नेपाली रुपैयाँ नचल्दा हैरानी
आफ्नै देशमा आफ्नै रुपैयाँ नचल्दा स्थानीय बासिन्दाले दैनिक उपभोग्य वस्तुसहित अन्य वस्तुको खरिद बिक्री गर्नुपर्दा समस्या उत्पन्न हुने गरेको स्थानीय शिक्षक रामदिनेश चौधरीले बताउनुभयो ।
भारतको सीतामढी जिल्लाअन्तर्गत सिरसिया सहरसँग जोडिएको नेपालको मनरा गाविसका हाट, बजार तथा पसलमा नेपाली रुपैयाँको ठाउँमा भारतीय रुपैयाँमात्र चल्ने गरेको स्थानीय लेखापढी व्यवसायी रवीन्द्र भगतले बताउनुभयो ।
उहाँले दैनिक जीवनका हरेक आर्थिक कारोबार मनरावासीले भारतीय रुपैयाँमा लेनदेन गर्नुपर्दछ भने यहाँ भारतीय रुपैयाँ नहुनेहरुले नेपाली रुपैयाँ भारतीय रुपैयाँको दाँजोमा आधी मूल्यमा चलाउन बाध्य हुन्छन् ।
मनराका नेपालमा जागिर गर्नेहरुले पनि आफूले तलब पाएका नेपाली रुपैयाँलाई भारतीय रुपैयाँमा साटेर गाउँमा कारोबार गर्नुपर्दछ भने सो ठाउँका किसान, व्यापारी, शिक्षक, चिकित्सकदेखि सबै व्यक्तिले भारतीय रुपैयाँमै कारोबार गर्नुपर्ने बाध्यता रहेको स्थानीय युवा अशोक मण्डलले बताउनुभयो ।
स्थानीयस्तरमा नेपाली रुपैयाँ नचल्दा मनरावासीले भारतीय रुपैयाँको अभावमा समय समयमा आधी दाममा नेपाली रुपैयाँ चलाउनुपर्दछ भने कुनैकुनै बेला त नेपाली रुपैयाँ नसाटिँदा आवश्यक कामकाज बिग्रिने पनि गरेको व्यापारी राधेश्याम भगतले बताउनुभयो ।
महोत्तरीको निर्वाचन क्षेत्र नं ४ को पाँच हजारभन्दा बढी जनसङ्ख्या बसोवास गर्ने मनरा बजारमा दैनिक रु दुई लाखसम्मको कारोबार हुने गर्दछ भने तीमध्ये ९० प्रतिशत रुपैयाँ भारतीय हुने गरेको स्थानीय व्यापारी बताउँछन् ।
सीमामा बसोवास र भारतीय रुपैयाँमात्रै चल्ने भएकाले मनरावासी प्रायः भारतकै सहर बजारमा गएर आफ्ना दैनिक जीवनका सरसामान ल्याउने गर्दछन् भने उच्च शिक्षा र राम्रो स्वास्थ्य उपचारका लागि पनि भारतमै जाने गरेको स्थानीय बताउँछन् ।