स्थानिय पत्रकार तथा साहित्यप्रेमी नागेन्द्रकुमार कर्ण “मैथिल संदेश साप्ताहिक” का सम्पादक एवं प्रकाशक हुनुहुन्छ। समाज, संस्कृतिको संरक्षण र जनचेतनामूलक लेखनमार्फत निरन्तर सक्रिय रहनुहुन्छ। प्रकाशक तथा सम्पादक कर्ण गाेरखापत्र दैनिककाे महाेत्तरी समाचारदाताकाे रुपमा पनि विगत डेढ दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ ।
السبت، 11 أكتوبر 2014
पिछडीएकाे मधेसी समुदायबाट प्रधान न्यायाधीश
किरण भण्डारी काठमाडौं, असोज २४ print
आफ्नै ल्याकतले शिखर चुमेको व्यक्तित्व
महोत्तरी जिल्लाको सामान्य परिवारमा जन्मिएका रामकुमार प्रसाद साह शुक्रबारदेखि प्रधान न्यायधीशको पदभार संहालेका छन्। न्यायपालिकाको ६३ वर्षे आधुनिक इतिहासमा पिछडिएको समुदायबाट उच्च नेतृत्वमा पुग्ने उनी पहिलो व्यक्ति भएका छन्।
मधेसी समुदायको पिछडीएको सुढी जातीका व्यक्ति न्यायलयको सर्वोच्च ओहोदामा भएको नियुक्ति आफैमा एउटा सुखद संयोग भएको छ।
साहको नियुक्तिसँगै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको नेतृत्वको रुपरंग, भाषा, संस्कृतीले नेपालको विविधिता राम्ररी झल्काएको छ। राष्ट्रपति रामवरण यादवले शुक्रवार बिहान शितल निवासमा सपथ गराएपछि साह मुलुकको तेइसौं प्रधान न्यायाधीश भएका हुन्।
राज्यको प्रमुख अंग न्यायपालिकाको ड्राइभर सिटमा अबको नौ महिना साह हुनेछन्। उनको कार्यकालको मूल्यांकन त्यसपछि हुने नै छ।
'मधेसको पिछडिएको समुदायका व्यक्ति सर्वोच्च ओहोदामा पुग्नु हामी सबैको लागि गौरवको विषय हो,' अधिवक्ता सुरेन्द्र महतोले भने, 'त्यहाँमाथि उहाँ निकै कम्पिटेन्ट न्यायाधीश मानिनुहुन्छ।'
मधेसी समुदायबाट प्रधान न्यायाधीश हुने साह पहिलो व्यक्ति हैनन्। राजा महेन्द्रकै पालामा अनिरुद्रप्रसाद सिंह, भगवतीप्रसाद सिंह प्रधान न्यायाधीश थिए। बहुदलकालमा पनि सुरेन्द्रप्रसाद सिंहले न्यायपालिकाको नेतृत्वको मौका पाए।
उनीहरु भाषा, संस्कृतीले मधेसी थिए। तर वहिष्करणमा परेको समुदायबाट थिएनन्। मधेसमा 'एलिट' मानिने राजपुत थिए। उनीहरु पहाडका ठकुरी जस्तै राजामहाराजाका सन्तती हुन्। त्यस अर्थमा समग्र नेपालकै सीमान्तकृत समुदायाबाट सर्वोच्चको प्रधान न्यायाधीश हुने पहिलो व्यक्ति पनि सायद साह नै हुन्।
यसअघिका २२ जना प्रधान न्यायाधीश तराई वा पहाडका ब्राम्हण, क्षेत्री, ठकुरी वा नेवार समुदायका थिए।
...
