सरकार समयमै सचेत भए राम्रो

सरकार समयमै सचेत भए राम्रो
नागेन्द्रकुमार कर्ण

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिरको अगाडीपट्टी एउटा पुत्ला राखिएको छ । टाउकोमा माटाको घैला लगाइएको छ । पुत्लाको छातीमा ‘म प्रचण्ड बोलेको, मैले गल्ती गरेको छु, जनता मेरो मुखमा थुकदेउ’ भन्ने लेखेर टाँसिएको छ । सो सडक भएर जाने अधिकाँश युवाहरु चप्पल खोलेर हातमा लिदैं सो पुत्लाको गालामा एक चप्पल हान्दै अगाडी बढिरहेको देखिएको छ । यति मात्रै होइन जलेश्वरमा निस्कने हरेक प्रर्दशनमा लगाइने ‘ओली कुत्ता, मार जुत्ता’, सुशिल कोइराला मुर्दावादको नारा पनि पुरानो हुन थाल्यो । विभिन्न पशुहरुलाई उनीहरुसंग तुलना गरेर उनीहरुलाई घुमाइ रहेका मात्रै छैनन् हाँसोको पात्र पनि बनाएका छन् । आखिर यति विध्न किन मधेशका जनताहरु तिनदलका अध्यक्षमाथि खनिएका छन् । किन उनीहरुलाई मधेशीहरुले मान्छे लायक नै ठानेनन् त ? के साँच्चिकै उनीहरु पशु समान र तुच्छ नै छन् त ? उनीहरुले ऐतिहासिक भनेको संविधान घोषणा ऐतिहासिक नै हो त ? के मधेशको माँग पुरा नगरिने खालकै हो त ? अब मधेशको राजनीति कता जाला ? आदि प्रश्नको उत्तर खोज्नुपर्ने समय आएको छ ।
मधेश आज ४२ दिनसम्म बन्द छ । विद्यालय खुल्न सकेको छैन्, यातायात पूर्णतः ठप्प छ । पसल, बाजार, कलकारखानाहरु पनि बन्द छन् । आर्थिकक्षेत्र पनि ठप्प छ । मधेशका जिल्लाहरुमा कफ्यु र निषेधाज्ञा लगाइएको छ । बन्द, कफ्र्यु, निषेधाज्ञा, गोली प्रहारले मधेशका सदरमुकामको रौनकता नै हराएको छ । गोली र अश्रुग्याँस मधेशको लागि अब पिडादायक रहेन । कफ्र्यु तोडनु, निषेधाज्ञा उल्लंघन गर्नु  र दर्जनौलाई मारिएको तथा दर्जनौंलाई घाइते बनाएको गोलीसंग खेल्नु मधेशीको अब आदत नै भइसक्यो ।
संयुक्त मधेशी मोर्चाले उठाएका माँगहरु सबै वार्ताबाटै सम्भव छन् तर वार्ता गर्नुको औचित्य पनि छैन् । किनकी मोर्चाका अन्य माँगहरु जे जस्तो भएपनि मुख्य माँग भने २०६४ साल फागुन १६ मा सरकार र तत्कालिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासंग गरेको ८ बुँदे सहमतिको कार्यान्वयन गर्नु रहेको छ । तर सरकारले यसप्रति ध्यान दिएको देखिदैंन् । प्रदेशको माँग पनि वैज्ञानिक रुपमा हुन सकेन । पहिचान र सामथ्र्यको आधारमा सिमांकन हुनुपर्ने वताउदै आएपनि त्यसलाई पनि ठाडै नकारिएको छ । अन्तरिम संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्वको व्यवस्था समेत हटाइएको छ । नेपालमा जन्मिएपछि र नेपाली नागरिक भइसकेपछि क्षमता, योग्यता, शिक्षाको आधारमा कुनै पनि पदमा नेपालीले जान पाउनुपर्ने व्यवस्था हुनुपर्छ ।
