प्रतिनिधिसभामा ७४ र प्रदेशसभामा १ सय ४९ को उम्मेदवारी दर्ता

प्रतिनिधिसभामा ७४ र प्रदेशसभामा १ सय ४९ को उम्मेदवारी दर्ता
महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक १७ गते । मङसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि बिहीबार महोत्तरी जिल्लामा भएको उम्मेदवारी दर्तामा प्रतिनिधिसभा तर्फ ७४ जना तथा प्रदेशसभामा १ सय ४९ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
जिल्लामा रहेको ४ निर्वाचन क्षेत्रमा ४ जना प्रतिनिधिसभामा छनौट हुने भएपनि त्यसको लागि दुई महिलासहित ७४ जनाले उम्मेदवारी दर्ता गराउनुभएको महोत्तरीका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो ।
जिल्लाको क्षेत्रनं. १ मा प्रतिनिधिसभा तर्फ ११ पुरुष र १ महिला गरी १२ जना, क्षेत्रनं. २ मा १९ पुरुष र १ महिला गरी २० जना, क्षेत्रनं. ३ मा २२ पुरुष तथा क्षेत्रनं. ४ मा २० जना पुरुषले उम्मेदवारी दर्ता गराउनुभएको हो । जसमा क्षेत्र नम्बर १ मा ७ जना विभिन्न राजनीतिकदलबाट र ५ जना स्वतन्त्र, क्षेत्रनं. २ मा ९ जना विभिन्न राजनीतिकदलबाट तथा ११ जना स्वतन्त्र, क्षेत्रनं ३ मा ८ जना विभिन्न राजनैतिकदलबाट र १४ जनाले स्वतन्त्र तथा क्षेत्रनं. ४ मा १० जना विभिन्न पार्टीबाट तथा १० जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको जनाइएको छ ।
त्यसैगरी प्रदेशसभाको लागि १ सय ४९ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । जसमा १० जना महिला रहनुभएको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले बताउनुभयो । प्रदेशसभाको (क) र (ख) मा गरी ४–४ जना गरी ८ जनामा क्रमशः ५४ र ९५ जना गरी १ सय ४९ जनाले उम्मेदवारी दिनुभएको छ ।
प्रदेशसभाको (क) मा ४ जना महिला र (ख) ६ जना महिलाको उम्मेदवारी परेको छ ।
प्रदेश सभाको क्षेत्रनं. १ को (क) मा ७ जना राजनीतिकदलबाट तथा ४ जना स्वतन्त्र र (ख) मा ५ जना राजनीतिकदलबाट तथा १० जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुभएको छ भने क्षेत्रनं. २ को (क) मा ५ जनाले राजनीतिकदलबाट र ३ जनाले स्वतन्त्र तथा (ख) मा ८ जनाले राजनीतिकदलबाट १३ जनाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनुभएको जनाइएको छ ।
त्यस्तै प्रदेशसभाको क्षेत्रनं. ३ को (क) ६ जनाले राजनीतिकदलबाट तथा ११ जनाले स्वतन्त्र र (ख)बाट ११ जनाले विभिन्न राजनीतिकदलबाट र २४ जनाले स्वतन्त्र रुपमा तथा क्षेत्रनं. ४ को (क) मा १० जनाले विभिन्न राजनीतिकदलबाट तथा ८ जनाले स्वतन्त्र तथा (ख) बाट ९ जनाले राजनीतिकदलबाट तथा १५ जनाले स्वतन्त्र उम्मेदवारी दिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभामा ३ लाख १७ हजार ६ सय ९२ मतदाताले मतदान गर्ने जनाइएको छ । मतदाताहरुलाई सहजताको लागि ११ मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन अधिकारी पिंकी रायले जानकारी दिनुभयो ।
अधिकारी रायले स्थानीय तहको निर्वाचनमा २ सय ५८ मतदानस्थल र ४ सय १५ मतदान केन्द्र रहेकोमा प्रतिनिधिसभा र प्रदेशसभामा ११ मतदानकेन्द्र थप गरी ४ सय २६ पु¥याइएको बताउनुभयो । मतदानस्थलको संख्या भने हेरफेर नगरिएको अधिकारी रायले स्पष्ट गर्नुभयो ।
थप गरिएको मतदान केन्द्रहरुमा मटिहानी नगरपालिकामा धिरापुर प्रावि, रामगोपालपुर नगरपालिकामा दोलाढी निमावि, लोहारपट्टी नगरपालिकामा प्रावि फुलबरिया, सितापुरभंगहा नगरपालिकामा सिंग्याही मावि, भगवतीपुर निमावि, विपीस्मारक ज्ञानकुञ्ज अजगेवा रहेका छन् ।
त्यसैगरी एकडारा गाउँपालिकाको नेराप्रावि बेला, बर्दिबास नगरपालिकाको बरडाँडा मावि, खयरमारा मावि, कृषि सेवा केन्द्र, नयाँ बजार र गौशाला नगरपालिकाको पूर्व स्वास्थ्य चौकीमा समेत मतदान केन्द्र थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।