रामकुमार प्रसाद साह २०६२ भदौमा सार्वेच्चको अस्थायी र २०६४ मा स्थायी न्यायाधीश भएका हुन्। त्यस अघि र पछि पनि मधेसीहरु सर्वोच्चका न्यायमूर्ती बनेका छन्, साह जस्तै करिअर न्यायाधीशको रुपमा वा बारको कोटाबाट।
ववनप्रसाद सिंह, अर्जुनकुमार सिंह, रुद्रबहादुर सिंह, रामनगिना सिंह, वलिराम कुमार, कृष्णकुमार बर्मा, जोगेन्द्रप्रसाद श्रीवास्तव, कमलनारायाण दास, गिरिशचन्द्र लाल, ताहिर अलि अन्सारी, अवदेशकुमार यादव, परमानन्द झा, ओमप्रकाश मिश्र आदि।
यी तेह्र नाममा अन्सारी र यादव बाहेक राजपुत, कायस्थ र ब्राम्हण मात्र छन्। मधेसका यी तिन जाती मानव विकास सूचकाङ्कका हिसाबले अग्रणी छन्।
पिछडिएको समुदायबाट सर्वोच्चको प्रधान न्यायाधीश बन्नुमात्र योग्यता हैन। साहले आफ्नै 'बुँता'मा करिअरको शिखर चुमे।
शाखा अधिकृतदेखि सर्वोच्चको प्रधान न्यायाधीश हुनेबेलासम्म सरकारी सेवामा वर्चस्व रहेको ब्राम्हण, क्षत्री र नेवारहरुलाई उछिन्दै अघि बढेकाले साह 'असाधारण' हुन्।
२०३० सालमा शाखा अधिकृतबाट न्याय सेवामा प्रवेश गरेका साह २०३३ सालमा जिल्ला न्यायाधीश भए। सोलुखुम्बुबाट न्यायसम्पादन थालेका उनले अंचल र पुनरावेदन न्यायाधीश हुँदा हिमाल, पहाड, तराईको कार्याअनुभव पनि बटुले।
झण्डैं चालिस वर्ष न्यायमूर्तीको कुर्सीमा बसेर हज्जारौं फैसला लेख्दा पनि उनी ठूलो विवादमा परेका छैनन्। 'रामकुमारप्रसाद साहको परिचय नै मुद्दा छिटो बुझ्ने न्यायाधीशको छ,' अधिवक्ता नरेन्द्र पाठकले भने, 'तलैदेखि मुद्दा हेरेको न्यायाधीश भएकाले अनुभवले खारिनुभएको छ।'
साहको परिचय मुद्दामा नहडबडाउने न्यायाधीशको पनि छ। सरकारी वकिल र अवकास पछि अधिवक्ताको हैसियतमा साहको इजलासमा बहस गरेका पाठक भन्छन्, 'न्यायिक प्रकृयामा गम्भिर हुनु पनि उहाँको अर्को विशेषता हो।'
प्रधान न्यायाधीश न्यायपालिकाको प्रशासनिक प्रमुख पनि हो। साहको निर्भिक र छिटो निर्णय दिने स्वभाव नेतृत्वका लागि उपयुक्त ठानिन्छ।
साहको बेञ्चमा बहस गर्न वकिलहरु अतिरिक्त तयारिका साथ जान्छन्। 'हामी आफ्नो पक्षमा फैसला गराउन कहिलेकाहि वहसलाई घुमाउँछौं,' बारका एक पदाधिकारीले भने, 'तर मै हुँ भन्ने वकिलले साहलाई मिसलिड गर्न सक्दैन।'
वकिलले विषयान्तर गर्न खोजेको चाल पाइहाल्छन्। साहले प्रश्नोत्तरले लगाम लागाइदिन्छन्। 'उहाँ भएको बेञ्च एक्टिभ हन्छ,' अधिवक्ता सुरेन्द्र महतोले भने, 'दोहोरो संवाद वा छलफल गरेर बेञ्च जीवन्त बनाउने खुबी श्रीमान्मा छ।'
नयाँ वकिल वा जिल्लाबाट आएका वकिलप्रति भने इजलासमा प्रोत्साहन नगर्ने आरोप साहलाई छ।
सर्वोच्चको न्यायाधीश हुँदैमा सबैले न्याय सम्पादनका आधुनिक अवधारणाहरुलाई समेटेर फैसला लेख्ने दक्ष हुँदैनन्। फैसला लेखन र नजिर प्रतिपादनम दखल राख्ने न्यायाधीश मानिन्छन् साह।
कलम जस्तै वाककलामा पनि साह सिपालु छन्। न्यायपालिका र राज्यका अरु अंग जोडिएका विषयमा बोल्नुपर्यो भने कतिपय सन्दर्भमा प्रधान न्यायाधीशहरुले उनलाई अघि सार्ने गर्थे।
अघिल्लो संविधान सभाले संवैधानिक अदालतको व्यवस्था गर्न खोज्दा त्यसको बिरोधममा साह सार्वजनिक कार्यक्रममा देखा परे। जोडदार तर्क दिए।
पुनर्नियुक्ति लगायत धेरै विषयमा न्यायाधीश समाजमा एकमत बनाउन र यो मुद्दा सार्वजनिक बहसमा ल्याउन साहकै वक्तृत्वकला सहायक बन्यो।
वैशाखमा न्यायपरिषद्ले सर्वोच्चको न्यायाधीशहरुको नियुक्ति प्रकृया अघि बढाउँदा साहले केहि हदसम्म 'आँट' देखाएका थिए। प्रधान न्यायाधीश अध्यक्ष हुने समितिको बैठकमा उनले लेखेरै फरक मत दर्ज गराए। भलै प्रकाश वस्ती जस्ता सक्षम अस्थायी न्यायाधीशहरुको पक्षमा अडान लिन जरुरी ठानेनन्।
...
