पूर्व प्रधानन्यायधीश उपाध्याय निर्भिक

पूर्व प्रधानन्यायधीश उपाध्याय निर्भिक


महोत्तरी समाचारदाता
जलेश्वर, माघ १७ गते । पूर्व प्रधानन्यायधीश विश्वनाथ उपाध्यायको मृत्युको खबरले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा उहाँलाई चिन्नेहरु भावविह्रवल बनेका छन् । उहाँलाई नजिकबाट चिन्नेहरु उहाँ निर्भिक र अलग किसिमको मान्छे भएको वताउनुभएको छ ।
सदरमुकाम जलेश्वरको वडानं. ५ स्थित पुरानो विणा विद्या मन्दिर स्कुल निर पूर्व प्रधानन्यायधिश उपाध्यायको घर रहेको थियो । तर अहिले ति सबै विक्री गरिसकिएको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा उहाँको परिवारसंग नजिक रहँदै आउनुभएका औषधी व्यवसायी तथा उद्योग वाणिज्य संघ जलेश्वरका पूर्व अध्यक्ष रामाप्रसाद जालानले उपाध्याय एक अलग किसिमको रहेको वताउनुभएको छ । उहाँले भन्नुभयो,  ‘विश्वनाथ उपाध्याय एक निडर, झुठो बोल्नेसंग चिढिने, घुस लिने र दिने दुवैलाई नराम्रो भन्ने तथा एकोहोरो किसिमका अलग मान्छे जस्तो व्यवहार गर्ने रहेको थियो’ ।
पूर्व प्रधानन्यायधिशको मृत्युको खबरले भावविह्रवल बन्नुभएका जालानसंग सोधपुछ गरिरहँदा उहाँले उपाध्याय महोत्तरीको मात्रै नभई नेपालकै एक विभूति भएको वताउनुहुदैं उहाँको मृत्युले देशलाई अपुरणिय क्षति पुगेको वताउनुभयो ।
पूर्व प्रधानन्यायाधीश उपाध्यायको वुवालाई हामी सबैले भागिरथी सुब्बाको नामले चिनदैं आएको वताउनुहुदै जालानले मेरो बुवा र भागिरथी सुब्बाबीच पारिवारिक सम्बन्ध जस्तो व्यवहार रहँदै आएको कारण आफुले नजिक हुन पाएको वताउनुभयो । भागिरथी सुब्बा अञ्चलाधीश कार्यालयमा २ नं. सुब्बा बनेर आउनुभएको थियो भने उहाँले विवाह जलेश्वरमैं गर्नुभएको थियो ।
उहाँले पूर्व प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय आफु भन्दा धेरै सिनियर रहे पनि उहाँको कान्छो भाई नरेन्द्र दाहाल मेरो सहपाठी रहेको कारण उहाँको परिवारसंग आफनो नजिकको सम्बन्ध रहँदै आएको वताउनुभयो । उहाँले जलेश्वर आउँदाखेरी भेटधाट हुने गरेको वताउनुहुदैं उहाँको मृत्युको खबरले शोकविह्रवल बनाएको वताउनुभयो ।
त्यसैगरी पूर्व प्रधानन्यायाधीश उपाध्यायकै मावलीपट्टीकी वुहारी (दाजु जेठान) जलेश्वर नगरपालिका वडानं. ५ मैं वस्दै आएकी महालक्ष्मी ढुँगानाले पारिवारीक सम्बन्ध रहँदै आएको वताउँदै उहाँभन्दा बढी हामीले उहाँको परिवारसंग नजिक हुन पाएको वताउनुभयो । उहाँले जलेश्वर आउँदा खेरी परिवारीक मिलन हुने गरेको चर्चा गर्नुहुदैं जिल्ला अदालत महोत्तरीको शिलान्यास गर्दाताका पनि उहाँ घरमा आउनु भएको वताउनुभयो ।