कतै तपाई पनि त ठगिनु भएको छैन ?

कतै तपाई पनि त ठगिनु भएको छैन ?
रञ्जन भण्डारी
सदरमुकाम जलेश्वर अधिकांश कार्यालयहरु भएको ठाउ यहा सरकारी पचास भन्दा माथी र गैरसरकारी सयौ कार्यालय रहेको छ । यतिको कार्यालय हुदा काम पनि यहा धेरै हुन्छ र कामसंगै भ्रष्टाचार पनि हुन्छ । किन हुन्छ त भ्रष्टाचार ? को छन दोषी ? र भ्रष्टाचार निर्मुल कसरी गर्ने त ? प्रथमत हामी यसमा विचार गर्नु पर्ने आवश्यक छ ।
नागरिकता बनाउने,पासपोर्ट बनाउने,जमिन नामसारी ,रजिष्ट्री,जग्गाको नक्सा निकाल्ने आदी काम प्राय हामीसवैले गर्ने गरेका छौ । यी कामहरुको लागि सरकारले सेवा वापतको रकम निर्धारण गरेको प्राय सवैलाई विदितै छ । हामी दुरुस्त कागजात र समयको अभावमा यी कामहरु गराउन खोज्दा भ्रष्टाचारीहरुको चपेटामा पर्ने गरेका छौ । हामीले देखाएको कागजात एवं काम छिटो गराउन हामीमा देखिएको व्यग्रताको फाईदा भने त्यसता व्यक्ति लिन खोज्छन र हामीसंग काम गरिदिए वापत केहि धनको आश गर्छन । यहि धनलिने कार्य भ्रष्टाचार हो र लिने व्यक्ति भ्रष्टाचारी ।
उपभोक्ताहरु जिम्मेवार नभईदिनु ,कागजात दुरुस्त नराख्नु,तुरुन्त सेवा लिन खोज्नु र सम्बन्धित काम कसरी र कहा गर्ने भन्ने जानकारीको अभावमा यस्ता भ्रष्टाचारीहरुको टारगेटमा पर्ने गर्छन । यसको सुरुवात भनेयस्ता कामहरुमा सहयोग गर्ने लेखापढी व्यवसायीहरुबाट नै हुन्छ । लेखापढी व्यवसायीले तपाईको फाईलमा गल्तीहरु देखाउन थाल्छन र सो गल्ती भित्र गएर मिलाईदिने भन्दै कर्मचारीलाई केहि दिनु पर्छ भन्दै रकम मांग गर्छन । यहा एउटा थप समस्या छ कर्मचारीले विभिन्न कारणले सिधै तपाईसंग पैसाको डिमाण्ड नगर्ने तर तपाईको काम समेत थाती राखिदिने हुनाले वाध्यतावश तपाईलाई यिनको सहारा लिनै पर्ने हुन्छ र सुरु हुन्छ पैसाको खेल ।
उदाहरणका लागि मालपोतको कुरा गरौ । तपाई जग्गा किन्दै हुनुहुन्छ र सो को लागि मालपोत पुग्नु भयो । जिल्ला मालपोत कार्यालय महोत्तरी परिसरमा रहेको लेखापढी व्यवसायीले प्रत्येक कामको दर रेट तोकेको छ जस्तै रजिष्ट्रेशनको रु ८१५,दृष्टीबन्धक,दाखिला खारेज र नामसारीको रु.५१५,अंशवंडाको रु २०१५,कपाली तमसुकको रु सय र सटटापटटको रु दुई हजार तर सो दर रेटको चार्ट कुनै लेखापढी व्यवसायीले उपभोक्तालाई देखिने गरि राखेका हुदैनन । यहा तपाईलाई कार्यालय भित्र धेरै कामको चाप रहेको र तपाईको काम हुन ढिलो हुन सक्ने भन्दै आफुसंग रहेको सहायक वा आफै तपाईको काम गराईदिने र भित्र प्राय सवै कर्मचारीसंग आफ्नो सम्बन्ध रहेको बताउदै  थप पैसा मांग्छन । यहा तपाई राजी हुनु भयो भने भित्र तपाईले थोरै खर्च गरे पुग्छ नभए दान पेटीमा पैसा दान गरे जस्तै यहावाट चढावा चढाउदै जानुस । प्रथमत तपाईको मोठ खोज्नु पर्ने हुन्छ तर त्यहा सहयोगीको संख्या कम छ र काम धेरै अव के गर्नु हुन्छ काम गराउनु छ भने केहि भेटी त्यहा नचढाए प्रतिक्षामा वस्नुस । सो पछि मोठ भिराउनलाई समेत केहि त हुनुपर्र्यो नि हैन र ? यि दुई काम सकेर कम्प्युटर रुममा सो जग्गा अरुकसैले समेत हकभोग गरेको छ लगायतका वारे विश्वस्त हुन थप केहि उहालाई समेत दिनुस । सो पछि प्रत्येक टेबलमा भोज वापत वाडदै जादा वाहिर तपाईको लेखापढी व्यवसायीले मांग गरेको भन्दा महगों पर्छ । भोज खाने नाममा तपाईसंग केहि रकम भने लिएरै छाड्छन दिनुहुन्न भने एकदिनमा हुने कामको लागि दुई तिन दिन सम्म दुगुर्नु पर्ने वाध्यता समेत रहेको हुन्छ हामीसंग ।  राम्रो काम हुने दिनमा रजिष्ट्रेसन,दृष्टीबन्धक,दाखिल खारेज,नामसारी,अंशवण्डा,कपाली तम्सुक लगायतका सवै काम मिलाई सय जति हुन्छ मालपोतमा र एकाध सवै कागजात दुरुस्त पेश गर्ने र काम नगरे प्रतिवाद गर्न सकने व्यक्ती वाहेक सवैसंग हजार देखि तिन हजारसम्म तोकेको रकम भन्दा वढी लिईएको पाईन्छ । अर्थात यस्तो ठाउमा एकलाख देखि तिनलाखसम्म वाहिरी कमाई गर्छन । यस्तै जिल्ला प्रसासन कार्यालयमा समेत नागरिकतामा उमेर घटाउने ,बढाउने,राहदानी लिन अपुग कागजात मिलाउन देखि लिएर कार्यालयमा प्रवेश गर्ने अधिकांश सेवाग्राहीले चढावा दिनै पर्छ । यी दुवै र अन्य कार्यालयमा समेत समानता भनेको तपाईमा केहि न केहि कमजोरी हो जसको यिनले भरपुर फाईदा उठाउछन । यहा कमजोरीको अर्थ माथी उल्लेखित मात्र नभई तपाईमा म घुस दिन्न जे गर्नु पर्छ जुन कागजात ल्याउनु पर्छ त्यो ल्याउछु भन्ने आट र आत्मविश्वास नहुनु हो । हामीले चाहे भने एक दिनमा भ्रष्टाचार समाप्त गर्न सक्छौ तर हामी आट गर्दैनौ किनकी अधिकांश ठाउमा हामी समेत गलत हुने गरेका छौ ।
भ्रष्टाचारको अर्को अखाडा भन्सारलाई लिन सकिन्छ । सिमाक्षेत्रमा वसोवास गर्ने अधिकांश नागरिक,व्यापारी सवै भारतवाट घरेलु तथा व्यापारिक प्रयोजन आदीको लागि सामानहरु ल्याउने गरेका छौ तर सो ल्याए वापत भन्सार नै नकटाई गेटमै थोरै पैसा दिएर सामान भित्रयाउन खोज्छौ । यहापनि गेटमा वस्ने देखि लिएर भित्रसम्मको सवैले केहि न केहि लाभ पाउछ । सुचना यहा पनि लुकाईन्छ कुन सामानको भन्सार महसुल कति हो को  जानकारी गेटमा हुदैन कि त जानकारी लिन भित्र जानुस हामी यहा पनि कन्जुस्याई गर्छौ र झन्झट कसले वेहोर्छ भनि गेटमै कुरा मिलाउछौ ।
जिल्ला विकासको हकमा जिल्ला भरीका योजना निर्माण देखि कार्यान्वयन यहिवाट हुने हो र करोडौ अरवौको योजना आफ्नो हात पार्न नजराना स्वरुप सो योजनामा लाग्ने रकमको केहि  प्रतिशत जसलाई पिसी भन्ने गरिन्छ सो हामी भेटी चढाउछौ अनि कसरी नहोस भ्रष्टाचार । विभिन्न तालिम,गोष्ठी,सभा आदी सम्पन्न गर्न लाग्ने रकम वारे हरेक सर्वसाधारणले जान्ने हक छ तर सो कार्यक्रममा उपस्थित हुनेले समेत वजेट सार्वजनिक गर्न मांग गर्दैनन । प्रहरीमा मुद्दा फाटमा काम लिन ठुला वडा हाकिमलाई समेत नजराना दिईन्छ र केस मिलाउने,समाप्त गर्ने लगायतको विभिन्न कार्यको लागि मोटो रकम मांग गरिन्छ यहा समेत केहि यस्ता काम गराईदिने मानिसहरुको उठवस भने हुन्छ  । गैरसरकारी संघसंस्थामा समेत अधिकांशले कागजमै काम मिलाएर दाताहरुसंग  रकम निकासा गराएको उदाहरण एक खोज्दा हजार भेटिन्छ । हाम्रा केहि  गाविस सचिवहरु पैसाको लागि जेठो दाईको उमेर कान्छो भन्दा कम गर्न समेत पछि पर्दैनन । या भनौ भारतिय नागरिकलाई नेपाली नागरिक बनाउन सिफारिस समेत गरेको तिन देखि चार वटा मुद्दा त गत वर्ष नै भेटियो ।
यहा भ्रष्टाचार निर्मुल गर्न पहल भने नभएको हैन वेला वेलामा अख्तियार,जिल्ला प्रसासन कार्यालय लगायतका सरोकारवाला निकायले प्रयास गरेकै हुन तर त्यो प्रभावकारी हुन नसकदा,आरोपी धरौटीमा वा विना कार्यवाही कै उम्किने गर्छन । जसले उनको हौषला झन वढछ र उनी यस्ता कार्यमा झन लिप्त हुन्छन ।
अहिले भ्रष्टाचारकै कारण महोत्तरी लगायत देश नै आक्रान्त वनेको अवस्था छ । यसले आपराधिक गतिविधि,महंगाई र समाजलाई नै कलंकित गरिरहेको अवस्थामा यसको विकल्प अनिवार्य छ । जसको पहल आफैवाट गर्नु पर्ने हुन्छ । हामीले साना साना लाभको लागि देशलाई अन्धकारमा धकेलिरहेका छौ ।  हाम्रो गल्ती नहुदा समेत भ्रष्टाचारीहरुलाई प्रश्रय दिईरहेका हुन्छौ  भ्रष्टाचारका कारण समाज,देश सवै ठाउमा विकृती फैलिदै छ ।
मालपोत,जिल्ला प्रसासन,भन्सार लगायतका सवै सार्वजनिक निकाय,गैरसरकारी कार्यलयहरुमा कागजात दुरुस्त पारेर जाउ ,सरकारले तोकेको भन्दा वढी पैसा नदिउ,हरेक योजना,कार्यक्रम,गोष्ठी र सेमिनारहरुमा जादा वजेट देखाउन मांग गरौ । सुचनाको हकको सहि प्रयोग गरि शंकास्पद कार्यलय,राजनितिकदल लगायतका सवैसंग सुचना मागौं । भ्रष्टाचारीलाई समाजवाट वहिस्कार गरेर भ्रष्टाचारमुक्त समाजको निर्माण गरौ । आफूमै दृढ संकल्प गरौ जस्तो सुकै परिस्थितिमा हामी अडिग रहन्छौ र पैसा लिएर काम गर्नेहरुको विरोध गर्छौ । यिनीहरु माथी औला उठाउदा औला आफुतिर पनि देखिन्छ । त्यसैले प्रथमत हामीले आफुमा नै सुधार गर्नु पर्ने हुन्छ । कुनै कार्यालयमा काम गराउन जादा सवै थोक दुरुस्त भएर पनि भोज माग्यो भने भ्रष्टाचार विरुद्ध आवाज उठाऔ किनकी पैसा रुखमा फल्दैन ।

