कूलत छुटाउन चाहन्छन् दलित बालकहरुका अभिभावक


कूलत छुटाउन चाहन्छन् दलित बालकहरुका अभिभावक
कृष्णाकुमारी महासेठ
महोत्तरी

महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडानं. ३ मा बाटोको छेउमा रहेको पिपलको बोट मुनि १३ वर्षिय आकाश राम (नाम परिवर्तन) खैनी माडदै थिए । जेष्ठ महिनाको गर्मीमा घाम छल्न छहारीमा बसेका उनी खैनी माँडिसकेपछि आफु पनि खाए र सोही ठाउँका साथी ११ वर्षिय श्याम सदा (नाम परिवर्तन) लाई पनि दिए । काम गर्दा थाकेपछि केही छिन सुस्ताएर खैनी खाँदा आफुलाई स्फूर्ति आउने बताउँदै आकाशले विगत ३ वर्षदेखि खैनी खाँदै आएको बताए । उनीहरु पढाई छाडेर घरमा सघाउनको लागि आर्थिक प्रयोजनको लागि विभिन्न कामहरु गर्दै आएका छन् ।
श्यामले पनि साथीभाईहरुको लहैलहैमा लाएर एकवर्षदेखि आफुले खैनी खाँदै आएको बताउँदै यसबाट केही नहुने बताए । उनले घरमा बुवासहित छिमेकका धेरै काका तथा दाजुहरुले पनि खैनी खाने गरेको बताए । सो गाउँपालिकाको भटौलिया, अजमरपट्टी र पर्सामा गरी ५० भन्दा बढी यस्ता बालकहरु धुम्रपान र मद्यपान गर्ने गरेको देखिएको सरसफाई अभियन्ता स्थानीय सुरेश दासले बताउनुभयो ।
आकाश र श्याम एउटा उदाहरण मात्रै हुन् । यसक्षेत्रका धेरै किशोर र युवाहरु धूम्रपान, मद्यपानसहित लागुऔषधतर्फ आकर्षित भई सेवन समेत गर्दै आएका छन् । भटौलियाका मुसहरवस्तीका २० देखि ३० बालकहरु यस्तो दुव्र्यशनमा फसेको देखिएको छ । कतिपय बालकहरु तथा किशोरहरु देखासिकी तथा शौकले तथा कतिपय प्रतिष्ठाका साथसाथै आफुलाई आधुनिक देखाउन ध्रुमपान र मद्यपान तर्फ आकर्षित भइरहेको एकडारा गाउँपालिकाका वुद्धिजीवी गोपाल झाले बताउनुभयो । सूर्तिजन्य पदार्थहरु तथा लागुऔषधबाट हुनसक्ने खतराकाबारेमा जानकारी छँदाछँदै देखासिकीको लहैमा लागेर बालकहरु यसतर्फ आकर्षित भइरहेको बताउनुहुदै झाले भन्नुभयो, ‘अभिभावकहरु यसतर्फ सचेत र सजग भई बालबालिकाको गतिविधिप्रति जानकार हुन जरुरी छ ।’
मटिहानी नगरपालिका वडानं. ८ का अभिभावक तथा दलित वडासदस्य दुलारी देवीले स्कुलको छेउछाउमा खुलेआम रुपमा खैनी, पराग, सिगरेट, गाँजाहरु पाइने भएकोले पनि बालबालिकाहरुमा यसको प्रयोग बढेको बताउनुहुदै अभिभावक सचेत नभएसम्म यसमा कमी ल्याउन नसकिने धारणा राख्नुभयो । उहाँले नियमहरु त बन्छन् तर लागु नहुँदा समस्यामा महिला र बालबालिकाहरु बढी पर्ने गरेको बताउनुहुदै भन्नुभयो,‘कति बालकहरु खैनी, पराग, सिगरेट, दारु खान्छन् भन्न नसकेपनि संख्या भने धेरै छ । खास गरी दलितका बालबालिकाहरु बढी यसतर्फ आकर्षित हुने देखिएको छ ।’