मधेशमा एउटा उखान छ, ‘तिन तिकट, महाविकट’ । जहाँ तिनजनासंगै मिलेर कुनै काम गर्छ त्यहाँ काममा विध्न, वाधा वा काम नभई कुनै न कुनै संकट आइपर्छ भन्ने मान्यता छ । शुभ काममा तिन जना संगै जानु मधेशमा अशुभ मानिन्छ । अहिलेको संविधान पनि तिनजनाले नै मिलेर बनाएको छ । अन्य त मात्र साक्षी किनाराका मान्छेहरु छन् । जसरी विवाह हुँदा केटा र केटीबीच हुन्छ तर त्यसलाई विधिपूर्वक सम्पन्न गर्न पुरोहित, जग्गे, जन्ती हुन्छ । जारी भएको संविधान त फगत तिनदलका अध्यक्षको पोल्टाबाट निस्केको कागजको खोस्टो नै हो । हो, जनताले जिताएका सभासदहरुको उपस्थितीमा ति संविधान निर्माण भएको हो । यसले गर्दा यो कानुनतः, प्राविधिकरुपले मान्य छन् तर राजनीतिकरुपमा यो कुनै पनि अर्थमा मान्य छैन् । भुल्नु नपर्ने अर्को कुरा के छ भने, ९० प्रतिशत सभासदको उपस्थितीमा संविधान जारी भएपनि नेपालको ५१ प्रतिशत जनता अहिले पनि सडकमै छन् । सडकमा उत्रनु खतराको घण्टी हो । यसमा समयमै सचेत नभईदिने हो भने ‘सुनामी’ आउने खतरा त्यत्तिकै हुन्छ । हुनतः राजनीतिक विषयवस्तुको समाधान कि त भोटबाट हुन्छ कि त सडकबाट । भोट पाएर संविधानसभामा गएर पनि मधेशको समस्याबारे गम्भीर नभएपछि जनताले सडक रोजेको हो । सडक रोज्नु जनताको रहर होइन यो त उनीहरुको वाध्यता हो । जिताएर पठाएका सभासदहरु नै काम लाग्ने नभएपछिको विकल्पमा जनता सडकमा आएका हुन् । ईच्छा, आँकाक्षामाथि कुठाराघात भएपछि आफै जाग्नुको विकल्प पनि हुन्न् । त्यही भएर पनि अहिले मधेश र मधेशीको लागि आरपारको लडाई लडनु परिरहेको छ । होइन भने ४२ दिनसम्म बन्द हुनु कुनै चानचुने कुरा हुदै होइन । भोकभोकै बस्छौ तर आउने पुस्तालाई फेरी लडन नपरोस भनेर यतिका दुःख, कष्ट गरिएको हो । ‘कबतक, मोहताज रहे हम उसकी मेहरवानियोंका, अब वक्ता आ चुका हैं, लेना होगा अपना हिसाब, हर शहिदोंके बलिदानोंका’ जनताको आवाज हो ।
नयाँ वर्षको शुरुवातसंगै नेपालमा प्राकृतिक विपत्ति आइलाग्यो । यसले सम्पूर्ण नेपाल नै त्राहीमाम् गर्न पुग्यो । मधेशमा त्यत्ति खासै असर नगरेपनि छिमेकीको घरमा आगो लाग्दा आफ्नो घर पनि जल्ने त्यत्तिकै सम्भावना हुन्छ भनेर मधेशीहरुले दिल खोलेर सहयोग गरे । पहाडलाई दुख्दा मधेश दुख्छ, मधेशलाई दुख्दा पहाडलाई दुख्छ भन्ने सेन्टीमेन्ट जाग्यो तर तिन महिना नपुग्दै ति सबै सेन्टीमेन्ट हरायो । मधेशलाई दुखेको घाउमा मलम लगाउनुको साटो पहाड आफ्नैमा अहिले मस्त छ । पहाड अहिले मधेशलाई शत्रु झै व्यवहार गरिरहेको छ । तर पनि मधेशलाई त्यो शत्रुताको व्यवहारसंग न त मतलव छ न त कुनै गुनासो नै । उनीहरुले खसवादी राज्यसत्तासंग लडिरहेका छन् । लडन