निर्णय कार्यान्वय नहुदै मर्कामा पर्न थाले सेवाग्राही

निर्णय कार्यान्वय नहुदै मर्कामा पर्न थाले सेवाग्राही
महोत्तरी समाचारदाता
जलेश्वर, फागुन ४ गते । नेपाल सरकार मन्त्रिपरिषदले असोज १ गते जिल्लाको दुई गाविस सुगाभवानीपट्टी र फुल्हट्टा परिकौलीलाई जलेश्वर नगरपालिकामा गाँभ्ने निर्णय भएपनि कार्यान्वयनमा नआउँदै मालपोत कार्यालय महोत्तरीले नगरपालिका सरहकै राजश्व उठाउन थालेपछि स्थानीयहरु मर्कामा पर्न थालेका छन् ।
चार महिना अघि यी दुई गाविसलाई नगरपालिकामा गाँभ्ने निर्णय भएपनि ६ महिनादेखि मधेशमा जारी आन्दोलनको कारण निर्णय कार्यान्वयन हुन सकेको   छैन् । अहिले पनि यी दुवै गाविसले नागरिकता सिफारिस, जग्गाको घर कट्टीसहित विभिन्न किसिमका पञ्जीकरणका कामहरु गाउँस्तरमै गरिरहेका छन् । तर जलेश्वर नगरपालिकाको लापरवाहीको कारण मालपोत कार्यालयले जग्गा नामसारीको टिप्पणीमा पाँचसय रुपैया राजश्व उल्लेख गरेपनि रसिद भने हजार रुपैया तिर्नु पर्दा सर्वसाधारण आक्रोशित हुन थालेका छन् ।
सुगा गाविस ७ बस्ने अनिता देवीलाई जग्गा नामसारीमा मालपोत कार्यालयका प्रशासन फाँटका नायव सुब्बा रामकृष्ण पण्डितले टिप्पणी उठाउँदा ५ सय मात्रै राजश्व तिर्ने गरी सिफारिस गर्नुभएपनि कार्यालयका राजश्व फाँटले भने नगरपालिकामा भएको भन्दै एकहजारको रसिद काँटेको थियो । पिडित अनिता देवीले भन्नुभयो, ‘टिप्पणी अनुसारकै राजश्व काटनुपर्ने भन्दा भन्दै पनि फाँटबालाले नगरपालिकामा भन्दै एकहजारको रसिद काटिदिनुभयो । नतिरेर सुखै पाईन् ।’
यसरी अनाहकमा थप राजश्व तिर्ने अनिता एक्ली होइनन् । मालपोत कार्यालय खुले लगत्तै जग्गादर्ता नामसारी गर्न जाने सर्वसाधारणहरुलाई मालपोतमा अहिले यस्तै समस्या भोग्नु परिरहेको छ ।
‘नगरपालिका सरहको सेवासुविधा पाईएन, राजश्व भने नगरपालिका सरह नै तिर्नु प¥या छ ।’ अनिताले भनिन्, ‘जलेश्वर नगरपालिकाको लापरवाही र मालपोत कार्यालयको यो सरासर वदमासी हो ।’
त्यसै गरी सुगाका अवधेश ठाकुरले भन्नुभयो, ‘सिफारिस गर्न जाँदा जलेश्वर नगरपालिकाले गाविसले वुझवुझारथ नगरेको भन्दै सिफारिस गर्न मान्दैन्, मालपोतले भने नगरपालिका सरहको राजश्व नै असुलेपछि हामी मर्कामा परेका  छौं ।’
मालपोत कार्यालयका कर्मचारी फाँटका नायव सुब्बा पण्डितले नगरपालिकाले आधिकारिक जानकारी नदिएको कारणले हामीले टिप्पणी उठाँउदा गाविसकै राजश्व काटनुपर्ने वाध्यता रहेको वताउनुहुदै भन्नुभयो, ‘एक हजार रसिद काटेको बारे राजश्व फाँटसंग सोध्न भन्नुभयो ।’ 
‘हामीले गाविस सरह नै टिप्पणी उठाएर काम गर्दै आएका छौं तर एक हजार उठाए न उठाए बारे राजश्व फाँटलाई नै थाहा होला’ पण्डितले भन्नुभयो ।
यता, राजश्व फाँटका कर्मचारी रमेश राईले महालेखा परिक्षकले मन्त्रिपरिषदको निर्णयले गाविस नगरपालिकामा गाभिसकिएकोले नगरपालिका अनुसार राजश्व लिन सकिने भनेपछि आफुले सोही अनुसारको राजश्व काटेको जानकारी दिनुभयो । 
जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत चन्द्रशेखर शर्माले नगरपालिकामा गाभिएका सुगा र परिकौली दुवैका जनताको कामकाज गरिरहेको दावी गर्नुभयो । उहाँले दुवै गाविसले वुझवुझारथ नगरेपनि कामकाज भने गरिरहेको उहाँको कथन थियो । तर दर्ता चलानी फाँटका कर्मचारीले सुगाको अहिलेसम्म कुनै सिफारिसको चलानी नगरेको जानकारी दिनुभयो ।
स्थानीयहरुले जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत शर्माकै लापरवाहीको कारणले गाविस सचिवलगायतका पदाधिकारीहरुले वुझवुझारथ नगरी आलटाल गरिरहेको आरोप लगाउँछन् ।



एसएसबीको कुटपिटले एक नेपाली युवक घाईते

एसएसबीको कुटपिटले एक नेपाली युवक घाईते
महोत्तरी समाचारदाता
जलेश्वर, फागुन ४ गते । महोत्तरी जिल्लाको सिमानाका मधवापुरमा सोमबार साँझ भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले जिल्लाको पर्सापतैली गाविसका एक युवकलाई कुटपिट गरी गम्भिर घाईते बनाएका छन् ।
पर्सापतैली गाविस वडानं. ४ बस्ने अमित शर्मालाई भारतको मधवापुरबाट दिदीको बिहेको लागि साडीसहितका कपडा ल्याउँदै गर्दा एसएसबीले बुट र बन्दुकको कुन्दाले कुटपिट गरी गम्भिर बनाएका हुन् । कुटपिटका कारण शर्मा पटक पटक रगत वान्ता गरिरहनुभएको छ ।
घटनाको सुचना पाएर सिमानाका मटिहानीस्थित रहेका नेपाल प्रहरीका ईन्सपेक्टरसहितको टोलीले तत्कालै उद्धार गरी शर्मालाई मधवापुरकै डाक्टर एसपी ठाकुरको क्लिनिकमा लग्नुभएको थियो । 
घाईते शर्मालाई एसएसबीले पिठयुँ, टाउकोसहितको शरिरको विभिन्न भागमा विनासित्ती कुटपिट गरेको पिडितका परिवारजनले आरोप लगाउनुभएको  छ ।
मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मी नारायण विद्यापिठको उत्तरमध्यमा (ईन्टर) तहमा अध्ययनरत उहाँ दिदीको विवाहका लागि भारतीय बजार मधवापुरबाट सोमबार साँझ साडीलगायतका कपडा लिएर आउँदै गर्दा मटिहानी– ७ स्थित २ नम्वर वोर्डरमा खटिएका भारतीय एसएसबीका जवानले केही नभनिकनै वुट र बन्दुकको कुन्दाले निर्घात कुटपिट गरेको जनाईएको छ । 
नेपाल प्रहरीले तत्कालै सो घटनाबारे भारतीय एसएसबीको क्याम्पमा गएर जानकारी गराएको थियो । जानकारी पाएपछि मंगलबार बिहानै भारतीय एसएसबी जयनगरका डिएसपी पियुस सिन्हा मधवापुर आउनुभएर युवक शर्माको उपचारमा लाग्ने खर्च व्यवस्था गर्ने जानकारी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट सुरक्षाकर्मीको टोली मधवापुर पुगेर एसएसबीसँग घटनाको कारणबारे छलफल गरेको वताउनुहुदै प्रहरी उपरिक्षक जनक भट्टराईले घटना भारतीय भूमिमा भएकोले अनुसन्धान गर्न नमिल्ने भएकोले निवेदनलाई गृहमन्त्रालयमा पठाउने जानकारी दिनुभयो । 
महोत्तरी जिल्लाको विभिन्न सिमानाका भारतीय बजारमा विवाह, मरणहरनको सामग्री ल्याउँदा भारतीय एसएसबीले ल्याउने दिने गरेपछि केही महिनादेखिको मधेश बन्दले अतिरिक्त कमाउँदै आएका उनीहरुले त्यसैको लोभमा कुटपिट गरेको हुन सक्ने स्थानीयहरुको वुझाई छ । 

युवाहरु ई रिक्सा (विद्युतिय रिक्सा) किनेर स्वआर्जन गर्दै

युवाहरु ई रिक्सा (विद्युतिय रिक्सा) किनेर स्वआर्जन गर्दै
महोत्तरी समाचारदाता
जलेश्वर, फागुन ३ गते । वैदेशिक रोजगारबाट आएका युवाहरु अहिले आफ्नै गाउँ ठाउँमै आएर स्वरोजगार गर्न तर्फ आकर्षित हुन थालेका छन् । यी युवाहरुलाई स्वरोजगारको गतिलो माध्यम अहिले ई रिक्सा (विद्युतिय रिक्सा) बन्न थालेको छ ।
वैदेशिक रोजगारमा गएर हाड घोटेर मेहनत गर्नुभन्दा यही घर परिवारसंगै बसेर आरामका साथ स्वरोजगार गर्न युवाहरु अगाडी बढेका  हुन् ।
करिब ६ महिना लामो वन्दी र नाकावन्दीको क्रममा मात्रै एकदर्जन भन्दा बढी वैदेशिक रोजगारबाट फर्केका युवाहरुले ई रिक्सा किनेर वन्दमा स्थानीयहरुलाई सहज गरेका थिए । वन्दको क्रममा ई रिक्सालाई भने आवतजावतमा केही सहज गरिएको थियो ।
जिल्लाको सुगाभवानीपट्टी वडानं. ५ का २४ वर्षिय पवन महतो वैदेशिक रोजगारको सिलसिलामा कतारमा दुई वर्ष काम गरेर फिर्नु भएको हो । रात दिन मेहनत गरेपनि सोचे अनुसारको सफलता नमिलेपछि उहाँले अब फेरी तत्कालको लागि विदेश नजाने निर्णय गर्नुहुदै स्वरोजगारको लागि ई रिक्सा किनेर अहिले चलाई रहनुभएको छ ।
सुगाभवानीपट्टी वडानं. ५ का २४ वर्षिय पवन महतो
त्यसैगरी जलेश्वर नगरपालिका वडानं. ५ का २५ वर्षिय युवा मुन्ना पासमान पनि कतारमा अढाई वर्ष काम गरेर फिर्ता हुनुभएको हो । कतारमा लेवरको काम गरेर १४ देखि १५ हजार बचाउने गरेका उहाँले त्यहाँको कमाई र घरपरिवारदेखि टाढा हुँदा पाएको दुःखलाई विर्सने कोशिश गर्नुहुदै ई रिक्सा किनेर यसमै रमाउन थाल्नुभएको छ ।
यी दुई जना बाहेक अहिले सदरमुकाम जलेश्वरमा डेढ दर्जन युवाहरुले ई रिक्सा किनेर यसमै रमाईरहनु भएको छ ।
ई रिक्सामै रमाईरहनुभएका पवनले भन्नुभयो, ‘विदेशमा दिनरात मेहनत गरेर पनि ऋण चुकाउन सकिएन्, त्यही भएर पुनः विदेश नजाने निर्णय गरेर यही आफ्नै काम गरिरहेको छु ।’
विदेश गएपछि घर, परिवारमा केही भएपनि आउन नसकिने, विरामी भईयो भने कसैले पनि हेरचाह गर्न नसक्ने, दिनरात मेहनत गर्नुपर्ने वताउनुहुदै उहाँले त्यहाँ (विदेश) भन्दा यहाँ नै हजार गुणा राम्रो भएको बताउनुभयो । यहाँ दैनिक सिजन अनुसार हजारदेखि माथि कमाउन सकिने र घर परिवारसंगै हुनाले धेरै राम्रो भएको वताउनुभयो ।
कतारमा लेवरको काम गरेर १४ देखि १५ हजार बचाउने गर्नुभएका मुन्ना पासमान अहिले स्वदेशमै ३० हजारको हाराहारीमा मासिक कमाई रहेको वताउनुभयो । उहाँले भन्नुभयो, ‘जसमध्ये करिब २० हजार मासिक ऋण तिर्ने काममा खर्च हुन्छ भने बाँकीले घरपरिवार चलाउछु, यहाँ आनन्दै आनन्द छ ।’
ई रिक्सामा कमाई राम्रो भएपनि ई रिक्साको महंगो मुल्य, साहुको चर्को व्याज र खराव सडकले भने वचत चाहिए जति हुन नसकेको युवा पवनको गुनासो छ । एकपल्ट पुरा चार्ज गरेपछि यो सडकमा ४० किलोमिटरसम्म गुडाउन सकिने बताउनुहुदै उहाँले सडक राम्रो भईदिई ८० किलोमिटरसम्म जान सकिने र कमाई पनि राम्रो हुने जानकारी दिनुभयो ।
त्यसैगरी सुगाभवानीपट्टी वडानं. ५ बस्ने भोला ठाकुरले कतार पुगेको केही दिनमै स्वास्थ्यको समस्या देखाउदै आफुलाई फिर्ता पठाएको जानकारी दिनुहुदै अहिले पनि यही ई रिक्सा चलाएर परिवारसंग खुशी साथ रहेको बताउनुभयो ।
उहाँले विदेश यहाँ सोचेभन्दा बढी फरक रहेको बताउनुहुदै विदेशमा गर्ने श्रम भन्दा यहाँ आधा मात्रै गर्ने हो भने राम्रो कमाउन सक्ने बताउनुहुदै यहाँ वन्द, हडताल तथा आफुहरुको स्वरोजगारमा प्रशासनले दुःख नदिए यही राम्रो भएको बताउनुभयो ।
नेपालमै सवैभन्दा वढी विदेसिने युवाहरुको दोस्रो जिल्लाको रुपमा परिचित महोत्तरीका युवाहरुले वन्द, हडतालबाट देशलाई सदाकोलागि वन्द गर्नुपर्ने बताउनुहुदै स्वरोजगार गरे विदेश जानुनपर्ने सन्देश सबैलाई दिने गरेको बताउनुहुन्छ ।

