परिक्षा समयमै विद्यालयमा भोज

परिक्षा समयमै विद्यालयमा भोज
महोत्तरी समाचारदाता
जलेश्वर, फागुन ३० गते । महोत्तरी जिल्लाको औरही नगरपालिका वडानं. ८ मा रहेको सोनामाई आधारभूत बिधालया टिम्कियामा शुक्रबार एकातर्फ परिक्षा भइरहेको थियो भने एकातर्फ गाउँलेहरु भोज खान व्यस्त थिए ।
विदाको दिन विद्यालयमा कार्यक्रम गर्नुपर्नेमा परिक्षाको समयमा नै त्यहाँ भोज भइरहेकोमा स्थानीयहरु आश्चर्यचकित भएका थिए । सो विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाराम यादवको छोराको बिहेभोज सो विद्यालयमा चल्दै थियो भने विद्यार्थीहरु वार्षिक परीक्षाको पहिलो दिन परिक्षा दिइरहेका थिए ।

सोही ठाउँका स्थानीय तथा नेपाली काँग्रेसका नेता रामआश्रय यादवले विदाको समयमा विद्यालयको प्रयोग गर्नुपर्नेमा परिक्षाको समयमा भोजभात तथा अन्य कार्यक्रम गर्नु गलत भएको बताउनुभयो । उहाँले विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विद्यालयलाई नीजिकरण गरेको आरोप लगाउनुहुदै यसमा सुधारको खाँचो रहेको बताउनुभयो । वडामा सार्वजनिक धर्मशाला वा दलानको अभाव भएको कारणले विद्यालयमा भोजभात गरेको हुनसक्ने वताउनुहुदै उहाँले विद्यालय नचलेको समयमा भोजभात गरेको भए राम्रो हुने सुझाव दिनुभयो ।
यससम्बन्धमा औरही नगरपालिकाका शिक्षा समिति संयोजक धनबहादुर राईले आफुहरुलाई पनि यससम्बन्धी जानकारी भएपछि तत्कालै हटाउन लगाएको बताउनुभयो । उहाँले विद्यालयका प्रधानाध्यापक सरिता कुमारी यादवलाई विद्यालयमा विद्यालय चलिरहेको समयमा यस्ता गतिविधि नगर्न र नगराउन निर्देशन दिइसकेको बताउनुभयो । 
स्थानीय युवा धर्वेन्द्रकुमार यादव यदुवन्शीले आफुले यसको विरोध गर्दा व्यवस्थापन समितिले आफनो घरमा कुरा लगाएको बताउनुहुदै गलतलाई गलत भन्दा दवाव झेल्नुपरेको बताउनुभयो । उहाँले समाजमा गलत भनेर विरोध नै गर्न नसकिएको बताउनुहुदै सुधार गर्नुका साटो दवाव दिनु उचित नभएको सुझाव दिनुभयो ।
यससम्बन्धमा औरही नगरपालिकाका प्रमुख सुनिलकुमार यादवलाई मोबाइलबाट सम्पर्क गर्दा उहाँको फोन रिसिभ भएन । 
शैक्षिक गुणस्तर वृद्धिको लागि हरेक विद्यालयहरुले आफना नियम बनाएका हुन्छन् ति नियमहरुमा विद्यालय समयमा कुनै कार्यक्रम गर्न नदिने रणनीति बनाएपनि कार्यान्वयनको अभावको कारणले यस्तो गतिविधि हुने गरेको पूर्व शिक्षा अधिकारी कृष्णचन्द्र झाले जानकारी दिनुभयो । उहाँले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिए पनि यसको कार्यान्वयन नहुनु दुखद रहेको बताउनुहुदै विद्यालयहरुले आफैले बनाएका नियमहरुलाई पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न चैत ५ गते भित्र परिक्षा सक्न दिएको निर्देशन अनुसार महोत्तरीमा शुक्रबारबाट परिक्षा शुरु भएको हो ।