मोर्चाका नेताका व्यवहारले व्यापारी घर न घाटको बन्दै व्यापारीहरुमा मानसिक समस्या बढदै

मोर्चाका नेताका व्यवहारले व्यापारी घर न घाटको बन्दै
व्यापारीहरुमा मानसिक समस्या बढदै

महोत्तरी समाचारदाता
जलेश्वर, माघ २९ गते । संयुक्त मधेशी मोर्चाले विगत ६ महिना लामो वन्दी फिर्ता लिएपनि आन्दोलनको क्रममा गरेको वाचा वमोजिम काम नगरेपछि मधेशकै व्यापारीहरु मोर्चाको कार्यशैली प्रति आक्रोशित हुँदै गएका छन् ।

व्यापारीहरुले मोर्चाका नेताहरुको करनी र कथनीमा फरक परेको कारणले आफुहरु मानसिक पिडाबाट गु्रजदै गएको वताएका छन् । उनीहरुले मोर्चाले चाँडै नै यो समस्याको हल निकाले मधेशमा यसको प्रतिकुल प्रभाव पर्न सक्ने चेतावनी दिएका छन् ।

मोर्चाका नेताहरुले आन्दोलनकै क्रममा व्यापारीहरुको घरभाडा, विभिन्न कार्यालयहरुको महसुलमा छुट, ऋणमा सहुलियत, विद्यालयमा विद्यार्थीको शुल्क छुट गराउने वचनवद्धता जनाएपनि वन्द फिर्ता लिएपनि यसप्रति ध्यान नदिएको व्यापारीहरुको गुनासो रहेको छ ।

आफुहरुले सम्पूर्ण व्यापार नै चौपट हुने गरी मोर्चाको वन्दलाई सघाएपनि मोर्चाको अहिलेको व्यवहारले आफुहरुलाई घर न घाटको बनाएको आरोप स्थानीय व्यापारीहरुको रहेको छ ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको दुर्गाचोकमा स्टुडियो, फोटोकाँपी, सहितका सानो पसल स्थापना गर्नुभएका युवा लक्ष्मीकुमार साह ‘पप्पु’ले भन्नुभयो, ‘६ महिनाको वन्दमा एक सुको कमाई भएन, खर्च भने धान्नै मुस्किल गरी बढेको छ, कसरी तिरुँला यति रकम भन्ने पिरले सताउँदै गएको छ ।’

‘एकातर्फ घर खर्चसहित पसलको घरवहाल तिर्नुपर्ने, अर्को तर्फ विजुलीसहितको महसुल तिर्नुपर्ने छ । कहाँबाट यति रकम ल्याएर तिर्ने भन्ने पिरले रातभरि निँद्रा नै लाग्दैन्’ युवा पप्पुको कथन थियो । उहाँले अहिले त सरकारी महसुलमा जरिवाना समेत तिर्नुपर्ने भएपछि समस्या भएको जानकारी दिनुभयो ।

मोर्चाले घर भाडा तथा विभिन्न सरकारी कार्यालयको महसुलमा छुट गराउनुपर्नेमा वन्द फिर्ता लिएपछि अहिलेसम्म यस विषयमा केही नबोलेको भन्दै व्यापारीहरु नेताहरुप्रति आक्रोशित हुँदै गएका छन् ।

जिल्लाको सुगाभवानीपट्टी ३ मा कुटाईपिसाईको मिल सञ्चालन गर्दै आउनुभएका रामप्रित दासले एकैचोटी दशहजार भन्दा बढीको विजुलीको महसुल तिर्नुपर्ने बिल आएको छ र जरिवाना समेत २५ प्रतिशतसम्म लाग्ने वताउनुहुदै भन्नुभयो, ‘कार्यालय बन्द भएपछि हामीले कहाँ विल तिर्न जाने ? आखिर मर्ने भनेको हामी साधारण जनता नै हौ ।’ सरकारले पनि यस्ता कुरामा ध्यान दिएर कम्तीमा पनि तिन महिना भित्रमा महसुल वुझाउनुपर्ने र जरिवाना नलाग्ने गरी निर्णय गरीदिए हामीजस्ताहरुको कल्याण हुन्थ्यो उहाँको कथन थियो ।

