पहिलो मेराथन प्रतियोगिता गरियो

पहिलो मेराथन प्रतियोगिता गरियो
महोत्तरी समाचारदाता
जलेश्वर, मङसिर १३ गते । महोत्तरी जिल्लालाई खुला दिसामुक्त बनाउ नाराका साथ सदरमुकाम जलेश्वरमा सोमबार पहिलोपटक प्रथम मिनी मेराथन दौड प्रतियोगिता आयोजित गरिएको छ ।
आयोजित मिनी मेराथन प्रतियोगिताको प्रथम पुरस्कार जलेश्वर नगरपालिका वडानं. १७ का विजय यादव हुनुभएको आयोजक समितिले जानकारी दिनुभएको छ ।
सदरमुकाम जलेश्वरदेखि ऐतिहासिक गाउँ मटिहानीसम्म र पुनः जलेश्वर आई सो मेराथन प्रतियोगिताको समापन गरिएको थियो । करिब १४ किलोमिटरको सो मेराथन प्रतियोगिताको अन्य विजयीहरुमा क्रमशः शंकर मण्डल मटिहानी, मोबारक अंसारी परिकौली, गंगा यादव सोनौल, प्रकाश झा, शिवकुमार लगायतकाहरु रहेको आयोजक समितिका सदस्य सुदिपकुमार झाले जानकारी दिनुभयो ।
पहिलोपल्ट आयोजना गरेको मिनी मेराथन प्रतियोगितामा यसक्षेत्रका ५ सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो भने सो मेराथन हेर्न गाउँ गाउँबाट हजारौंको संख्यामा स्थानीयहरु सदरमुकाम जलेश्वर आइपुगेका थिए ।जलेश्वरको महादेवमन्दिरबाट शुरुवात गरिएको सो मेराथन प्रतियोगिता मटिहानी पुगेर पुनः जलेश्वर रंगशालामा आएर समापन गरिएको थियो ।
समापन कार्यक्रममा विजयी भएका खेलाडीहरुलाई आयोजक समितिका संयोजक रामआधार कापरसहितका समितिका पदाधिकारीहरुले शिल्डसहित पुरस्कृत गर्नुभएको थियो ।
आयोजक समितिले सरसफाई तथा खानेपानी कार्यालयसहित अन्य निकायसंग समन्वय नगरेको कारणले प्रतियोगीतामा केही खल्लो महसुस भएपनि जिल्लामा पहिलोपल्ट आयोजना गरिएकोले हेर्न आएको विभिन्न स्थानीयहरुले वताउनुभएको छ ।