विद्यालय खुल्न थाल्यो, शहादत दिएका रोहनको विद्यालयमा गरियो श्रद्धाञ्जली

विद्यालय खुल्न थाल्यो, शहादत दिएका रोहनको विद्यालयमा गरियो श्रद्धाञ्जली
महोत्तरी समाचारदाता
जलेश्वर, असोज १० गते । एक महिनाभन्दा बढी समयदेखि बन्द रहँदै आएको महोत्तरीका संस्थागत विद्यालयहरु खुल्न थालेका छन् । यद्यपी सामुदायिक विद्यालयहरु भने अझै बन्द छन् ।
जिल्लाको सदरमुकाम जलेश्वरसहित वरपरका संस्थागत विद्यालयहरु खुल्न थालेका छन् । यद्यपी विद्यालयले विद्यार्थीहरुलाई ड्रेसमा नआई आउट ड्रेसमा आउन भनेको छ ।
जिल्लाको सदरमुकाममै रहेको संस्थागत विद्यालयहरु पनि लामोसमयको वन्दले विद्यार्थीको पठनपाठन अवरुद्ध बनेकोले खोलेको जनाएका छन् । निजी विद्यालय अर्गनाइजेसन प्याप्सनका जिल्ला अध्यक्ष लवराजा सिंहले ६ महिनामा जम्मा एक महिना मात्रै विद्यालय खुलेको तथा अब आउने चाडपर्वले पनि विद्यालय संचालनमा वाधा पुग्ने भएकोले हामीले विद्यालयलाई निरन्तरता दिएको जानकारी दिनुभयो ।
भुकम्प र बन्दको कारणले महोत्तरीका विद्यालयहरुमा पठनपाठन हुन नसकेकोले विद्यार्थीहरुमा समस्या देखिएको जानकारी दिनुहुदै उहाँले मोर्चासंग सहकार्य गरेर यसलाई अगाडी बढाउने सोचमा रहेको जानकारी दिनुभयो । उहाँले संयुक्त मधेशी मोर्चाले उठाएको माँग प्रति आफुहरुको पनि समर्थन रहेको बताउनुहुदै लामो वन्दीले शिक्षाक्षेत्रमा नकारात्मक असर परिरहेकोले विद्यालयलाई निरन्तरता दिइएको वताउनुभयो ।
विद्यालयले कुनै पनि ब्रेक नै नगरी बिहान ६ बजेदेखि १० बजेसम्म विद्यालय संचालन गर्ने उहाँको कथन थियो ।
यसैबीच नीजि विद्यालयहरु खुलेपछि मधेश आन्दोलनमा शहादत दिएकाहरुको श्रद्धाञ्जली पनि दिन शुरु गरिएको छ ।
सदरमुकाम जलेश्वरमा रहेको शिशुज्ञान निकुञ्ज बोर्डिङ्ग स्कुलको कक्षा १० मा अध्ययनरत रोहन चौधरीको आन्दोलनको क्रममा भदौ २३ गते गोली लागि मृत्यु भएको शोकमा विद्यालयले आइतबार श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
कक्षा १० का विद्यार्थीहरु श्रद्धाञ्जली दिदै

विद्यार्थीहरु श्रद्धाञ्जली दिदै

सो कार्यक्रममा कक्षा १० मा अध्ययनरत तथा शहादत दिएका रोहनका साथी विवेक झाले रोहनको शहादत खेर नजानुपर्ने नेताहरुसंग आग्रह गर्नुभएको थियो । उहाँले रोहन मिलनसार, होनहार तथा सामाजिक कार्यमा रुची राख्ने भएको वताउनुहुदै टियुसन पढन जाने क्रममा प्रहरीको गोली लागी उनको मृत्यु भएको र यसले हामीले एउटा साथी गुमाएको पिडा पोख्नुभएको थियो ।
त्यसैगरी सो विद्यालयका फाउण्डर नरेन्द्र श्रेष्ठले नर्सरीदेखि नै यही विद्यालयमा पढेका रोहनको आनीवानी र पढाईको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा विद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षक, शिक्षिका तथा उपस्थित भएका नेता, संचारकर्मीहरु तथा विभिन्न विद्यालयका संचालकहरुले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।