कृषि समस्यालाई कसरी सम्बोधन गर्ने त ?



एक जिल्ला एक उत्पादनमा महोत्तरी
कृषि समस्यालाई कसरी सम्बोधन गर्ने त ?

नागेन्द्रकुमार कर्ण

परिचय ः

नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) र कृषि मन्त्रालयको संयुक्त पहलमा सुरु भएको एक गाउँ एक उत्पादन (ओभिओपि) कार्यक्रम २१ जिल्लामा पुगेको छ । एक गाउँ एक उत्पादन भनिए पनि यसले एक जिल्ला एक उत्पादनको रुपमा संचालन हुदै आएको छ । सञ्चालन भएको ७ वर्र्षको अवधिमा अभियानले १७ वटा कृषि उत्पादनलाई समेटेको छ भने सरकारले हरेक जिल्लाको उत्पादनको बारेमा अध्ययन समेत गरेको छ । सन २००६ मा एफएनसीसीआइको योजना अनुसार कृषि मन्त्रालयले आर्थिक सहयोग गर्ने सहमतिमा सार्वजनिक निजी साझेदारी अन्तरगत ७५ जिल्लाका गाउँ गाउँसम्म विस्तार गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको थियो ।  प्रारम्भमा लप्सी खेतीलाई स्थानिय उत्पादनको रुपमा विकास गर्ने उद्देश्यले भक्तपुरबाट सुरु भएको यो अभियान २००६ मा रामेछाप, सिन्धुली नुवाकोट र रसुवामा विस्तार गरिएको थियो । २००७ मा यो अभियान ललितपुरमा अर्किड र कास्कीको लेखनाथमा कृषि पर्यटनका रुपमा देखापरयो । यो अभियानले २००९ मा दोलखामा लोक्ता र स्याङजामा कफि खेतिको विस्तार गर्यो । त्यस यताका  तीन वर्र्ष सम्म कुनै पनि जिल्ला वा गाउँमा अभियान विस्तार हुन सकेन । तीन वर्र्ष पछि सन २०१२ मा यो कार्यक्रमलाई हवात्तै बढाएर झापा, सुनसरी, लमजुङग, म्याग्दी, पाल्पा, सल्यान, डोटी, धनुषा, चितवन, कञ्चनपुर र सप्तरीमा गरियो ।

स्थानिय पहिचान बोकेको बस्तुलाई स्थानिय सिप र समुदायबाटै उत्कृष्ट बाली उत्पादन गर्ने उद्देश्यका साथ यो कार्यक्रम अगाडी बढाइएको हो ।

ओभिओपि कार्यक्रम सञ्चालनमा प्रोसेसिङ, प्याकेजीङ, बजार व्यवस्था र उद्यमि विकास सम्बन्धी कार्य एफएनसिसिआइको र आर्थिक सहयोग  कृषि मन्त्रालयले गर्ने द्धिपक्षीय सम्झौता भएको थियो । यो कार्यक्रम सरकार तथा एफएनसीसीआइले योजनागत रुपमा छनोट गरेका जिल्ला वा गाउँमा मात्रै लागु गरिने हुनाले सम्पुण किसान वा आम कृषि व्यवसायीमाझ पुग्न सक्दैन । ओभिओपि कार्यक्रम योजनागत रुपमा लागु गरिने हुनाले सरकार र एफएनसीसीआइले चयन गरेका जिल्लामा मात्र पुग्छ । अभियानको  सुरुवातमा सरकारले कृषि मन्त्रालय मार्फत तीन करोड रुपैयाँ छुट्टयाएको थियो तर पर्याप्तमात्रामा काम हुन नसक्दा त्यो वर्र्ष ४० लाख मात्र रकम खर्च भएको थियो ।  सुरुका वर्र्षमा तीन करोडका दरले रकम विनियोजन गर्दै आएको सरकारले तिन वर्र्ष यता यसै कार्यक्रमका लागि मात्र चार करोड रुपैयाँ बजेटबाटै विनियोजन गर्दै आएको छ । सरकारले विनियोजन गरेको रकमको तुलनामा काम भने निकै कम भइरहेको देखिएको छ । वार्षिक रुपमा अभियानको विस्तार गर्नू पर्ने भएपनि अभियान भने केहि वर्र्षको अन्तरालमा सिमीत ठाउँमा मात्र पुग्न सकेको छ ।

