सभासदहरुको पुतलादहन, ब्राहमणहरुले पनि निकाले जुलुस

सभासदहरुको पुतलादहन, ब्राहमणहरुले पनि निकाले जुलुस
महोत्तरी समाचारदाता
जलेश्वर, असोज ८ गते । महोत्तरी जिल्लाबाट प्रत्यक्षतर्फ निर्वाचित भएका पाँचवटा  क्षेत्रका सभासदहरुको सदरमुकाम जलेश्वरमा सामुहिक पुतला दहन गरिएको छ ।

    निर्वाचन क्षेत्र नम्बर ४ का स्वतन्त्र सभासद चन्देश्वर झाले संविधान निर्माण प्रक्रियामा भाग नलिएकोमा स्वागत गर्दै क्षेत्र नम्बर १ का माओवादी सभासद गिरीराजमणि पोखरेल, क्षेत्र नम्बर २ का काँगे्रस सभासद किरण यादव, क्षेत्र नम्बर ३ का एमाले सभासद रामदयाल मण्डल, क्षेत्र नम्बर ५ का एमाले सभासद दिपनारायण साह तथा क्षेत्र नम्बर ६ का काँगे्रस सभासद सीताराम भण्डारीको पुतला जलाइएको हो ।
    मधेशी बिरोधी संविधान बनिरहेका बेला संविधानसभा छोड्न मतदाताहरुले गरेको आग्रहलाई बेबास्ता गर्दै ताली बजाएकोमा जिल्ला प्रवेशमा समेत रोक लगाइएको जलेश्वरका युवा विनोद मण्डलले जानकारी दिनुभयो ।
उनीहरुलाई मधेशको दलालको संज्ञा दिदैं जलेश्वर महालिङ्ग मन्दिरबाट शुरु भएको युवाहरुको जुलुस नगरपरिक्रमा गर्दै पुनःसोही ठाउँमा पुगेर सम्पन्न भएको थियो ।
त्यसैगरी मैथिल ब्राहमण समाजले पनि मधेशको माँग संविधानमा सम्बोधन नगरेको विरोधमा सदरमुकाम जलेश्वरमा प्रर्दशन गरेको छ ।

     शिक्षा कार्यालय चोकबाट शुरु भएको जुलस महालिङ्ग मन्दिर हुँदै नगरपरिक्रमा गरि दुर्गा चोकमा पुगेर मधेश द्रोही बिनाशक यज्ञ सम्पन्न गर्दै समापन गरेका थिए ।
कार्यक्रममा सहभागी भएका रत्नेश्वर झाले मधेशको बिरुद्धमा उभिनेहरुको नाशका लागि यस्तो यज्ञ आयोजन गरिएको जानकारी दिनुभयो । शंख, घण्ट बजाउदै नाराबाजी गर्दै दुर्गाचोकमा उनीहरुले शहादत दिएकाको सम्झनामा एक मिनेट मौनधारण समेत गरेका थिए ।

मैथिल ब्राहमण समाजका अध्यक्ष शम्भुचन्द्र झाको अगुवाईमा निस्केको जुलुसमा सय भन्दा बढीको सहभागिता रहेको थियो ।
यसैबीच मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले दोस्रो दिन समेत जलेश्वर मूल भन्सार एवं मटिहानी र समसी छोटी भन्सारसँग जोडिएको दशगजामा प्रदर्शनसँगै सीमानाका ठप्प पारेका छन् । नाका ठप्प पार्नका लागि भिठामोडमा पंडाल नै निर्माण गरिएको छ ।
सिमानाका भिठामोडमा फोरम र सदभावना, मटिहानीमा तमलोपा तथा सम्सीमा तमसपाको नेतृत्वमा सिमानाका ठप्प पारिएको तमसपाका केन्द्रीय सदस्य सुरेश पाण्डेयले जानकारी दिनुभयो ।