फोटो समाचार

फोटो समाचार
मधेश आन्दोलन सकिएसंगै विभिन्न कार्यालयहरुमा सेवाग्राहीको भिड बढेको छ । यही क्रममा नेपाल विद्युत प्राधिकरण जलेश्वर शाखाले साउनदेखि हालसम्मको एकमुष्ट महसुलमा तिन प्रतिशत छुट दिने जनाएपछि अहिले सेवाग्राहीको भिड थाम्नै नसक्ने गरी बढेको छ । विद्युत प्राधिकरण जलेश्वर शाखाका कार्यालय प्रमुख सूर्यनारायण मण्डल अहिले आफै महसुल वुझने काउन्टरमा विहान ७ बजेदेखि साँझसम्म खटिदै आउनुभएको छ । पहिला निरन्तर दैनिक २ सयदेखि ३ सय सेवाग्राही आउने गरेकोमा एकमुष्ट तिन प्रतिशत छुट पाउनेभएपछि दैनिक १ हजार ५ सयभन्दा बढी सेवाग्राहीहरु महसुल वुझाउदै आएका छन् । टोकन सिस्टमका कारण लाम लाग्नु नपर्नेभएपछि कतिजना टोकन लिएर गई पछि पनि आएर महसुल वुझाउने गरेका छन् ।
केही फोटोहरु ः
सेवाग्राहीहरु महसुल वुझाउन विद्युत प्राधिकरणमा ।
तस्वीर ः नागेन्द्रकुमार कर्ण÷महोत्तरी



राजेन्द्र महतोः काठमाडौंसँग प्रेम र घृणाको पहेली

राजेन्द्र महतोः काठमाडौंसँग प्रेम र घृणाको पहेली

'डाक्टर र सीडीयोको सपना छाडेर एयरपोर्टको ठेकेदार बनें'

२०७२ फागुन ३ गते १२:१४ मा प्रकाशित
Rajendra Mahato_2
राजकुमार श्रेष्ठ
३ फागुन, काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो काठमाडौंका लागि भारतीय फिल्मका ‘भिलेन’ अमरिस पुरीको नेपाली संस्करणजस्तै भएका छन् यतिबेला । ‘कभी खुशी, कभी गम’ भनेजस्तै उतार-चढावपूर्ण छ महतोको जीवनको भोगाइ ।
जब महतोले ‘काठमाडौंको दानापानी बन्द गर्छु’ भने उनको चर्को आलोचना भयो । मधेसी मोर्चाका अरु नेताहरु काठमाडौंमा वार्ता गरिरहँदा महतो वीरगञ्ज, बिराटनगर नाकामा धर्ना दिँदै हिँडेपछि महतो ‘भिलेन’ बने । र, उनको घरमा आक्रमणको प्रयाससमेत भयो ।
एकपटक विदेशीसँग भेट भयो । परिचय हुँदा मैले नेपाली त भन्नुपर्‍यो । अनि उ त मान्दै मान्दैन । तिमीजस्तो मान्छे दिल्ली एयरपोर्टमा देखेको, तेरो अनुहार त इण्डियन जस्तो छ भन्छ
तर, राजेन्द्र महतो र काठमाडौंको सम्वन्ध अहिले मात्र होइन, सुरुदेखि नै ‘हेट एण्ड लभ’जस्तै देखिँदै आएको छ ।
महतोलाई ०३२ सालमा डाक्टर बनाउने सपनासहित परिवारले काठमाडौं पठाएका थिए । तर, पहाडिया टोलमा जन्मेहुर्किएका उनले मलंगवामा पढ्दै विभेदको अनुभूति गरे जसका कारण उनले वकिल हुँदै न्यायाधीश बन्ने सपना साँच्न थाले ।
ल क्याम्पसबाट आईएल पास गरेपछि सिडियो हुँदा पनि राम्रै हुन्छ भनेर डिल्लीबजारस्थित जनप्रशासनमा भर्ना भए । बीएल र एमपीए पास गरेका महतो ‘ईख’कै कारण मधेसको राजनीतिमा होमिए ।
राजनीतिमा टर्निङ प्वाइन्ट
काठमाडौं आएपछि होस्टलमा बसेर पढेका महतो शनिबार-शनिबार नेताहरुको भाषण सुन्न हिँड्थे । कहिले चावहिल पुगेर वीपी कोइरालाको भाषण सुन्थे भने कहिले रामराजाप्रसाद सिंहलाई सुन्न डिल्लीबजार पुग्थे । तर, विद्यार्थी जीवनमा उनले सक्रिय राजनीति गरेनन् ।
महतोले विमानस्थलमा पोर्टरहरुको ठेक्का लिए र रातारात मधेसीहरुलाई विमानस्थलमा कामदारका रुपमा ल्याए
बरु ट्राभल एजेन्सी (दरबारमार्गको अन्नपूर्ण ट्राभल्स)मा जागिर आए, महिनाको ३५० रुपैयाँ तलव थियो । त्यही जागिरका क्रममा भएको एउटा घटनाले उनलाई राजनीतिमा तान्यो ।
महतो अनलाइनखबरसँग भन्छन्,- एकपटक विदेशीसँग भेट भयो । परिचय हुँदा मैले नेपाली त भन्नुपर्‍यो । अनि उ त मान्दै मान्दैन । तिमीजस्तो मान्छे दिल्ली एयरपोर्टमा देखेको, तेरो अनुहार त इण्डियन जस्तो छ भन्छ ।’
महतोले विगत सम्झिए- ‘मैले मेरो जस्तै अनुहार भएका यो देशको आधा मान्छे तराईमा छन् र तिनलाई मधेसी भन्छन् भनेँ, तर, ती विदेशीले मान्दै मानेनन् । अन्तिममा उनले पोर्टरहरुलाई देखाउँदै भने, खै त त्यहाँ तिम्रोजस्तो अनुहार भएका एकजना मान्छे छैन ?’
विमानस्थलमा त्यसबेला अहिलेजस्तो ट्रली नभई म्यानुअल थियो । पोर्टरहरुले सामान बोक्थे । र, त्यो जागिरमा स्थानीयबासी नै हुन्थे । ‘तँ नेपाली भएको भए तेरोअनुहार भएका अरु मान्छे यहाँ हुनुपथ्र्यो’ भन्ने विदेशीको तर्कले त्यसबेला महतोलाई घोत्ल्यायो ।
‘पहिलो पाइला यहीँ उत्रने, जो देख्यो त्यही नेपाली’ पञ्चायतमा पहाडी समुदायलाई मात्र नेपाली भन्ने गरेको स्मरण गर्दै राजेन्द्र महतोले भने-‘मधेसीको न अनुहार, न भेष, न भुषा, न धोती, न कुर्था केही नभएपछि विदेशीले त्यस्तो भन्नु आश्चर्यको कुरा भएन । मलाई त्यसबेला लाग्यो कि अब यसमा हात हाल्नुपर्छ ।’
र, ठेकेदार बने
त्यसपछि राजेन्द्र महतो विमानस्थलमा ठेकेदार बने । उनले विमानस्थलमा पोर्टरहरुको ठेक्का लिए र रातारात मधेसीहरुलाई विमानस्थलमा कामदारका रुपमा ल्याए । उनको यो कदम राजनीतिबाटै प्रेरित थियो ।
झण्डै दुई टर्म अर्थात ७/८ वर्ष उनले विमानस्थलमा ठेकेदारको काम गरे । राम्रै कमाइ भएको थियो भन्छन् महतो । तर, सुरुमा मधेसी अनुहारलाई विमानस्थलको पोर्टरमा त्यति सहज भने भएन ।
Rajendra-Mahato_OK
त्यसबेला ०४२ सालमा राजा महेन्द्रमाथि बम हानेको प्रकरणमा रामराजा सिंहको फैसला आएको थियो । ‘मधेसीहरुको कालो अनुहार देखेपछि एयरपोर्टमा इन्ट्री पास नै नदिने’ महतोले भन्छन्, ‘सबैलाई रामराजाको मान्छे ठानिन्थ्यो, मेरा पोर्टरहरुलाई पास नै दिएनन् ।’
महतोले गत असारमा मधेस आन्देालन सुरु गर्नु अघि काठमाडौंको दानापानी बन्छ गर्छु भनेका थिए । जसले उनको निकै आलोचना भयो । त्यसबेला मधेसीलाई पोर्टरमा काम लगाउन अफ्ठ्यारो पर्दा पनि उनले यस्तै कडा चेतावनी दिएका रहेछन् ।
महतोले उसबेलाको घटना सम्झँदै भने- ‘काठमाडौंमा मधेसीलाई लखेट्यो भने उनीहरुले पनि के-के गर्छन् भनेर म्यानेजरलाई भनेँ । र, बल्ल मेरा पोर्टरहरुले पास पाए । र, करिव ६/७ वर्ष पोर्टर सर्भिस चल्यो । त्यसक्रममा कार्गो म्यान हृयाण्डलिङको काम लिएर राम्रै कमाइ भएको थियो ।
गजेन्द्रनारायण सिंह र सद्भावना
काठमाडैं बसाइका क्रममा नै महतोको गजेन्द्रनारायण सिंहसँग चिनजान र भेटघाट बाक्लियो । सिंह कांग्रेसमै हुँदा बेलाबला न्यूरोड जान्थे र महतोले काम गर्ने ट्राभल एजेन्सीमा बस्थे ।
हर्कबहादुर गुरुङको आयोगले बसाइँ सराइ सम्वन्धी प्रतिवेदन बुझाउँदा नागरिकता नभएका कारण अधिकांश मधेसीलाई भारतीय भनेपछि गजेन्द्रनारायण सिंहले कांग्रेस छाडे । पञ्चायतमा पार्टी खोल्न नपाइने भएकाले उनले सदभावना परिषद गठन गरे, जुन ०४७ सालको परिर्वतनपछि सदभावना पार्टीमा परिणत भयो ।
महतो पनि सदभावना पार्टीमा आवद्ध भए र सक्रिय राजनीतिमा लागे । उनी अहिले सोही पार्टीको अध्यक्ष छन् ।
भारतीय आरोप र सफाइ
महतोमाथि भारतीय नागरिक भएको र कीर्ते गरेर नेपाली नागरिकता लिएको आरोप बेलाबेलामा लाग्ने गरेको छ । योपटक मधेस आन्दोलन उत्कृर्षमा पुगेका बेला सत्तारुढ एमालेसम्वद्ध युवा संघले नै सरकारसँग महतोको नागरिकता छानविन गर्न मागै गर्‍यो ।
तर, यो उनका लागि नौलो घटना रहेन । ०५१ मा धनपति आयोग बन्दा उनी पार्टीको तर्फबाट सदस्य बने । नागरिकताको कुरा उठाए । ‘नागरिकताका लागि सदभावना पार्टीले १८ वर्ष लड्यो र त्यो लडाइ मैले नै बढी लडेँ’ महतो भन्छन्, ‘जब नागरिकताको सवाल आउँथ्यो, म बोल्थेँ । अनि मलाई यो इण्डियन भनिन्थ्यो ।’
अहिलेको आरोप पनि त्यही हो भन्छन् महतो । ‘हाम्रा बाबुबाजे बाहुनक्षेत्रीजस्तो कुमाउ गढवालबाट आएका पनि होइनन्, धर्तीपुत्र हुन्’ महतो भन्छन्, ‘अढाइ सय वर्ष पहिले न नेपाल-भारत बन्यो, त्यसअघि नै बसिरहेका थिए मधेसी ।’
महतोका अनुसार उनका बुबा खोबारी महतो लेखन्दास थिए । नेपाल-भारत सीमाको त्रिभुवन नगरमा लेखन्दासको काम गर्थे । नेपालदेखि भारतसम्म व्यापार व्यवसाय पनि गरे । उनका दाइ दुई पटक गाउँको प्रधानपञ्च भए ।
महतो भन्छन्, मेरो गाउँको छेउमा एउटा ताल छ, नारीमन । त्यही तालको छेउको वस्तीमा मेरो जन्म भएको हो । धेरै पटक डाका लागेपछि त्यो नजिकै सरेको छ, जसलाई बबरगञ्ज भनिन्छ ।’
उनी जन्मिए हुर्केको टोलको नाम पहाडिया टोल थियो । धेरै मधेसी समुदाय भए पनि एकजना पहाडी समुदाय भएकाले उनकै नाममा टोलको नाम राखिएको रहेछ भन्ने आफूले पछि बुझेको उनले सुनाए ।
३२ वर्ष पहिले र अहिलेको काठमाडौं
महतो पहाडी समुदाय छ भन्ने बाल्यकालमा सुनेको र विभेद मलंगवामा मावि अध्ययन गर्दा देखेको बताउँछन् । ‘विद्यार्थी हुँदा मधेसी भनेर जिस्काउने, हेप्ने काम हुन्थ्योे’ काठमाडौं आएपछि विभेद आफैंले भोगेको र देखेको भन्दै उनले भने-बाटो हिँड्दा माथिबाट पानी खसाल्थे । धोती तान्नेदेखि धोती, इण्डियन के के भन्थ्यो भन्थ्यो ।’
योपालि म पेलेर संघर्षमा उत्रिएँ । साराले दुश्मनका रुपमा बुझे काठमाडौंमा मलाई
यही विभेद अन्त्य गर्छु भनेर राजनीतिमा होमिएका महतो दोस्रो जनआन्दोलनपछि चारपटक मन्त्री भए । सिंहदरवारमा बसेर मन्त्रालय चलाए । तर, मधेसमा गरिवी, विभेद जस्ता सबै समस्या कायमै छन् । खाली केही नेताहरु मन्त्री बने भन्ने आरोप लाग्ने गरेको छ । तर, महतो यसलाई मान्न तयार छैनन् ।
के फरक छ भन्ने प्रश्नमा उनले भने, पहिले त के थियो भने डर त्रास हुन्थ्यो । कुनै कार्यालयमा वा कतै जाँदा हिम्मत हारेको जस्तो देखिन्थ्यो । अपनत्व पाउँदैनथ्यो । अहिले त्यो हटेको छ ।
अहिले जहाँ गए पनि संख्या कमै भए पनि त्यो हटेको छ । मधेसी पनि नेपाली हो भन्ने पहिचान पाएको छ । मधेसीलाई हेप्यो भने मधेसीले पनि हेप्छ, मान्दैन भन्ने भएको छ । पहिलो जनआन्दोलनले यो स्थापित गर्‍यो । मधेसीलाई शासक वर्गले स्वीकार गर्‍यो । नागरिकता समस्या हल भएको छ ।
फेरि काठमाडौंसँग ‘हेट’
चारपटक मन्त्री भएपछि महतोको काठमाडौंसँगको दुरी पछिल्लोपटक फेरि बढ्यो । दानापानी बन्छ गर्छु भन्दै उनी मधेस झरे । काठमाडौंमा उनका घरमा केहीले ढुंगा हान्न खोजे ।
महतो भन्छन्, ‘योपालि म पेलेर संघर्षमा उत्रिएँ । साराले दुश्मनका रुपमा बुझे काठमाडौंमा मलाई ।’
महतोका अनुसार नाकाबन्दी गर्नुको उद्देश्य थियो, सरकारलाई झुकाउने । जनतालाई पीडा भएपछि सरकारलाई दबाब पर्छ र चाँडै हामीसँग वार्ता गर्छ भन्ने थियो । महतो भन्छन्, ‘तर, नालायक सरकारले खोक्रो राष्ट्रवादको नारा लगाइदियो । जनताले पनि सरकारलाई गाली गर्नुको साटो हाम्रो दानापानी बन्द गर्‍यो भनेर आन्दोलनकारीलाई गाली गर्न थाले । भो अब ..!
आफूलाई धेरै गाली गर्नुको कारण पनि महतो आफैं भन्छन्-‘मैले मानसिकतामा त प्रहार गर्छु नि ।’ ‘खसवादी मानसिकता’बाट पे्ररित भएर केही मान्छेले सामाजिक सञ्जालहरुमा गाली गरेको भन्दै महतोले सबै पहाडिया र खसहरुलाई खराब भन्न नमिल्ने प्रष्ट्याए ।
फेरि काठमाडौं आगमन
काठमाडौंसँग चिसिएको महतोको सम्बन्ध माघको जाडो सकिने क्रमसँगै फेरि न्यानो बन्न थाल्यो । महतोले एकाएक नाकाबन्दी खोल्ने घोषणा गरे, त्यसको भोलिपल्टै नाकाबन्दी खुल्यो ।
उनले बालुवाटार पुगेर केपी ओलीसँग भेट गरे । जहाँ ओलीले महतोसँग हिन्दीमा कुरा गरे । शब्दकोष निकालेर आफूले यसअघि लिएका अभिव्यक्तिको अर्थ लगाउँदै महतोसँग ओलीले नजिक हुने प्रयास गरे । त्यसलगत्तै महतोले लाजिम्पाट पुगेर प्रचण्डसँग भेट गरे ।
महतो बालुवाटार गएकोमा मोर्चाका केही नेताहरुले उनको निकै रीस पनि गरे । महतोलाई काठमाडौंले गाली गथ्र्यो, एकाएक मोर्चाका नेताहरुले गाली गर्न थाले ।
तर, महतो आफू ठीक ठाउँमा रहेछु भन्ने प्रमाणित भएको दाबी गर्छन् । ‘नाकाबन्दी खोल्ने काममा त मैले नै बोलेँ नि’  उनले अनलाइनखबरसँग भने- जसमाथि सबैभन्दा ठूलो आक्रमण भएको थियो, उही व्यक्ति बोल्यो ।
किनभने जुन प्रयोजनका लागि नाकाबन्दी गरिएको थियो, त्यो प्रयोजनहीन भयो । सरकारलाई दबाव भएन, जनताले मात्र दुःख पाए ।’ महतोले अघि भने, ‘मेरो कुनै दुषित मानसिकता थिएन ।’
- See more at: http://www.onlinekhabar.com/2016/02/388265/#sthash.uA8cp1jz.dpuf