सर्वत्र भागवण्डाको दुषित राजनीतिले न्याय क्षेत्रको नियुक्ति पनि प्रभावित भइसकेको छ। न्यायको तराजु लिएर बस्नुपर्ने न्यायमूर्ती समेत अमुक दलविशेषसँगको आवद्व हुने गरेको तथ्य सबै सामु छर्लङ छ।
यस्तो वातावरणमा पनि साह भने कांग्रेस, एमाले वा एमाओवादीसँग नलहसिएका न्यायाधीश मानिन्छन्। यसले गर्दा न्याय प्रशासनको निर्णय लिने क्रममा कुनै दलविशेषको गुन तिर्नुपर्ने बाध्यता उनलाई छै्रन। भलै न्यायप्रशासनका क्रममा मधेसी समुदायलाई 'च्याप्ने' गरेको आरोप उनलाई छ।
न्यायक्षेत्रमा जापान, अमेरिका वा यूरोपेली मुलुकको सहयोगमा परियोजनाहरु सञ्चालन हुने गरेका छन्। जानकारका अनुसार साह यसरि विदेशीसँग हात थाप्नुहुन्न भन्ने मान्यताका न्यायाधीश हुन्। दाताको द्रव्य लिएपछि उनीहरुको मूल्य, मान्यता हाम्रो फैसलामा झल्किन्छ भन्ने तर्क उनको छ।
'न्याय क्षेत्रमा आवश्यक पर्ने बजेट सरकारले नै लगानी गर्नुपर्छ भन्ने धारणा सम्माननीय ज्यूको छ,' सर्वोच्चका एक सहसचिवले भने, 'एनजिओ, आइएनजिओका नाराबाट पनि न्याय प्रभावित हुनुहुन्न भन्नेमा उहाँ उत्तिकै सचेत हुनुुुहुन्छ।'
...
सिक्काको दुई पाटा जस्तै साह पनि अवगुण मुक्त छैनन्। अदालत कर्मचारी, सरकारी वकिल वा प्राइभेट वकिल भएर साहलाई नियालेकाहरुको बुझाइमा उनको व्यक्तित्वमा गुरुताभास (सुपेरिटी कम्प्लेक्स) हावी भएको आभास हुन्छ। कतिपय मुद्दामा पहिल्यै धारणा बनाएर
इजलासमा बस्ने गरेको आरोप पनि उनीमाथि छ।
कानूनको ज्ञान, मुद्दा बुझ्ने, निर्णय क्षमता, न्याय निरुपणमा साह जति दक्ष न्यायाधीश २०४७ यता औंलामा गन्न सकिने संख्यामा भएको मानिन्छ। आदर्श न्यायाधीश उत्तीकै सदाचारी हुन जरुरी छ।
साहको अवको छवी प्रधान न्यायाधीशको भूमीकाले निर्धारण गर्ने हो। त्यसका लागि उनीसँग नौ महिने छोटो कार्यकाल छ।
विगतमा कतिपय न्यायमूर्तीको व्यक्तित्व प्रधान न्यायाधीश भएपछि धमिलो भएको छ। जिन्दगीभर आर्जेको साख रसातलमा धस्सिएको छ। कोहीले प्रधान न्यायाधीश भएपछि त्यसअघिका कमीकमजोरी त्यागेर न्याय सम्पादनमा योगदान दिएका छन्। आफ्नो अवकाशप्राप्त जीवनभरि जनआस्थाको केन्द्र बनेका छन्।
कुन बाटो रोज्ने भन्ने व्यक्तिको रोजाईको विषय हो। साहका कमीकमजोरी के हुन् भन्नेमा उनी जति ज्ञाता अरु हुन सक्दैनन्। त्यसबाट सच्चिएर न्यायलय हाँके भने उनको व्यक्तित्वको उँचाई धेरै पूर्ववर्तीको भन्दा अग्लो बन्नेछ। किनकी हाम्रो सन्दर्भमा ल्याकत भएको व्यक्ति इमान्दार पनि भयो भने उसको बेग बाइपंखी घोडाको जस्तो हुन्छ।
'न्याय मर्न दिन्न भनेर साहले कम्मर कस्नुभयो भने न्याय निरुपणमा सर्वसाधरणले महशुस गर्नेगरि गुणस्तरीय सुधार आउँछ,' न्याय सेवाका एक पूर्व सचिवले भने, 'त्यसबाट उहाँले न्यायिक इतिहासमा नाम लेखाउनु हुनेछ।'
प्रधान न्यायाधीश मूल्य, मान्यताले चल्ने भइदियो भने न्याय सम्पादनमा छोटो अवधिमा कति सुधार आउन सक्छ भन्ने नमूना साहको कार्यकाल बन्नसक्छ।
प्रकाशित मिति: शुक्रबार, आश्विन २४, २०७१ १४:१७:३९
الاشتراك في:
تعليقات الرسالة (Atom)
ليست هناك تعليقات:
إرسال تعليق