तस्वीर , नागेन्द्रकुमार कर्ण÷महोत्तरी
प्रधानमन्त्रीको कार्यक्रम संचारकर्मीद्वारा वहिष्कार
मधेश र मधेशीको लागि आफु लाग्ने अध्यक्ष प्रचण्डको भनाई
महोत्तरी समाचारदाता
जलेश्वर, माघ १३ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर स्थित रंगशालामा एकीकृत नेकपा माओवादीको प्रथम एकता जिल्ला अधिवेशनको कार्यक्रममा संचारकर्मीलाई प्रवेश निषेध गरेपछि संचारकर्मीहरुले शनिबार कार्यक्रम वहिष्कार गरेको छ ।
एकिकृत नेकपा माओवादीको जिल्ला अधिवेशनमा भाग लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष तथा प्रधानमन्त्री डा.बाबुराम भट्टराइ र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाश सहितका टोली जलेश्वर पुग्नुभएको थियो ।
उद्घाट्नस्थलमा छातीमा दण्डहिनताको अन्त्य गर, पत्रकार हत्यारालाई कारवाही गर सहितको पम्पलेट टाँसेर प्रवेश गर्न खोज्दा कार्यक्रमको मुलद्वारमै निषेध गरेका थिए । सो क्रममा संचारकर्मी र सुरक्षाकर्मीबिच १५ मिनेट सम्म धम्साधम्सी भएको थियो । सुरक्षानिकालये माथिको आदेश भन्दै पम्पलेट हटाएर मात्र जानदिने अडान राखेपछि संचारकर्मीले कार्यक्रम नै वहिष्कार गरेको थियो ।
कार्यक्रमस्थलमा प्रवेश गर्न नपाउँदा संचारकर्मीहरु केहीबेर मूलद्वारमै नाराबाजी गर्दै केहीबेर कार्यक्रम स्थल बाहीर प्रर्दशन गरेका थिए । नेपाल पत्रकार महासंघका सचिव नागेन्द्रकुमार कर्णको नेतृत्वमा कार्यक्रमस्थलमा प्रवेश गर्न नपाउँदा संचारकर्मीहरु प्रधानमन्त्री भट्टराई ,एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल बिरुद्ध नाराबाजी गरेका थिए ।
प्रवेश निषेध भएपश्चात नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको बसेको आकस्मिक बैठकले वहिष्कारको निर्णय गरेको थियो ।
राजधानीबाट महोत्तरीको परिकौली स्थित ब्यारेकमा हेलिकप्टरबाट उत्रनुभएको उहाँहरुलाई जलेश्वरको जिरोमाइलमा प्रतिपक्षी दल नेपाली काँगे्रस, नेकपा एमाले सहितको दलका सयौं कार्यकर्ताहरु प्रधानमन्त्री भट्टराईसहित एकीकृत नेकपा माओवादीका अध्यक्षलगायतका नेतालाई कालो झण्डा देखाएका थिए ।
यसैबीच एमाओवादीको जिल्ला अधिवेशनलाइ उदघाटन गर्नुहुदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेश र मधेशीको हकहितको लागि आफ्नो पार्टी कटिवद्ध भएको बताउनुभएको छ ।
कार्यक्रम स्थलमा रहेका एक सहभागीका अनुसार अध्यक्ष प्रचण्डले १० वर्षे जनयुद्ध र मधेश आन्दोलनहरुको उपलब्धिलाई अहिले संस्थागत गर्न नसकिएको बताउनुहुदै नयाँ संविधान निर्माण गरेर मधेश र मधेशीको हक हितको कार्य गरिने बताउनुभएको जनाएको छ । उहाँले संविधानसभाबाटै नयाँ संविधान बनाउने दावी गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले महोत्तरी जिल्ला विकासको दृष्टिकोणले पछाडि परेको स्विकार्नु हुदैं जलेश्वरमा भौतिक संरचनाका कार्यहरु र जिल्लामा पन्ध्र वर्ष पहिले बन्न लागेको इन्जिनियरिंग कलेजको निर्माण तथा बाढीबाट जोगाउन विशेष प्याकेज ल्याउने आश्वासन समेत दिनुभयो । अध्यक्ष प्रचण्डले मधेशका मसिहा भनेर चिनाउने फोरमहरुको माउ पार्टी एकिकृत माओवादी नै भएको बताउनुहुदै मधेश र मधेशीले देखेको पहिचान सहितको संघियताको सपना एकमात्र आफ्नो पार्टीले पुरा गर्ने दावी समेत गर्नुभएको थियो । अरु दिनको तुलनामा अध्यक्ष प्रचण्डले संयमित भएर र बढी मधेश र मधेशीको हकहितमा बोल्नुभएको सहभागीहरुले बताएका छन् ।
त्यसैगरी कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री डा.बाबुराम भट्टराइले एमाओवादी सरकारले कुनै पनि घटनाका दोषीहरुलाई लुकाउने पक्षमा नरहेको स्पष्ट पार्नुहुदैं द्धन्द्धकालका घटनाहरुको निराकरणका लागि सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरी आयोगकै निर्णय वमोजिम कारवाही प्रक्रियामा जानेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।
नेपाली जनताले पहिचान सहितको संघीयता र संविधानसभाबाटै नयाँ संविधान पाउने दावी गर्नुहुदै सोका लागि नेपाली जनताले एकपटक पुनः एनेकपा माओवादीलाई आउँदा निर्वाचनमा सहयोग गर्न अपिल गर्नुभएको थियो ।
उहाँले नयाँ संविधान बनाउन तथा जनतालाई विभिन्न वाधा व्यवधानहरुबाट मुक्ति दिलाउन एमाओवादीको सरकार सधै साथ रहेको भन्नुहुदै जनताले पनि त्यसको लागि सहयोग गर्नुपर्ने बताउनुभयो ।
सोही कार्यक्रममा पार्टी उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले विपक्षीहरुसंग सहमति गर्न तयार रहेको बताउनुहुदै विपक्षीदलहरुलाई अरुको इशारामा नचली आफ्नै बलबुत्तामा आफ्नो समस्या समाधान गर्न एकजुट भएर आउन अनुरोध गर्नुभयो ।
जिल्ला अधिवेशनको उदघाटन सत्रको अध्यक्षता अधिवेशन संयोजक तुलसी ढुङ्गानाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा एमाओवादी नेता राजेन्द्र साहले स्वागत मन्तव्य राख्नुभएको थियो ।