मोर्चाका नेताका व्यवहारले व्यापारी घर न घाटको बन्दै व्यापारीहरुमा मानसिक समस्या बढदै

मोर्चाका नेताका व्यवहारले व्यापारी घर न घाटको बन्दै
व्यापारीहरुमा मानसिक समस्या बढदै

महोत्तरी समाचारदाता
जलेश्वर, माघ २९ गते । संयुक्त मधेशी मोर्चाले विगत ६ महिना लामो वन्दी फिर्ता लिएपनि आन्दोलनको क्रममा गरेको वाचा वमोजिम काम नगरेपछि मधेशकै व्यापारीहरु मोर्चाको कार्यशैली प्रति आक्रोशित हुँदै गएका छन् ।

व्यापारीहरुले मोर्चाका नेताहरुको करनी र कथनीमा फरक परेको कारणले आफुहरु मानसिक पिडाबाट गु्रजदै गएको वताएका छन् । उनीहरुले मोर्चाले चाँडै नै यो समस्याको हल निकाले मधेशमा यसको प्रतिकुल प्रभाव पर्न सक्ने चेतावनी दिएका छन् ।

मोर्चाका नेताहरुले आन्दोलनकै क्रममा व्यापारीहरुको घरभाडा, विभिन्न कार्यालयहरुको महसुलमा छुट, ऋणमा सहुलियत, विद्यालयमा विद्यार्थीको शुल्क छुट गराउने वचनवद्धता जनाएपनि वन्द फिर्ता लिएपनि यसप्रति ध्यान नदिएको व्यापारीहरुको गुनासो रहेको छ ।

आफुहरुले सम्पूर्ण व्यापार नै चौपट हुने गरी मोर्चाको वन्दलाई सघाएपनि मोर्चाको अहिलेको व्यवहारले आफुहरुलाई घर न घाटको बनाएको आरोप स्थानीय व्यापारीहरुको रहेको छ ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको दुर्गाचोकमा स्टुडियो, फोटोकाँपी, सहितका सानो पसल स्थापना गर्नुभएका युवा लक्ष्मीकुमार साह ‘पप्पु’ले भन्नुभयो, ‘६ महिनाको वन्दमा एक सुको कमाई भएन, खर्च भने धान्नै मुस्किल गरी बढेको छ, कसरी तिरुँला यति रकम भन्ने पिरले सताउँदै गएको छ ।’

‘एकातर्फ घर खर्चसहित पसलको घरवहाल तिर्नुपर्ने, अर्को तर्फ विजुलीसहितको महसुल तिर्नुपर्ने छ । कहाँबाट यति रकम ल्याएर तिर्ने भन्ने पिरले रातभरि निँद्रा नै लाग्दैन्’ युवा पप्पुको कथन थियो । उहाँले अहिले त सरकारी महसुलमा जरिवाना समेत तिर्नुपर्ने भएपछि समस्या भएको जानकारी दिनुभयो ।

मोर्चाले घर भाडा तथा विभिन्न सरकारी कार्यालयको महसुलमा छुट गराउनुपर्नेमा वन्द फिर्ता लिएपछि अहिलेसम्म यस विषयमा केही नबोलेको भन्दै व्यापारीहरु नेताहरुप्रति आक्रोशित हुँदै गएका छन् ।

जिल्लाको सुगाभवानीपट्टी ३ मा कुटाईपिसाईको मिल सञ्चालन गर्दै आउनुभएका रामप्रित दासले एकैचोटी दशहजार भन्दा बढीको विजुलीको महसुल तिर्नुपर्ने बिल आएको छ र जरिवाना समेत २५ प्रतिशतसम्म लाग्ने वताउनुहुदै भन्नुभयो, ‘कार्यालय बन्द भएपछि हामीले कहाँ विल तिर्न जाने ? आखिर मर्ने भनेको हामी साधारण जनता नै हौ ।’ सरकारले पनि यस्ता कुरामा ध्यान दिएर कम्तीमा पनि तिन महिना भित्रमा महसुल वुझाउनुपर्ने र जरिवाना नलाग्ने गरी निर्णय गरीदिए हामीजस्ताहरुको कल्याण हुन्थ्यो उहाँको कथन थियो ।

जलेश्वर उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष दिपुकुमार साहले ६ महिना लामो वन्दको कारणले जलेश्वरको ९० प्रतिशत भन्दा बढी व्यापार र व्यापारी धरासायी भईसकेको बताउनुहुदै समयमैं यो समस्याको निराकरण नगरिए समस्या जटिल हुन सक्ने संकेत समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘व्यापारीहरुले व्यापारमा लगाउने सम्पूर्ण पूँजीहरु आन्दोलनको क्रममा घरखर्चमै चलाईसकेको छ, महाजनको ताकेता शुरु भइसकेको छ, आम्दानी शून्य छ, व्यापारीहरु टेन्सनमै दिनरात काटन विवश छन् ।’

उहाँले सरकारले नै कालोवजारी तथा माफियातन्त्रलाई बढावा दिइरहेको कारणले यस्तो स्थिती आएको बताउनुहुदै मोर्चाको यो कमजोर पक्ष रहेको जानकारी दिनुभयो । आन्दोलनको क्रममा मोर्चाका नेताहरु मोज मात्रै गरेनन् उनीहरुकै रोहवरमा कालोवजारी तथा माफियाहरुले तस्करीको फाईदा लिए तर मारमा भने साधारण व्यापारीहरु परेको उहाँको भनाई थियो ।

