الأحد، 27 يوليو 2014

महिला हिंसा र महोत्तरीको स्थिती Mahottari Nagendra

महिला हिंसा र महोत्तरीको स्थिती

नागेन्द्रकुमार कर्ण

‘औरत ने जन्म दिया मर्दोको, मर्दो ने उन्हें बाजार दिया,

जब जी चाहा मसला कुचला, जब चाहा दुत्कार दिया’


शायर साहिर लुधियानवीले भने झै अवस्था महिलाको अद्यापि रहेको छ । पितृसत्तात्मक सोच र प्रवृत्तिको कारण महिलामाथि जन्मनुपूर्वदेखि नै अर्थात गर्भावस्थादेखि मृत्युपर्यन्त सम्म हिंसा र भेदभाव भइराखेको छ । गर्भपतन देखि लिएर शैक्षिक, सामाजिक, आर्थिक, राजनैतिक, साँस्कृतिक सबै रुपमा महिलामाथि हिंसा र भेदभाव भइरहेको अवस्था छ । महिलालाई लक्ष्मी, दुर्गा, सरस्वती, गार्गी, मैत्रेयी, सीता लगायत अन्यान्य रुपमा हामी पूर्वीय दर्शनका अनुयायीहरुले मान्दै आएका छौं र पुजापाठ पनि गर्दे आएका छौ, ‘तर ताक परे तिवारी नत्र गोतामे’ को अवस्था पनि दर्शाउन हामी एकरत्ति हिच्किचाउँदैननौं । महिलालाई तल्लोस्तरको ठानी भोग्यवस्तु मात्रै ठान्ने प्रवृत्ति देखिएको छ । विहानै झिसमिसे नहुँदै काम शुरु गरि राति सबै सुतेपछि मात्रै आफुलाई विश्राम दिने महिलाहरुको कामको मुल्याँकन भएको पाइदैंन् । बढीमा पनि ८ घण्टाको डिउटी गर्ने पुरुषहरु घरपुगेपछि थकित भएर पुगेका हुन्छन् । त्यसमा पनि घर पुगेपछि श्रीमतीले मिठो मुस्कानका साथ स्वागत गरुन र आफुलाई चिया होस् अथवा पानी दिएर भलाकुसारी गरुन भन्ने चाहना नराखेका कुनै श्रीमान छ्रैन् । तर बिहान देखि राति सम्म कम्तीमा पनि १६ घण्टा काम गर्ने महिलाको श्रीमानले कामको मूल्याँकन गर्न त परै छ केही तलमाथि भयो भने तथानाम भन्न र हात छाड्न पनि पछि पर्देन् । यसले पनि महिलाहरुमाथि भइरहेको हिंसा र भेदभावलाई बुझन् सकिन्छ । हाम्रो यो परम्परावादी सोंच भएको पुरुषवादी समाजमा केही भए पनि त्यसमा प्रत्यक्षतः प्रभाव महिलालाई नै पर्ने गरेको छ । आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक, राजनीतिक हरेकक्षेत्रमा महिला पछाडि पारिनु र उनीहरुलाई हेय दृष्टिले हेरिनु पनि परम्परावादी पुरुषवादी शक्तिहरुले लादेको भेदभाव र हिंसाकोे द्योतकको रुपमा रहेको छ । जंगलमा दुई सिंहबीचको लडाईमा वेफाइदा ‘घास’ लाई भए झै समाजमा कुनै पनि कुरामा बढी प्रभाव महिलामाथि पर्ने गरेको छ । अर्थात समाजमा पुरषलाई पनि केही भयो भने त्यसको प्रत्यक्षतः मार महिलामाथि नै पर्ने गरेको अवस्था विद्यमान छ । गर्भपतनदेखि लिएर बालविवाह, दाइजो, एकल महिला, बलात्कार, बोक्सी, कुटपिट, घरेलु हिंसा, महिला हिंसा लगायतका अन्यान्य भेदभाव र हिंसाबाट महिला नै प्रताडित हुनुपर्ने अवस्था देखिएको छ । हामी वैज्ञानिक युगमा छौं भनेर गर्व गछौं । दिनभरि वैज्ञानिक प्रयोग र मेशिनबाट नै खेलिरहेको हुन्छौ तर महिलाको सवालमा हामी अद्यापि परम्परावादी सोचबाट माथि उठन नसकेको स्थिती छ । महिला सम्बन्धी अधिकारका थुप्रै कुराहरु हामी मञ्चमा उभिएर गछौं तर घर पुगेपछि उहीँ ‘चराको कुन भाले कुन पोथी’ कहावतलाई चरितार्थ गछौं । गर्भावस्थामा छोरा भए जन्म दिइन्छ तर त्यही जन्मनुपूर्व नै गर्भमा छोरी भएको थाहा पाउने वित्तिकै गर्भपतन गराइन्छ । भु्रण हत्या गरिन्छ । भु्रणहत्या अथवा गर्भपतनको प्रभाव पनि महिलालाई नै पर्छ । गर्भपतन गर्नु र गराउनुको थुप्रै मतहरु रहेपनि तराईमा खास गरेर मिथिला (मधेशी) समुदायमा बढी दाइजो दिनुपर्ने मान्यताले गर्भपतन भइराखेको छ । तर त्यसको मुल कारण के हो ? भन्ने कुराको वैज्ञानिक अनुसन्धान वा पुष्टि भएको छैन् र त्यसको वहस हुनु जरुरी भइसकेको छ । आखिर किन यसरी हाम्रो समाज महिलाप्रति यति हेय दृष्टिले हेर्न विवश छन् अथवा किन महिलाप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन् यसको पनि गम्भिर चिन्तन र मनन हुनु आवश्यक छ । तर महिलाको लागि महिला आफै शत्रु बनेर आउने अवस्थाले गर्दा महिलाको अवस्था राम्रो हुन नसकेको यर्थाततालाई भने सबैले स्विकार्ने पर्छ । महिलाको सवालमा महिलाहरु मात्रै एकजुट भएर अगाडी बढने हो भने महिलाको हकमा कानुन पर्याप्त रहेको मेरो बुझाई छ । तर, दुःख लाग्छ महिलाको सवालमा र महिला हिंसा र भेदभावमा पुरुष भन्दा बढी महिला नै पिडक रहेर अगाडी मोर्चामा उभिएको हामीले पाउँछौं । चाहे त्यो बालविवाहमा होस् चाहे दाइजो अथवा बोक्सीको घटना, चाहे घरमा हुने घरेलु हिंसा होस् अथवा महिला हिंसा, सबैमा हामीले महिलाको हात रहेको पाउँछौ । तराईमा कलंकको रुपमा चिनिएको यो घटनामा प्रत्यक्षतः मुख्य भुमिका महिलाकै हुन्छ र यसको प्रत्यक्षतः मारमा महिला नै परेको हुन्छ । त्यसैले पनि महिलाको सवालमा र अधिकारमा महिलाले मात्रै अलिकति जागरुक हुने हो भने महिलाका थुप्रै यस्ता समस्याहरु हल हुने देखिन्छ ।