विवश छन् । सदियौंदेखिको विभेद र थिचोमिचोलाई अब सहन गर्न नसक्ने निर्णयमा पुगेका छन् । वराबरीको अधिकार खोजेका छन् । मानसम्मान र आत्मसम्मानको लागि पछि नहटने गरि लागेका छन् । आउने पुस्तालाई फेरी लडन नपरोस भन्ने मार्ग बनाउन लागि परेका छन् । अब कुनै पनि हालतमा यो साहसिलो कदम रुक्ने देखिन्न् । नेताहरु भन्दा जनता सडकमा आइसकेको स्थिती छ । कथंकदाचित कसैले यसको तुहाउने कार्य वा खेल खेल्यो भने मधेशबाट वहिष्कृत हुने सम्भावना त्यत्तिकै छ । तर पनि तिन तिकटहरुले अहिलेसम्म मधेशको सम्बन्धमा गम्भीर भएको देखिन्न् । उनीहरु अहिले पनि बाजेवराजुदेखि खाईपाई आएको सुविधा छोडने मुडमा देखिन्न् । तर अब ‘पछताव होत क्या जब चिडिया चुग गई खेत’ झै समय अगाडी बढिसकेको अवस्था छ । अब दिएनन् भने चुप लाग्ने अवस्था नभई लिएर नै छाडने अवस्था आइसकेको छ । अहिले पनि सचेत नहुने हो भने नसोचेको परिणाम नआउला भन्न सकिन्न् ।
मधेशमा भइरहेको आन्दोलनको मध्येनजर गर्दै छिमेकी देश भारतले संविधान घोषणा पुर्व भारतीय गृहसचिवलाई विशेष दुुतको रुपमा पठाएर मधेशको माँग सम्बोधन गरेर मात्रै संविधान जारी गर्न भन्यो । यो भन्दा अगाडी भारतीय प्रधानमन्त्री मोदी आफै नेपालको दुईपल्ट गरेको भ्रमणको क्रममा ऋषीमनले संविधान जारी गर्न नेताहरुलाई सुझाव दिएका थिए । तर त्यसलाई पनि तिन तिकटले अस्विकार गर्दै दुनो सोझयाउने काम मात्रै गरे । महाभारतकालमा पनि कौरब र पाण्डवबीचको युद्ध रोक्न भगवान श्रीकृष्णले शान्तिदुतको रुपमा गएका थिए । श्रीकृष्णले पाँच पाण्डवलाई पाँच गाविस दिएपनि पुग्ने वताएपनि मदमा चुर भएका कौरवले त्यो पनि अस्विकार गर्दै कृष्णलाई वेईज्जत गरेर पठाएको इतिहास हामी सामु छ । त्यसपश्चात के भयो सबैलाई थाहै भएको कुरा हो । त्यही इतिहासलाई नेपालका तिन तिकटले फेरी दोहो¥याईरहेको देखिएको छ । एक मधेश स्वायत्त प्रदेशको माँग राख्दै आएका मधेशीहरुले राज्य पूर्नसंरचना आयोगले दुई प्रदेशको लागि गरेको सिफारिस पनि मान्ने मधेशी नेताहरुले स्विकार गरिसकेको अवस्थामा पनि त्यसबाट बन्चित गरियो । पटक पटक वैज्ञानिक सिमांकनको आधारमा पहिचानसहितको प्रदेश दिन, नागरिकताको समस्या समाधान गर्न, जनसंख्याको आधारमा निर्वाचनक्षेत्र घोषणा गर्नुपर्ने लगायतका माँगहरु राख्दै आएका छन् । तर पनि सरकारले मधेशको माँग सुन्नुको साटो विभिन्न समस्याहरु देखाउदै संविधान जारी ग¥यो । संविधानको सबभन्दा बढी आवश्यकता मधेशी, जनजाति, दलित, महिला, थरुहटको रहेको थियो । तर त्यसैलाई पाखा लगाएर जारी गरिएको संविधान कसरी लोकतान्त्रिक, अग्रगामी, ऐतिहासिक भयो । ऐतिहासिक र सबैले