उहाँले आन्दोलनको क्रममा मोर्चाका नेताहरुले साधारण व्यापारीहरुसंग खोसेको सामग्रीहरु कहाँ राखेका छन् यसको पनि अहिलेसम्म सार्वजनिक नगरेको बताउनुहुदै उहाँले भन्नुभयो, ‘केही नेताहरुले कमिशनकै लागि भएपनि सामान खोस्ने र कमिशन लिएपछि सामान छोडने गरेका थिए ।

मधेश आन्दोलनको क्रममा सदरमुकाम जलेश्वरमा राहत संकलन र वितरण गरी आन्दोलनलाई थप उचाईमा पु¥याउन सहयोग गर्नुभएका युवा शिवचन्द्र चौधरीले मोर्चाको व्यवहारको कारणले व्यापारीहरुको समस्या दिनानुदिन कष्टमय बन्दै गएको बताउनुभयो ।

उहाँले आम्दानी नभएको कारणले घर भाडा, स्टाप समेतको  सहित विभिन्न महसुल तिर्न नसकेर कतिपय व्यापारीहरु व्यापार छोडन विवश भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जलेश्वरजस्तो सानो व्यापारीक ठाउँमा व्यापारीहरु पलायन हुनु भनेको दुखद छ, यसतर्फ मोर्चाका नेतासहित सरकारले तत्काल ध्यान दिन जरुरी छ ।’

चौधरीले नेता तथा राजनीतिप्रति कटाक्ष गर्नुहुदै भन्नुभयो, ‘राजनीतिक स्तरबाट हुने गरेको वचन नेपालमा पुरा भएको नेपाल स्वर्ग नै बन्थयो ।’ नेपालमा नेताहरुकै व्यवहारको कारणले सर्वसाधारणहरुलाई राजनीतिप्रति वितृष्णा जागेको उहाँको भनाई थियो ।

तर, तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अभिराम शर्माले ऐतिहासिक आन्दोलन अहिले सकिनसकेको जानकारी दिनुहुदै हामीले वाचा गरेका यी कुराहरुलाई चाँडै नै व्यवहारमा गरेर देखाउने वताउनुभयो । उहाँले यस सम्बन्धमा केन्द्रीय नेताहरुसंग छलफल भईरहेको र छिट्टै नै सम्पूर्ण सरकारी कार्यालयहरुमा आफुहरुले गरेको वाचा कार्यान्वयन गर्ने÷गराउने वताउनुभयो ।

कलश यात्रा निकालियो

महोत्तरी समाचारदाता
जलेश्वर, माघ २९ गते । विद्याकी अधिष्ठात्री देवी सरस्वती पुजाको पूर्वसन्ध्यामा महोत्तरी जिल्लाको सुगाभवानीपट्टी स्थित शुक्देव उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुले कलश यात्रा निकालेका छन् ।
विभिन्न झाँकी सहित विद्यार्थीहरुको निस्केको कलश यात्रा गाउँको विभिन्न भागको परिक्रमा गर्दै शुक्देव सरमा पुगेर कलश भरेर पुनः विद्यालयमै फर्केर कलश स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक कृष्णचन्द्र चौधरीले जानकारी दिनुभयो ।







रंगीचंगी कपडामा सजिएका विद्यार्थीहरुले शंख, घण्टी फुक्दै गाउँको परिक्रमा गरेका थिए ।
प्रअ चौधरीले ५१ वटा कलश स्थापना गरिएको जानकारी दिनुहुदै ति कलशहरुलाई विद्यालयको प्राँगनमा रहेको सरस्वती मन्दिरको अगाडीमा स्थापना गरिएको जानकारी दिनुभयो ।

सरस्वतीपुजाको आगमनसंगै विद्यार्थीहरु व्यस्त

सरस्वतीपुजाको आगमनसंगै विद्यार्थीहरु व्यस्त
महोत्तरी समाचारदाता
जलेश्वर, माघ २५ गते । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पुजनोत्सवको आगमनसंगै विद्यार्थीहरु पुजापाठको जोरजाम गर्नमा व्यस्त हुन थालेका छन् ।
विद्यालयहरुले विद्यार्थीको सहयोगमा आ–आफ्नो तरिकाले पुजापाठको तयारी गरिरहेका छन् भने कतिपय विद्यार्थीहरु आ–आफ्ना दौंतरीहरुसंगै मिलेर यसको तयारीमा व्यस्त हुन थालेका हुन् ।
यही मेसोमा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको लक्ष्मी चण्डी मुरारका उच्च माध्यमिक विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्र अमनकुमार साहको पनि सरस्वती पुजाको आगमनसंगै व्यस्तता बढेको छ ।
उहाँले सरस्वती पुजाको आगमनसंगै मूर्ति बनाउने व्यस्तता बढेको जानकारी दिनुहुदै आफु व्यवसायिक रुपमा नभई दौंतरीहरुसंग सामूहिक रुपमा मनाउने सरस्वती पुजाको लागि मूर्ति बनाउन व्यस्त हुनुपरेको बताउनुभयो ।
जलेश्वर नगरपालिकाको वडानं. ३ मा घर भएका विद्यार्थी साह विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पुजनोत्सवको पाँच दिन मात्रै रहेपछि दौंतरीहरुसंगै मनाउने पुजामा मूर्ति बनाउने जिम्मा लिएका कारणले उहाँको व्यस्तता बढेको   हो ।
लचमुमाविका विद्यार्थी अमनकुमार साह पुजाको लागि माता सरस्वतीको प्रतिमामा रंगरोगन गर्नुहुदै

पुजाको समय नजिक आईसकेपछि विहान र विद्यालयपछि फर्केपछि दौंतरीहरुसंग वडानं. ५ मा सामूहिक पुजा गर्नको लागि मूर्ति बनाउने, घाममा सुखाउने, मूर्ति सजाउनेजस्ता काम बाँकी रहेकोले व्यस्तता बढेको बताउनुभयो । उहाँले मूर्तिलाई सजाउनको लागि चाहिने सामग्रीहरुको जोरजाम गर्ने भएकोले पनि व्यस्तता बढेको जानकारी दिनुभयो ।
उहाँले आफ्ना परिवारका कोही पनि सदस्य मूर्ति बनाउने कार्यमा नलागेको बताउनुहुदै आफुले जलेश्वरको दुर्गा चोकमा हरेक वर्ष दशैंमा मूर्ति बनाउने कारिगरहरुले पुजापाठको लागि दुर्गा भगवतीको मूर्ति निर्माण गर्ने गरेको हेरेर प्रयास थालेको बताउनुभयो ।
अहिले पनि आफु मूर्ति बनाउनेमा परिपक्व नभएको बताउनुहुदै दौंतरीहरुको सहयोगमा सबै मिलेर आफै मूर्ति बनाउने, सिंगारपटार गर्ने तथा पुजापाठ गर्ने गरेको बताउनुभयो । उहाँले वर्षमा एकचोटी मात्रै यही पुजाको लागि मूर्ति बनाउने गरेकोले पनि मूर्ति बनाउन आफुमा निखार नआएको बताउनुभयो ।
उहाँले दौतरीहरु उज्जवल साह, सिद्धार्थ साह सहितका एकदर्जन साथीहरु आ–आफ्ना विद्यालयमा मात्रै नभई यहाँ सामूहिक रुपमा पुजापाठ गर्ने बताउनुहुदैं विद्यालय भन्दा यहाँ सामूहिक पुजापाठ गर्न आनन्द लाग्ने गरेको बताउनुभयो ।
मूर्ति बनाउने क्रममा दौंतरीहरुसंग सामूहिक तस्वीर खिचाउँदै

केही वर्षदेखि आफुहरु यही सामूहिक रुपमा पुजापाठ गर्ने गरेको बताउनुहुदै यसपालि पनि ५१ रुपैया चन्दा लगाएर पुजापाठ तथा भोजभतेर गर्ने उनका अर्का साथी सिद्धार्थ साहले बताउनुभयो । उहाँले भन्नुभयो,‘मेरै घरको एउटा कोठामा मूर्ति बनाउने, मूर्ति सजाउने कार्य भईरहेको छ, हामी आ–आफ्ना विद्यालयमा पनि पुजा गछौं तर यहाँ गर्नुको मज्जा नै वेग्लै छ ।’
सिद्धार्थका वुवा दिपुकुमार साह तथा रेणु देवीले पनि सरस्वती पुजाको लागि बालबालिकाको उत्साह हेर्न लायक रहेको बताउनहुुदै यस्ता कार्यबाट बालबालिकामा सामूहिकताको विकास हुने भएकोले सघाईरहेको बताउनुभयो ।
अहिले जिल्लाको विभिन्न गाउँ गाउँमा समेत विद्यार्थीहरु सामूहिक रुपमा विद्यालयसहित दौंतरीहरुसंग मिलेर पुजापाठको जोरजाम शुरु गरेका छन् । सामूहिकरुपमा एकजुट भएर पुजापाठ वा अन्य कार्य गर्दा सामूहिक भावनाको विकास हुने र सकारात्मक सोचाई बढने भएकोले अभिभावकहरुले यस्तो कार्य गर्न बालबालिकाहरुलाई प्रोत्साहन दिनुपर्ने वुझाई पूर्व शिक्षा अधिकारी कृष्णचन्द्र झाको रहेको छ । उहाँले विभिन्न कारणहरुले गर्दा अहिलेका बालबालिकाहरुले एक्लिँदै गईरहेको अवस्थामा यस्तो कार्यले यसमा सुधार ल्याउन सकिने तर्क राख्नुभयो ।

फोटो ः नागेन्द्रकुमार कर्ण÷महोत्तरी

काँग्रेसको जिल्ला अधिवेशन सोमबार नहुने पक्का

काँग्रेसको जिल्ला अधिवेशन सोमबार नहुने पक्का
महोत्तरी समाचारदाता
जलेश्वर, माघ २४ गते । नेपाली काँग्रेस महोत्तरीको आन्तरिक विवादको कारणले माघ २५ गते सोमबार हुने भनिएको १३ औं जिल्ला अधिवेशन नहुने भएको छ ।

नेपाली काँग्रेस महोत्तरीका सहायक निर्वाचन अधिकृत सुशिल यादवले पार्टी भित्रको आन्तरिक विवादको कारणले क्षेत्रिय अधिवेशन नै नभएको हुँदा जिल्ला अधिवेशन सोमबार नहुने बताउनुभयो ।

उहाँले विभिन्न गाविसमा देखिएको विवादले जिल्लाको ६ वटा क्षेत्र मध्ये ५ वटा क्षेत्रमा क्षेत्रिय अधिवेशन नभएको जानकारी दिनुहुदै क्षेत्रिय अधिवेशन नै नभएपछि जिल्ला अधिवेशन कसरी गर्ने ? वताउनुभयो । उहाँले जिल्ला अधिवेशनको मिति भने अहिले नतोकिएको जानकारी दिनुहुदै समस्या समाधान भएपछि सबैलाई जानकारी हुने गरी जिल्ला अधिवेशन गरिने बताउनुभयो ।

जिल्लाको क्षेत्रनं. १,२,३,४ र ६ मा क्षेत्रिय अधिवेशन हुन सकेको छैनन् । क्षेत्र नं. ५ मा उत्तिम यादवलाई सर्वसम्मतीले क्षेत्रिय सभापति बनाईएको छ । जिल्लाको ६८ गाविस र तिन नगरपालिकामध्ये दुईवटा नगरपालिकामा सर्वसम्मतीले समिति चयन गरिएपनि बर्दिबास नगरपालिकामा हुन सकेको छैन् ।

सहायक निर्वाचन अधिकृत यादवले बर्दिबास नगरपालिकामा सम्भवतः आज (आईतबार) साँझ सम्म परिणाम आउने वताउनुहुदै जलेश्वर नगरपालिकामा अशोक साह तथा गौशाला नगरपालिकामा विरेन्द्र चौधरी सर्वसम्मतीले चयन गरिसकिएको जानकारी दिनुभयो ।

नेपाली काँग्रेस महोत्तरीका सुचना अधिकारी जयकुमार चौधरीले क्षेत्रनं. ३ को सुगा, बनौली, एकरहिया, पिगौना, परिकौलीमा विवाद देखिएको जानकारी दिनुहुदै क्षेत्रिय अधिवेशन चाँडै गर्नमा नेताहरु लागिपरेको बताउनुभयो ।

उहाँले विवादित रहेका क्षेत्रहरुमा नेताहरुले सहमतीको प्रयास गरिरहेको जानकारी दिनुहुदै केही दिनभित्रै क्षेत्रिय अधिवेशन गरी जिल्ला अधिवेशन गरिने जानकारी दिनुभयो ।

