डेंगुको नियन्त्रण जारी, विरामी बढदै

डेंगुको नियन्त्रण जारी, विरामी बढदै

महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक १८ गते । महोत्तरीमा असोजको पहिलो सातादेखि देखिएको डेंगु नियन्त्रणको प्रयास जारी राखिएपनि अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन् । पाँचजनाबाट फैलिएको यो रोग कात्तिक १६ गते बिहीबारसम्ममा ४ सय ६४ जनामा देखिएको डेंगु रोग नियन्त्रणको कार्यमा खटिनुभएका जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन सन्तोषकुमार ठाकुरले जानकारी दिनुभयो ।
जिल्लाको उत्तरवर्ती बर्दिबास, गौशालासहितका नगरपालिकामा देखिएको डेंगु रोगका विरामीहरुको संख्या हवात्तै बढेपछि जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरी र बर्दिबास नगरपालिकाले संयुक्त रुपमा असोज १८ गतेबाट सर्च एण्ड डिस्ट्रोय कार्यक्रम शुरु गरेको थियो ।
बर्दिबास निर्वतमान स्वास्थ्यमन्त्री गिरीराजमणी पोखरेलको गृहनगर हो । यहीबाट उहाँले दुईदुईपल्ट संविधानसभाको निर्वाचनमा विजयी भइसक्नुभएको छ भने तेस्रो चरणको लागि पनि बामगठबन्धनको तर्फबाट प्रतिनिधिसभामा बिहीबार उहाँले मनोनयन दर्ता गराउनुभएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय, बर्दिबास नगरपालिका र सर्च एण्ड डिस्ट्रोय टिमको निरन्तरको प्रयासका कारणले डेंगु रोग नियन्त्रणमा आउन लागेको बताउनुहुदै फोकल पर्सन ठाकुरले भन्नुभयो,‘विरामीको संख्या बढेको लागेपनि डेंगु नियन्त्रणको प्रयास स्वरुप यी विरामीहरु अगाडी आएको छ ।’ अहिले अस्पतालहरुमा यो रोगीको संख्यामा कमी देखिएको उहाँको कथन थियो ।
उहाँले दुईदिनदेखि हामीले डेंगु रोग नियन्त्रण जनचेतना अभिवृद्धि तथा उपचार व्यवस्थापनका लागि डेंगु हेल्प डेस्क स्थापना गरेको बताउनुहुदै केही विरामी बढन सक्ने देखिएपनि यो थप विरामी नभई पहिला नै लागेको हुनसक्ने बताउनुभयो । डेंगुको विरामी बढन नदिनेको लागि सम्पूर्ण प्रयासहरु जारी राखिएको जानकारी दिनुहुदै नियन्त्रणमा आइरहेको स्पष्ट गर्नुभयो ।
जनस्वास्थ्य निरिक्षक ठाकुरले डेंगुको लामखुट्टेको आयु २१ दिनदेखि एक महिनासम्म हुने र यो सबभन्दा बढी थुपारिएको टायर, जमेको पानीहरुमा हुनेभएकोले हामीले उनीहरुको बासस्थानलाई खोजी खोजी डिस्ट्रोय गरेको बताउनुहुदै बर्दिबासमा विभिन्न सर्च एण्ड डिस्ट्रोय टिम निरन्तर डेंगुको लार्भा र प्युपा नष्ट गर्ने अभियानमा लागेको बताउनुभयो ।
डेंगु रोगको विरामीहरुको अवस्था देखेर रेफर गर्नेदेखि लिएर प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्नुपरिरहेको जानकारी दिनुहुदै उहाँले अहिलेसम्म १० जना विरामीलाई रेफर गरिएको र अरुको उपचार स्थानीयस्तरमै भएको वताउनुभयो ।
डेंगुको विरामी बढेसंगै बर्दिबास अस्पतालमा किटको अभाव समेत देखिएको छ । सरुवा रोग नियन्त्रण महाशाखाले आवश्यक मात्रामा किट उपलब्ध नगराएको कारणले पनि किट अभाव भएको र यसको कारणले कतिपय विरामीलाई महँगो शुल्क तिरेर जाँच गराउनुपरिरहेको छ ।
सरकारी अस्पतालमा यो सुविधा निःशुल्क रहेपनि अन्य अस्पतालहरुमा भने हजारदेखि डेढ हजारसम्म जाँच शुल्क लाग्ने गरेको देखिएको छ ।
जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरिडेन्टेन्ट डा. राजिवकुमार झाले डेंगुको भाइरस सरेका विरामीलाई तिव्र ज्वरो आउने ,जोर्नी दुख्ने, टाउको दुख्ने, आँखा दुख्ने, जिउभरि दाना निस्कने लगायतका लक्षणहरु देखिने गरेको बताउनुहुदै यस्तो लक्षण देखिए तत्कालै अस्पतालमा पुग्नुपर्ने बताउनुभयो ।
एकजना स्वस्थ्य मानिसलाई डेंगु भाइरस भएको लामखुटटेले टोके त्यो मानिसमा डेंगु हुने र त्यही मानिसलाई अर्को स्वस्थ्य लामखुटटेले टोके त्यो लामखुटटेमा समेत डेंगु सर्ने गरेको डा.झाले बताउनुभयो । प्राय सफा र जमेको पानीमा यस्ता डेंगुको लामखुटटे हुर्कने हुनाले त्यसतो ठाउहरुमा डिस्ट्रोय टोली परिचालन गरिएको छ ।
त्यसैगरी डेंगु भाइरस भएको लामखुटटे विभिन्न सवारी साधनको टायर जम्मा गरि राखेको स्थानमा राम्ररी हुर्कने गरेको छ ।
डिस्ट्रोय टिमले लामोसमय देखि थुपारिएर राखिएको ग्यारेजमा रहेको टायरहरुमा औषधी छर्केर लार्भा र प्युपा नष्ट गर्ने अभियान पनि जारी राखेका छन् भने अस्पतालले पनि त्यस्ता टायरहरु तत्काल हटाउन आग्रह गरेको छ ।
डेंगु अरुक्षेत्रमा पनि फैलिनसक्ने भएकोले पनि यसमा जिल्ला जनस्वास्थ्य कार्यालयले विभिन्न अस्पतालको सहयोगमा निरन्तरको प्रयास जारी राखेको जनाएको छ ।
बर्दिबासको वडानं. १, २, ३, ४ र १४ वडामा बढी डेंगु रोगीहरु देखिएको छ भने कतिपय स्वास्थ्यकर्मीहरु समेत यसको चपेटमा आएको स्वास्थ्य निरिक्षक ठाकुरले बताउनुभयो ।