नवजात शिशु बिरामी परे यो नम्बरमा फोन गर्नूस्….

नवजात शिशु बिरामी परे यो नम्बरमा फोन गर्नूस्….

पुस १  |   सर्मिला थापा
250
 
245
 
5
 
नवजात शिशु बिरामी परे यो नम्बरमा फोन गर्नूस्….
नेपालमा पहिलो पटक नवजात शिशु स्याहार सल्लाह केन्द्र स्थापना, समस्या परे ५१५९२६६ नम्बरमा फोन गर्नुस् :
भनिन्छ, हरेक सफलताका लागि कसैबाट प्रेरणा मिल्छ । इच्छाशक्ति र निरन्तर लगाव भएमा सोचेका धेरै सपना पूरा हुने तर्क छ वरिष्ठ नवजात शिशु विशेषज्ञ डाक्टर विनोदकुमार शाहको । वि.सं. २०३३ मा सिराहाको सामान्य परिवारमा जन्मिएका शाह सानैदेखि जेहेन्दार थिए । सामान्य उपचारको अभावमा शाहका २ जना दिदीहरुको शिशु अवस्थामै मृत्यु भएको थियो । शाह बुझ्ने भएपछि जब यी कुरा सुने त्यसबेलादेखि नै मानिसलाई मृत्युको मुखबाट बचाउँछु भन्ने लागेको शाह बताउँछन् । २०५० मा शाहले एसएलसी उत्तीर्ण गरेपछि सरकारले मेडिकल शिक्षामा प्रदान गर्ने छात्रावृत्तिमा नाम निकाली अध्ययनका लागि टर्की गए । शाहले टर्कीमा १६ वर्ष अध्ययनसँगै यसै क्षेत्रमा काम गरे । टर्कीमा मेधावी विद्यार्थी र चिकित्सक हुँदा धेरै पुरस्कार प्राप्त गरे ।

टर्कीको चिकित्सा प्रणालीबाट शाह धेरै उत्साहित भएका छन् । अशिक्षा, अन्धविश्वास र गरिबीको चपेटामा रहेका अधिकांश नेपालीमा त्यहाँ सिकेको अनुभव प्रयोग गर्ने प्रमुख ध्येयले नेपाल आएको शाह बताउँछन् । नेपालमा विशेष गरेर नवजात शिशुको स्वास्थ्य अवस्था धेरै नाजुक छ । प्रत्येक १००० शिशुमा ४० जनाको सचेतता र सामान्य उपचारको कमीले मृत्यु हुने गरेको छ । जब कि विकसित मुलुकमा २ वा ३ शिशुको मात्र मृत्यु हुन्छ, त्यो पनि गम्भीर रोगका कारण ।
शाहले नेपालमै पहिलो पटक नवजात शिशु स्याहार सल्लाह केन्द्र स्थापना गरेका छन् । काठमाडौंको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा शाहले ३ जनाको टिम बनाई यो सेवा दिएका छन् । यो टीमले उनीहरुको सम्पर्कमा आएका नवजात शिशुका अभिभावकलाई बच्चाको अवस्था, उसलाई दिनुपर्ने स्याहार, सुसारलगायत आवश्यक सबै कुरा सिकाइन्छ ।

शिशुलाई घर लगिसकेपछि पनि हप्ता दस दिनसम्म पटक पटक फोन गरेर बच्चाको स्वास्थ्यका बारेमा र गर्नुपर्ने कुराहरु सिकाइन्छ । कुनै जटिलता आइपरे समधानको उपाए सिकाउँदा निको हुने भए अस्पताल जानुपर्ने झन्झटबाट मुक्त हुने टिमको अनुभव छ । शाह भन्छन्ः नवजात शिशुमा कुनै समस्या आयो भने अभिभावकले ५१५९२६६ नम्बरको टेलिफोनमा सम्पर्क गरी लाभ लिन सक्नु हुन्छ, यो निःशुल्क सेवा हो । अहिले यो सेवा बिहान १० बजेबाट बेलुका ५ बजेसम्म दिइन्छ । तर अब केही समयभित्रै २४सै घण्टा यो सेवा दिने ओजना छ । यति मात्र हैन, सरकारसँग समन्वय गरी सरकारको प्रतिनिधि १, स्थानीय तहको स्वास्थ्य सेवामा कार्यरत १ र शाह गरी ३ जनाको टिम बनाई ७५ वटै जिल्लाका दुर्गम ठाउँ पहिचान गरी यो सेवा प्रदान गर्ने शाहको योजना छ । जसले गर्दा नवजात शिशुको बारेमा जनचेतना जगाउनुका साथै मृत्युदर न्यून पार्ने योजना छ । यसका लागि सरोकारवालासँग आवश्यक तयारी छिट्टै गर्ने कुरा उनले बताए ।
यस्तो सेवा लिएका काठमाडौं धापासीकी काजु शाही र नवीन शाहीका अनुसार डाक्टर शाहले शिशु र अभिभावकप्रति चिकित्सकको मात्र होइन अभिभावकीय भूमिका निर्वाह गरेको र यो सेवाबाट धेरै लाभान्वित हुने छन् । आगामी दिनमा यो सेवा दुरदराजमा पुगे धेरै राम्रो हुने थियो । Nagriknews