त्यसैगरी क्षेत्रनं. २ का नेपाली काँग्रेसका सभासद किरण यादवले हामीले क्षेत्रिय अधिवेशनमा प्रवेश गरिसकेको जानकारी दिनुहुदैं सहमतिको प्रयास भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आकाँक्षी धेरै छन्, कुनै साथी नछुटोस् भन्ने हेतुले सहमतिको कारण लम्बिएको हो, सोमबार सम्ममा नतिजा आउन सक्छ ।’ उहाँले सोमबार सम्म पनि सहमति नभए हामीले त्यसपछि निर्वाचन प्रक्रियामा जाने जानकारी दिनुहुदै क्षेत्रनं. २ को गाउँ ईकाईमा कुनै विवाद नरहेको बताउनुभयो ।

जिल्लाको कतिपय गाउँमा संयुक्त मधेशी मोर्चाको डरले अधिवेशन हुन सकेको छैन् भने कतिपय गाउँमा भने कागजमैं अधिवेशन गरेपछि विवाद उत्पन्न भएको हो । मोर्चाले अधिवेशन विथोल्ने निर्णय गरेपछि केही सक्रिय कार्यकर्ताहरुले मिलेमतोमा अरुलाई खबर नै नगरी कागजमैं अधिवेशन गरेपछि गाउँहरुमा विवाद उत्पन्न भएको हो ।

सहायक निर्वाचन अधिकृत यादवले अधिवेशनसम्बन्धी आएको उजुरीको छानविन भईरहेको जानकारी दिनहुदैं आईतबार साँझसम्म ति गाविसहरुमा पुनः निर्वाचन गर्ने कि नगर्ने विषयमा निर्णय गरिने बताउनुभयो ।

उहाँले जिल्ला अधिवेशन पनि मोर्चाको निर्णयको कारणले सदरमुकाममा गर्ने कि राजमार्गमा रहेको बर्दिबास नगरपालिकामा गर्ने अहिले निर्णय भई नसकेको बताउनुभयो । उहाँले प्रशासनले सुरक्षाको प्रत्याभूति दिए सदरमुकाममा गर्ने अन्यथा बर्दिबासमा गर्ने दावी गर्नुभयो ।

नेपाली सेनाद्वारा स्वास्थ्य शिविर, विभिन्न कार्यालयले पनि दिए सेवा

नेपाली सेनाद्वारा स्वास्थ्य शिविर, विभिन्न कार्यालयले पनि दिए सेवा
महोत्तरी समाचारदाता
जलेश्वर, माघ २३ गते । महोत्तरी जिल्लाको परिकौलीस्थित फस्ट राईफल गणद्वारा जिल्लाको धिरापुर गाविसमा शनिबार स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
धिरापुर गाविसको वडानं. ८ सिरसियामा रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा गरिएको सो स्वास्थ्य शिविरमा जिल्लाका विभिन्न कार्यालयहरुले पनि आ–आफ्नो सेवा प्रदान गरेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी किरण थापा विद्यार्थीहरुलाई काँपी, सिसाकलम, इरेजर लगायतका सामग्रीहरु वितरण गर्नुहुदैं ।

परिकौलीमा रहेको फस्ट राईफल गणका गणपति युवधिरमान सिंह अधिकारीले नेपाली सेनाको नियमित रुटिन वर्क अनुसार नै जनता र सेनाको बीचमा सम्बन्ध स्थापित गर्नको लागि स्वास्थ्य शिविर आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले शिविरमा पुरुष भन्दा महिलाको उपस्थिती ज्यादै देखिएको प्रति खुशी व्यक्त गर्नुहुदै गाउँघरमा स्वास्थ्यको समस्या जटिल रहेको दावी गर्नुभयो ।
उहाँले नेपाली सेनाकै नेतृत्वमा स्वास्थ्य शिविर आयोजना भएपनि प्रशासन कार्यालयको समन्वयमा विभिन्न कार्यालयहरुले पनि आ–आफ्नो सेवा प्रदान गरेको जानकारी दिनुभयो ।
सो स्वास्थ्य शिविरमा गाईनो, आँखा, हाडजोर्नी सहित जेनरल स्वास्थ्य जाँचको व्यवस्था गरिएको थियो । जिल्ला जनस्वास्थ्यका चिकित्सक, सेनाका चिकित्सक, आँखा अस्पतालका चिकित्सकहरुले सो शिविरमा सेवा प्रदान गर्नुभएको थियो । शिविरमा निशुल्क औषधी समेत वितरण गरिएको गणपति अधिकारीले जानकारी दिनुभयो ।
स्वास्थय शिविरमा जचाँउनका लागि आएका स्थानीयहरु लाममा

सोही शिविरमा उपस्थित हुनुभएका सिन्धुली स्थित गणका सहायक वाहिनीपती हरेन्द्र पाठकले अहिले गाउँघरमा राज्यको उपस्थिती न्यून देखिएको तथा स्वास्थ्यको पहुँच भन्दा ग्रामिण भेगका जनताहरु टाढा रहेको मध्यनजर गर्दै गाउँमा स्वास्थ्य शिविर आयोजना गरिएको जानकारी दिनुभयो ।
स्वास्थ्य शिविरकै क्रममा फस्ट राईफल गणले सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई काँपी, सिसाकलम, इरेजर लगायतका सामग्री वितरण गर्नुका साथै विद्यालयलाई तिनवटा फुटबल प्रदान गरेका थिए । सो सामग्री सहायक वाहिनीपति हरेन्द्र पाठक, गणपति युवधिरमान सिंह अधिकारी, निमित्त प्रमुख जिल्ला अधिकारी किरण थापा लगायतकाले वितरण गर्नुभएको थियो ।
स्वास्थ्य शिविरकै क्रममा जिल्ला निर्वाचन कार्यालयले फोटोसहितको मतदाता नामावली संकलन, जिल्ला कृषि विकास कार्यालयले विभिन्न तरकारीहरुको विउ वितरण तथा गाविस सचिव राजेशकुमार शर्माले पनि स्थानीयबासीहरुलाई सेवा प्रदान गर्नुभएको थियो ।
विगत ६ महिनादेखिको वन्दले सरकारी कार्यालयहरुले सेवा बन्द गरेको अवस्थामा गाउँमै पुगेर सेवा दिनुले गाउँलेहरु उत्साहित भएका थिए ।

ग्याँस र पेट्रोलमा कालाबजारी शुरु

ग्याँस र पेट्रोलमा कालाबजारी शुरु
महोत्तरी समाचारदाता
जलेश्वर, माघ २० गते । लामो बन्दको कारणले ग्याँस र पेट्रोलियम पदार्थ पाउन नसकेका महोत्तरीबासीहरु अहिले खुलेपछि पनि ति सामग्रीहरु पाउन सकेका छैनन् । व्यापारीहरुले पसलमा आएका ग्याँस तथा पेट्रोलियम पदार्थ नरहेको भन्दै कालोबजारी गर्ने गरेको स्थानीयहरुको गुनासो छ ।

महोत्तरीको सदरमुकाम जलेश्वरसहित विभिन्न बजारहरुमा यि सामग्रीहरुको आयात भएपनि पसलेहरुले कालोबजारी गर्नको लागि नभएको भन्दै आएका छन् । दुई दिन अगाडी मात्रै महोत्तरीमा करिब एकदर्जन डिजल, पेट्रोल बोकेको ट्याँकरहरु भारतीय भिठामोड भन्सार हुँदै जलेश्वर आएका थिए ।

जलेश्वर नगरपालिका वडानं. ५ का स्थायी वासिन्दा तथा उद्योग वाणिज्य संघ जलेश्वरका प्रथम उपाध्यक्ष दिपुकुमार साहले पेट्रोलियम पदार्थ तथा ग्याँसमा अहिले कालोबजारी शुरु भएको जानकारी दिनुभयो ।

उहाँले कालोवजारी गर्ने व्यापारीहरुलाई प्रशासनले अनुगमन गरी कारवाही गर्नुपर्ने धारणा राख्नुभयो । यद्यपी उहाँले प्रशासनकै मिलेमतोमा कालोबजारी भइरहेको आरोप समेत लगाउनुभयो ।

करिब ५ महिना भन्दा बढी समयदेखि वन्द रहँदै आएको कारण ग्याँस पाउन नसकेका उपभोक्ताहरु मध्ये केहीले वुधबार ग्याँस पाएको ग्याँस व्यवसायीहरु बताउँछन् । तर, उनीहरुले क–कसले ग्याँस पाए भन्ने खोलेका छैनन् ।

वुधबार जलेश्वरमा ६०, मटिहानीमा दुईसय १०, सरपल्लोमा ५० र वहेडामा ६० सिलिण्डर कामाख्याँ कम्पनीको ग्यास वितरणको लागि ल्याइएको र वितरण समेत भईसकेको पसलेले जनाएका छन् ।

कामाख्या कम्पनीका डिलर रहेका जलेश्वर स्थित अंशु किराना पसलका प्रबन्धकले करिब तिन सय भन्दा बढी आफ्नो ग्याँस कम्पनीको ग्राहक रहेको जानकारी दिनुहुदै ग्याँस कममात्रामा आएको र वितरण पनि गरिएको बताउनुभयो । उहाँले आफ्नो कम्पनी बाहेकका अरुलाई ग्याँस दिन नसकिने बताउनुहुदै कालोबजारी गरिएको आरोपको खण्डन गर्नुभयो ।

लामो अवधी पश्चात आएको ग्याँस वितरण गर्ने वेला प्रशासनको उपस्थिति नहुनाले समेत ग्याँस वितरण प्रकृया पारदर्शी हुन नसकेकोले व्यापारीहरुले आफुखुशी बाँडेको ग्याँस लिन आएपनि रित्तो हात फर्केका उपभोक्ताहरुको गुनासो छ ।

मटिहानीमा नारायणी कम्पनीका ग्याँस डिलर रहेका एक व्यापारीलाई कामाख्या कम्पनीको ग्याँस दिईनुले पनि कालोबजारीलाई नै बढावा दिइएको हुन सक्ने अड्कल स्थानीयहरुको रहेको छ ।

स्थानीयबासीहरुले जनजीवन सामान्य हुन थालेपनि ग्याँस र पेट्रोलियम पदार्थमा कालोबजारी हुनु राम्रो नभएको भन्दै प्रशासनलाई अनुगमन गर्न आग्रह गरेको छ ।

