अप्पन मैथिली, अप्पन मिथिला
भाषा
ऐतिहासिक र समृद्ध मैथिली भाषा सधैं उही औकातमा टिकिरहन सकेन । किन ? अनि, अहिले यो भाषामाथि कस्तो राजनीति चलिरहेको छ ?

तीमध्ये भूपतिन्द्र मल्लरचित ‘परशुरामोपाख्यान’ को विस्तृत अध्ययनसहित
प्रकाशन गरेका डा. यादव भन्छन्, ‘अहिलेसम्म मैथिली भाषाका १३ वटा मात्र
नाटकको अध्ययन र प्रकाशन भएको छ । १२ वटा भारत र जर्मनीमा ।’अहिलेसम्मको पुष्ट्याइँका आधारमा भारतीय–आर्य समुदायका कम्तीमा २८ भाषामध्ये मराठीपछि मैथिली पुरानो मानिन्छ । यादवले प्रकाशन गरेको ‘परशुरामोपाख्यान’ को पाण्डुलिपि नेवारी लिपिमा छ । नाटकमा पात्र प्रवेश संस्कृतका श्लोकबाट हुन्छ । मञ्चमा दृश्य फेरिने निर्देशनहरू नेवारीमा छन् । संवाद सबै मैथिलीमा ।
नेवारी भाषाका दिग्गज प्रेमबहादुर कंसाकारले एक दिन उनलाई सुनाएछन्, ‘हामीकहाँ मल्लकालीन नाटकका पाण्डुलिपि छन् । ठाउँ–ठाउँ भाषा बुझिन्छ, धेरै ठाउँ बुझिँदैन ।’ उनी दौडिएर गई हेरेछन् । यादवले लिपि बुझेनन् । कंसाकारले भाषा । कंसाकारले पढेर सुनाए । भाषा मैथिली पो रहेछ । यादवले अथ्र्याइदिए । त्यसपछि उनको अनुसन्धानको दिसा मोडियो– मल्लकालीन नाटकतर्फ ।
‘मल्ल राजाहरू मैथिली भाषामा पोख्त थिए । नेवार राजकुमारको सिम्रौनगढका राजकुमारीसँग बिहेबारी हुनु यसको मुख्य कारण जर्मन अनुसन्धानकर्ताहरूले ठहर्याएका छन्,’ यादवले सुनाए । मैथिली भाषाको प्राचीनता र समृद्धतालाई पुष्ट्याइँ गर्दै उनले भने, ‘जतिबेलाको मैथिली नाटकको म अध्ययन गरिरहेको छु, त्यस कालखण्डमा नेपाली भाषामा लेखिएका कुनै नाटक फेला परेको छैन ।’

प्राचीनतम अस्तित्व
विद्वान्हरू दाबी गर्छन्— प्राचीन मिथिलाको मातृभाषा मैथिली थियो । वाल्मीकि रामायणमा उल्लेख भएअनुसार रावणले हरण गरेर सीतालाई अशोक वाटिकामा राखेका बेला हनुमान उनीसँग मातृभाषामा संवाद गर्थे । संस्कृत भाषामा कुराकानी गर्दा रावणका गणहरूले सजिलै बुझ्ने हुँदा आपसमा मात्र बुझ्ने भाषा प्रयोग गर्नु बाध्यता थियो । त्यो थियो— मैथिली ।
यदि वाचं प्रदास्यामि, द्विजातिरिव संस्कृतम्
रामणं मन्यमाना मां सीता भीता भविष्यति ।
अवश्यमेव वक्त्वयं मानुसं वाक्यमर्थवत्
मया सान्त्वयितं शक्या नान्यथेयम निन्दिता ।।
– वाल्मीकि रामायण सुन्दरकाण्ड श्लोक १८
(हनुमानको भनाइ : यदि संस्कृतमा संवाद गर्छु भने रावणका गणहरूले बुझ्नेछन्, अनि सीतालाई अझ दु:ख दिनेछन् । तसर्थ म आफ्नै भाषामा संवाद गर्न चाहन्छु ।)
