लोकगायन नियति बनेको छ
(हिमांशु चौधरी)जनकपुरधाम, १ माघ । मैथिली लोकगाथा गायनलाई संरक्षण, सम्मान र प्रोत्साहनको आवश्यकता महसुस गरिएको छ । गाथा गायकको जीवनयापनको समस्या र अस्तित्वमा देखिएको सङ्कटलाई ध्यानमा राख्दै सो आवश्यकता महसुस गरिएको हो ।
लोकगाथालाई लोक साहित्यको महाकाव्य मानिएको छ । महाकाव्यका नायक इतिहास प्रसिद्ध हुन्छ भने लोकगाथाका नायक लोकप्रसिद्ध हुन्छ । यिनै पृष्ठभूमिमा आदि मानव कबिलामा बस्दै सामूहिक भाषाको अभिव्यक्तिका लागि नृत्य र गीतलाई माध्यम बनाउँदै देवीदेवतासँग सम्बन्धित लघुकथा समावेश गरे, जसमा कालान्तरमा कथात्मकता तत्वले स्थान ओगटेको पाइन्छ ।
लोककण्ठमा निर्मित र विकसित लोकगाथा ग्राम्य समाजको सम्पत्ति हो । पौराणिक कथा र लोक जीवनसँग सम्बद्ध गरी दुई भागमा विभाजित मैथिली लोकगाथालाई साँस्कृतिक रुपले अमूल्य दस्तावेजसमेत मानिएको छ ।
लोक शब्दको अर्थ नै परम्परागत प्रवाहमा बग्दै निश्चल, स्वच्छ मानव समुदायलाई जनाउँछ । उनीहरूद्वारा अलिखित रूपमा कण्ठकै आधारमा गाइने गाथालाई लोकगाथा मानिन्छ । कुनै पनि बाहिरी प्रभावमा नपरी परम्पराका आधारमा जीवित विभिन्न गाथाले आफूभित्र सामाजिक ढाँचा लुकाएका छन् ।
मैथिली गाथा गीतहरूका दृष्टिबाट नेपाल र भारतका सीमावर्ती क्षेत्र सर्वाधिक उर्वर मानिन्छ । गाथा गीतका नायक लोरिक, अमरसिंह, मीर शैयद, कँवर विजयमानको जयभूमि, सलहेश र धनपालको लीलाभूमि, बनजारा, शम्भू बनिँया, फेकु दयारामका वाणिज्यभूमि, चोर प्रमुख चुहरमलको परीक्षास्थल, वंशीधर, दुलरादयाल, सरियोधामी र माधोसिंहको सिद्धभूमि, दीनाभद्री, बख्तोर, राघोनाथ र कृष्णारामको विलासभूमिको रूपमा साँस्कृतिक अवशेष मैथिली लोक साहित्यका लागि अनुसन्धानमूलक बनेको छ ।
उत्तरमा गरिने दिक्पाल भीमसेन वा पाँच पाण्डवको बन्दना आज पनि देवतुल्य मानिएको छ । मैथिली गाथाहरूमा मोरङको निकै चर्चा गरिएको छ । कतिपय नायक नायिकाहरूको कर्मभूमिका रूपमा मोरङलाई साँस्कृतिक जनपदका रूपमा उल्लेख गरेको पाइन्छ ।
दुसाधहरूका लोक देवता तथा मैथिली गाथा नायक राजा सहलेशको फूलबारी जहाँ दोना र कुस्मा नाम गरेका मालिनीले आफ्ना काम्यपुरुषको प्राप्तिका लागि बाह्र वर्षसम्म साधना गरेका थिए । ती स्थलहरू आज पनि सिरहा र सप्तरीमा रहेका छन् ।
सलहेश गाथामा चर्चित कमला, बलान, कोसी, खुट्टी, गागन अहिले पनि मिथिला क्षेत्रमा प्रवाहित छ । लोरिकायनका वीरयोद्धा पात्र हरवा बरवाका पे्रयसी दुहवी सुहवीका नामबाट विद्यमान रहेकाले गाथा गायनलाई पेसागत बनाई संरक्षणको खाँचो रहेको छ ।
गाथा गायक रुपलाल मुखिया लोेक गाथामा तत्कालीन मिथिलाको भौगोलिक, आर्थिक, सामजिक र साँस्कृतिक इतिहासको विन्दु समावेश रहेकाले लिपिबद्ध गरी साहित्यिक सामग्री बनउनुपर्ने खाँचो औँल्याउनुहुन्छ ।
