१६ संस्कार किन ? सुरज कुँवर

१६ संस्कार किन ?


हिन्दु धर्म अर्थात् ओमकार परिवारमा संस्कारको सूची लामो छ । धर्मग्रन्थमा ४२ वटा संस्कारको विधान छ, तर अहिलेको व्यावहारिक जीवनमा १६ वटा संस्कार मानिएको देखिन्छ । यस धर्ममा हुर्केकाहरू जन्मेदेखि मृत्युसम्म र त्यसपछि पनि संस्कारबाट भाग्न सक्दैनन् । गर्भधारण, पुंसवनम, सिम्तो नयन, जातकर्म, नामकरण, निस्क्रमण, अन्नप्राशन, चूडाकर्म, कान छेड्नु, उपनयन, शिक्षा आरम्भ, विवाह, समावर्तन, केसान्त, मृत्यु, श्राद्ध आदि मुख्य १६ संस्कार हुन् । आधुनिक सन्दर्भमा संस्कार मान्ने र गर्ने अधिकांश यसबारे अनविज्ञ हुन्छन् । संस्कार अनुशरण गर्ने औसतलाई कारण थाहा हुँदैन । हरेक कामको कारण खोज्नु मुर्खता पनि हो । तर काम र कारणबीच अन्योन्याश्रति सम्वन्ध हुन्छ । वैदिक पत्रिका दिग्दर्पणका अनुसार, संसारमा जति पनि कार्य हुन्छन्, ती सबै कुनै न कुनै प्रयोजनका निम्ति हुन्छन् । त्यसैले अहिले हरेक धार्मिक संस्कार किन हुन्छन्, जान्नुपर्छ । पूर्वीय दर्शन मानिने हिन्दु संस्कारका अधिकांश कार्य विज्ञानसम्मत छन् । आ-आफ्नो परम्परा र धर्मअनुसार खारिंदै आएको व्यावहारिक पक्षलाई संस्कृतमा लेखिएको हिन्दु धर्मको सबैभन्दा ठूलो ग्रन्थ वेदले संस्कार भनेको छ । '१६ संस्कारमध्ये केही संस्कार किन मानिन्छन् ?' बारे डा वासुदेवकृष्ण शास्त्रीद्वारा सम्पादन गरिएको वैदिक पत्रिका दिग्दर्पणले उल्लेख गरेका काम र कारण यहाँ उल्लेख छन्ः किन लगाइन्छ टीका ?
हिजोआज प्रायः निधारमा टीका लगाएका मानिस त्यति देखिंदैनन् । निधारमा टीका लगाएका मानिसहरू हेर्न चाडपर्व कुर्नुपर्छ । 
गोपीचन्दन, रक्तचन्दन, सिन्दूर, केशर आदिलाई टीकाका रूपमा प्रयोग गरिन्छ । हिन्दु धर्ममा टीका धारण नगरी गरिएका दान, तप, होम, पितृकार्यलाई निष्फल मानिन्छ । शरीरमा रहेका ७२ करोड ७२ लाख ७२ हजार २ सय १० नाडीमध्ये इडा, पिङ्गला र सुषुम्ना मुख्य मानिन्छन् । सुषुम्नालाई ज्ञानको प्रवाहक
मानिन्छ । यो मस्तिष्कको मध्यभागबाट निधारतर्फ निस्केको हुन्छ । यसैमा कालो टीका तिलक वा चन्दन लगाइन्छ । चन्दनले मानिसका विकारयुक्त कीटाणुको नाश गर्ने, विचार शुद्ध राख्ने, वीर्य संरक्षण गर्ने भएकाले चन्दन लगाइन्छ । मस्तिष्क तातेपछि मनमा नकारात्मक तरंग फैलन्छन् । यस्लाई सन्तुलित बनाउन टीका लगाउन थालिएको हो ।
जनै किन ?
हिन्दु परम्परामा व्रतबन्ध गर्ने विधान छ । धार्मिक शास्त्रअनुसार, मनमस्तिष्क र चित्त शुद्धिका लागि व्रतबन्ध गरिन्छ । शरीरमा रहेका सूक्ष्म बिन्दुहरूमा स्पर्श गर्दै नाभीसम्म जाने कपासको सूत्र धारण गर्न हवन, यज्ञ, मन्त्रपाठ आदि गरी ब्राह्मणले जनै लगाइदिन्छन् । यो डोरीले शरीरमा रहेका रोमकुप, मुटुको बाहिरी बिन्दु, फोक्सोको बाहिरी बिन्दु र नाभीको बाहिरी भागलाई स्पर्श गर्छ । शरीरलाई ऊर्जाशक्ति र रक्तसंचारलाई निरन्तरता दिन व्रतबन्धका दिन जनै लगाउन थालियो । शास्त्र अनुसार, जनै लगाउँदा आयु, तेज र बल प्राप्त हुने मान्यता छ । यसको अर्को काम मुटु, कलेजो, फोक्सो र शरीरका सूक्ष्म अंगलाई क्रियाशील बनाउने पनि रहेको छ । नकारात्मक भावना र ऊर्जालाई निस्तेज बनाउने जनै प्रयोग गर्दा मन, बुद्धि, चित्त स्वस्थ रहने विश्वास गरिन्छ ।
टुप्पी किन ?