डा.दुर्गानन्द झा श्रीशद्वारा लिखित ‘मैथिली साहित्यक इतिहास’ का अनुसार मिथिलाको अस्तित्व वेदकालदेखि नै मानिन्छ । वेद, पुराण, उपनिषद, मीमांशा आदिमा वर्णित वातावरण, वनस्पति, जीवजन्तु आदि मिथिलासँग मेल खान्छन् । जनकवंशको उदयसँगै विधिवत् रूपमा मिथिला राज्यको स्थापना भएको थियो । इतिहासकारहरूले जनकवंशको कार्यकाललाई इसापूर्व ३००० देखि ६०० सम्म मानेका छन् । यसबीचमै सीताको जन्म भएको हो । कोसी, कमला, वाग्मती, गण्डकी तथा गंगाजस्ता नदीहरूको मध्यमा रहेको यस भूमिलाई तीरभुक्ति अर्थात् तीनतिरबाट नदीले घेरिएको पनि भनिन्छ । यहाँका गुणस्तरका माछा, मखाना तथा पान स्वर्गसम्ममा पाइँदैन भन्ने किंवदन्ती छ ।
आठौं शताब्दीमा लिखित सिद्धहरूको ग्रन्थ मैथिली भाषामा भएको प्रमाणित भइसकेको छ । त्यस कालका डाक, भास, भुसुप्पालगायत सिद्ध कविको दोहा तथा गान अहिले पनि उपलब्ध छन् । यी कविका अधिकांश रचना नेपालको तराई भूमिमै पाइएको हो ।
डा. झाकै अनुसार पछिल्लो कालखण्डमा हेर्ने हो भने भारोपेली भाषा समूहका भाषाहरूमध्ये सबभन्दा प्राचीन गद्यग्रन्थ ज्योतिरीश्वरको ‘ध्रुत समागम’ (१३ औं शताब्दी) मैथिलीमै लेखिएको उपलब्ध भएको हो । ‘धु्रत समागम’ हास्य नाटिका हो । यो अहिले पनि मञ्चन हुदै आएको छ । १४ औं शताब्दीमा मैथिलीका महाकवि विद्यापतिको जन्म भइसकेको थियो । सन् १३४० को वरिपरि जन्मेका विद्यापतिले एक दर्जनभन्दा बढी गद्यग्रन्थ रचना गरेका थिए । जसमा ‘भूपरिक्रमा’ (भूगोल), ‘गोरक्ष विजय’ (नाटक), ‘कीर्तिलता’, ‘कीर्तिपताका’ लगायत प्रमुख छन् ।
विद्यापतिलाई साहित्यतर्फ एसियाकै पहिलो नोबल पुरस्कार विजेता रवीन्द्रनाथ टैगोरले समेत आफ्ना काव्य गुरु स्विकारेका छन् । भारतका चर्चित साहित्यकार तथा ‘मधुशाला’ जस्ता कालजयी काव्यका रचनाकार डा. हरिवंश राय बच्चनले महाकवि विद्यापतिबारे लेखेका छन्—
थे न सूर और जब न थी बाबरी मीरा
तब तुमने ही मुखरित की थी मानवके मानसका पीडा
(अर्थात्, जब सुरदास थिएनन्, मीरा थिइनन्, त्यति बेला तिमीले मानिसको पीडा काव्यमार्फत् चित्रण गरेका थियौ ।)
विद्यापतिले संस्कृत, प्राकृत र मैथिली भाषामा पुस्तक लेखे । उनले मैथिलीमा लेखेका गीत अझै मिथिला समाजमा लोकप्रिय छन् । तिनमा मुख्य संस्कारगीत, ऋतुगीत, श्रमगीतलगायत पर्छन् । विद्यापतिले लेखेको ‘कीर्तनिया’ नाटकको परम्परा मध्यकालीन समाजमा मिथिलासँगै नेपाल उपत्यका, आसाम, बंगाल, उडिसासम्म प्रचलनमा थिए । मल्ल राजाहरूले लेखेका मैथिली नाटक ‘कीर्तनिया’ नाटक परम्पराकै निरन्तरता हो भनिन्छ ।
महाकवि विद्यापति तत्कालीन मिथिला नरेश शिवसिंहको बालसखा तथा दरबारका कवि थिए । शिवसिंह मुसलमान शासकसँगको युद्धमा हारेपछि विद्यापतिले यता आएर शरण लिए । ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जका सहप्राध्यापक तथा ‘मिथिलाको राजनीतिक इतिहास’ का लेखक डा. वासुदेवलाल दासका अनुसार उनी तत्कालीन सप्तरी (हाल सिरहा) जिल्लाको लहान पश्चिमस्थित छपरारी चोकमा रहेको द्रोणवार (दोनवार) ब्राह्मण वंशका राजा पुरादित्य सिंहको राज्यमा १२ वर्षसम्म गुप्तवास बसेका थिए । नेपाल प्रवासका क्रममा उनले भगवत गीताको मैथिली अनुवाद गर्नुका साथै झन्डै आधा दर्जन पुस्तक लेखेका थिए ।
