सरकारी कार्यालयहरु खुल्न सकेनन्, करोडौं राजश्व गुम्दै

सरकारी कार्यालयहरु खुल्न सकेनन्, करोडौं राजश्व गुम्दै
महोत्तरी समाचारदाता
जलेश्वर, माघ २३ गते । संयुक्त मधेशी मोर्चाको वन्द पश्चात महोत्तरीको जनजीवन सामान्य हुन थालेपनि राजश्व उठाउने मुख्य सरकारी कार्यालयहरु अहिले पनि खुल्न सकेका छैनन् ।
जिल्लाको सदरमुकाम जलेश्वरमा रहेका अधिकाँश सरकारी कार्यालयहरु मोर्चाको वन्दले भदौं महिनादेखि नै पूर्णतः बन्द छन् । अहिले सदरमुकाम जलेश्वरको बजार, यातायात, राष्ट्रिय वाणिज्य बैंक सहितका कार्यालयहरु सुचारु भएपनि आधा दर्जन भन्दा बढी कार्यालयहरु अहिलेसम्म बन्द रहेका छन् ।
सदरमुकाम जलेश्वरमा रहेका मालपोत कार्यालय, नापी शाखा कार्यालय, भूमिसुधार कार्यालय, शिक्षा कार्यालय, जिल्ला विकास समिति, महिला विकास कार्यालय लगायतका विभिन्न कार्यालयहरु अहिलेसम्म खुल्न सकेका छैनन् । कार्यालयका कर्मचारीहरु बन्द फिर्ता नभएसम्म कार्यालय खोल्न नसकिने प्रतिक्रिया दिएका छन् ।
संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुले वन्दको क्रममा जिविस, शिक्षा कार्यालय, महिला विकास कार्यालय लगायतमा तोडफोड गरेका कारणले कर्मचारीहरु कार्यालय खोल्न डराईरहेका छन् ।
वार्षिक करोडौं रुपैया राजश्व उठाउने यी सरकारी कार्यालयहरु विगत छ महिनादेखि बन्द भएपछि सरकारलाई करोडौं राजश्व गुम्दै गएको छ भने स्थानीय जनताहरुको काम पनि पूर्णतः ठप्प छ ।
मालपोत कार्यालय महोत्तरीका निमित्त प्रमुख सुरेन्द्र लाल कर्णले हामीले वार्षिक ५ करोड राजश्व उठाउने लक्ष्य लिएको जानकारी दिनुहुदै भदौ महिनादेखि नै पूर्ण रुपमा कार्यालय बन्द भएका कारणले राजश्व संकलनमा समस्या भएको जानकारी दिनुभयो । उहाँले कार्यालय तथा कर्मचारीको सुरक्षा नभएको कारणले कार्यालय खोल्न नसकिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यस कार्यालयमा दैनिक ३५ देखि ४० लाखसम्मको राजश्व उठने गरेको थियो तर अहिले वन्दले सबै ठप्प छ ।’ दैनिक आएर हाजिरी गर्नु तथा जिल्ला तथा पूनरावेदन अदालतले जग्गा रोक्का र फुकुवा गर्ने गरेको आदेश वाहेकका राजश्व उठाउने सम्बन्धी सबै काम ठप्प रहेको उहाँको कथन थियो ।
मालपोत बन्दले जग्गा रजिष्ट्रेशन पास, अंशवण्डा, छोडपत्र, जग्गा दर्ता फारी, व्यक्तिगत दृष्टिवन्धक, बैंक दृष्टिबन्धक, ठाडो रोक्का, नामसारीसहित विभिन्न किसिमका लिखतका कार्यहरुले राजश्व उठने गरेको थियो । उहाँले हामीले उठाएका राजश्वहरु मध्ये तोकिएको निश्चित प्रतिशत जिल्ला विकास समिति, नगरपालिकालाई दिने गरेकाले राजश्व न्यून उठेपछि ति कार्यालयहरुले गर्ने विकासमा समेत प्रभाव पार्ने वताउनुभयो ।
त्यसैगरी जिल्ला नापी कार्यालयका निमित्त कार्यालय प्रमुख कमलेश लालले आन्दोलन फिर्ता नभएको कारणले कार्यालय नखोलिएको वताउनुहुदै कहिल्ये कार्यालय खुल्ने हो ठेगान नभएको वताउनुभयो । उहाँले नक्सा बनाउने कार्यबाट मात्रै दैनिक १५ देखि २० हजार राजश्व आउने कार्यालयमा ६ महिनादेखिको वन्दले सबै ठप्प रहेको बताउनुभयो । कार्यालय बन्द हुदाँ नक्सासहित फ्लट बुक, फिल्ड बुक, कित्ताकाट लगायतका कार्यहरु बन्द रहेको उहाँको कथन थियो ।
भदौ महिनादेखि नै बन्द भएका कारणले महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेका अधिकाँश कार्यालयका दैनिक कामकाज प्रभावित बनेको हो । जिल्ला प्रशासन कार्यालय बाहेक कुनै पनि सरकारी कार्यालयहरु बन्दमा खुल्न सकेनन् । राष्ट्रिय वाणिज्य बैंक जलेश्वर शाखाले भने विभिन्न पर्व, त्योहारको अवसर पारेर आफ्ना सेवाहरु दिईरहे पनि पुनः पर्वत्योहार सकेपछि बन्द हुने गरेको थियो ।
जिल्ला विकास समिति पनि पूर्णतः छ महिनादेखि बन्द भएपछि विकास, निर्माणको काममा पछाडी परेको छ । कतिपय वजेटहरु फ्रिज हुने अवस्था रहेको कर्मचारीहरु बताउँछन् ।
    कार्यालयहरु कहिल्यैदेखि खुल्ने भन्ने विषयमा निमित्त प्रमुख जिल्ला अधिकारी किरण थापाले सरकारी कार्यालयहरु खुलेकै दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘कुनै पनि कार्यालयहरु बन्द छैनन्, सेवाग्राही कार्यालयमा सेवा लिन नआएको हो ।’
    यसैगरी संयुक्त मधेशी मोर्चाका एक घटक तराई मधेश लोकतान्त्रिक पार्टी महोत्तरीका युवा नेता सुशिल राउतले मोर्चाले वन्द फिर्ता नलिएको जानकारी दिनुहुदै सरकारी कार्यालयमा रहेको अवरोध जारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तत्कालको लागि केही सहज भएपनि आफुहरुको हडताल जारी नै छ, सरकारी कार्यालय खोल्न दिने निर्णय भएको छैन् ।’