८ जिल्लाको शैक्षिक सरोकारवालाहरुसंगको अन्तरक्रिया

महोत्तरी समाचारदाता
जलेश्वर, मङसिर ५ गते । तराईमा तिन महिनादेखि बढी समयदेखिको बन्दले शिक्षा क्षेत्र तहसनहस भएको समयमा शिक्षामन्त्रीले तराईका ८ जिल्लालाई समेटेर महोत्तरीको बर्दिबासमा शनिबार एक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
तराई मधेशका शैक्षिक सरोकारवालाहरुसंगको अन्तरक्रिया नामाकरण गरिएको सो कार्यक्रममा तराईका सप्तरीदेखि पश्चिम पर्सा जिल्लासम्मको शिक्षा अधिकारी, संचारकर्मी, वुद्धिजीवीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा शिक्षामन्त्री गिरीराजमणी पोखरेलले शिक्षा क्षेत्र सुधारको लागि ल्याइएको १८ बुँदे प्रतिवद्धता बारे जानकारी गराउनुहुदै सहभागीहरुबीच छलफल चलाउनुभएको थियो ।
सो अवसरमा शिक्षा अधिकारी पोखरेलले बन्दमा कसरी विद्यालयलाई सुचारु गर्न सकिन्छ भन्नेबारेमा जानकारी दिनुहुदै शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने दीर्घकालिन र अल्पकालिन कामहरुबारे जानकारी दिनुभएको थियो ।
उहाँले शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धि गर्न, प्रशासनिक पुर्नसंरचना गर्न आवश्यक सुझाव दिन उच्चस्तरीय आयोग गठन गरिने वताउनुभएको थियो ।
बन्दका कारण सामुदायिक विद्यालयहरु बढी प्रभावित हुने तथा शैक्षिक गुणस्तर पनि यसैमा कमजोर हुने भएकोले यसमा सुधारको लागि निरिक्षण, अनुगमन, नियमन र व्यवस्थापन गर्ने कामको लागि समुदायलाई सक्षम बनाउने कार्यक्रम समेत ल्याउने उहाँले जानकारी दिनुभयो ।
सो अवसरमा शिक्षा मन्त्रीले मोर्चाले हालै विहानी सत्रमा विद्यालय संचालन गर्न दिने गरेको निर्णय अनुसार मङसिर महिनाभरी विहानीसत्रमा नै संचालन गर्ने र त्यसपछि दिवासत्रमा संचालनको लागि पहल गर्ने वताउनुभएको महोत्तरीका जिल्ला शिक्षा अधिकारी शत्रुधन यादवले वताउनुभयो ।
उहाँले बन्दको कारणले शिक्षाक्षेत्रमा देखिएको असरबारे व्यापक छलफल भई विद्यालयलाई सुचारु गर्ने सहमति भएको वताउनुभयो ।
कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, वारा र पर्सा जिल्लाका जिल्ला शिक्षा अधिकारी, संचारकर्मी तथा वुद्धिजीवीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा शिक्षा मन्त्रालयका महानिर्देशक डा.डिल्लीराम रिमाल, सहसचिव मुकुन्द निरौला लगायतका पनि उपस्थिती रहेको थियो ।