जापानको वोइता प्रान्तको ओयामा गाउँबाट सुरु भएको एक गाउँ एक उत्पादन कार्यक्रम जापानमा  सफल भएपछि  नेपाल उद्योेग बाणिज्य महासंघले नेपालमा पनि सफल हुने अपेक्षा सहित यो कार्यक्रम लागु गरेको थियो । यो कार्यक्रमप्रति किसानहरु अनभिज्ञ रहेका कारणले यसले आशातित सफलता नपाएको हो ।

अवधारणागत कुरा ः

स्थानीय उत्पादनलाई व्यवसायिक बनाउन, घरेलु व्यापारलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय करण गर्न, रोजगार प्रबद्र्धन गर्न, ग्राणिम समुदायको सामाजिक आर्थिक प्रगति गर्न यो कार्यक्रमले निक्कै सघाउ पु¥याउने देखिन्छ । यो कार्यक्रम सार्वजिनक, नीजि र साझेदारी अर्थात (३ पिपिपि) मा आधारित कार्यक्रम हो । सन् २००६ मा लप्सी–भक्तपुर, जुनार– सिन्धुली र रामेछाप, रेन्बो ट्राउट–नुवाकोट र रसुवा, बेल–बर्दियामा शुरु गरिएको थियो र अहिले सम्म २१वटा जिल्लामा १७ वटा मुख्य उत्पादन जिल्ला मानेर यो कार्यक्रम संचालित रहेको छ । जसमध्ये मधेशको झापामा सुपारी, सुनसरीमा बेसार, धनुषामा माछा र सप्तरीमा आँपको व्यापारिक व्यवसाय हुने गरी उत्पादन कार्यक्रम लागु गरिएको हो । उत्पादन छनौटको लागि नेपाल उद्योग वाणिज्य महासंघ र कृषि मन्त्रालयले विभिन्न प्रक्रिया अपनाएर यसलाई निरन्तरता दिने गरेको छ । यसको लागि राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा ब्राण्ड निर्माणको लागि तथा बाजार र उत्पादनलाई ध्यानमा राख्दै यो छनौट गर्ने गरिएको छ । यसको लागि उत्पादनलाई मात्रै ध्यान नदिएर माँगलाई पनि ध्यान दिने गरिन्छ ।