जलेश्वर उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष दिपुकुमार साहले ६ महिना लामो वन्दको कारणले जलेश्वरको ९० प्रतिशत भन्दा बढी व्यापार र व्यापारी धरासायी भईसकेको बताउनुहुदै समयमैं यो समस्याको निराकरण नगरिए समस्या जटिल हुन सक्ने संकेत समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘व्यापारीहरुले व्यापारमा लगाउने सम्पूर्ण पूँजीहरु आन्दोलनको क्रममा घरखर्चमै चलाईसकेको छ, महाजनको ताकेता शुरु भइसकेको छ, आम्दानी शून्य छ, व्यापारीहरु टेन्सनमै दिनरात काटन विवश छन् ।’

उहाँले सरकारले नै कालोवजारी तथा माफियातन्त्रलाई बढावा दिइरहेको कारणले यस्तो स्थिती आएको बताउनुहुदै मोर्चाको यो कमजोर पक्ष रहेको जानकारी दिनुभयो । आन्दोलनको क्रममा मोर्चाका नेताहरु मोज मात्रै गरेनन् उनीहरुकै रोहवरमा कालोवजारी तथा माफियाहरुले तस्करीको फाईदा लिए तर मारमा भने साधारण व्यापारीहरु परेको उहाँको भनाई थियो ।

उहाँले आन्दोलनको क्रममा मोर्चाका नेताहरुले साधारण व्यापारीहरुसंग खोसेको सामग्रीहरु कहाँ राखेका छन् यसको पनि अहिलेसम्म सार्वजनिक नगरेको बताउनुहुदै उहाँले भन्नुभयो, ‘केही नेताहरुले कमिशनकै लागि भएपनि सामान खोस्ने र कमिशन लिएपछि सामान छोडने गरेका थिए ।

मधेश आन्दोलनको क्रममा सदरमुकाम जलेश्वरमा राहत संकलन र वितरण गरी आन्दोलनलाई थप उचाईमा पु¥याउन सहयोग गर्नुभएका युवा शिवचन्द्र चौधरीले मोर्चाको व्यवहारको कारणले व्यापारीहरुको समस्या दिनानुदिन कष्टमय बन्दै गएको बताउनुभयो ।

उहाँले आम्दानी नभएको कारणले घर भाडा, स्टाप समेतको  सहित विभिन्न महसुल तिर्न नसकेर कतिपय व्यापारीहरु व्यापार छोडन विवश भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जलेश्वरजस्तो सानो व्यापारीक ठाउँमा व्यापारीहरु पलायन हुनु भनेको दुखद छ, यसतर्फ मोर्चाका नेतासहित सरकारले तत्काल ध्यान दिन जरुरी छ ।’

चौधरीले नेता तथा राजनीतिप्रति कटाक्ष गर्नुहुदै भन्नुभयो, ‘राजनीतिक स्तरबाट हुने गरेको वचन नेपालमा पुरा भएको नेपाल स्वर्ग नै बन्थयो ।’ नेपालमा नेताहरुकै व्यवहारको कारणले सर्वसाधारणहरुलाई राजनीतिप्रति वितृष्णा जागेको उहाँको भनाई थियो ।

तर, तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अभिराम शर्माले ऐतिहासिक आन्दोलन अहिले सकिनसकेको जानकारी दिनुहुदै हामीले वाचा गरेका यी कुराहरुलाई चाँडै नै व्यवहारमा गरेर देखाउने वताउनुभयो । उहाँले यस सम्बन्धमा केन्द्रीय नेताहरुसंग छलफल भईरहेको र छिट्टै नै सम्पूर्ण सरकारी कार्यालयहरुमा आफुहरुले गरेको वाचा कार्यान्वयन गर्ने÷गराउने वताउनुभयो ।