जलेश्वरमा प्रमुख दल र राजपाबीच प्रतिष्ठाको लडाई

जलेश्वरमा प्रमुख दल र राजपाबीच प्रतिष्ठाको लडाई

महोत्तरी जिल्लाको सबैभन्दा पुरानो नगरपालिकाको रुपमा परिचित भएको जलेश्वर नगरपालिकामा स्थानीय तहमा प्रमुख पदमा जित हासिल गर्नु प्रमुख दल र राजपा नेपालको लागि प्रतिष्ठाको विषय बनेको छ । प्रमुख दल नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्र र आन्दोलनरत्त राष्ट्रिय जनता पार्टी नेपाल असोज २ गते हुन गईरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा प्रमुख पदमा जित्नका लागि प्रतिष्ठाको लडाई बनेकोले जस्तोसुकै परिस्थितिमा जित हासिल गर्ने दाउमा लागिपरेको हो । 
जलेश्वर नगरपालिकाको नेतृत्व आफ्नो हातमा पार्नका लागि प्रमुख दल लगायत राजपाका नेता तथा कार्यकर्ताहरु आ आफ्नो पार्टीलाई जिताउनका लागि मत समेत मागिरहेका छन् । काँग्रेसले जलेश्वर नगरसभापति समेत रहेका अशोक कुमार साहलाई मेयरको उम्मेदवार बनाएको छ । एमालेले महोत्तरीको क्षेत्र नं.३ बाट निर्वाचित सांसद रामदयाल मण्डलका भाई माधव मण्डललाई मेयरको उम्मेदवार बनाएको छ । यस्तै माओवादी केन्द्रले वृहत्तर जनकपुर विकास परिषदका निवर्तमान अध्यक्ष रामकुमार शर्माका दाजु कौशलेन्द्र शर्मालाई मेयरको उम्मेदवार बनाएको छ । यस्तै विगत २ वर्षदेखि आन्दोलनमा रहेका राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो संविधानसभामा तमलोपाबाट क्षेत्र नं.३ बाट संविधान सभाका सभासद रामशंकर मिश्र (शाहीजी) लाई मेयरको उम्मेदवार बनाएको छ ।

नेपाली काँग्रेसबाट अशोक कुमार साह

जलेश्वर नगरपालिकामा वि.सं. २०२४ सालमा जन्मेको अशोक कुमार साह व्यापारिक पृष्ठभुमि भएको परिवारबाट आवद्ध रहेको छ । शिक्षा योग्यतामा एस.एल.सी.सम्म मात्र अध्ययन गरेको साह सुरुदेखि नै समाजसेवाजस्तो कार्यमा लागेकोले अध्ययनलाई निरन्तरता दिन नसकेको बताउँछन् ।
वि.सं. २०४२ साल देखि नै राजनितीमा सकृय भई जलेश्वरको विकासको लागि लागिपरेको बताउँदै उनले २०३६ सालमा विपि कोइरालाले जलेश्वर रंगशालामा गरेको भाषणले प्रभावित भई सोहीसमयदेखि राजनीती तथा समाज सुधार कार्यमा लागेको जनाएको छ । उनी वि.सं. २०४६ भन्दा पहिले एक  पटक र पछि दुई पटक स्थानिय निकायको चुनावमा विजयी भई वडा अध्यक्षको जिम्मेवारी निभाईसकेको समेत जानकारी गराए । 

जलेश्वर नगरपालिकाको वर्तमानमा सडक, नाला, स्वास्थ्य, शिक्षा र रोजगारको अवस्था दिनप्रतिदिन खस्कदै गएको अवस्था छ । आफू मेयर पदमा जिती यहाँको अवस्था सुधार्न र नगरलाई समृद्धी तर्फ उन्मुख गराउन पार्टीले आफुलाई चुनेकोले असोज २ गते हुने चुनावमा भारी मतले जिती नगरको समस्याहरु समाधान गरि जलेश्वरलाई पर्यटकीय र रमणीयस्थलको रुपमा स्थापित गर्ने मेयरका उम्मेदवार अशोक साह बताउँछन । गत श्रावण २८ गते आएको भीषण बाढीले महोत्तरीमा क्षति पुन ः नहोस भनेर वाढीको दिर्घ समाधानको लागि समेत योजनावद्ध भई कार्यक्रम ल्याउने समेत बताए । 
जलेश्वरलाई चिनाउने जलेश्वरनाथ महादेव मन्दिरलाई पूर्णरुपले धार्मिक पर्यटकिय बनाउनको लागि प्रतिबद्धता व्यक्त गर्दै जलेश्वर नगरको विकास गर्न कहिले पछि नहटनने बताउदै भार्गवसर पोखरीलाई पिकनिक स्पोट बनाएर पर्यटकहरुको केन्द्र विन्दु बनाउने बताए ।