जहाँ सम्म महोत्तरी जिल्लाको सवाल छ । महोत्तरी पनि मधेशकै र मिथिलाकै एक भाग भएकोले माथिको समस्याबाट अछुतो छैन् । जिल्लामा वर्षोदेखि विभिन्न किसिमका दुव्र्यवहार, यातना, आरोप, प्रत्यारोपहरु हुने गरेका छन् । त्यसमा खास गरेर सबभन्दा पिडित महिला नै हुने गरेको यर्थात छ । महिलाहरुमा पनि बढी मात्रामा समाजमा अपहेलित वर्ग, दलित र कुलिन वर्गका महिला, अशिक्षित , केही गर्न नसक्ने लाचार महिलाहरु अपमानित हुने गरेको स्थिती रहेको छ । समाजमा व्याप्त अशिक्षा, कुरुती, संस्कार, परम्परा र धर्मका नाउँमा यस्ता किसिमका यातना र आरोपहरु लाग्ने गरेको छ । अहिले पनि कुनै पनि महिलालाई बोक्सीको नाउँमा गाली गलौच गर्नु सामान्य भइसकेको स्थिती रहेको छ । बलात्कार, घरेलु तथा महिला हिंसाका घटनाहरु अहिले सबभन्दा बढी देखिएको छ । वैदेशिक रोजगारीका कारण भित्रिने रेमिट्यान्सहरुले आर्थिक सवलता र सम्पन्नता ल्याए पनि यससंगै समाजमा नयाँ नयाँ विकृतिको समेत जन्म र प्रादुभाव भएको देखिन्छ । समाजमा अहिले वैदेशिक रोजगारीकै कारण घरेलु तथा महिला हिंसाले भयावह रुप लिएको छ भने यससंगै समाजमा यौंन दुव्र्यवहार, यौनकृयाक्लाप र वलात्कारका घटनाहरु समेत बढी देखिएको छ ।

यसरी हेर्दा हामीले हाम्रो समाजबाट जबसम्म पुरुषवादी मानसिकतालाई त्यागदैनौं तब सम्म यी यावत्का समस्याहरु यथावत रहने छ । ‘यत्र नार्यस्तु पुजयन्ते रमन्ते तत्र देवता’ भन्ने पूर्विय सभ्यता अब यहाँका लागि पुरानो भइसकेको छ । महिलाहरुलाई अब आफ्नो अधिकारप्रति सचेत गराउँदै शिक्षा र सिप दिनैपर्छ । महिलाहरुलाई आफ्नै खुट्टामा उभ्याउने सिप र शिक्षा दिनुपर्छ । पुरुषमाथि निर्भर रहेसम्म महिलाका समस्याहरु निराकरण नहुने निश्चित छ । पश्चिमा महिलाहरुको स्वछन्द व्यवहार लगायत उनीहरुको आचरणलाई हेरेर नभई आफ्नो परम्परा, आफ्नो संस्कृति समयसापेक्ष आफ्नो परिवेशलाई हेरेर महिलाले अगाडी बढनुपर्छ । अधिकार मात्रै लिने तर त्यस सम्बन्धी कर्तव्य र व्यवहार नगर्ने हो भने अगाडी बढनुको अर्थ नै रहँदैन् । पुरुष र महिला दुई रथको पाङ्ग्रा भने झै दुवैको उचित समन्वय र सहयोगबाट मात्रै महिलाका समस्याहरुलाई उचित सम्बोधन गर्न सकिने भएकोले महिलाले यस प्रति ध्यान दिनुपर्छ । त्यसैगरी नेपाल सरकारले महिला सम्बन्धी ल्याएका कानुन र अन्तराष्ट्रिय रुपमा मानेका कानुनहरुको पनि उचित कार्यान्वयन गर्ने हो भने मात्रै महिलाका समस्यालाई हल गर्न सकिन्छ र सुन्दर, हिंसामुक्त देश बनाउन सकिन्छ ।

ليست هناك تعليقات:

إرسال تعليق