विद्यार्थीहरु सडकमै बसेर पढे

विद्यार्थीहरु सडकमै बसेर पढे
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ २२ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको दुर्गाचोकमा बिहानै बिहानै सडक नै जाम हुने गरी विद्यार्थीहरु लाइन लागेर पढिरहेका थिए । उनीहरुलाई शिक्षक हरिनारायण झाले पढाइरहनुभएको थियो ।

घामको पर्वाह नै नगरी विद्यार्थीहरु तथा शिक्षकहरु सडकमै बसेर पढिरहेको देख्दा सडक भएर जाने सबैलाई आश्चर्य बनाएको थियो । विगत दुईहप्तादेखि महोत्तरीको सम्पूर्ण सामुदायिक विद्यालयहरु त्था नीजि विद्यालयहरु बन्द भएका कारण विद्यार्थीहरु सडकमै बसेर पढेका थिए ।
सरकारले विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरेपनि महोत्तरीमा दुईहप्तादेखि विद्यालय बन्द छन् । शिक्षक महासंघ महोत्तरीले बैठक बसेर अनिश्चितकालको लागि विद्यालय बन्द गरिएको छ । सडकमै बसेर पढिरहेका विद्यार्थीहरुले हामीहरु विद्यालय बन्दको विपक्षमा नभई अधिकारप्राप्त आन्दोलनको समर्थनमा सडकमा बसेर पढेको बताएका थिए ।
सो सडकमा लचमुमावि सहित विभिन्न विद्यालयका ५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।