उनका लेखनमा धर्म, कर्म, चेतना, प्रेमदेखि शृंगारिकतासम्म हुन्थे । उनको एउटा गीत यस्तो छ–
ससन परसेँ खसु अम्बर रे
देखल धनि देह ।
नव जलधर तर चमकए रे
जनु बीजुरि रेह ।।
(अर्थात्, हावाको स्पर्सले सारी तल झर्यो
मैले उनको शरीर नियाल्ने मौका पाएँ ।
वर्षा हुनुअघिको कालो आकाशमा
चम्किने बिजुलीको रेखाजस्तै चम्किएँ ।।)
अनि लाग्यो ओरालो
ऐतिहासिकता र समृद्धता रहेको मैथिली भाषा नेपालमा सधैं उही औकातमा टिकिरहन भने सकेन । विद्यापतिको आगमनअघि यो निकै खस्किइसकेको थियो । यसका आन्तरिक र बाह्य दुवै कारण रहे ।
साहित्यकार तथा मैथिली संस्कृतिका जानकार डा.रेवतीरमण लालका अनुसार पृथ्वीनारायण शाहले उपत्यकामाथि विजय गर्नुअघि त्यहाँको सरकारी कामकाजको भाषा मैथिली थियो । मल्ल राजाहरू मैथिलीमा बोल्थे, साहित्य रचना पनि गर्थे । पृथ्वीनारायणले मैथिली भाषा–संस्कृतिमाथि रोक लगाएर नेपालीलाई कामकाजमा छिराएको दाबी गर्दै उनले भने, ‘अनि मैथिलीको गति ओरालो लाग्यो ।’ राजा महेन्द्रले ‘एउटै राजा एउटै देश एउटै भाषा एउटै भेष’ चलाएपछि धेरै भाषा–संस्कृतिको घाँटी निमोठियो । त्यसको घानमा बढ्ता पर्यो— देशको दोस्रो भाषा मैथिली ।
अर्कातिर भारत स्वतन्त्र भएपछि त्यहाँका राजा–रजौटालाई अपदस्थ गरियो । तत्कालीन दरभंगाका महाराजले मैथिली भाषा साहित्यको संरक्षण–संवद्र्धनमा सहयोग गर्दै आएका थिए । उनी पनि हटाइएपछि मैथिलीतिर कसैको ध्यान पुगेन । त्यसको प्रभाव नेपालसम्म पर्यो ।
राजविराज निवासी प्रा. अमरकान्त झाको ठम्याइमा मैथिलीको विकास अवरुद्ध हुनुको प्रमुख कारण राजनीतिक शक्ति यस भाषाको विपक्षमा रहनु हो । ‘प्रारम्भमा मैथिलीलाई बंगाली भाषा भनिएको थियो । पछि भाषा वैज्ञानिकहरूले मैथिली स्वयं भाषा भएको प्रमाणित गरिदिए । मिथिलाञ्चल (नेपाल र भारतका मैथिलीभाषी क्षेत्र) मा मैथिलीलाई कथित उच्च वर्ण (शोत्री, ब्राह्मण, कायस्थ आदि) को भाषाका रूपमा प्रचार गरियो । यस भूगोलका कथित निम्न वर्गका भाषाभाषीले मैथिली बोले पनि आफूले मैथिली बोलेको स्वीकार गर्न आनाकानी गरे,’ उनले भने, ‘अर्कातिर सञ्चार, प्रशासन तथा शिक्षामा यसको पहुँच हुन सकेन, जसले मानकीकरण गराएन ।’
प्राडा रामावतार यादव भने मैथिली भाषा–संस्कृति ओरालो लाग्नुमा स्वयं मैथिलीभाषीलाई पनि उत्तिकै जिम्मेवार देख्छन् । ‘मैथिलीभाषाको मुख्य प्रचलन रहेका बिहार र नेपालका विद्वान्हरू संस्कृतलाई देवभाषा मान्थे, मैथिलीलाई भाषा मात्रै । वौद्धिक वर्गले संस्कृतको प्रयोग गर्नुलाई इज्जतिलो ठान्न थाल्यो । मैथिली क्रमश: हीनताबोधको सिकार भयो,’ उनको अनुसन्धानले भन्छ, ‘कृतिका नाममा पनि मैथिली नलेखेर मिथिला लेख्न थालियो । आफ्नै घर घाटजस्तो बन्यो ।’
