माइन्यूट पुस्तिका उपमेयरले लिए नियन्त्रणमा

माइन्यूट पुस्तिका उपमेयरले लिए नियन्त्रणमा
महोत्तरी समाचारदाता
जलेश्वर, माघ २१ गते । पटक पटक आफुखुशी एजेण्डा र निर्णयहरु राखेर आफुलाई गुमराहमा राख्दै बदनाम गर्न खोजेको भन्दै जलेश्वर नगरपालिकाका उपमेयरले बैठकको उपस्थिती पुस्तिका (माइन्यूट) नियन्त्रणमा लिएर बैठक रोकेकी छिन् ।
जलेश्वर नगरपालिकाका उपमेयर मुनचुन देवीले मेयर र कार्यकारी अधिकृत पटक पटक आफुलाई जानकारी नै नदिई माइन्यूट लेख्ने र सहिछाप गराउन थालेपछि शनिबार बसेको बैठकको माइन्युट नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र र कार्यकारी अधिकृत अधिकृत रामुराज कडरियाले मिलेमतो गरी पटक पटक बिना एजेण्डा बैठक बोलाउने र कम्प्युटराइज्ड नामावलीमा सबैको उपस्थिती गराउने र त्यसपछि आफै प्रस्ताव निर्णय लेख्ने गरेको बताउनुहुदै आफुले सम्झाउँदा पनि अटेरी गरिएपछि माइन्युट नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।


पटक पटक सुधार्नको लागि प्रयास गरेपनि यहि रवैया दोहोरिएपछि र वदनाममा आफु पनि जिम्मेवार बन्दै गएपछि यस्तो गर्नुपरेको बताउनुहुदै उपमेयर मुनचुन देवीले अब सह्रय नहुने वताउनुभयो ।
गाउँ नगरपालिकाको बैठक सञ्चालन सम्बन्धी कार्यविधि २०७४ को छलफल सम्बन्धी विषयमा स्पष्टमा कार्यपालिकाको बैठकमा छलफल गरिने विषयवस्तु स्पष्ट रुपले किटान गरी बैठक बस्ने मिति भन्दा २४ घण्टा अगावै छलफल गरिने एजेण्डा सहितको सूचना दिनुपर्ने प्रावधान छ । तर सो कार्यविधि अनुसार पनि आफुहरुलाई कुनै जानकारी नदिने गरेको बताउनुहुदै उपमेयर मुनचुन देवीले भन्नुभयो,‘आफुहरु यहाँ मात्रै मेयर र कार्यकारीको साझी बन्न आएका होइनौं, जनताप्रति उत्तरदायित्व पनि रहेकोले सोही अनुसार मैले गरेको हुँ ।’
उहाँले भन्नुभयो, ‘शनिबार ११ बजे हुने बैठकको लागि शुक्रबार दिउँसो १ बजे मोबाइलमा म्यासेज आउँछ तर त्यो म्यासेजमा कुनै छलफलको विषय हुदैनन् ।’ त्यसैगरी माइन्यूट रजिष्टरमा माइन्यूट लेख्नुपर्नेमा फोटोकाँपी पन्नामा सबैको उपस्थितीको हस्ताक्षर गराई कोठामा माइन्यूट लेख्ने चलन यहाँ चलाइएको छ जो आपत्तिपूर्ण रहेको उहाँको स्पष्ट गर्नुभयो ।

उपमेयर मुनचुन देवीले भन्नुभयो, ‘स्थानीय सरकार सञ्चालन ऐन अनुसार आफुलाई दिएको दायित्वबाट समेत मेयर र कार्यकारी अधिकृत मिलेर पन्छाएको छ ।’ आगामी दिनहरुमा समेत यस विषयमा आफुले बोल्ने बताउनुहुदै उहाँले नियत उनीहरुको खराब हुने र वदनाम हामी हुनुपर्ने यस्तो काम अब हुँदैन् ।
तर, जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत रामुराज कडरियाले कुनै पनि माइन्यूट उपप्रमुखले नियन्त्रणमा लिनु नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले कार्यविधि अनुसार नै बैठक बोलाउने गरेको छु । उपमेयर ज्युले भनेपछि बैठक नबसेको हो ।’
जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र तिर्थयात्राको क्रममा बाहिर रहनुभएकोले उहाँसंग सम्पर्क हुन सकेन । 

फोटो क्याप्सन ः उपमेयरलाई बैठकको लागि पठाइएको म्यासेज पत्र तथा माइन्यूटको लागि राखिएको उपस्थिती पुस्तिका ।