समान्यतया प्रत्येक मैथिली गाथामा जाति, जनजातिमा प्रतिष्ठित लोक नायकको गाथा प्रचलित रहेको पनि उहाँ प्रस्ट गर्नुहुन्छ ।
लोक गाथाहरूमा उल्लेख गरिने लोक नायकहरूमा लोरिकायन यादव, सलहेश दुसाध, बनजारा तेली, फेकुदयाराम हलुवाई, दुलरादयाल मलाह, दीनाभद्री मुसहर, बखतोर यादव, अमरसिंह र जयसिंह मलाह, गरीबनभुइयाँ धोवी, बेनिराम हजाम, लालबन बाबा चमार, श्यामसिंह डोम, महकार कोइरी, चुहरमल दुसाध, रइयारन पाल र राजा धनपाल क्षेत्रीको प्रतिनिधित्व गरेको देखिन्छ । यसका अतिरिक्त कुँवरबृजवान, वंशीधर, हंसराज र वंशराज, लवहरी र कुशहरि, साराङ्गा र सदावृक्ष एवम् गोपीचन्द मिथिला क्षेत्रमा प्रमुख लोक गाथाका रूपमा गाइने गरिएको पाइन्छ । गायक सातैन रामका अनुसार मुख्यतः यी गाथाहरूमा पाइने प्रेम, विरह, कपट, युद्ध र विजयका अनेकौँ प्रसङ्गले श्रोतालाई घण्टौँ मात्र होइन दिनहँुसम्म मन्त्रमुग्ध पारिरहन्छन् ।
अन्वेषक डा प्रफुल्लकुमार सिंह ‘मौन’ लोकगाथा कुनै खास व्यक्तिको साहित्यिक सिर्जना नभई सम्पूर्ण समाजको धरोहर हो, कुनै क्षेत्र विशेषको परम्परा, व्यवहारका कारण एउटै लोक गाथामा क्षेत्रगत भिन्नता पाइएको छ भन्नुहुन्छ । उहाँका अनुसार सुरुमा गाथा सम्पूर्ण समाजको थियो, यसलाई सबैले गाउने गर्थे र आ–आफ्नो मौलिक स्वरुप दिने गरेका कारण एउटा कण्ठबाट अर्कोमा हँुदै पुस्तौँपुस्तादेखि कण्ठानुकण्ठ यात्रा गरिरहेका कारण गाथाका रूपमा परिवर्तनशीलता पाइन्छ ।
लोकगाथामा रहेको विविधताबाट नै राष्ट्रिय स्वरुपको पहिचान र सिर्जना भएको हो । यसै कारण लोक जीवनसँग अन्योन्याश्रित सम्बन्ध रहेका साहित्यिले स्वतः लोक साहित्यको रुप धारण गरेको छ । त्यसैले गाथाहरू अपनत्वपूर्ण मार्यादा पाएर प्राचीनकालदेखि नै समृद्ध रहेको छ ।
अन्वेषक रामानन्द झा ‘रमण’ गाथा नायकको अलौकिक शक्ति सम्पन्न व्यक्तित्व एवम् नाटकीय चरित्र आज पनि समाजलाई दिशानिर्देश गरिरहेको बताउनुहुन्छ ।
उहाँका अनुसार लोकतान्त्रिक युगमा आ–आफ्नो जातिको लोकगाथा जातीय नायक राजनीतिक चेतनाका लागि पनि सहायक भइरहेको छ । गाथा गायक दामोदर मण्डल तरकारीखेतीले जसोतसो जीवनयापन गरिरहे पनि गाथा गायन नियति बनेको छ भन्नुहुन्छ । अर्का गायक भगलु यादव बुढापाकाको निधन र युवापुस्तामा यसप्रति उदासीनताका कारण गाथा गायन सङ्कटमा परी हस्तान्तरणमा पनि समस्या देखिएकाले यसलाई दीर्घजीवी बनाउनुपर्ने बताउनुहुन्छ ।
प्रत्येक कारोबार र कुराकानीलाई पौराणिक आख्यानसँग दाँज्ने सामाजिक विशेषता रहेको गाथाले समाजलाई आनन्दित एवम् प्रेरणा दिने गरेकाले यसको संरक्षणका लागि गौरवपूर्ण कार्य गर्नु पनि जरुरी देखिएको छ ।