विद्यापतिको आगमनसँगै यसको दर्जा फेरियो । मैथिली साहित्यको समृद्ध भाषा रहेछ भन्ने छवि निर्माण भयो । ‘नत्र यो आफैंमा अपहेलित थियो । यहाँको प्रकृति, हावापानी, परम्परा र कालबेला त्यस्तै थियो । दोष कसैलाई दिनु राम्रो होइन,’ उनले भने ।
हिन्दीको ‘हैकम’
जनकपुर आसपास र पूर्वी मधेसको परापूर्वदेखिको मातृभाषा मैथिली हो । तर, पूर्वाञ्चल विश्वविद्यालयका डा. यादव सम्झन्छन्, ‘हामीले सुरुमा स्कुल जाँदा हिन्दीका किताब पढ्यौं । भाषा हिन्दी, कुरा भारतका । हमारे देश की राजधानी दिल्ली है भन्दै पढ्थ्यौं । हामीलाई नेपालको राजधानी काठमाडौं हो भन्ने पछि मात्र थाहा भयो । प्रधानमन्त्री उतैको, मुद्रा उतैको पढ्नुपथ्र्यो । जब पारसमणि प्रधानले नेपालीमा लेखेका पुस्तक सरकारले छ्यापछ्याप्ती पार्यो अनि मात्र मधेसले स्वदेशी पाठ्यपुस्तक पायो ।’
त्यसमाथि हिन्दी चलचित्रले मधेसको भाषा–संस्कृतिमाथि सीधै हस्तक्षेप गर्यो । मैथिलीभाषी समुदायमा हिन्दीको प्रभुत्व बढ्दै गयो । ‘मैथिलीभाषी समुदायमा नेपालीभन्दा हिन्दी जबर्जस्त छिर्यो । वर्षौंवर्ष यसले जरा गाड्यो । पछिल्लो कालखण्डमा आइपुग्दा भारतले मैथिलीभाषीको बाहुल्य रहेको क्षेत्रलाई भाषिक उपनिवेश बनाउन खोज्यो । हाम्रा नेताहरू त्यतै बहकिए,’ त्रिभुवन विश्वविद्यालय मैथिली भाषा विभागका पूर्वप्रमुख प्रा. परमेश्वर कापडी भन्छन्, ‘हिन्दी भाषालाई मान्यता दिलाउन जोडबलले लागेका थिए । संविधान संशोधनमार्फत् गराउन पनि प्रयास गरे ।
तर, सफल भएनन् । मैथिली, भोजपुरीजस्ता भाषालाई कामकाजी बनाउन पहल गर्नु त कता हो कता हिन्दीको भक्तिगान किन गाउँछन् उनीहरू ? अचम्म छ, संसद्मा हिन्दीमा बोल्छन्, त्यही हिन्दीलाई राष्ट्रिय मान्यता दिलाउन पहल गर्छन् ।’ हिन्दी सम्पर्क भाषा भएकाले कसैले प्रयोग गर्नुलाई अन्यथा ठान्न नहुने धारणा राख्दै रामावतारले भने, ‘यसको अर्थ मैथिली, भोजपुरीहरूलाई पछि पारिनु पनि हुँदैन ।’
नेपालमा नेपालीपछि बढी जनसंख्याले बोल्ने भाषा हो– मैथिली । राष्ट्रिय जनगणना, २०६८ का अनुसार नेपालीभाषी ४४.६ र मैथिलीभाषी ११.७ प्रतिशत छन् । कापडी भन्छन्, ‘त्यति बेला आन्दोलनरत मधेसवादी दलले मातृभाषा हिन्दी लेखाउन उर्दी जारी गरेका थिए ।’ जनगणनाअनुसार हिन्दभाषी ०.३ प्रतिशत अर्थात् ७७ हजार ५ सय ६९ जना छन् ।
‘मैथिली भाषा इसापूर्वको हो । तर, विडम्बना, २१ औं शताब्दीमा हामी पहिचानको आन्दोलन गरिरहेका छौं,’ कापडीले भने, ‘यसको मुख्य कारण बाहिरिया प्रभाव हो । हिन्दीको हैकम र नेपालीको एकलौटीपना हो ।’
समृद्ध संस्कृति
