निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
महोत्तरी समाचारदाता
जलेश्वर, चैत ११ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडानं. ४ सुगामा सोमबार निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । 
चित्राँस सेवा समिति सुगाको आयोजना र शशिवंशी दत्त मोती देवी ट्रष्टको सहकार्यमा चित्राँश सेवा समितिको भवनमा एकदिने विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविर गरिएको चित्राँस सेवा समितिका अध्यक्ष विष्णुचन्द्र लालले जानकारी दिनुभयो ।
काठमाण्डौंस्थित विर अस्पताल, शिक्षण अस्पताललगायत अन्य अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुद्वारा गरिएको सो स्वास्थ्य शिविरमा विभिन्न वडाका विरामीहरुले स्वास्थ्य सेवा लिएको जनाइएको छ । सात जना विशेषज्ञ डाक्टरहरुको सेवा लिन विहानैदेखि शिविरमा घुँइचो लागेको थियो । 
शिविरमा देखिएको भिड

सो स्वास्थ्य शिविरमा हाड, जोर्नी तथा नशा रोग विशेषज्ञ डा.दिपक दत्त, नाक, कान, घाँटी रोग विशेषज्ञद्धय डा. हिमपाली दास र रवि महथा, युरो सर्जन डा.अमरेश कर्ण, बालरोग विशेषज्ञ डा.अमलेन्द्र यादव, दाँत रोग विशेषज्ञ डा.प्रियंवदा कर्ण, आँखा रोग विशेषज्ञ डा.विकासकुमार साहले विरामीहरुलाई उपचार गर्नुभएको थियो । 
सो स्वास्थ्य शिविरमा तिनसयभन्दा बढी विरामीहरुले स्वास्थ्य जाँचका साथसाथै निःशुल्क औषधी प्राप्त गरेको आयोजक समितिका सचिव अर्पणकुमार कर्णले बताउनुभयो । उहाँले शिविरमा ल्याव टेक्निसियन दिपेश कर्णले समेत ल्याव सेवा उपलब्ध गराउनुभएको जानकारी दिनुभयो । 
स्वास्थ्य शिविर पूर्व चित्राँश सेवा समितिको नवनिर्मित भवनलाई सर्वोच्च अदालतका पूर्व न्यायधिश कमलनारायण दासले उदघाटन गर्नुभएको थियो । 
शिविरपूर्व चित्राँश भवनको उदघाटन गर्नुहुदै सर्वोच्च अदालतका पूर्व न्यायधिश कमलनारायण दास












कर्ण कायस्थहरुको आराध्यदेव भगवान चित्रगुप्तको पुजाआजाको लागि बनाइएको सो भवनमा एउटा रुमसहित ठुलो हल बनाइएको छ । सो भवनमा सार्वजनिक पुजापाठका साथसाथै सार्वजनिक पर्व, त्योहार र शुभकार्य गरिने जनाइएको छ । 


तस्वीर ः नागेन्द्रकुमार कर्ण÷महोत्तरी समाचारदाता