हात्ती आक्रमणको डरले टोलबासी शरण लिन र जाग्राम बस्न वाध्य

हात्ती आक्रमणको डरले टोलबासी शरण लिन र जाग्राम बस्न वाध्य

महोत्तरी समाचारदाता
जलेश्वर, साउन ३२ गते । हात्तीको आक्रमण हुन सक्ने भयले महोत्तरीका पश्चिमवर्ती भरतपुर सहितका गाउँहरुमा स्थानीयहरु रातभरि जाग्राम बस्न वाध्य छन् ।

बालक देखि वृद्ध सम्म हात्तीको आक्रमण हुन सक्ने डरले रातभरि थाली र टिन बजाउने र रातभरी जाग्राम बस्ने गरेको भरतपुरका स्थानीय युवा सन्तोष सिंहले जानकारी दिनुभयो । उहाँले चार दिन देखि गाउँ रातभरि जागा हुने गरेको बताउदैं हात्ती कुनै बेला गाउँ छिर्न सक्ने भन्दै मशाल, थाली र टिन बजाउन तयारी अवस्थामा राख्ने गरेको बताउनुभयो ।

सर्लाही देखि महोत्तरीको कुशमाडी बर्दिवास सम्म फैलिएको सागरनाथ वन विकास परियोजनाको जंगलमा ति हात्ती लुकेर रहेको र कुनै पनि बेला थप आक्रमण गर्न सक्ने भय गाउँलेमा रहेको छ । सागरनाथ वन विकास परियोजना भरतपुर गाउँको उत्तरमा रहेको र हात्ती अझै पनि जंगलमा रहेको कारण गाउँलेहरुमा डर, त्रास रहेको छ ।  हात्तीको आक्रमणबाट थप क्षति हुन नदिन गाउँमा रहेको हरेक विजुलीको पोलमा बत्ती लगाइएको छ भने मशाल बालिने र समय समयमा थाली तथा टिन बजाउने गरिएको सिंहले जानकारी दिनुभयो । उहाँले गाउँमा रातभरि नै जाग्राम बस्ने हुँदा कुनै उत्सव जस्तै लाग्ने गरिएपनि ति उत्सवमा कुनै उमंग नरही डर र त्रास मात्रै रहेको जानकारी दिनुभयो ।

भरतपुर ९ पररियामा बस्ने ४५ वर्षिय कैलाश राउत कुर्मीलाई घरको वराण्डामा सुतेको अवस्थामा साउन २९ गते मंगलबार बिहान हात्तीले आक्रमण गरी ज्यान लिएपछि तथा त्यसको भोलीपल्ट पनि हात्ती त्यही देखिएपछि गाउँलेहरु भयभित छन् । रात नपर्दे हात्तीको डरले सो टोलका मान्छेहरु घर छाडेर गाउँमा शरण लिन वाध्य छन् । गाउँ भन्दा ५–७ मिनेटको दुरीमा बस्ने उनीहरु हात्तीहरु पुनः आउने डरले रात परेपछि गाउँ पस्ने गरेका छन् ।

अझै पनि ति हात्तीका समूहलाई सर्लाहीको गौरीशंकर स्थित जंगलमा देखिएको र पुनः हात्ती आउन सक्ने भयले उनीहरु त्रसित छन् । केही दिन अगाडीदेखि मात्रै सर्लाहीमा ४ जनालाई मारेर त्रासदी मच्चाएको हात्तीले भरतपुरमा समेत आक्रमण गर्न थालेपछि स्थानीयहरु त्रसित बनेका हुन् ।

यता इलाका प्रहरी कार्यालय गौशालाले हात्तीबाट थप क्षति नहोस् भन्ने हेतुले हात्तीको खोज जारी राखेको जनाएको छ । प्रहरी निरिक्षक दिपक गिरीले आफुहरु पनि गाउँको सुरक्षार्थ खटिने गरेको जानकारी दिनुहुदै हात्तीको खोजविन जारी राखिएको वताउनुभयो ।

हात्तीको आक्रमणले अहिलेसम्म महोत्तरीमा एक, सर्लाहीमा चार, रौतहट र चितवनमा गरी जम्मा ११ जनाले ज्यान गुमाइसकेका छन् भने दर्जनौं सर्वसाधारण घाइते भइसकेका छन् । सोही दिन भरतपुर पररियाकै चण्डेश्वर रायको घरमा समेत हात्तीले आक्रमण गरेपनि उनीहरु सबै भागेपछि बाँचेका थिए । हात्तीको समूहले उनको घरमा बोरामा राखिएको चामल समेत खाएका थिए । हात्तीहरु झुण्डमा रहने गरेको र गाउँमा ४–५ वटा हात्ती देखिएको जनाइएको छ ।