राजेन्द्र महतोः काठमाडौंसँग प्रेम र घृणाको पहेली
'डाक्टर र सीडीयोको सपना छाडेर एयरपोर्टको ठेकेदार बनें'
राजकुमार श्रेष्ठ
३ फागुन, काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो काठमाडौंका लागि भारतीय फिल्मका ‘भिलेन’ अमरिस पुरीको नेपाली संस्करणजस्तै भएका छन् यतिबेला । ‘कभी खुशी, कभी गम’ भनेजस्तै उतार-चढावपूर्ण छ महतोको जीवनको भोगाइ ।
जब महतोले ‘काठमाडौंको दानापानी बन्द गर्छु’ भने उनको चर्को आलोचना भयो । मधेसी मोर्चाका अरु नेताहरु काठमाडौंमा वार्ता गरिरहँदा महतो वीरगञ्ज, बिराटनगर नाकामा धर्ना दिँदै हिँडेपछि महतो ‘भिलेन’ बने । र, उनको घरमा आक्रमणको प्रयाससमेत भयो ।
एकपटक विदेशीसँग भेट भयो । परिचय हुँदा मैले नेपाली त भन्नुपर्यो । अनि उ त मान्दै मान्दैन । तिमीजस्तो मान्छे दिल्ली एयरपोर्टमा देखेको, तेरो अनुहार त इण्डियन जस्तो छ भन्छ
तर, राजेन्द्र महतो र काठमाडौंको सम्वन्ध अहिले मात्र होइन, सुरुदेखि नै ‘हेट एण्ड लभ’जस्तै देखिँदै आएको छ ।
महतोलाई ०३२ सालमा डाक्टर बनाउने सपनासहित परिवारले काठमाडौं पठाएका थिए । तर, पहाडिया टोलमा जन्मेहुर्किएका उनले मलंगवामा पढ्दै विभेदको अनुभूति गरे जसका कारण उनले वकिल हुँदै न्यायाधीश बन्ने सपना साँच्न थाले ।
ल क्याम्पसबाट आईएल पास गरेपछि सिडियो हुँदा पनि राम्रै हुन्छ भनेर डिल्लीबजारस्थित जनप्रशासनमा भर्ना भए । बीएल र एमपीए पास गरेका महतो ‘ईख’कै कारण मधेसको राजनीतिमा होमिए ।
राजनीतिमा टर्निङ प्वाइन्ट
काठमाडौं आएपछि होस्टलमा बसेर पढेका महतो शनिबार-शनिबार नेताहरुको भाषण सुन्न हिँड्थे । कहिले चावहिल पुगेर वीपी कोइरालाको भाषण सुन्थे भने कहिले रामराजाप्रसाद सिंहलाई सुन्न डिल्लीबजार पुग्थे । तर, विद्यार्थी जीवनमा उनले सक्रिय राजनीति गरेनन् ।
महतोले विमानस्थलमा पोर्टरहरुको ठेक्का लिए र रातारात मधेसीहरुलाई विमानस्थलमा कामदारका रुपमा ल्याए
बरु ट्राभल एजेन्सी (दरबारमार्गको अन्नपूर्ण ट्राभल्स)मा जागिर आए, महिनाको ३५० रुपैयाँ तलव थियो । त्यही जागिरका क्रममा भएको एउटा घटनाले उनलाई राजनीतिमा तान्यो ।
महतो अनलाइनखबरसँग भन्छन्,- एकपटक विदेशीसँग भेट भयो । परिचय हुँदा मैले नेपाली त भन्नुपर्यो । अनि उ त मान्दै मान्दैन । तिमीजस्तो मान्छे दिल्ली एयरपोर्टमा देखेको, तेरो अनुहार त इण्डियन जस्तो छ भन्छ ।’
महतोले विगत सम्झिए- ‘मैले मेरो जस्तै अनुहार भएका यो देशको आधा मान्छे तराईमा छन् र तिनलाई मधेसी भन्छन् भनेँ, तर, ती विदेशीले मान्दै मानेनन् । अन्तिममा उनले पोर्टरहरुलाई देखाउँदै भने, खै त त्यहाँ तिम्रोजस्तो अनुहार भएका एकजना मान्छे छैन ?’