यसक्षेत्रका उत्पादनहरु तथा समस्या ः

नेपाल विश्व समुदायसंग खाद्य सुरक्षा नभई खाद्य सम्प्रभुताको कुरा गर्ने गर्दछ । खाद्य सुरक्षामा जसरी भएपनि जनतालाई बचाउन सकिने कुरा गरिन्छ । यसको लागि विश्व समुदायबाट खाद्य आयात गरेर भएपनि जनतालाई बचाउन सकिने अवधारणा ल्याइन्छ तर खाद सम्प्रभुताको अर्थ आफै उत्पादन गरेर जनतालाई वचाउनु हो । तर नेपालले विश्व समुदायसंग गरेको कवोल र कुरा व्यवहारमा भने लागु गरेको पाइदैन् । नेपाल सदियोंदेखि कृषि प्रधान देशको रुपमा चिनिँदै आएको छ । यहाँ ८० प्रतिशत जनता कृषिसंग आवद्ध रहेका छन् । कृषि विना कुनै पनि देश अगाडी बढन सक्दैन् । किनकी प्रकृतिले नै जल, जंगल, जमिन उपहार प्रदान गरेको छ । तर नेपालमा भने यसको उल्टो देखिएको छ । जल त्यही छ, जमिन पनि त्यही छ तर खोइ त विकास ? खोइ त कृषि फस्टाएको ? । हामी सिंचाई अभावको कुरा देखाउँछौं, सरकारले केही गरिदिएन भनेर बस्छौ ? मिथिलाको भूमि उर्वरा शक्तिको रुपमा चिनिन्छ तर पनि हामी अहिले त्यसलाई चिन्न सकेका छैनौं । अरु देश तथा ठाउँको तुलनामा मिथिलाको माटो ७ गुणा बढी उर्बराशक्तिले परिपूर्ण छ भनिन्छ । मिथिला सदिँयौंदेखि खानपिनको क्षेत्रमा तथा कृषिको क्षेत्रमा अग्रणी रहँदै आएको छ । किनकी, यहाँ पाइने अन्न अन्यत्र कहिँ पनि पाइदैन् रे । भनिन्छ, मिथिलामा पाइने पान, मखान, माछा स्वर्गमा पनि पाइन्न । हाम्रो क्षेत्रमा पान, मखान, माछा मात्रै होइन अहिले त परापूर्वकालदेखि हुँदै आएको उत्पादनहरु समेत उत्पादन हुन छाडेको छ । हामीले केरा, आँप, लिची, वेल, कटहर, तरकारी खेती, गहुँ, मकै, बाखा्र पालन, रहर खेती, सोहिजन, जौं, तिल आदिलाई पनि यस उत्पादनमा समेटन सक्छौं । तर सरकारको अध्ययनले महोत्तरीलाई आँप उत्पादनको क्षेत्रमा अग्रणी मानेको छ । आँपको उत्पादनले महोत्तरीलाई चिनाउन सकिने सरकारको अध्ययनले देखाएको छ ।

हामीतिर अहिले पनि केही मात्रामा परम्परागत खेती बाँकी रहेका छन् । माथिका उत्पादनहरु परम्परागत खेतीको आधारमा राम्रो उत्पादन हुन सक्ने देखिन्छ । तर हामी आधुनिकताको नाममा बरालिएका छौं । हाम्रो जनशक्तिहरु अहिले विदेश पलायन भइरहेका छन् । जसका कारण जमिनहरु वाझै रहेको देखिएको छ । यस्तोमा कसरी हुन्छ कृषिको विकास हामीले सोच्नै पर्ने हुन्छ । अहिले त हामी माझ न त परम्परागत खेती छ न त आधुनिक नै । परम्परागत तरिका हामीले छाडिसकेका छौ र आधुनिकतामा हाम्रो पहुँच नै छैन् । पहिला पहिला गाइको गोठमा हामीले पराल राख्थ्यौं, त्यो परालमैं गाइवस्तुहरु फोहोर गर्ने गथ्र्यो र हामी ति पराललाई एउटा निश्चित खाल्डोमा राखेर मलको काम गथ्र्यो । अचेल अपवाद बाहेक यो विधि कहिँ पनि छैन् । पहिला पहिलाका बुढापाकाहरु डाक वचन अर्थात विभिन्न मौसम सम्बन्धी, बालीनाली सम्बन्धी कुराहरु जानकारी राखेर रोपाई तथा अरु काम गथ्र्याे तर अहिले ति पनि हराएको स्थिती छ । पहिला पहिला बिहेबारी हुँदा जसको घरमा बढी भकारी, बाख्रा हुन्थयो त्यसलाई सम्पन्न मानिन्थ्यो तर अहिलेका पुस्तालाई भकारी भन्ने शब्द पनि थाहा नहोला । त्यो समयमा हवेली कृषिको परिचायक थियो । अर्थात कृषिबाटै हवेली निर्माण गर्ने क्षमता थियो तर अहिले कृषिबाट हवेली बनाउन सक्ने अवस्था छैन् ।