घरको आर्थिक स्थितीको कारणले पढनुपर्ने समयमा काम गर्नुपर्ने वाध्यताको कारणले दलित बालबालिकाहरु साथीसंगीको संगत तथा अभिभावकहरुले ध्यान नदिँदा उनीहरु यी पदार्थको प्रयोग गर्ने गरेको मनराशिस्वा नगरपालिकाका युवा रोशन मण्डलले बताउनुभयो । उहाँले बालबालिकाहरु यसतर्फ आकर्षित छन् भने युवाहरु नाइट्रोसनसहितका विभिन्न टयावलेटहरु भारतीय बजारबाट अवैध रुपमा ल्याई आफु पनि खान्छन् र विभिन्न ठाउँमा तस्करी समेत गर्ने गरेकोले यसलाई नरोके स्थिती भयावह हुन सक्ने बताउनुभयो ।
सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को परिच्छेद २ ले विद्यालयसहित विभिन्न ठाउँको वरपरको पसलहरुमा गुटखा, खैनी, सिगरेट लगायतका मद्यपान र धुम्रपानका सामग्री नराख्ने नियम बनाएको छ तर यिनको नियमन गर्ने निकायको उदासिनताको कारणले यी पदार्थ छयाप्छयाप्ती पाउने गरेका छन् । जसका कारणले बालबालिकाहरु सजिलै यसको चपेटमा आउने गरेको बुझाई मैथिल संदेश साप्ताहिकका सम्पादक नागेन्द्रकुमार कर्णको रहेको छ । 
सरकारले ऐन नियम बनाए पनि पूर्ण रुपमा लागु हुन नसकेको अवस्था विद्यमान छ । सार्वजनिक यातायात, सरकारी कार्यालय र स्वास्थ्य संस्थामा सुर्तीजन्य पदार्थ सेवन प्रतिबन्धित भएपनि अझै चियापसल,होटल,रेस्टुराँलगायत अन्य सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ सेवन रोकिएको छैन् । 
सुर्तीजन्य पदार्थका रुपमा धु्रमपान वा सुर्ती सेवका लागि बनाइएको चुरोट, बिंडी, सिगार, तमाखु, सुल्फा, कक्कड, हुक्का सुर्तीलगायतलाई लिइन्छ । खैनी, गुटखा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्ने कार्यलाई धु्रमपान भनिन्छ । यी पदार्थ मुखमा राख्ने, नसबाट लिने वा सेवन गरेर स्वास्थ्य जोखिममा पार्नेको संख्या बढिरहेको छ । चुरोट एवम् सुर्तीमा निकोटिन हुन्छ । चुरोटमा ७० वटा रासायनिक पदार्थ हुन्छ । जसमध्ये २० वटा पदार्थ क्यान्सरजन्य हुने गरेको जिल्ला अस्पताल जलेश्वरका चिकित्सक डा.केशर चौधरीले बताउनुभयो । डा.चौधरीले धु्रमपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट मुख, धाँटी, श्वासनलीमा क्यान्सर हुने तथा दम, ब्रोड.काइटिस लगायतका समस्या हुने गरेको बताउनुहुन्छ । 
एकडारा गाउँपालिका वडानं. ३ भटौलियाका वडाध्यक्ष रामविलास रायले सुर्तीजन्य पदार्थप्रति केटाहरु बढी आकर्षित हुदै गएको बताउनुहुदै यसक्षेत्रको अवस्थालाई आँकलन गर्ने हो भने प्रायसः हरेक घरमा एक जना सुर्ती खाने व्यक्ति रहेको भन्न सकिने अध्यक्ष रायको भनाई थियो । काम गर्ने क्रममा मुख सुक्दा काम गर्न अप्ठयारो हुने भएकोले खैनी, परागसहित अन्य पदार्थहरु स्फुर्ति बढाउन यसक्षेत्रका वासिन्दाहरु प्रयोग गर्ने गरेको बताउनुहुदै वडाध्यक्ष रायले भन्नुभयो, ‘सुर्तीजन्य पदार्थले स्वास्थ्यमा मात्रै नभई सामाजिक र आर्थिक क्षति समेत हुने गरेको छ तर यसतर्फ सबै सचेत नभएको अवस्था देखिन्छ ।’ 
