खुल्ला दिसामुक्त अभियानलाई सघाउन शुरु गरिएको धार्मिक पदयात्रा महोत्तरीमा

खुल्ला दिसामुक्त अभियानलाई सघाउन शुरु गरिएको धार्मिक पदयात्रा महोत्तरीमा
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ २८ गते । सरसफाई सम्बन्धी जनचेतना फैलाउन र खुल्ला दिसा मुक्त अभियानलाई सघाउन सर्लाही जिल्लाको सिसौटियाबाट शुरु भएको रामजानकी डोलासहितका रामनाप जप पदयात्रा महोत्तरी आइपुगेको छ ।
नेपालमा पहिलोपल्ट खुल्ला दिसा मुक्त क्षेत्र घोषणाको लागि हात्ती, घोडा, ट्याक्टर, रामजानकीको डोलासहितको लावालस्कर जिल्लाको सरपल्लो आईपुगेको हो । सरपल्लोमा स्थानीयहरुले पुजापाठसहित लावालस्करलाई भव्य स्वागत गरेको छ । दुई दिन अघि सर्लाहीबाट शुरु भएको सो धार्मिक पदयात्रा सर्लाही, महोत्तरी र धनुषाको विभिन्न गाउँहुँदै जनकपुरको जानकी मन्दिरमा पुगेर समापन हुने जनाइएको छ ।
सो पदयात्रा युएनहयाविडेटको साझेदारीमा बागमती सेवा समाज नेपाल सर्लाहीद्वारा आयोजना गरिएको हो । जसमा दुईसय भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको छ भने हात्ति, घोडा, ट्याक्टर, रामजानकीको डोला समेत रहेको बागमती सेवा समाज नेपाल सर्लाहीका टेक्निकल एडभाइजर गजेन्द्र साहले जानकारी दिनुभयो । सर्लाही जिल्लाको सबैभन्दा फोहोरी गाविसको रुपमा चिनिएको सिसौटिया गाविसमा केही दिन पहिला खुल्ला स्थानमा रहेको ३ सय २१ केजी दिसालाई गाविस सचिव, राजनैतिकदल, समाजसेवी, जिम्मेवारी समूह, शिक्षक, युवाहरुले मिलेर हटाएको थियो ।
सरसफाईको महत्व बुझेपछि स्थानीयहरुले आफै धार्मिक पदयात्रा गर्ने जनाएपछि सरसफाईमा जनचेतना जगाउन र खुल्ला दिसा मुक्त अभियानमा सहयोग पुग्ने अभिप्रायले पदयात्रा शुभारम्भ गरिएको साहले जानकारी दिनुभयो ।
रामजानकीको डोला र बाजागाजासहितको लावालस्करहरुलाई बाटोमा सबैले पुजापाठका साथ स्वागत गर्ने गरेको पदयात्रामा सहभागी स्थानीय राजीवकुमार मण्डलले जानकारी दिनुभयो । उहाँले बाटोभरी रामनामको जयकार लगाउँदै लस्कर अगाडी बढने गरेको वताउनुभयो ।
दुई दिन अगाडी सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहितका कार्यालय प्रमुखहरुले फुलमाला, अबिरसहित पदयात्राको शुभारम्भ गर्नुभएको थियो । स्थानीय व्यासजीको उपनामले चिनिनुहुने नागेन्द्र मण्डलको नेतृत्वमा निस्केको सो धार्मिक लस्कर वुधबार भने धनुषाको दुधबार भन्ने ठाउँमा रात्रि विश्राम गर्ने कार्यक्रम रहेको जनाइएको छ । रात्रि विश्रामस्थलमा धार्मिक झाँकी पनि प्रर्दशन भइरहेको   छ ।
    सो धार्मिक यात्रा बिहीबार र शुक्रबार जनकपुरको विभिन्न मन्दिरहरुमा पुजापाठ र परिक्रमा गरी समापन हुने जनाइएको छ ।