माओवादी केन्द्रबाट कौशलेन्द्र शर्मा 

वृहत्तर जनकपुर विकास परिषदका निवर्तमान अध्यक्ष रामकुमार शर्माका दाजु कौशलेन्द्र शर्मा माओवादी केन्दबाट मेयरको उम्मेदवारी दिएका हुन् । उच्च शिक्षा जनकपुर राराव क्याम्पसमा हासिल गर्ने क्रममै राजनितिमा सकृय भएको सुरुमै माओवादी केन्द्र र पछि नयाँशक्ति पार्टी र हाल फेरि माओवादी केन्द्रवाटै मेयरको प्रत्यासी भएका छन । 
उनी जलेश्वरको विकासको लागि आफु पाँच वटा एजेन्डा लिई अगाडी वढेको बताउदै जलेश्वरनाथ महादेव मन्दिरलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने प्रतिवद्धता जनाउछन । उनी भार्गवससर पोखरीलाई समेत पिकनिक र घुम्ने स्पोटको रुपमा विकसित गर्न आफु प्रतिवद्ध रहेको बताउछन । 
जलेश्वरका सडक,स्वास्थ्य,शिक्षा लगायत क्षेत्रमा ठोस निति तथा कार्यक्रम ल्याई यहाको विकास गर्ने बताउदै जलेश्वरका जनताले अनुभव गर्न नसकेका विकास कस्तो हुन्छ भन्ने अनुभव गराउने र पाँच वर्ष भित्र पाँच एजेन्डाका साथ अगाडी वढने मेरो प्रतिबद्धता रहेको बताउँछन् ।  उनले अबको पाँच वर्षभित्र जलेश्वरलाई शिक्षा,स्वास्थ्य,रोजगारी,सडक र कृषीको अवस्थामा पूर्णरुपमा परिवर्तन ल्याउने समेत प्रतिबद्धता जनाएको छ ।

नेकपा एमालेबाट माधव मण्डल

एमालेबाट क्षेत्र नं. ३ का साँसद रामदयाल मण्डलका भाई माधव मण्डल नेकपा एमालेबाट मेयर पदमा उम्मेदवारी दिएका हुन् । माधव मण्डल साविक जलेश्वर नगरपालिका ८ का नगर सभापति हुन् । उनी २०५२ सालदेखि नै राजनीतिक पेशामा सक्रिय रुपमा लागिपरेको छ । उहाँ वि.संं. २०५४ सालमा जलेश्वर नगरपालिकाको वडा अध्यक्षमा समेत चुनिएको थियो । उनी नेकपा एमाले पार्टीको नगर अध्यक्षमा तीन पटक निर्वाचित भइसकेको छ । वर्तमानमा मण्डल नेकपा एमालेका जलेश्वर नगर अध्यक्ष हुन । नगर प्रमुखमा आफु चुनिए जलेश्वर नगरपालिकाको प्रत्येक घरमा शौचालय र खानेपानीको व्यवस्था गर्ने, वृद्धालाई सामाजिक सुरक्षा भत्तामा वृद्धि गरिदिने लगायत जलेश्वर नगरपालिकामा बाटोघाटोको अवस्था सबैभन्दा बढी जर्जर रहेकोले सो समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । 

राष्ट्रिय जनता पार्टी नेपालबाट रामशंकर मिश्र (शाहीजी)

विगत २ वर्षदेखि चलिरहेको मधेश आन्दोलनमा सक्रिय रहेका राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो संविधानसभामा तमलोपाबाट क्षेत्र नं.३ बाट संविधान सभाका सभासद रामशंकर मिश्र (शाहीजी) लाई मेयर पदमा  उम्मेदवारी दिएका हुन् । किशान परिवारमा हुर्केका मिश्र पेशाले सिभिल ईन्जिनियर हुन् । जनकपुर मै उच्च शिक्षाको लागि छदा राजनितिले छोएको र सिभिल ईन्जिनियरिंगको क्रममा भारतको ओडिसामा हुदा समेत राजनितिमा सकृयता जनाईसकेको उनी २०४६ साल तिर पुर्ण रुपमा राजनितिक छवि बनाईसकेका थिए । नेपाली काँग्रेसको तर्फबाट आन्दोलनमा सकृयता जनाएका उनी महन्थ ठाकुरले केहि वेर संगै राखेर मधेशको वारेमा गरेको व्याख्याले छोएको र तत्काल तत्कालिन तराई मधेश लोकातान्त्रिक पार्टीमा प्रवेश गरेको बताए । 
विगतमा नाकाबन्दी, सडक आन्दोलन लगायतमा सकृय भएकै कारण समेत मिश्र चर्चामा रहेका छन । उनीमाथी सशस्त्र प्रहरी असई थमन विकको हत्याको आरोप समेत लागेको र मुद्दा समेत आफुले खेपेको बताउँछन । जलेश्वरकै विकासको लागि अझै पुर्वाधार तयार नभईसकेको अवस्थामा स्मार्ट सिटी भन्दा पनि त्यही पुर्वाधार निर्माण मुख्य चुनौती भएको र आफुले सो चुनौती पुरा गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे । जलेश्वरकै विकासको लागि योजनाबद्ध रुपमा काम गर्ने र विकासको ठोस आधार खडा गरि विकासलाई नै निरन्तरता दिने उनको सोच रहेको छ ।
आफु सिभिल ईन्जिनियर भएको र जलेश्वरकै स्थायी वासिन्दा भएकोले यहाँको प्रत्येक ठाउँहरुको अवस्था तथा त्यसलाई कसरी पूरा गर्ने सम्बन्धमा राम्ररी बुझेकोले अबको पाँच वर्षभित्र जलेश्वर नगरको विकासलाई शुन्यदेखि नै शतप्रतिशतसम्म देखाउने समेत प्रतिबद्धता जनाए ।