विमानस्थलमा त्यसबेला अहिलेजस्तो ट्रली नभई म्यानुअल थियो । पोर्टरहरुले सामान बोक्थे । र, त्यो जागिरमा स्थानीयबासी नै हुन्थे । ‘तँ नेपाली भएको भए तेरोअनुहार भएका अरु मान्छे यहाँ हुनुपथ्र्यो’ भन्ने विदेशीको तर्कले त्यसबेला महतोलाई घोत्ल्यायो ।
‘पहिलो पाइला यहीँ उत्रने, जो देख्यो त्यही नेपाली’ पञ्चायतमा पहाडी समुदायलाई मात्र नेपाली भन्ने गरेको स्मरण गर्दै राजेन्द्र महतोले भने-‘मधेसीको न अनुहार, न भेष, न भुषा, न धोती, न कुर्था केही नभएपछि विदेशीले त्यस्तो भन्नु आश्चर्यको कुरा भएन । मलाई त्यसबेला लाग्यो कि अब यसमा हात हाल्नुपर्छ ।’
र, ठेकेदार बने
त्यसपछि राजेन्द्र महतो विमानस्थलमा ठेकेदार बने । उनले विमानस्थलमा पोर्टरहरुको ठेक्का लिए र रातारात मधेसीहरुलाई विमानस्थलमा कामदारका रुपमा ल्याए । उनको यो कदम राजनीतिबाटै प्रेरित थियो ।
झण्डै दुई टर्म अर्थात ७/८ वर्ष उनले विमानस्थलमा ठेकेदारको काम गरे । राम्रै कमाइ भएको थियो भन्छन् महतो । तर, सुरुमा मधेसी अनुहारलाई विमानस्थलको पोर्टरमा त्यति सहज भने भएन ।
त्यसबेला ०४२ सालमा राजा महेन्द्रमाथि बम हानेको प्रकरणमा रामराजा सिंहको फैसला आएको थियो । ‘मधेसीहरुको कालो अनुहार देखेपछि एयरपोर्टमा इन्ट्री पास नै नदिने’ महतोले भन्छन्, ‘सबैलाई रामराजाको मान्छे ठानिन्थ्यो, मेरा पोर्टरहरुलाई पास नै दिएनन् ।’
महतोले गत असारमा मधेस आन्देालन सुरु गर्नु अघि काठमाडौंको दानापानी बन्छ गर्छु भनेका थिए । जसले उनको निकै आलोचना भयो । त्यसबेला मधेसीलाई पोर्टरमा काम लगाउन अफ्ठ्यारो पर्दा पनि उनले यस्तै कडा चेतावनी दिएका रहेछन् ।
महतोले उसबेलाको घटना सम्झँदै भने- ‘काठमाडौंमा मधेसीलाई लखेट्यो भने उनीहरुले पनि के-के गर्छन् भनेर म्यानेजरलाई भनेँ । र, बल्ल मेरा पोर्टरहरुले पास पाए । र, करिव ६/७ वर्ष पोर्टर सर्भिस चल्यो । त्यसक्रममा कार्गो म्यान हृयाण्डलिङको काम लिएर राम्रै कमाइ भएको थियो ।
गजेन्द्रनारायण सिंह र सद्भावना
काठमाडैं बसाइका क्रममा नै महतोको गजेन्द्रनारायण सिंहसँग चिनजान र भेटघाट बाक्लियो । सिंह कांग्रेसमै हुँदा बेलाबला न्यूरोड जान्थे र महतोले काम गर्ने ट्राभल एजेन्सीमा बस्थे ।
हर्कबहादुर गुरुङको आयोगले बसाइँ सराइ सम्वन्धी प्रतिवेदन बुझाउँदा नागरिकता नभएका कारण अधिकांश मधेसीलाई भारतीय भनेपछि गजेन्द्रनारायण सिंहले कांग्रेस छाडे । पञ्चायतमा पार्टी खोल्न नपाइने भएकाले उनले सदभावना परिषद गठन गरे, जुन ०४७ सालको परिर्वतनपछि सदभावना पार्टीमा परिणत भयो ।
महतो पनि सदभावना पार्टीमा आवद्ध भए र सक्रिय राजनीतिमा लागे । उनी अहिले सोही पार्टीको अध्यक्ष छन् ।