सन् २०१७ मा नेपाल सरकार सुर्तिजन्य पदार्थविरुद्धको अभियान (एचसिटिसी) ले गरेको अध्ययनले नेपालमा प्रतिवर्ष २७ हजार ८ सय जनाको मृत्यु धुम्रपान तथा मद्यपानले हुने गरेको तथ्य सार्वजनिक गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्याँक अनुसार प्रत्येक वर्ष २५ हजार नेपालीले सुर्ती सेवनकै कारणले ज्यान गुमाउनुपरेको देखिएको छ । सुर्ती सेवनका कारण विश्वमा प्रत्येक ५ सेकेण्डमा एकजनाको मृत्यु हुने गरेको तथा वर्षेनी विश्वमा सुर्ती सेवनबाट ७० लाख मानिसको मृत्यु हुने गरेको छ । गुटखाको प्रयोग पनि हवात्तै बढेको छ । सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण सम्बन्धी कानुन बने पनि कार्यान्वयनमा आउन नसकेकोले यस्तो अवस्था देखिएको हो । 
नेपालमा ४८ प्रतिशत पुरुष र १४ प्रतिशत महिलाले चुरोट सेवन गर्छन् । राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र सुर्तीजन्य पदार्थ नियन्त्रण तथा स्वास्थ्य प्रबद्र्धन शाखाका अनुसार अन्य उमेर समूहमा सुर्तीजन्य पदार्थको सेवन घटदै गएको छ भने किशोर किशोरीमा भने बढेको छ । अध्ययन अनुसार सुर्तीजन्य पदार्थको प्रयोग गर्ने किशोर किशोरी १५ देखि १९ वर्ष भित्रका हुन् । ग्लोबल युथ एन्टी टोबाकोको तथ्याँक अनुसार १३ देखि १५ वर्षभित्रका २० दशमलव ५ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्छन् । सुर्तीजन्य पदार्थले स्वास्थ्यमा पारेको गम्भीर असरलाई रोक्न सरकारले २०६८ सालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन ल्याएको थियो । लगत्तै २०७१÷०७२ मा सुर्तीजन्य पदार्थ विरुद्ध नियन्त्रण निर्देशिका र सन् २०१७ मा सुर्तीजन्य पदार्थविरुद्ध महासन्धि रणनीति निर्माण गरेको थियो । 
सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री वितरण र उपभोगलाई नियन्त्रण गरिने अभियानको रुपमा नेपाल सरकारको २०७३।१०।०६ को मन्त्रिपरिषद निर्णयबाट सुर्तीजन्य पदार्थको बिक्री वितरणको लागि अलग्गै इजाजत लिनुपर्ने व्यवस्था गरिएको छ । यस्तो इजाजत लिएर सुर्तीजन्य पदार्थको बिक्री वितरणको कार्य गर्ने व्यक्ति वा संस्थाले समेत १८ वर्ष मुनिका बालबालिका वा गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री गर्न वा बिक्री गर्ने कार्यमा सहभागी गराउन नपाउने गरी बिक्रीको कार्यलाई नियन्त्रित गर्ने प्रयास भएको छ । यसका साथै स्वास्थ्य संस्था, बालकल्याण गृह, अनाथालय, विद्यालय, वृद्धाश्रम, शिशु स्याहार केन्द्रलगायतका सार्वजनिक सरोकारसंस्थाको आसपासमा १०० मिटर दुरीसम्म सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइनेजस्ता कडा प्रावधानसहितको सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रण निर्देशिका, २०७१ समेत कार्यान्वयनमा आइसकेको छ । यस निर्देशिकामा सुर्तीजन्य पदार्थ विरुद्धका गतिविधि सञ्चालन गर्न जिल्लास्तरमा निरिक्षकको अध्यक्षतामा र नगरपालिका तथा गाउँपालिकास्तरमा प्रमुख वा अध्यक्षको संयोजकत्वमा अनुगमन तथा नियन्त्रण उपसमिति गठन गर्ने व्यवस्था मिलाईएको छ । 
