आधा दर्जन घरमा डकैती, प्रतिकारमा ३ जना घाइते

आधा दर्जन घरमा डकैती, प्रतिकारमा ३ जना घाइते
महोत्तरी समाचारदाता
जलेश्वर, साउन ३२ गते । महोत्तरी जिल्लाको गौशालामा बिहीबार राति अज्ञात लुटेरा समूहले आधा दर्जन भन्दा बढी घरबाट लाखौंको डकैती गरेका छन् । सो क्रममा प्रतिकारमा उत्रेका तिनजनालाई डाँकासमूहले घाइते समेत बनाएको बताइएको छ ।

जिल्लाको प्रमुख व्यापारिक स्थानको रुपमा चिनिएको गौशाला वडानं. ६ बस्ने मिश्री साह सोनार, रामसोगारथ साह, भरत महतो, विरवल महतो, देवशरण महतो, राजकिशोर महतो र रामसोगारथ साहको घरबाट हतियार सहित आएका डाँका समूहले लुटपाट मच्चाएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

इप्रका गौशालाका प्रहरी निरिक्षक दिपक गिरीले राति १ बजेतिर आधा दर्जनको संख्यामा आएका सशस्त्र डाँका समूहले टोलबासीलाई नियन्त्रणमा लिदैं लुटपाट मच्चाएका थिए । आफुहरुलाई ढिलो गरी खबर प्राप्त भएकोले ढिलो गरी घटनास्थल पुग्दा डाँकाहरु भागिसकेको बताउनुभयो ।

डकैतीको क्रममा प्रतिकारमा उत्रेकाहरुलाई डाँकाहरुले निर्धात कुटपिट गरेका थिए । डाँकाहरुको कुटपिटबाट स्थानीय राम सोगारथ साह, राजकिशोर महतो र दिनेश कापर घाइते भएको र उनीहरुको उपचार स्थानीयस्तरमा भइरहेको प्रहरी निरिक्षक गिरीले जानकारी दिनुभयो ।

यता स्थानीयहरुले विहानै मात्रै घटनास्थल पुगेका प्रहरीहरु प्रति आक्रोशित भएका छन् । उनीहरुले घटनाको जानकारी तत्कालै गराइएपनि प्रहरीहरु बिहान आएको भन्दै प्रहरी विरुद्ध नारावाजी समेत गरेको जनाइएको छ ।

इप्रका गौशालाले डाँका समूहको खोजतलाश तिव्र पारिएको बताएको छ ।