सरकारी कार्यालयहरु खुल्न सकेनन्, करोडौं राजश्व गुम्दै

सरकारी कार्यालयहरु खुल्न सकेनन्, करोडौं राजश्व गुम्दै
महोत्तरी समाचारदाता
जलेश्वर, माघ २३ गते । संयुक्त मधेशी मोर्चाको वन्द पश्चात महोत्तरीको जनजीवन सामान्य हुन थालेपनि राजश्व उठाउने मुख्य सरकारी कार्यालयहरु अहिले पनि खुल्न सकेका छैनन् ।
जिल्लाको सदरमुकाम जलेश्वरमा रहेका अधिकाँश सरकारी कार्यालयहरु मोर्चाको वन्दले भदौं महिनादेखि नै पूर्णतः बन्द छन् । अहिले सदरमुकाम जलेश्वरको बजार, यातायात, राष्ट्रिय वाणिज्य बैंक सहितका कार्यालयहरु सुचारु भएपनि आधा दर्जन भन्दा बढी कार्यालयहरु अहिलेसम्म बन्द रहेका छन् ।
सदरमुकाम जलेश्वरमा रहेका मालपोत कार्यालय, नापी शाखा कार्यालय, भूमिसुधार कार्यालय, शिक्षा कार्यालय, जिल्ला विकास समिति, महिला विकास कार्यालय लगायतका विभिन्न कार्यालयहरु अहिलेसम्म खुल्न सकेका छैनन् । कार्यालयका कर्मचारीहरु बन्द फिर्ता नभएसम्म कार्यालय खोल्न नसकिने प्रतिक्रिया दिएका छन् ।
संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुले वन्दको क्रममा जिविस, शिक्षा कार्यालय, महिला विकास कार्यालय लगायतमा तोडफोड गरेका कारणले कर्मचारीहरु कार्यालय खोल्न डराईरहेका छन् ।
वार्षिक करोडौं रुपैया राजश्व उठाउने यी सरकारी कार्यालयहरु विगत छ महिनादेखि बन्द भएपछि सरकारलाई करोडौं राजश्व गुम्दै गएको छ भने स्थानीय जनताहरुको काम पनि पूर्णतः ठप्प छ ।
मालपोत कार्यालय महोत्तरीका निमित्त प्रमुख सुरेन्द्र लाल कर्णले हामीले वार्षिक ५ करोड राजश्व उठाउने लक्ष्य लिएको जानकारी दिनुहुदै भदौ महिनादेखि नै पूर्ण रुपमा कार्यालय बन्द भएका कारणले राजश्व संकलनमा समस्या भएको जानकारी दिनुभयो । उहाँले कार्यालय तथा कर्मचारीको सुरक्षा नभएको कारणले कार्यालय खोल्न नसकिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यस कार्यालयमा दैनिक ३५ देखि ४० लाखसम्मको राजश्व उठने गरेको थियो तर अहिले वन्दले सबै ठप्प छ ।’ दैनिक आएर हाजिरी गर्नु तथा जिल्ला तथा पूनरावेदन अदालतले जग्गा रोक्का र फुकुवा गर्ने गरेको आदेश वाहेकका राजश्व उठाउने सम्बन्धी सबै काम ठप्प रहेको उहाँको कथन थियो ।
मालपोत बन्दले जग्गा रजिष्ट्रेशन पास, अंशवण्डा, छोडपत्र, जग्गा दर्ता फारी, व्यक्तिगत दृष्टिवन्धक, बैंक दृष्टिबन्धक, ठाडो रोक्का, नामसारीसहित विभिन्न किसिमका लिखतका कार्यहरुले राजश्व उठने गरेको थियो । उहाँले हामीले उठाएका राजश्वहरु मध्ये तोकिएको निश्चित प्रतिशत जिल्ला विकास समिति, नगरपालिकालाई दिने गरेकाले राजश्व न्यून उठेपछि ति कार्यालयहरुले गर्ने विकासमा समेत प्रभाव पार्ने वताउनुभयो ।
त्यसैगरी जिल्ला नापी कार्यालयका निमित्त कार्यालय प्रमुख कमलेश लालले आन्दोलन फिर्ता नभएको कारणले कार्यालय नखोलिएको वताउनुहुदै कहिल्ये कार्यालय खुल्ने हो ठेगान नभएको वताउनुभयो । उहाँले नक्सा बनाउने कार्यबाट मात्रै दैनिक १५ देखि २० हजार राजश्व आउने कार्यालयमा ६ महिनादेखिको वन्दले सबै ठप्प रहेको बताउनुभयो । कार्यालय बन्द हुदाँ नक्सासहित फ्लट बुक, फिल्ड बुक, कित्ताकाट लगायतका कार्यहरु बन्द रहेको उहाँको कथन थियो ।
भदौ महिनादेखि नै बन्द भएका कारणले महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेका अधिकाँश कार्यालयका दैनिक कामकाज प्रभावित बनेको हो । जिल्ला प्रशासन कार्यालय बाहेक कुनै पनि सरकारी कार्यालयहरु बन्दमा खुल्न सकेनन् । राष्ट्रिय वाणिज्य बैंक जलेश्वर शाखाले भने विभिन्न पर्व, त्योहारको अवसर पारेर आफ्ना सेवाहरु दिईरहे पनि पुनः पर्वत्योहार सकेपछि बन्द हुने गरेको थियो ।
जिल्ला विकास समिति पनि पूर्णतः छ महिनादेखि बन्द भएपछि विकास, निर्माणको काममा पछाडी परेको छ । कतिपय वजेटहरु फ्रिज हुने अवस्था रहेको कर्मचारीहरु बताउँछन् ।
    कार्यालयहरु कहिल्यैदेखि खुल्ने भन्ने विषयमा निमित्त प्रमुख जिल्ला अधिकारी किरण थापाले सरकारी कार्यालयहरु खुलेकै दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘कुनै पनि कार्यालयहरु बन्द छैनन्, सेवाग्राही कार्यालयमा सेवा लिन नआएको हो ।’
    यसैगरी संयुक्त मधेशी मोर्चाका एक घटक तराई मधेश लोकतान्त्रिक पार्टी महोत्तरीका युवा नेता सुशिल राउतले मोर्चाले वन्द फिर्ता नलिएको जानकारी दिनुहुदै सरकारी कार्यालयमा रहेको अवरोध जारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तत्कालको लागि केही सहज भएपनि आफुहरुको हडताल जारी नै छ, सरकारी कार्यालय खोल्न दिने निर्णय भएको छैन् ।’

काँग्रेस महोत्तरीमा आधादर्जन सभापतिका प्रत्यासी

काँग्रेस महोत्तरीमा आधादर्जन सभापतिका प्रत्यासी
महोत्तरी समाचारदाता
जलेश्वर, माघ १८ गते । नेपाली काँग्रेसको १३ औं महाधिवेशनको क्रममा महोत्तरी जिल्लामा सभापति पदको लागि आधा दर्जनले उम्मेदवारी दिने हल्ला चलेको छ । तर कुनै पनि प्रत्यासीहरु अहिलेसम्म खुलेर आएका छैनन् ।

जिल्लामा सभापति पदका लागि वर्तमान सभापति महेन्द्रकुमार रायसहित बजरंग नेपाली, नागेश्वर यादव, विनोद यादव, ललन राय, मनु अधिकारी लगायतका नाम चर्चामा रहेका छन् । तर कुनै पनि प्रत्यासीहरुले अहिलेसम्म आफु सभापति पदको प्रत्यासी रहेको भन्दै खुलेर आउनुभएको छैन् ।

सभापति पदको प्रत्यासी एक जना नेताले नाम नलेखिदिन भन्दै वर्तमान सभापति महेन्द्रकुमार रायको स्वेच्छाजारी व्यवहार, बैठक नगर्ने परिपाटी लगायतका कारणले उनलाई नलडन आफुहरुले भन्दै आएको बताउनुहुदै आफुहरुको उम्मेदवारी त्यही सेरोफेरोमा रहेको वताउनुभयो । खुलेरै आफु प्रत्यासी भएको भन्न सकिन्छ नि ? भन्ने प्रश्नमा उहाँले क्षेत्रिय महाधिवेशनबाट चुनेर आउने महाधिवेशन प्रतिनिधिले मात्रै सभापति पदमा लडन सक्ने भएकोले अहिले खुलेर नआएको वताउनुभयो ।

नेपाली काँग्रेसको क्षेत्रिय महाधिवेशन माघ २३ गते हुने छ । काँग्रेसका युवा नेता तथा जलेश्वर नगरपालिकाबाट डेलिगेट भएर आउनुभएका प्रवेन्द्र पाठकले अहिले नै प्रत्यासीहरु खुलेर आएभने क्षेत्रिय महाधिवेशनमा गुटबन्दी गरी प्रत्यासीलाई महाधिवेशन प्रतिनिधी पनि बन्न नदिने चलखेल हुने डरले प्रत्यासीहरु बाहिर नआएको जानकारी दिनुभयो ।

उहाँले केन्द्रमा झैं जिल्लामा पनि दुईखेमामा पार्टी विभक्त रहेको बताउनुहुदै क्षेत्रिय अधिवेशन पछि सबैपदका प्रत्यासीहरु सार्वजनिक हुने वताउनुभयो ।

यसैबीच, गाउँ विकास समिति र नगरपालिकाको वडाहरुको निर्वाचन पश्चात कतिपय गाउँहरुमा यसमा विवाद देखिएको छ ।

कुनै पनि गाउँ तथा नगरमा खुलेरै महाधिवेशन नहुँदा कतिपयले आफुखुशी पदाधिकारी चयन गरेको भन्दै असन्तुष्टी जनाउँदै अधिवेशन रोक्न माँग गरेको छ ।

यही क्रममा जिल्लाको सुगाभवानीपट्टीका काँग्रेसी नेता सुरेन्द्र पाण्डेयले एक विज्ञप्ति जारी गर्नुहुदै गाउँ इकाई सििमतको महाधिवेशन केही व्यक्तिले आफुखुशी केही भाई,भारदारहरुलाई राखेर गरेकोप्रति असन्तुष्टि जनाउनुुहुदै अधिवेशन रोकी पुनः हुनुपर्ने माँग गर्नुभएको छ ।

उहाँले बाहिरी क्रियाशील सदस्यहरुको जाली सहिछाप गराई गाउँमा पदाधिकारी छनौट गरिएको जानकारी दिनुहुदै पार्टीलाई समेत यो जानकारी गराईसकिएको बताउनुभयो ।

संयुक्त मधेशी मोर्चाले महाधिवेशन विथोल्ने निर्णय गरेको कारणले जिल्लाको हरेक गाउँमा लुकेर महाधिवेशन गरिएको छ । क्षेत्रिय अधिवेशन तथा जिल्ला अधिवेशन कहाँ हुने भन्ने बारेमा अहिले सबैको चासोको विषय बनेको छ । यद्यपी नेपाली काँग्रेस महोत्तरीले बर्दिबासमा सम्पर्क कार्यालय स्थापना गरिसकेकोले पनि जिल्ला अधिवेशन बर्दिबासमा हुनसक्ने अड्कल काटिएको छ ।

स्वरोजगारले दाम र माम दुवै मिल्छ

स्वरोजगारले दाम र माम दुवै मिल्छ
महोत्तरी समाचारदाता
जलेश्वर, माघ १८ गते । वैदेशिक रोजगारीमा हाड घोटेर मेहनत गदैं कमाउनुभन्दा आफ्नै गाउँ ठाउँमा कुनै स्वरोजगार गरिए माम र दाम दुबै मिल्ने सन्देश जलेश्वरका युवा बिट्टुकुमार महतोले दिईराख्नुभएको छ ।

केही वर्ष पहिला काठमाण्डौंमा आफ्नै काकासंगै काम गदै आउनुभएका बिट्टु भुकम्प पश्चात जलेश्वर आउनुभएर पानीपुरी र मम वेच्दै आउनुभएको छ । सदरमुकाम जलेश्वरको मुटु मानिने दुर्गाचोकमा एउटा ठेलामा उहाँ दैनिक पानीपुरी र मम वेचेर परिवारको गुजारा गरिराख्नुभएको छ ।

हरेक दिन करिब २ बजेतिर चोकमा ठेला लगाएर पानीपुरी र मम वेचेर गुजारा गर्नुहुने उहाँले नाकावन्दी तथा वन्दको मार आफुहरुलाई समेत परेको बताउनुभयो । वन्दको कारणले ग्राहक नआउने तथा नाकावन्दीको कारणले पानीपुरी र मम बनाउने सामग्रीहरु महँगिएकोले समस्या भएको उहाँको कथन थियो ।

जलेश्वर नगरपालिका वडानं. ४ कै स्थायी वासिन्दा बिट्टुले यो कामले दैनिक करिब दुईहजारसम्मको कमाई हुने जानकारी दिनुहुदै अहिलेको कमाईको वचत ऋण तिर्नमै गईरहेको बताउनुभयो ।

उहाँले क्यान्सर लागेर वित्नुभएका वुवा श्यामकुमार मण्डलको उपचारको लागि लिईएको ऋण तिर्नमै अहिलेको कमाई गईरहेको जानकारी दिनुहुदै यो वर्षपछि आफुहरुको सपना पुरा गर्न सकिने विश्वास रहेको बताउनुभयो । राम्रो घर बनाउने, छोराछोरी जन्माएर राम्रो विद्यालयमा पढाउने, सुखी र आनन्दपूर्वक बस्ने पाउने हरेकको सपना रहेको र आफुहरुको सपना पनि यो भन्दा बढी नभएको उहाँको कथन थियो ।

उहाँको ठेलाको अगाडी साँझसम्म ग्राहकहरुको भिड रहने गरेको देखिन्छ । युवतीहरु पनि ठेला अगाडी पानीपुरीमा झुम्मिरहेका भेटिन्छन् । ठेलाकै अगाडीमा मम खाईरहनुभएका पंकज साहले राम्रो मम र पानीपुरी बनाउने गरेकोले आफु दैनिकको एउटा ग्राहक भएको वताउनुभयो । जलेश्वरमा पानीपुरी र ममको पसलको अभाव रहेको कारण आफु यहाँ आएर पसल थापेको वताउनुहुदै बिट्टुले भुकम्प पश्चात आफु काठमाण्डौ नगएको वताउनुभयो ।

विगत एक दशक भन्दा बढी समयदेखि काठमाण्डौंमा काकाको पसलमा यही काम गर्दै आएको कारणले पनि मम र पानीपुरी राम्रो बनाउने गरेको तथा यही कारणले ग्राहकहरुको बढोत्तरी हुँदै गएको उहाँको ठम्याई छ ।