भारतीय आरोप र सफाइ
महतोमाथि भारतीय नागरिक भएको र कीर्ते गरेर नेपाली नागरिकता लिएको आरोप बेलाबेलामा लाग्ने गरेको छ । योपटक मधेस आन्दोलन उत्कृर्षमा पुगेका बेला सत्तारुढ एमालेसम्वद्ध युवा संघले नै सरकारसँग महतोको नागरिकता छानविन गर्न मागै गर्यो ।
तर, यो उनका लागि नौलो घटना रहेन । ०५१ मा धनपति आयोग बन्दा उनी पार्टीको तर्फबाट सदस्य बने । नागरिकताको कुरा उठाए । ‘नागरिकताका लागि सदभावना पार्टीले १८ वर्ष लड्यो र त्यो लडाइ मैले नै बढी लडेँ’ महतो भन्छन्, ‘जब नागरिकताको सवाल आउँथ्यो, म बोल्थेँ । अनि मलाई यो इण्डियन भनिन्थ्यो ।’
अहिलेको आरोप पनि त्यही हो भन्छन् महतो । ‘हाम्रा बाबुबाजे बाहुनक्षेत्रीजस्तो कुमाउ गढवालबाट आएका पनि होइनन्, धर्तीपुत्र हुन्’ महतो भन्छन्, ‘अढाइ सय वर्ष पहिले न नेपाल-भारत बन्यो, त्यसअघि नै बसिरहेका थिए मधेसी ।’
महतोका अनुसार उनका बुबा खोबारी महतो लेखन्दास थिए । नेपाल-भारत सीमाको त्रिभुवन नगरमा लेखन्दासको काम गर्थे । नेपालदेखि भारतसम्म व्यापार व्यवसाय पनि गरे । उनका दाइ दुई पटक गाउँको प्रधानपञ्च भए ।
महतो भन्छन्, मेरो गाउँको छेउमा एउटा ताल छ, नारीमन । त्यही तालको छेउको वस्तीमा मेरो जन्म भएको हो । धेरै पटक डाका लागेपछि त्यो नजिकै सरेको छ, जसलाई बबरगञ्ज भनिन्छ ।’
उनी जन्मिए हुर्केको टोलको नाम पहाडिया टोल थियो । धेरै मधेसी समुदाय भए पनि एकजना पहाडी समुदाय भएकाले उनकै नाममा टोलको नाम राखिएको रहेछ भन्ने आफूले पछि बुझेको उनले सुनाए ।
३२ वर्ष पहिले र अहिलेको काठमाडौं
महतो पहाडी समुदाय छ भन्ने बाल्यकालमा सुनेको र विभेद मलंगवामा मावि अध्ययन गर्दा देखेको बताउँछन् । ‘विद्यार्थी हुँदा मधेसी भनेर जिस्काउने, हेप्ने काम हुन्थ्योे’ काठमाडौं आएपछि विभेद आफैंले भोगेको र देखेको भन्दै उनले भने-बाटो हिँड्दा माथिबाट पानी खसाल्थे । धोती तान्नेदेखि धोती, इण्डियन के के भन्थ्यो भन्थ्यो ।’
योपालि म पेलेर संघर्षमा उत्रिएँ । साराले दुश्मनका रुपमा बुझे काठमाडौंमा मलाई
यही विभेद अन्त्य गर्छु भनेर राजनीतिमा होमिएका महतो दोस्रो जनआन्दोलनपछि चारपटक मन्त्री भए । सिंहदरवारमा बसेर मन्त्रालय चलाए । तर, मधेसमा गरिवी, विभेद जस्ता सबै समस्या कायमै छन् । खाली केही नेताहरु मन्त्री बने भन्ने आरोप लाग्ने गरेको छ । तर, महतो यसलाई मान्न तयार छैनन् ।
के फरक छ भन्ने प्रश्नमा उनले भने, पहिले त के थियो भने डर त्रास हुन्थ्यो । कुनै कार्यालयमा वा कतै जाँदा हिम्मत हारेको जस्तो देखिन्थ्यो । अपनत्व पाउँदैनथ्यो । अहिले त्यो हटेको छ ।
