الأربعاء، 5 أكتوبر 2016

जोखिममा परेका बालबालिकालाई सहयोग

जोखिममा परेका बालबालिकालाई सहयोग
महोत्तरी समाचारदाता
जलेश्वर, असोज १९ गते । सामुदायिक परिवार कल्याण संघ जनकपुरले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा ४ जना जोखिममा परेका बालबालिकाहरुलाई सहयोग गरेको छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा विद्यालय तथा समुदायमा बाल संरक्षण परियोजना अन्तर्गत सो सहयोग गरिएको कार्यक्रमका सामाजिक परिचालक मनोजकुमार साहले जानकारी दिनुभयो ।
सामाजिक परिचालक साहले जिल्लाको धबौलीका धिरज मण्डल, खैरा ११ का दिपककुमार मण्डल, निरजला ठाकुर र विशाल साहलाई सहयोग गरिएको वताउनुभयो । जोखिममा परेका ति विद्यार्थीहरुलाई ब्याग, कापी, डटपेन, पेन्सिल, कलरसहितका विभिन्न सामग्रीहरु वितरण गरिएको थियो ।
लक्ष्मी चण्डी मुरारका उच्च माध्यमिक विद्यालय पूर्व प्रधानाध्यापक यज्ञप्रसाद पोखरेलको अध्यक्षता तथा मिल अफिसर राकेशकुमार यादवको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा नेपाल भारत मैत्री समाजका अध्यक्ष राजकिशोर ठाकुर, गोरखापत्रका महोत्तरी समाचारदाता नागेन्द्रकुमार कर्ण, एमसीपिसीका संयोजक गिता मिश्र, सामाजिक परिचालक कैलाशकुमार यादव, काजल नागवंशी लगायतका उपस्थिती रहेको थियो ।
कार्यक्रममा विद्यार्थीका परिवारलाई समेत जिविकोपार्जनको लागि तथा सानो पसल संचालनको लागि २ वटा बाख्रासहित चाउचाउ, विस्कुट, चकलेटहरु प्रदान गरिएको थियो ।
सो अवसरमा वक्ताहरुले बालबालिकाहरुलाई सधैं विद्यालय पठाउनुपर्ने भन्दै उनीहरुको परिवारजनलाई पनि जिविकोपार्जनको लागि सहयोग गरिएकोमा धन्यवाद दिएका थिए । 

ليست هناك تعليقات:

إرسال تعليق