सरकारले कानुन बनाए पनि कानुन कार्यान्वयनमा चासो नदिँदा समस्या समाधान हुन नसकेको बुझाई सबैको छ । केही अगाडि मात्रै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राजधानीमा आयोजित एक समारोहमा नेपालमा सुर्तीजन्य पदार्थको नियमनको लागि उत्कृष्ट कानुन बनेपनि कार्यान्वयन र पालना नहुने गरेको बताउनुभएको थियो । 
विद्यालय वरपर यस्ता सामग्रीको बिक्री वितरण र उपभोगमा रोक लगाए पनि विद्यालयहरुमा शिक्षकहरु स्वयम्ले विद्यार्थीहरुको अगाडी यी पदार्थहरुको खुलेआम उपभोग गर्ने गरेका छन् । यसले पनि बालबालिकाहरु यसप्रति आकर्षित हुने गरेको देखिएको छ । यो कार्यमा न्यूनीकरणको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीले अभियान नै थालेको छ । 
सामुदायिक प्रहरी सेवा केन्द्रसंग मिलेर जिल्लाको विभिन्न विद्यालयमा पुगेर प्रहरीले धुम्रपान, मद्यपानबाट हुने शारीरिक, मानसिक तथा आर्थिक नोकसानीसहित आधुनिक प्रविधिको रुपमा भित्रिएको इन्टरनेटको प्रयोगबारे जनचेतनामूलक कार्यक्रम गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताउनुभयो । उहाँले महोत्तरीसंग जोडिएको खुला सिमा नाकाको फाइदा उठाउँदै तस्करहरुले बालबालिका तथा महिलाहरु प्रयोग गरेर विभिन्न तस्करी गरिरहेकाले पनि यसको लागि जनचेतनामूलक कार्य गरिरहेको बताउनुहुदै पटक पटक मद्यपान र धुम्रपानको लागि ल्याइने गरिएको सामग्री प्रहरीले पक्राउ गर्ने गरेको बताउनुभयो । 
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा लागुऔषधसहित २३ जना, आ.व. २०७४÷०७५ मा ५४ जना २०७५÷०७६ मा १११ जनालाई पक्राउ गरिएको जनाएको छ । महोत्तरीमा गाँजा, स्पास्मो, डाईजापाम इन्जेक्सन, एक्सपलोन सिरफ, बु्रफेन इन्जेक्सन, लाईपलाइन इन्जेक्सन, डाइजेपाम इन्जेक्सन, नोफेनि इन्जेक्सन, नाइट्रोफेट, नाइट्रोसनजस्ता लागुपदार्थसहित उनीहरुलाई पक्राउ गरिएको हो । यसमा चोरी पैठारी गरिएको अन्य रजनिगन्धा, राजनिवास, तुलसी, गुटखाहरुहरुसहित पक्राउ गरिएकाहरुको संख्या नजोडिएको कार्यालयले जनाएको छ ।  
रजनी गन्धा र तुलसी भन्सार छली भारतबाट नेपाल भित्राउने क्रममा प्रहरीको नियन्त्रणमा Photo DPO Mahottari 

पूर्व शिक्षा अधिकारी कृष्णचन्द्र झाले बालबालिकाहरु जे देख्छ त्यही सिक्ने भएकोले पनि शिक्षकहरुले कम्तीमा पनि विद्यालयमा यस्तो कृयाक्लाप नगर्नुपर्ने सुझाव दिनुहुन्छ । स्थानीय तहको भूमिका अझ राम्रो हुनुपर्नेमा वडाध्यक्षहरु आफै धामी आफै बोक्सी बनेकोले पनि समस्या निराकरण हुन नसकेको बताउनुहुदै उहाँले अभिभावकहरु सचेत भएर यस्ता कृयाक्लाप गर्न र गराउनको लागि उठनुपर्ने वताउनुभयो ।