मान्य संविधान बनेको भए संविधानलाई जलाउने स्थिती नै आउने थिएनन् । अन्तरिम संविधान पनि त्यसरी नै जलाइएपछि भएको पहिलो मधेश आन्दोलनले पाएका उपलब्धि पनि अहिले गुम्ने खतरा बढेपछि नयाँ संविधानलाई पनि तराईका जिल्लाहरुमा जलाउने कार्य भइरहेको छ । जारी गरिएको संविधानमा अपनत्व नभएको भन्दै मधेशीले यसलाई नकार्दै गर्दै आएको छ । अन्तिरिम संविधानमा भएका कतिपय सहमतिय वुँदालाई समेत नयाँ संविधानबाट हटाइएको छ । यसले पनि मधेशीहरुलाई संविधान मान्य भएको छैन् । अहिले संविधानमा आफ्ना माँग पुरा गर्न नाकाजाम पनि भईरहेको छ । नाका र राजमार्ग नेपालको दुईवटा महत्वपूर्ण हतियार हो । यी दुइटै हतियारलाई एकै साथ प्रयोग गर्ने हो भने सरकारलाई कुनै पनि अवस्थामा झुकाउन सम्भव छ । अहिले नाका मात्रै बन्दले पनि नेपाल भनिने काठमाण्डौंको अवस्था भयावह बनेको छ । नेपाल सरकारले दुई दिनमैं नाकाजामले गर्दा प्रभावित भई अन्टसन्ट (जे आयो त्यही बोल्ने) थालेका छन् । तर मधेश डेढ महिनादेखि बन्द हुँदा पनि त्यहाँको अवस्थाबारे चासो नदिनु गम्भीर नै हो । यदि एकहप्ता अझै नाकाजामलाई मधेशीहरुले जारी राख्ने हो भने मधेशलाई हजारौं वर्षको गुलामी, दासता तथा विभेदबाट मुक्ति दिलाउन सकिने विश्वास गर्न सकिन्छ । समय छँदै राज्यले चेत्नु जरुरी छ । होइन भने अवस्था कस्तो होला भन्न सकिन्न् । अहिले त झन नेपालका बौद्धिकक्षेत्रबाट नेपालको राष्ट्रियता तथा सार्वभौमिकतामाथि बाह्रय पक्षबाट हस्तक्षेप भयो भनिरहेका छन् । दुःख लाग्दो मात्रै होइन, आश्चर्य भएर आउँछ कि आफ्ना देशका समस्या नदेख्नेहरुले, अरुको आँङ्गको जुम्रा देख्ने तर आफ्नो शरिरको भैसी पनि नदेख्ने चरितार्थ गरेका छन् । भारतसंग छिमेकीको मात्रै होइन, रोजीबेटीको मात्रै होइन, मानसिक, साँस्कृतिक, आर्थिक सबै किसिमको सम्बन्ध रहिआएको छ । नेपालमा मर्नेहरु भारतकै विभिन्न ठाउँमा बसोबास गर्ने कतिको दाई–भाई, कतिको छोरी–भिनाजु, कतिको भान्जा–भान्जी लगायतका विभिन्न नातामा पनि छन् । उनीहरु मर्दा के उनका आफन्तलाई दुख्दैन ? उनीहरु यस्तो अवस्था देखेर चुप लाग्छन् ? उनीहरुमा पनि नेपाल सरकार झै मानवता छैन ? यसरी विचार गर्दा हामी नेपालीले नै समस्या समाधानको लागि नाका बन्द गरिएको हो । यसमा भारतीय इष्टमित्र, आफन्तहरुको सहयोग चाही नभएको होइन । तर यसैलाई लिएर भारतले नै नाकावन्दी गरेको हो भन्नु हत्केलाले सुर्यलाई छेक्नु सरह हो । यसमा नेपाल सरकारले सचेत हुन जरुरी छ । आन्तरिक समस्यालाई देशभित्रै सार्थक, सकारात्मक बार्ताको माध्यमबाट समाधान गर्नुपर्नेमा बाटो बिराउनु आफैलाई झन घातक नहोला भन्न सकिन्न् ।