्रसारण अनुमति लिइसकेका टेलिभिजन च्यानलको हकमा अवधि तोकी विज्ञापनरहित (Clean Feed) प्रसारण गराउन आवश्यक व्यवस्था गर्ने ।
ढ. प्रकाशन र प्रसारणजस्तै सामग्रीको वितरणसमेत अभिव्यक्ति स्वतन्त्रतासँग अभिन्न रूपमा जोडिएकाले टेलिभिजन सिग्नल वितरण र केवुल वितरणलाई सञ्चारको आधारभूत पूर्वाधारका रूपमा ग्रहण गर्दै सबै प्रकारका केवुल वितरणसम्बन्धी व्यवस्थालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने ।
२. सङ्घ, प्रदेश र स्थानीय तहमा सूचना तथा सञ्चारसम्बन्धी अधिकारको विभाजन
क) सङ्घले देशभर फ्रिक्वेन्सीको म्यापिङ्ग गरी एफ. एम. रेडियोको हकमा स्थानीय तहलाई १०० वाटसम्म, प्रदेशलाई ५०० वाटसम्म र सोभन्दा माथि सङ्घमा रहनेे व्यवस्था गर्ने,
ख) सङ्घले स्याटेलाइट र टेरेस्टि्रयल टेलिभिजन र देशभरि प्रशारण हुने केवुल वितरकको अनुगमन र नियमन गर्ने,
ग) सङ्घले विदेशी च्यानलको डाउनलिङ्क गर्ने तथा नेपालभर प्रशारण हुने डिजिटल प्रणालीमा आधारित केवुल वितरण र अनुगमन गर्ने,
घ) सङ्घले अनलाइन मिडियाको अनुगमन र नियमन गर्ने,
ङ) प्रदेशले सामुदायिक तथा प्रादेशिक टेलिभिजनको सञ्चालन गर्ने,
च) स्थानीय तहले स्थानीय केबुल वितरणको अनुगमन तथा नियमन गर्ने,
३. आमसञ्चारसम्बन्धी नियामक निकायसम्बन्धमा राष्ट्रिय आमसञ्चार प्राधिकरण, सार्वजनिक सेवा प्रसारक नेपाल, विज्ञापन परिषद्को स्थापनाका साथै प्रेस काउन्सिलको भूमिका र संरचनामा सुधार गर्न प्रस्ताव गरिएको छ ।
४. मर्यादित पत्रकारिताको विकास र व्यावसाियक आचरण अभिवृद्धिका लागि प्रभावकारी प्रेस काउन्सिल, पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि, प्रभावकारी स्वनियमन, पेशागत संरक्षण, व्यावसायिक अभ्यासको प्रोत्साहन र पत्रकार सुरक्षा जस्ता विषयहरू सिफारिसमा उल्लेख छ ।
५. पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि र सीप विकासका लागि राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान र आमसञ्चार सम्बन्धी महत्वपूर्ण सामग्रीको संरक्षण तथा अनुसन्धान गर्न नेपाल सञ्चार सङ्ग्रहालय तथा अध्ययन प्रतिष्ठान स्थापना गर्न सिफारिस गरिएको छ ।
६. अन्तर्राष्ट्रिय मापदण्डसमेत अनुकूल हुने गरी नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक सेवा प्रसारक (PSB) का रूपमा परिणत गर्ने विषय समावेश गरिएको छ ।
७. श्रमजीवी पत्रकारको पेशागत हकहितको संरक्षणका निम्ति श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन तथा पत्रकार र समाचार माध्यमका भौतिक सुरक्षाको प्रत्याभूतिजस्ता विषयमा सिफारिस गरिएको छ ।
८. राष्ट्रिय आमसञ्चार नीति, २०७३ मा उल्लेख भएका विषयहरूको कार्यान्वयन गर्न समयावधि किटान गरी कार्यान्वयन योजना समेत प्रस्ताव गरिएको छ ।
यो राष्ट्रिय आमसञ्चार नीतिबाट मुलुकलाई सूचना तथा ज्ञानमा आधारित सूचना समाजमा रूपान्तरण गरी लोकतान्त्रिक राज्य व्यवस्था सुदृढीकरण गर्नमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस अतिरिक्त, यो नीतिबाट पछाडि पारिएका तथा उत्पीडित समूहलाई पत्रकारिताको मूलधारमा पुर्‍याउन, विज्ञापन बजारको प्रवर्द्धन तथा विस्तार गर्न, राष्ट्रिय स्रोत फ्रिक्वेन्सीको न्यायोचितरूपमा वितरण गर्न र सञ्चारमा एकाधिकार निरुत्साहित गर्नका लागि महत्वपूर्ण योगदान हुने विश्वास लिइएको छ ।
नेपालको संविधान (२०७२) र सूचना तथा सञ्चारसम्बन्धी अन्तर्राष्ट्रिय मान्यातासम्मत हुने किसिमबाट तयार गरिएको प्रस्तुत नयाँ राष्ट्रिय आमसञ्चार नीति आवश्यक छ । यस सन्दर्भमा यो नीति नेपाल सरकारबाट जारी गरी यसलाई प्रभावकारी रूपमा प्रचलनमा ल्याउन विद्यमान कानुनहरूमा सुधार, नयाँ कानूनहरूको तर्जुमा, सङ्घात्मक ढाँचा अनुरूप संरचनाहरू निर्माण, समायोजन र व्यवस्थापन, कार्यान्वयन तथा अनुगमन सूचना तथा सञ्चारसम्बन्धी संघीय ढाँचाको खाका, सूचना तथा सञ्चार मन्त्रालय र अन्तर्गतका निकायहरूको पुनसर्ंरचनासमेतको विस्तृत अध्ययन गरी नेपाल सरकारलाई सुझाव सिफारिस पेश गर्न विज्ञहरूसमेत रहेको सूचना तथा सञ्चारसम्बन्धी कानून मस्यौदा एवम् संगठनात्मक पुनर्संरचना उच्चस्तरीय समिति गठन गरी प्रतिवेदन लागू गर्न सिफारिस गरिएको छ ।
(दाहाल सरकारद्वारा गठित सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिका अध्यक्ष हुन् । समितिले सरकारलाई बुझाएको नीति मन्त्रिपरिषदले पारित गरेको छ । )
http://free.yudu.com/publish/finished/3699267