यस अभियान अन्तर्गत कृषिमा जोड दिनुको कारण थुप्रै छैन् । कारण मिथिलामा जेठदेखि भदौं महिनासम्म मात्रै ८० प्रतिशत भन्दा बढी पानी पर्ने गर्छ । जसलाई हामीले जोहो गरेर राख्न सक्ने हो भने वर्षभरिमा हुने हरेक बालिनालीको लागि त्यो पानी पर्याप्त हो तर हामीसंग त्यसलाई जोहो गरेर राख्न सक्ने ज्ञान अभाव तथा जागरुकता नहुँदा उपयोग हुन सकेको छैन् । सिंचाई अभावलाई पूर्ति गर्न ति वर्षाको पानी पर्याप्त हुन्छ । पोखरी, डबरा, पैनी, इनारहरुलाई जिर्णोदार गर्नुपर्ने देखिन्छ भने पानी व्यवस्थापनको लागि लाग्ने हो भने कृषिबाट जीवन सजिलै चलाउन सकिन्छ र यस अभियानलाई पनि लग्न सकिन्छ ।

महोत्तरीमा आँप बाहेक पनि थुप्रै सम्भावनाहरु छन् । जसको उपयोग गरेर पनि हामी महोत्तरीका उत्पादनहरुलाई अन्य ठाउँमा चिनाउन सक्छौं । हामी कहाँ ब्राखा पालन गरिन्छ । ब्राखा जतिसुकै सुख्खामा पनि बाँच्न सक्छ । त्यस्तै सोहिजनको खेती गर्न सक्छौं जसलाई पर्याप्त पानी पनि चाहिँदैन् र पूँजी पनि बढी चाहिँदैन् । सोहिजन अहिले नेपालमा वार्षिक साढे ३ करोड भन्दा बढीको आयात हुने गरिन्छ । तरकारी खेती गर्न सक्छौं, आलु, प्याज, विभिन्न मौसमी तरकारीहरु । यसको लागि बढी जमिन पनि चाहिँदैन् । एउटै जगगामा विभिन्न किसिमको तरकारी फलाउन सकिन्छ । सरकारले यसको लागि पारिवारिक कृषिको अवधारणा पनि ल्याइसकेको छ । जसमा कौसीमा, घरको छतमा गमला आदिमा पनि तरकारी फलाउन सकिन्छ । माछा, पान, मखानहरु पनि उत्पादनको लागि राम्रो विकल्प रहेको छ । किनकी अहिले हामीलाई यी उत्पादनहरु पनि विदेशबाटै आयात गर्नुपरिरहेको छ । त्यसैगरी मिथिलाको हरेक पर्व, मरनहरनमा आवश्यक पर्ने तिल, जौ, लगायत अन्य गेडागुडीहरु पनि खेती हामीले गर्न सक्छौ र आफनो गाउँलाई चिनाउन सक्छौं ।



निष्कर्ष ः

गर्न चाहने हो भने धेरै गर्न सकिन्छ । असम्भव केही पनि छैन् । मात्र हामीलाई प्रयास, सोच र चिन्तनको आवश्यकता छ । तर विडम्बना हामीलाई सरकार वा दातृनिकायले केही गरिदेलान् भन्ने मानसिकताले गाँजेको छ । जसको कारण आफैलाई घाटा वेहोर्नुपरिरहेको छ । हामीले स्थानीयरुपमैं उत्पादकत्व बढाउने हो भने राम्रो हुन्छ । हामीमा रुचि घटदै गएको स्थिती छ । पुँजीबालहरु पुँजी लगाउन हिच्किचाइरहेका छन्, गर्नेहरुसंग पुजीको अभाव छ । अनि कसरी हुन्छ कृषिको विकास र कसरी हुन्छ उत्पादन । यसको लागि सबैको सहयोग र अवसरको खोजी गर्नुपर्ने आवश्यकता रहेको छ । अहिलेदेखि नै हामीले कुरा र काम गर्दै जाने हो भने लक्ष्य भेटाउन मुस्किल नहोला तथा एक जिल्ला एक उत्पादनलाई पनि टेवा पुग्ने छ । सरकारले हालै वजेट मार्फत पनि यसको लागि बजेट छुटयाएको स्थिती छ । सरकारले बजेट छुटयाएर मात्रै हुँदैन् किनकी गर्ने मान्छेले जाँगर नै चलाएन भने लगानी लगाउनुको अर्थ नै हुँदैन् । त्यसैले यसको लागि जागरुकता, जाँगर, जानकारी र यसक्षेत्रमा लाग्नु जरुरी छ ।