एचआइभी पिडितलाई हेला होइन माया गर्न जरुरी

एचआइभी पिडितलाई हेला होइन माया गर्न जरुरी

महोत्तरी समाचारदाता
जलेश्वर, फागुन १३ गते । सरकारले एच.आई.भी.एडस लागेका विरामीहरुलाई स्वास्थ्य बिमा निःशुल्क गरेपनि सामाजिक डर कारणले एउटा पनि विरामी यसमा समावेश नभएको देखिएको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आयोजना गरिएको एचआइभी एड्स सम्बन्धी सरोकारबालासंगको अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
कार्यक्रममा जलेश्वर अस्पतालमा सञ्चालन भइरहेको एआरटीका काउन्सिलर राजीव पाठकले एचआइभी एड्सबाट पिडित भएका विरामीहरुलाई सरकारले निःशुल्क स्वास्थ्य बिमा गरेको जानकारी दिनुहुदै समाजमा एचआइभी एडस भएको जानकारी भएपछि हेला गर्ला भन्ने डरले कोही पनि बिमा नगराएको बताउनुभयो । उहाँले जलेश्वर अस्पतालबाट यसको औषधी खाइरहेका २६५ जनामा एउटाको पनि बिमा नभएको बताउनुहुदै उनीहरु औषधी पनि डराई डराई खाने गरेको बताउनुभयो । उहाँले औषधी खानेहरुमा १०४ जना महिला, १३८ जना पुरुष, ४ जना तेस्रोलिङ्गी तथा १९ जना बालबालिकाहरु रहेको बताउनुभयो । 

कार्यक्रममा डा.पुलकित चौधरीले सामाजिक हेला, हिनताबोध, भेदभावको डरले एडस पिडितहरु सार्वजनिक हुन डराउने गरेको बताउनुहुदै यो कुनै सरुवा रोग नभएपनि जनचेतना अभावमा भेदभाव गरिएको बताउनुभयो । नेपाल सरकारले सन् २०३० सम्ममा एचआइभी एड्समुक्त नेपाल बनाउने लक्ष् लिएको जानकारी गराउनुहुदै उहाँले लक्ष्य प्राप्तीको लागि यस अभियानमा सबैले सहयोग गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
नेपाल सरकारले स्वास्थ्यलाई मौलिक हकमा राखेपनि यससम्बन्धी जानकारी अभाव रहेकोमा जोड दिनुहुदै डा.चौधरीले भन्नुभयो, ‘स्वास्थ्य सम्बन्धी विषयमा हेला, भेदभाव गरेको खण्डमा मानवअधिकारको उल्लंघन हुने भएकोले यसप्रति सबैजना सजग र सचेत हुनुपर्छ ।’ असुरक्षित यौंन सम्पर्कबाट मात्रै सर्ने यो रोग भएकालाई टिवीरोग हुने जानकारी दिनुहुदै डा.चौधरीले टिवी रोगभएका विरामीहरुलाई चेकजाँच गराउन आग्रह गर्नुभयो ।
त्यसैगरी स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नागेन्द्रप्रसाद चौधरीले यो रोग हावा, पानी वा संगै बस्दा, खाँदा नसर्ने भएपनि यो रोग लागेका व्यक्तिहरुलाई समाजले नराम्रो दृष्टिकोणले हेर्ने र भेदभाव गरिने कार्यलाई निरुत्साहित गर्न मानवअधिकारकर्मी, सञ्चारकर्मीसहित समाजका सबै सरोकारबालाहरु लाग्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
पिडितहरुलाई चेकजाँच गराउन र औषधी खान सल्लाह दिनुहुदै उहाँले यो रोग लागेकाहरुले नियमित रुपमा औषधी सेवन गरे लामो समयसम्म बाँच्न सक्ने जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नागेन्द्रप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा मानवअधिकारकर्मी मदनकुमार झाले समेत आफ्नो विचार राख्नुभएको थियो ।