बजेट सक्ने नाममा जिविस महोत्तरीमा चलखेल

बजेट सक्ने नाममा जिविस महोत्तरीमा चलखेल
जलेश्वर, ३० असार बजेट सक्ने नाममा जिल्ला विकास समिति महोत्तरीले जिल्लाका केही गैरसरकारी संस्थाहरुलाई विभिन्न क्रियाकलापका लागि योजना दिएपनि जिविसका कर्मचारीहरुले भुक्तानीको नाममा हैरानी सिर्जना गरेको गैरसरकारी संस्थाका प्रतिनिधिहरुले जानकारी दिएका छन् बजेट सकाउने निहुँमा जिल्ला विकास समिति महोत्तरीका स्थानीय विकास अधिकारी, योजना अधिकृत, लेखापालसहितका मिलेमतोमा जिल्लाका केही गैरसरकारी संस्थाहरुसंग मोटो कमिशनको लोभमा योजनाहरु बाँडफाँड गरिएको ती योजनाहरु कतिपय गैरसरकारी संस्थाहरुले कागजमै काम देखाएर भुक्तानीका लागि कतिपयले काम गरेर भुक्तानीका लागि आग्रह गर्दासमेत जिविसका कर्मचारीहरु आलटाल गरिरहेका छन् एक गैरसरकारी संस्थाका संचालकले नाम नलेखिदिने शर्तमा पैचो उधारो लिएर जिविसले दिएको योजना अनुसारको क्रियाकलाप गरेपनि जिविसले अहिले सो को भुक्तानीको लागि हैरान बनाएको जानकारी दिए जिविस महोत्तरीले बढी कमिशन दिएका केही गैरसरकारी संस्थालाई भुक्तानी दिइसकेपनि जसले राम्रो काम गरेको त्यसको मूल्याँकन नै नगरी भुक्तानीमा आलटाल गरिरहेको ति सञ्चालकले जानकारी दिए जिविस महोत्तरीले यो आर्थिक वर्षमा कुन कुन संस्थालाई कुन कुन आधारमा कार्यक्रमहरु प्रदान गरियो भन्ने माग गर्दा जिविसले कामको वोझ भएको भन्दै अहिले दिन इनकार गरेको

- See more at: http://www.madheshvani.com/details/12801/madhesh-update#sthash.bWwxCksh.dpuf