भाषा–साहित्यमा मात्र होइन, कला–संस्कृतिमा पनि मैथिली र मिथिला अग्रणी छन् । मैथिलीमा जन्मदेखि मृत्युसम्मका संस्कारमा गाइने लोकगीत यथा: सोहर, वधैया, पमरिया, गोसाञुनिक गीत, मुण्डन, चूडाकर्म, विवाह, बटगमनी, फागु, चैतावर, झुला, समदाओनलगायत प्रसिद्ध छन् । प्रा. कापडी भन्छन्, ‘मिथिलाका भोजनमा यथा: चुडा, दही, दाल, भात, तरकारी, तरुवा (पकौडा), बड, बडी, पान, मखाना, माछा आदि प्रमुख छन् ।’
मिथिला चित्रकला विश्वमै प्रख्यात छ । यो कला पुस्तान्तरण हँुदै आएको छ । स्थानीय उत्पादन तथा सीपमा आधारित मिथिला चित्रकला अचेल देशी–विदेशी हवाई अड्डादेखि होटल रेस्टुरेन्टमा देख्न सकिन्छ । जनकपुरमा अचेल आधा दर्जन संघ–संस्थाले मिथिला चित्रकला उत्पादन गर्ने गरेका छन् । यसमा सयौं महिला कलाकार सक्रिय छन् ।

पर्खाइ पहिचानको
ब्रिटिस–इन्डियाकालीन भाषाशास्त्री जर्ज अब्राहम ग्रियर्सनले सन् १८८० मा मैथिलीको सूक्ष्म भाषा वैज्ञानिक अध्ययन गरेका थिए । उनले मैथिलीकै ७ वटा व्याकरण लेखे । त्यसअघि यसलाई बंगाली र हिन्दीका शाखाका रूपमा दाबी गर्ने जमात ठूलै थियो । त्यसलाई ग्रियर्सनले मिथ्या साबित गराइदिए । उनले भने, ‘मैथिलीको भाषिका, लिपि, साहित्य हरेक गुण छ । यो आफैंमा समृद्ध अस्तित्वको र प्राचीन हैसियतको भाषा हो ।’
भाषा विज्ञ तथा साहित्यकार रामभरोस कापडी ‘भ्रमर’ मैथिली भाषा अधोगतिमा जानुको मुख्य कारण ‘अपसंस्कृतिको बोध’ ठान्छन् । ‘भारतमा अहिले पनि पाठ्यक्रमा राख्न करोडौं मैथिलीभाषी कराइरहेका छन् । नेपालमा यसको पढाइ त छ’, उनले भने, ‘तर, विद्यार्थी घट्दै गएका छन् । मैथिली ग्रन्थहरू पढ्ने संस्कृति छैन । जो लेखक हुन्छ, उसैले किन्छ । यसमा रोजगारको अवसर नि छैन । पढेर के गर्ने भन्ने चिन्ता छ । लोकसेवामा पनि मैथिलीलाई मान्यता छैन ।’
त्रिभुवन विश्वविद्यालयले २०३८ सालदेखि मैथिली केन्द्रीय विभाग मिथिला क्षेत्रको जनकपुरस्थित रामसागर रामस्वरूप बहुमुखी क्याम्पसमा स्थापना गरेको छ । त्यहाँबाट धेरै जना मैथिली भाषामा दीक्षित भइसकेका छन् । हाल उक्त विभागमा ६ शिक्षक कार्यरत छन् । स्नातकोत्तर प्रथम वर्षमा १३ र द्वितीय वर्षमा २४ विद्यार्थी अध्ययनरत छन् । तीन वर्षअघिसम्म स्नातकोत्तरमा १ सय ५० विद्यार्थीसम्म पढ्थे । संख्या बर्सेनि घट्दो छ ।
केन्द्रीय विभागकी प्रमुख डा. श्यामा महतो मैथिली भाषाको विकास हुन नसक्नुमा देशको शिक्षा नीतिलाई मुख्य दोषी देख्छिन् । ‘प्राथमिक शिक्षा मातृभाषा (मैथिली) मा दिनु र्ने हो । तर छैन । प्लस टु (११–१२) निजी कलेजलाई दिइएको छ । तिनले यसको प्रवद्र्धनभन्दा व्यापार हेर्छन्,’ उनले भनिन्, ‘तल्लो तहमै उत्पादन नभएपछि स्नातक र स्नातकोत्तरमा विद्यार्थी कहाँबाट आऊन् ?’
