कैदी बन्दी स्थानान्तरण हुन थाले

कैदी बन्दी स्थानान्तरण हुन थाले

महोत्तरी समाचारदाता
जलेश्वर, माघ ६ गते । क्षमताभन्दा ४ गुणाबढी कैदीवन्दी भएपछि धनुषा र महोत्तरी जिल्लाको लागि रहेको एकमात्र कारागार जलेश्वर कारागारले कैदी बन्दी स्थानान्तरण गर्न थालेका छन् । 
  • १ सय ३५ कैदीबन्दी राख्ने क्षमताको जलेश्वर कारागारमा अहिले ५ सय हाराहारी कैदीबन्दी पुगेपछि कारागार प्रशासनले विभागको अनुमतिमा कैदीवन्दी स्थानान्तरण गर्न शुरु गरेका छन् । अहिले कारागारमा ४सय ९० जना कैदीबन्दी रहेका छन् । 
पहिलोचरणमा जलेश्वर कारागारका १२ कैदीलाई शुक्रबार सुनसरीको झुम्का क्षेत्रीय कारागारमा स्थानान्तरण गरिएको छ । कारागारमा कैदीको चाप अत्यधिक बढेपछि उनीहरुलाई विभागको अनुमतिमा झुम्का क्षेत्रीय जेलमा पठाइएको जलेश्वर कारागारका जेलर चिरिञ्जीवी थापाले बताउनुभयो । 
कारागारमा क्षमताभन्दा बढी कैदी संख्या पुगेपछि चाप घटाउन कारागार व्यवस्था विभागको आदेशले उनीहरुलाई जेल सरुवा गरिएको वताउनुहुदै जेलर थापाले विस्तारै विस्तारै अरु कैदीबन्दीहरुलाई पनि स्थानान्तरण गरिने बताउनुभयो । 
जनकपुरमा कारागार नहुनु र सर्लाहीको मलंगवामा रहेको कारागार सुचारु नहुने समस्याले गर्दा कारागारमा कैदीबन्दीको संख्या बढेको बताउनुहुदै उहाँले जिल्ला प्रशासन कार्यालय महोत्तरी मार्फत विभागलाई आग्रह गरिएपछि स्थानान्तरण आदेश आएको बताउनुभयो । जेलर थापाले भन्नुभयो,‘धनुषाबाट दैनिक पूर्पक्षमा ५÷७ जना आउँछन्, ठाउँ नपाएर छतको माथि पाल टाँगेर राख्नुपर्ने वाध्यता छ ।’
जेल प्रशासनका अनुसार झुम्का कारागार पठाइएका कैदीमा अधिकाँश जबरजस्ती करणी र कर्तव्यज्यान मुद्दा खेपेकाहरु छन् । कैदीबन्दीको संख्या बढेपछि बस्न, सुत्न तथा खानेपानी, शौचालयसहितको प्रयोगमा समस्या हुने थियो । जेलर थापाले बन्दीगृहको भीडलाई कम गर्न चरणवद्ध रुपमा सिन्धुली, भिमफेदीजस्ता कारागारको विकल्पसहित पत्राचार गरिएको र आदेश आएपछि थप कैदीबन्दीहरुलाई पनि स्थानान्तरण गरिने बताउनुभयो । 
उहाँले कैदीवन्दीहरुको सहमतिमा नै स्थानान्तरण गर्ने गरिएको बताउनुहुदै उहाँले मलंगवाको कारागार सुचारु गर्न पाए र जनकपुरमा एउटा कारागार भइदिए चाप स्वात्तै घटाउन सकिने बताउनुहुदै आफु आएपछि केही सुधार गर्न खोजेको बताउनुभयो ।