कफ्र्यु उल्लंघन, केही घाइते, मोर्चाद्वारा पाँच बुँदे माँग, नेपाली सेना परिचालन, भारतीयले सशस्त्र प्रहरीलाई भगाए

कफ्र्यु उल्लंघन, केही घाइते, मोर्चाद्वारा पाँच बुँदे माँग, नेपाली सेना परिचालन, भारतीयले सशस्त्र प्रहरीलाई भगाए
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ २४ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा वुधबार साँझ ८ बजेदेखि लगाइएको अनिश्चितकालिन कफ्र्यु बिहीबार आन्दोलनकारीहरुले अवज्ञा गरेका छन् ।
    मोर्चाका सयौं कार्यकर्ताहरु जिरोमाईल, बजराही, सुगा, जलेश्वरको विभिन्न ठाउँहरुबाट कफ्र्यु तोडेका थिए । सो क्रममा स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले सयौ राउण्ड अश्रुग्याँस प्रहार गर्नुका साथै दर्जन राउण्ड भन्दा केही बढी हवाईफायर समेत गरेका थिए । तर आन्दोलनकारीहरु टसमस नभएपछि सुरक्षाकर्मी आफै पछाडी हटेका थिए ।
    जलेश्वरको विभिन्न चोक चोकबाट महिलाहरुले झाडुसहित कफ्र्युको अवज्ञा गरेपछि प्रहरीले अश्रुग्याँस तथा लाठीचार्ज गरेका थिए । सो क्रममा जलेश्वर ५ का चन्द्रदेवी पासमान र रामसिकिल मण्डल लगायतका दर्जन भन्दा बढी महिला घाइते भएको जनाइएको छ ।
यसैबीच, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा महोत्तरीले ५ बुँदे माँग अघि सार्दै माँग पुरा नभएसम्म शव नवुझने चेतावनी दिएको छ ।
मोर्चाको बिहीबार बसेको बैठकले वुधबार जलेश्वरमा सुरक्षाकर्मीको गोली लागि मृत्यु भएकाहरुलाई अविलम्ब शहिद घोषणा गरी क्षतिपूर्तिको व्यवस्था राज्यले गर्नुपर्ने, घाइतेहरुको सम्पूर्ण उपचारको जिम्मेवारी राज्यले बहन गर्नुपर्ने, मृतक परिवारबाट कम्तीमा पनि एकजनालाई सरकारी जागिरको व्यवस्था गर्नुपर्ने तथा मृतक परिवारको भरणपोषण, शिक्षा, स्वास्थ्य लगायतका सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने, शान्तिपूर्ण प्रर्दशन गरिरहेका माथि गोली प्रहार गर्ने प्रहरीमाथि उच्चस्तरिय न्यायिक आयोग गठन गरी दोषीमाथि कडा कारवाही गर्नुपर्ने तथा महोत्तरी जनजीवन सामान्य बनाउन अविलम्ब कफ्र्यु हटाउनुपर्ने माँग अघि सारेको छ ।
वुधबार जलेश्वरमा भएको प्रर्दशनमा प्रहरीको गोली लागी जलेश्वर नपा ७ बजराही बस्ने रोहन चौधरी, जलेश्वर नपा १४ बखरी बस्ने मुसवा भन्ने अमित कापर तथा महोत्तरी गाविस ५ का रामविवेक यादवको मृत्यु भएको थियो ।
महोत्तरीको परिकौलीमा मोर्चाको बसेको बैठकले वुधबार भएको झडपमा गोली चलाउनुपर्ने अवस्था नरहेपनि स्थानीय प्रशासनले दमन गर्ने, ज्यान लिन छाती र टाउकोमा गोली प्रहार गरिनु घटना निन्दनीय भएको भन्दै मोर्चाले यसको भत्र्सना समेत गरेको छ ।
मोर्चाका घटक दल संघिय समाजवादी फोरम नेपालका अध्यक्ष रामनरेश राय, तमसपाका केन्द्रिय सदस्य सुरेश पाण्डेय, तमलोपाका जिल्ला अध्यक्ष अभिराम शर्मा र सद्भावनाका रामबाबु साहले संयुक्त रुपमा विज्ञप्ती प्रकाशित गरि ५ बुँदे माग अगाडी सार्नुभएको हो ।
यता राज्यको प्रचलित कानून अनुसार स्थानीय सुरक्षा व्यवस्थालाई ध्यानमा राखी महोत्तरीमा नेपाली सेना परिचालन समेत गरिसकेको छ । बिहीबार बिहान बसेको सुरक्षा समितिको बैठकले नेपाली सेनालाई समेत परिचालन गर्ने निर्णय गरेवमोजिम नेपाली सेना समेत परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी दिपक काँफ्लेले स्थानीय प्रशासन ऐन अनुरुप सेना परिचालन गर्नुभएको बताउनुभयो । यद्यपी सेनाले अहिलेसम्म गस्ती मात्रै गरिरहेको देखिएको छ ।
    महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा वुधबार राति देखि नै कफ्र्यु लगाइएको छ । वुधबार प्रहरीको गोली लागि तिनजनाको मृत्यु भएपछि प्रहरीले वुधबार साँझ ८ बजेदेखि नै लागुहुने गरी अनिश्चितकालिन कफ्र्यु आदेश जारी गरेपछि बिहीबार बिहानदेखि नै जलेश्वरको सडकहरु सुनसान देखिका थिए । स्थानीय प्रशासन ऐन अनुसार कफ्र्यु लागु हुने स्थानमा प्रकौली व्यारेक देखि जिरोमाईल, सिनेमाहल चौक देखि जलेश्वरको मटिहानी चौक, नगरपालिकास्थित माछा बजारदेखि साउजी टोल, नगरपालिका चौकदेखि कारागार हुदै जिल्ला अस्पताल जाने रोड र खैरा चौक देखि साहुजीपटटी हुदै धवौली जाने बाटो रहेको छ ।
वुधबार जलेश्वरमा भएको प्रर्दशनमा प्रहरीको गोली लागी तिनजनाको मृत्यु हुनाका साथै दर्जन भन्दा बढी घाइते भएका थिए । गोली लागेर पिगौना ६ का विरेन्द्र विच्छाको नर्भिक अस्पताल काठमाडौंमा राती शल्यकृया गरिएको छ । विच्छाका आफन्तका अनुसार शल्यकृया सफल रहेको तर अवस्था गम्भिर रहेको जनाईएको छ ।
प्रहरीद्वारा वुधबार चलाईएको गोली लागी घाईते भएका मधेशी जनअधिकार फोरम गन्तान्त्रिकका महोत्तरी अध्यक्ष सुर्यनारायण यादव, रेडियो मिर्चीका संचालक विकास मिश्र, भटौलियाका अविनाश यादव, वहेडाका रामवावु साह, जलेश्वर ४ का मुकेश कुमार साह, कोल्हुवाका लालेन्द्र मण्डल, एकडाराका शंकर पासवान र पिगौनाका शिवेन्द्र महतो लगायतका रहेका छन् । शंकर पासमान ,शिवेन्द्र महतो र विरेन्द्र विच्छालाई अंचल अस्पताल जनकपुरबाट राति नै हेलिकप्टरमा काठमाण्डौं लगिएको थियो । त्यसमा बिच्छाको अवस्था चिन्ताजनक रहेपनि अन्यको अवस्था खतरामुक्त रहेको जनाइएको छ । बिच्छाको उपचार नर्भिकमा तथा अन्यको उपचार वीर अस्पतालमा भइरहेको छ ।
बुधवार प्रशासनद्वारा घटाईएको घटनाको प्रतिकार स्वरुप आन्दोलनकारीहरुले बुधवार राती बल्बा, मनरा, लोहारपट्टीको प्रहरी चौकीमा आगजनी गरेका छन् भने बिहीबार बिहान पर्सापतैली चौकीमा समेत आगजनी गरेका छन् ।
त्यसैगरी आन्दोलनकारीहरुले औरहीको प्रहरी बिटमा समेत आगजनी गरेको छ । यता ईटहर्वाकटटीमा रहेको प्रहरी चौकीबाट प्रहरीलाई धपाईएको जनाइएको छ । त्यस्तै विहिवार विहान भ्रमरपुरा र पिपराको प्रहरीलाई धपाई प्रदर्शनकारीहरुले चौकीमा आगजनी गरेको जानकारी प्राप्त भएको छ ।
त्यसतै मटिहानीमा व्यापक संख्यामा रहेको प्रदर्शनकारीहरुले मटिहानी गाविस भवन लगायतका विभिन्न कार्यालयमा मधेश सरकार लेखेको छ भने मटिहानी छोटी भन्सार कार्यालयमा आक्रमणको प्रयास गरिरहेको खवर आएको छ । विहिवार विहानै बल्वा ,पर्सा र लोहरपटटीमा प्रदर्शनकारीहरुले विभिन्न अवरोध सृजना गरि विरोध गरिरहेका छन भने केहि मोटरसाईकल समेत तोडफोड गरिएको छ ।
यसैबीच जनकपुरबाट खाद्य सामग्री किन्न दुईवटा गाडीमा पुगेका सशस्त्र प्रहरीलाई महोत्तरीको सिमानाका भिठामोडका स्थानीयहरुले सामग्री नदिइ भगाएका छन् ।
सिमानाकाका स्थानीयहरुले छिमेकी जलेश्वर, जनकपुरका स्थानीय जनतामाथि व्यापक दमन सुरक्षानिकायद्वारा भइरहेको प्रति आक्रोश व्यक्त गदै सशस्त्रलाई सामग्री नै नदिई भगाएको भारतीय पत्रकारहरुलाई उद्दृत गर्दै स्थानीय एफएमहरुले समाचार प्रसारण गरेको छ । सिमानाकाका भारतीयहरुले समेत मधेश आन्दोलनप्रति समर्थन जनाउँदै तत्काल दमन रोक्न सरकारसंग आग्रह समेत गरेको जनाइएको छ ।