रामभरोसका अनुसार मैथिली भाषा लेख्य स्वरूपमा कम प्रयोग हुनुको मुख्य कारणमा व्याकरणिक जटिलता पनि हो । ‘लेखेर दियो भने बुझ्न गाह्रो छ । जसरी लेखिन्छ, अर्कै उच्चारणमा बोलिन्छ । यो पक्ष सुधार्न हामीले भाषा वैज्ञानिकहरूको पटक–पटक ध्यानाकर्षण गरेका छौं,’ उनले थपे ।
भारतको संविधानको आठौं अनुसूचीमा मैथिली भाषालाई सूचीकृत गरिएको छ । नेपालमा पनि संविधानकै अनुसूचीमा यसलाई राख्नुपर्ने मैथिल अधिकारकर्मीहरूको माग छ । मिथिला राज्य संघर्ष समितिका अध्यक्षसमेत रहेका परमेश्वरले भने, ‘मैथिली हाम्रा लागि अस्मिताको पहिचान र स्वायत्तताको बोध हो । पहिला एउटै भाषा, एउटै भेष ठूलो बन्धन थियो । त्यसलाई संविधानले फुकाएको त छ, तर मैथिलीलाई जुन पहिचान दिनुपर्ने हो, त्यसमा कन्जुस्याइँ गरेको छ ।’
बल्ल आयो बेला
देश संघीयतामा गएको छ । पहिचानको राजनीति गर्मिएको छ । संविधानले समावेशिता र पिछडिएकाको उत्थानलाई प्राथमिकता दिएको छ । त्यसअनुसार राज्य संयन्त्रहरूको सोच बदलिएको छ । ‘अब प्रादेशिक सरकार बन्दै छन् । प्रदेश २ का ८ मध्ये साढे ५ जिल्ला मैथिलीभाषी छन् । अब यसको प्रवद्र्धनमा केही गुन्जायस हुन सक्छ,’ रामभरोसले भरोसा जनाए, ‘संविधानले भाषा आयोग बनाएको छ । सरकारको ध्यान यता गयो भने अवसर अब आएको छ । पहिचानको बेला भएको छ ।’
रामावतार पनि समय बदलिएको देख्छन् । अब रोइकराइ गरेर माग्ने होइन, आफैंले झिकेर लिने बेला आएको ठान्छन् । ‘पहिला मैथिलीलाई संकोच लागेर मिथिला भन्थे, अब सबैले नि:संकोच मैथिली भन्न थालेका छन् । बिस्तारै एकरङ्गी नेपालको कल्पना अदूरदर्शी थियो भन्ने पुष्टि भइसकेको छ,’ उनले भने, ‘असल समावेशिता संविधानको परिकल्पना हो । यसको इमानदार कार्यान्वयन नै मैथिली भाषाको प्रवद्र्धनको आधार हो । त्यसमा आशा गर्न सकिन्छ ।’
पछिल्ला प्रगतिका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानले मैथिली शब्दकोश निकालेको छ । जनकपुरमा स्थापित राजर्षि जनक विश्वविद्यालयको ऐनमा स्थानीय कला, संस्कृति र मैथिली भाषाको संवद्र्धन गर्नुलाई एउटा उद्देश्य राखिएको छ । यी पहलका लागि धन्यवाद दिँदै उनले थपे, ‘अब भागेर वा टारेर जाने ठाउँ छैन । मुलुकले बनाएको ऐनामा आफ्नो अनुहार हेर्ने सबैको चाहना छ । कसैलाई पछि पारेर मख्ख पर्ने जमाना छैन । मैथिली भाषाले पनि अब अवश्य हैसियतअनुसारको पहिचान पाउनुपर्छ, पाउनेछ ।’
https://www.kantipurdaily.com/feature/2017/12/16/20171216094809.html
ليست هناك تعليقات:
إرسال تعليق