मान्छेको शरीरमा विभिन्न तत्त्व रहेझैं पृथ्वीमा पनि विभिन्न तत्त्व छन् । पृथ्वी, जल, तेज, वायु र आकास बाहिर छन् भने यी पञ्चतत्त्व मानव शरीरमा पनि भेटिन्छन् । स्वस्थ्य मानिसले दिनरात गरेर २१ हजार ६ सयपटक सास फेर्छ । शरीरका कोष संचालन गर्न मस्तिष्क र मुटुको भूमिका हुन्छ । यसलाई बाहिरी तत्त्वले प्रभाव पारिरहेको हुन्छ । यसमा शरीरका नौवटा प्वालहरूको भूमिका हुन्छ । त्यसैगरी अप्रत्यक्ष द्वारका रूपमा मानिने नाभी र शिखा अर्थात् टुप्पीको पनि भूमिका हुन्छ । विज्ञानका अनुसार, आकासबाट विभिन्न खाले परावैजनी किरण पृथ्वीमा झरिरहेका हुन्छन् । शिरको टुप्पोमा रहेको शिखाले नकारात्मक विकिरणलाई परावर्तन गर्ने र सकारात्मक किरणमात्रै ग्रहण गरी शरीरमा पठाउँछ ।
पोते किन ?
स्त्रीलाई दयालु र कृपालु भनिन्छ । पुरुषको दाँजोमा उनीहरूलाई कोमल र सरल मानिन्छ । विवाहको समयमा मङ्गल मन्त्रका साथ वरले वधुलाई पोते त्यसपछि सिन्दूर, लगनगाँठो बाँधेर सूर्य, अग्नि, इन्द्र, यम, वरुण, आकासका देवता, पातालका देवता, पृथ्वीका देवता र नागलाई साक्षी राखेर विवाहको मङ्गलकार्य गरिन्छ । पोते (मङ्गलसूत्र) सानो इकाइमा २७,३६,५४ वा १ सय ८ लुङको लगाइदिने संस्कार विधानमा उल्लेख छ । पतिले 'तिमी र म आजदेखि आधा-आधा थियौं' आजदेखि हामी पूर्ण भएका छौं' भनेर घर भित्र्याउँछन् । जब कुमारी कन्या विहे गरेर वरको घर जान्छिन् । जिम्मेवारी बढ्छन् । कुमारीत्व भंग हुँदा शारीरिक र मानसिक पीडा उत्पन्न हुन्छ । पीडा कम गराई शान्तिका लागि घाँटीमा पोते लगाउने संस्कार बनेको हो । यसले शीतलता प्रदान गर्ने विश्वास छ । शास्त्रीय मान्यताअनुसार, मंगलकार्य भएकाले मङ्गलकारक सूत्रका रूपमा पोते लगाइदिने प्रचलन बनेको हो ।
ननुहाइ किन खानु हुँदैन
संस्कारयुक्त व्यक्तिले नित्यक्रम नगरी अन्य काम गर्दैन । स्नान नगरी खान खानु हुँदैन । बिहान शौचादि कर्मद्वारा शारीरिक मल निस्कासित भइसकेको हुन्छ । स्नानपूर्व शरीरको छिद्रमा अवरोध भएको र तापक्रम बढेको हुन्छ । शरीरमा नयाँ जीवनको संचार भएको अनुभूति हुन्छ । पाचन प्रणाली पनि सक्रिय हुन्छ । त्यसको फलस्वरुप  भोक लाग्छ । भोजनले शरीरलाई फाइदा गर्छ । स्नानपूर्व उखुको रस, पानी, दूध, फल आदि खान सकिन्छ । जसले पाचन प्रणाली र पेटको अग्नि प्रज्वलनमा नकारात्मक असर पार्दैन ।
कान किन छेडिन्छ ?
कानको सम्बन्ध मुटु र मस्तिष्कसँग हुन्छ । बालक जन्मेपछि मुटुमा साना-साना प्वाल हुन्छन् । कान छेडेपछि त्यस्ता प्वालहरू बन्द हुन्छन् । बच्चाको मुटु बलियो बनाउनका लागि नै कान छेड्ने संस्कार विकास भएको हो ।