एक डाँकु थियो, जो साधुको भेषमा बस्थ्यो । ऊ लुटेको धन गरिबलाई बाँड्थ्यो । एकदिन केही व्यापारीको जुलुस डाँकुको बस्तीनजिकैबाट गइरहेको थियो । सबै व्यापारीलाई डाँकुहरूले घेरे । डाँकुहरूको आँखा छल्दै एक व्यापारी रुपैयाँको थैली बोकेर नजिकको झुप्रोमा पस्यो । त्यहाँ उसले एक माला जपिरहेको साधु देख्यो । व्यापारीले त्यो थैली साधुलाई सुरक्षा गरिदिन दियो । साधुले भने कि तिमी निश्चिन्त भए हुन्छ ।
डाँकुहरू गएपछि व्यापारी आफ्नो थैली फिर्ता लिन फेरि झुप्रोमा आयो । त्यहाँ छिरेपछि ऊ आश्चर्यचकित भयो । त्यो साधु त तिनै डाँकुहरूको सरदार रहेछ । त्यसबखत ऊ लुटेको धन डाँकुहरूलाई बाँड्दै रहेछ । व्यापारी निराश भएर त्यहाँबाट फर्किन लाग्यो । त्यसैवेला साधुले ती व्यापारीलाई देख्यो । उसले भन्यो, 'पर्ख, तिमीले आफ्नो रुपैयाँको थैली जहाँ राखेका थियौ, त्यो त्यहीँ जस्ताको तस्तै छ ।'
आफ्नो रुपैयाँ फिर्ता पाएर व्यापारी दंग पर्यो । डाँकुप्रति आभार व्यक्त गर्दै ऊ त्यहाँबाट हिँड्यो । व्यापारी गएपछि त्यहाँ भएका अन्य डाँकुले सरदारलाई सोधे, 'हातमा आएको धन यसरी किन जान दिनुभयो ?'
सरदारले भन्यो, 'व्यापारी मलाई भगवान्को भक्त ठानेर भरोसाका साथ थैली दिएर गएको थियो । त्यही कर्तव्यभावले मैले उसलाई थैली फिर्ता दिएको हुँ ।
कसैको विश्वासलाई तोड्नाले सत्य र इमानदारी सधैँका निम्ति शंकाको घेरामा आउँछ ।