उहाँले वैदेशिक रोजगारमा जाने युवाहरुलाई यही स्वरोजगार गर्ने हो भने मेहनत पनि कम पर्ने तथा साथीभाई, करकुटुम्ब (आफन्त) तथा परिवारसंगै बसेर राम्रो कमाई गर्न सक्ने सुझाव दिनुभयो । उहाँले वैदेशिक रोजगारमा गएर आएपछि त्यहाँको सिप यहाँ उपयोग गर्न युवाहरुलाई सल्लाह दिनुभयो ।

तिन दाजुभाई मध्ये कान्छो रहेको बिट्टु सबैजना अहिले अलग भइसकेको वताउनुहुदै काठमाण्डौंमै काम गर्दाताका एक पहाडीमूलकी केटीसंग लभ परेको र त्यही केटीलाई अहिले पत्नीको रुपमा भित्रयाएको जानकारी दिनुभयो ।

उहाँले यही कमाईले जीवन राम्ररी गुजारा भइरहेको जानकारी दिनुहुदै ऋण तिरिसकेपछि आफ्ना सपनाहरु पुरा गर्ने वताउनुभयो । उहाँले चाँडै नाकावन्दी तथा वन्द फिर्ता लिनुपर्ने वताउनुहुदै यसको कारणले कमाई न्यून हुन थालेको जानकारी दिनुभयो ।

उहाँले एकहजार पाँच सय पर्ने ग्याँस सिलिण्डरकै अहिले तिनहजार सम्म पाईने गरेको र सहज पनि नपाईने हुनाले समस्या भएको बताउनुहुदै अन्य सामग्रीहरु प्नि महँगिएकोले वन्द चाँडै फिर्ता लिन सम्बन्धित पार्टीसंग आग्रह गर्नुभयो ।

महाभुकम्प एक सम्झना

महाभुकम्प एक सम्झना
नागेन्द्रकुमार कर्ण
महोत्तरी

पेशाले म एक संचारकर्मी हुँ । संचारकर्मी भएपछि हरेक दिन, हरेक क्षण काम गर्नुपर्ने दायित्व हुन्छ । कुनै दिन पनि विदा हुदैन् । तर मेरो लागि भने शनिबार विदाकै दिन जस्तो हुन्छ । त्यही दिन कपडा धुने लगायतका कामहरु गर्ने गरेकोले शनिबार विदा झै मनाउँछु तर त्यो भने हरेक शनिबार सम्भव पनि हुदैन् । हरेक शनिबार भने बिहानै सदरमुकाम जलेश्वर जाने र पत्रिका किनेर दिनभरी घरमा बस्ने गर्छु । शनिबार कुनै विशेष कार्यक्रम बाहेक त्यत्तिकै जलेश्वर वा फिल्डमा जाँदिन् । शनिबारको कान्तिपुर र नागरिक पत्रिका किनेर घरमै पढदै विताउने गरेको हुन्छु । अन्य दिन भने बिहान ११ बजे खाना खाएर सदरमुकाम जलेश्वर लगायत अन्य फिल्डमा जाने गरेको छु ।
नव वर्ष २०७२ को दोस्रो साता अर्थात बैशाख १२ गते शनिबार भएकोले घरमै बसेको थिएँ । गर्मी पनि त्यत्तिकै भएकोले खाना खाएर म सुतेको थिएँ । एक्कासी खाट हल्लिएको महसुस भयो । मेरो खाटसंगै भतिजाको पनि खाट जोडिएकोेले मैले उसैले हल्लाइरहेको भन्दै, यो के गरेको भन्दै उठे । तर मेरो बाहेक कोठामा कोही पनि थिएन । अनि पर्खालहरु र पंखा हल्लिरहेको पाए । त्यसपछि भुकम्प, भुकम्प भन्दै कराएर म अरुको ख्याल नै नगरी बाहिर भागे । घरको दक्षिणपट्टी महेश काकाको घरको अगाडीपट्टी अलिकति जग्ग खाली रहेको छ त्यहाँ परिवारका अरु मानिसहरु पनि जम्मा भएको थियो । त्यही दिन बिहान परेको वर्षाको जमेको पानी उत्तर, दक्षिण गर्दै हल्लिरहेको थियो भने महेश काकाको घरको छतमा रहेको फलामे छठ पनि जोड जोडले हल्लिरहेको थियो । त्यसैगरी काकाकै घरको अगाडीमा रहेको दोस्रो तल्लाको पर्खालमा लगाइएको फलामे बार पनि जोड जोडले हल्लिदै कित्र्तनमा बज्ने गरेको झयाली झै बजिरहेको थियो । सबै जना डराएको मनिस्थितीमा थिए । त्यसपछि मैले आफ्ना घरका सदस्यहरुको खोजी गरे । घरका सदस्यहरु अर्थात दुइटा भाउजु, भतिजा र भतिजीहरु म भन्दा अगाडी नै घरबाट निस्किसकेका थिए । त्यसपछि सबैजना सुरक्षित रहेको महसुस भयो । त्यसपछि पनि लगत्तै ठुलो पराकम्प गएको महसुस भयो । हाम्रा परिवारका सबैजना उभिएर चर्चा परिचर्चा गरिरहेका थियौ । त्यसपछि मैले मोबाइलमा एफएम लगाए तर जलेश्वरबाट प्रसारण हुने एउटा पनि एफएम सुन्न सकिँन सबै बन्द थियो । त्यसपछि सर्च गर्दागर्दै रेडियो नेपाल लाग्यो । रेडियो नेपाल सुनेर कास्की जिल्ला केन्द्रविन्दु रहेको थाहा पाए । केही क्षणपछि घरहरा पनि ढलेको विभिन्न समाचारदाताहरुसंग प्रत्यक्ष प्रसारण गरिरहेको रेडियो नेपालमा सुने । मोबाइलमा इन्टरनेट खोले र अपडेट आएको नआएको खोजे तर कसैले पनि अपडेट नगरेको भेटिएपछि फेसबुक खोले । फेसबुकमा थुप्रै साथीहरुले स्थितीबारे अपडेट गरिरहेका थिए । त्यसपश्चात मैले भुकम्प ठुलै गएको महसुस गदै आफ्नै दायित्व पुरा गर्न निस्किन तयारी थाले । घरका तथा परिवारका मान्छेहरुले यस्तोमा बाहिर नजाने सल्लाह दिएँ तर मैले आफ्नो सुसुचित गर्ने दायित्व पुरा गर्न भन्दै घरबाहिर निस्के । घरबाट निस्केर मैले चोकमा आए । भुकम्प पूर्व दुई दिनसम्म गाउँमा विजुलीको लाइन नआएको तर शनिबार मात्रै आएकोले पनि कसैको मोबाइल चार्ज थिएन भने कसैको फोनै लाग्दैन थियो । कसैको पनि मोबाइल सम्पर्क न भइरहेको समयमा मेरो पोष्टपेड मोबाइल भने राम्ररी काम गरिरहेको थियो । मैले धेरै जनालाई आफन्तसंग कुरा गराइदिए । चोकमा आएपछि भुकम्प आएपछि एकजना गाउँकै महिला बेहोस भएर मरेको खबर पाएँ । खबर पाएर खोजतलाश गरे तर ति महिला बेहोस मात्रै भएको भेटियो । त्यसपछि म र साथी अर्पण कर्ण सदरमुकाम जलेश्वर आयौं । जलेश्वरमा पनि सबै सडकमै थिँए । पराकम्पहरु पटक पटक गइरहेको थियो । त्यसैले पनि सबैजना डराएर बसेका थिँए । जलेश्वर पुगेर एकदुई जना पत्रकारसाथीहरुलाई बोलाए । केही खबर प्राप्त भएको बारे जानकारी लिएँ । भटौलिया लगायतका केही ठाउँमा केही भत्किएको खबर पाँए । त्यसपछि मैले थप जानकारी र पुष्टिको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी लोकेन्द्र श्रेष्ठलाई मोबाइल सम्पर्क गर्दा उहाँले केही ठाउँमा घरहरु भत्किएको तर मानवीय क्षति नभएको जानकारी दिनुभयो । केही क्षण बसेपछि समाचार लेख्नको लागि कम्प्युटरको पसलमा गए तर त्यो बन्द थियो । अन्य पनि पसल बन्द रहेको र पराकम्पहरु पटक पटक आइरहेकोले साथीहरुले घर जान सल्लाह दिए । सो दिन समाचार नै नगरी साँझ घर आए । राति सबेरै खा सो दिन समाचार नै नगरी साँझ घर आए । टिभी, रेडियो नेपाल तथा फेसबुक निरन्तर हेरिरहे र स्थितीबारे अपडेट भइरहे ।  राति सबेरै खाना खाएर घरका सबैसदस्यहरु बाहिर नै खाट लगाएर सुते तर मैले भने आफ्नै कोठामा सुते । राति पनि एकदुईपल्ट आयो तर मैले महसुस नै गर्न सकिँन् । घरका सदस्यहरु उठाउन आउँदा मात्रै चाल पाउँथे । त्यसपछि पनि निरन्तर पराकम्प आइरहयो । अहिले पनि आउने क्रम जारी छ । तर मैले कहिल्ये पनि घर बाहिर भने सुँतिन । किनकी, घर मेरो एकतले मात्रै छ भने घर अगाडी पनि खुला ठाउँ छ त्यस्तै मैले जलेश्वरमा रहेको रेडियो रुद्राक्ष एफएममा एनसेटको भुकम्प सम्बन्धी कार्यक्रम पनि चलाउने गरेकोले मलाई यसबारे थाहा पनि थियो ।
जानकारहरु र वैज्ञानिकहरुले पटक पटक भुकम्प आयो भने काठमाण्डौ उपत्यकामा धेरै क्षति हुने बताउदै आएका थिए । दुई वर्ष अगाडी मात्रै एनसेटले इटहरीमा आयोजना गरेको एक कार्यक्रममा एनसेटका अध्यक्षले सन् २०१५ सम्ममा नेपालमा ठुलो भुइचालो जान सक्ने संकेत गर्नुभएको थियो । उहाँको भनाई सहि सावित भएको छ । तर भुइचालो शनिबार आएकोले पनि धेरै क्षति हुन पाएन भन्न सकिन्छ । सरकारलाई अहिले पनि समय छ । राजधानीमै सबै सुविधा केन्द्रीत गरेर मानिसको ओइरो लगाएर समस्या निम्त्यिाउनुभन्दा केन्द्रीकृत गरेर अन्य ठाउँहरुमा पनि सुविधाहरु उपलब्ध गराउनु जरुरी छ । किनकी, जहाँ विकास हुन्छ, जहाँ अवसर हुन्छ, जहाँ रोजगारी हुन्छ, जहाँ सुविधा हुन्छ मानिस त्यही नै बढी जान्छ । काठमाण्डौ उपत्यका त्यसै पनि जोखिममा छन् । नेपालमा भुइचालोको जोखिममा ११ औं स्थानमा आउँछ । त्यसले पनि बढी रेक्टरस्केलको भुकम्प गयो भने नेपालमा बढी क्षति हुन सक्ने देखिन्छ । यसैले पनि अहिलेदेखि नै पुर्वतयारी गर्नु जरुरी छ ताकि यस्ता विपद्हरुबाट बच्न सकियोस् । किनकी विपद् न त बाजा बजाएर आउँछ न त कसैले भनेर रोकिन्छ । जप, यज्ञ, पुजा, हवन गर्दैमा संकट हट्ने भए नेपालमा कहिल्ये पनि कुनै घटना हुदैन्थ्यो । किनकी यहाँ हरेक दिन पुजा,पाठ, यज्ञ र हवन हुने गरेका छन् । हामीले ति यज्ञ हवन गर्नुभन्दा विपद्बाट बच्ने उपायको खोजी र तत्अनुरुप कार्य गर्नु जरुरी छ । विपद्मा मान्छेले बनाएको भौतिक संरचनाले नै मान्छेलाई मार्ने भएकोले यस किसिमका भौतिक संरचना बनाउनु भन्दा अघि सोच्नु जरुरी छ । सरकारले ल्याएको विभिन्न भवन निर्माण आचारसंहिता लगायतका नीतिको कार्यान्वयन पनि जरुरी छ । त्यसैले पनि सरकार र जनताले यसमा गम्भीर हुनु जरुरी छ । होइन भने विपद्ले यसरी नै विपत्ति न निम्त्याउला भन्न सकिन्न् ।