अहिले जहाँ गए पनि संख्या कमै भए पनि त्यो हटेको छ । मधेसी पनि नेपाली हो भन्ने पहिचान पाएको छ । मधेसीलाई हेप्यो भने मधेसीले पनि हेप्छ, मान्दैन भन्ने भएको छ । पहिलो जनआन्दोलनले यो स्थापित गर्यो । मधेसीलाई शासक वर्गले स्वीकार गर्यो । नागरिकता समस्या हल भएको छ ।
फेरि काठमाडौंसँग ‘हेट’
चारपटक मन्त्री भएपछि महतोको काठमाडौंसँगको दुरी पछिल्लोपटक फेरि बढ्यो । दानापानी बन्छ गर्छु भन्दै उनी मधेस झरे । काठमाडौंमा उनका घरमा केहीले ढुंगा हान्न खोजे ।
महतो भन्छन्, ‘योपालि म पेलेर संघर्षमा उत्रिएँ । साराले दुश्मनका रुपमा बुझे काठमाडौंमा मलाई ।’
महतोका अनुसार नाकाबन्दी गर्नुको उद्देश्य थियो, सरकारलाई झुकाउने । जनतालाई पीडा भएपछि सरकारलाई दबाब पर्छ र चाँडै हामीसँग वार्ता गर्छ भन्ने थियो । महतो भन्छन्, ‘तर, नालायक सरकारले खोक्रो राष्ट्रवादको नारा लगाइदियो । जनताले पनि सरकारलाई गाली गर्नुको साटो हाम्रो दानापानी बन्द गर्यो भनेर आन्दोलनकारीलाई गाली गर्न थाले । भो अब ..!
आफूलाई धेरै गाली गर्नुको कारण पनि महतो आफैं भन्छन्-‘मैले मानसिकतामा त प्रहार गर्छु नि ।’ ‘खसवादी मानसिकता’बाट पे्ररित भएर केही मान्छेले सामाजिक सञ्जालहरुमा गाली गरेको भन्दै महतोले सबै पहाडिया र खसहरुलाई खराब भन्न नमिल्ने प्रष्ट्याए ।
फेरि काठमाडौं आगमन
काठमाडौंसँग चिसिएको महतोको सम्बन्ध माघको जाडो सकिने क्रमसँगै फेरि न्यानो बन्न थाल्यो । महतोले एकाएक नाकाबन्दी खोल्ने घोषणा गरे, त्यसको भोलिपल्टै नाकाबन्दी खुल्यो ।
उनले बालुवाटार पुगेर केपी ओलीसँग भेट गरे । जहाँ ओलीले महतोसँग हिन्दीमा कुरा गरे । शब्दकोष निकालेर आफूले यसअघि लिएका अभिव्यक्तिको अर्थ लगाउँदै महतोसँग ओलीले नजिक हुने प्रयास गरे । त्यसलगत्तै महतोले लाजिम्पाट पुगेर प्रचण्डसँग भेट गरे ।
महतो बालुवाटार गएकोमा मोर्चाका केही नेताहरुले उनको निकै रीस पनि गरे । महतोलाई काठमाडौंले गाली गथ्र्यो, एकाएक मोर्चाका नेताहरुले गाली गर्न थाले ।
महतो बालुवाटार गएकोमा मोर्चाका केही नेताहरुले उनको निकै रीस पनि गरे । महतोलाई काठमाडौंले गाली गथ्र्यो, एकाएक मोर्चाका नेताहरुले गाली गर्न थाले ।
तर, महतो आफू ठीक ठाउँमा रहेछु भन्ने प्रमाणित भएको दाबी गर्छन् । ‘नाकाबन्दी खोल्ने काममा त मैले नै बोलेँ नि’ उनले अनलाइनखबरसँग भने- जसमाथि सबैभन्दा ठूलो आक्रमण भएको थियो, उही व्यक्ति बोल्यो ।
किनभने जुन प्रयोजनका लागि नाकाबन्दी गरिएको थियो, त्यो प्रयोजनहीन भयो । सरकारलाई दबाव भएन, जनताले मात्र दुःख पाए ।’ महतोले अघि भने, ‘मेरो कुनै दुषित मानसिकता थिएन ।’
- See more at: http://www.onlinekhabar.com/2016/02/388265/#sthash.uA8cp1jz.dpuf