पहिलो रेकडिङ्ग स्टुडियोको स्थापना
महोत्तरी समाचारदाता
जलेश्वर, माघ २० गते । महोत्तरीमा रेकडिङ्ग स्टुडियोको स्थापना भएपछि यस क्षेत्रका कलाकारहरु खुशी भएका छन् ।
महोत्तरी मात्रै नभई धनुषा, सर्लाही, जनकपुर लगायतका क्षेत्रहरुमा रेकडिङ्ग स्टुडियो नभएको कलाकारहरु बताउँछन् । पहिला पहिला कुनै पनि गीत रेकडिङ्ग गराउन भारतको पटना, नयाँ दिल्ली पुग्नुपर्ने वाध्यता रहेको थियो तर अहिले सो समस्या केही हदसम्म भएपनि टरेको छ ।
महोत्तरीको सदरमुकाम जलेश्वरमा पहिलोपल्ट माँ सरस्वती डिजिटल रेकडिङ्ग स्टुडियोको उदघाटन गरिएको छ । प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले उदघाटन गर्नुभएको सो स्टुडियोको स्थापना भएपछि यसक्षेत्रका कलाकारहरु हौसिएका छन् ।
‘रानी छत से निचे आजा’ लगायत दर्जनौ भोजपुरी गीतका गायक लोकेश कुमार सिंहले यसक्षेत्रमैं रेकडिङ्ग स्टुडियोको स्थापना हुुनु गौरबको कुरा भएको वताउनुहुदै नवउदयिमान कलाकार लगायत अन्यान्यलाई समेत अब सहज हुने वताउनुभयो । यसक्षेत्रमै स्टुडियोको स्थापना भएपछि समयसंगै रकमको समेत बचत हुने कलाकारहरुको ठम्याईरहेको छ । गायक सिंहले भन्नुभयो, ‘अब टाढा जाने झन्झट हुँदैन्, पैसाको पनि बचत हुन्छ ’ ।
संचारक्षेत्रसंग आवद्ध हुनुभएका नविनकुमार नवलले यस क्षेत्रका कलाकारिता क्षेत्रलाई अगाडी बढाउन तथा नवउदयिमान कलाकारहरुलाई प्रोत्साहित गर्न स्टुडियो निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले कति रकम लगानी गरिएको भन्दा पनि मैथिली, भोजपुरी लगायतका भाषाहरुको साथै यसक्षेत्रका कलाकारहरुको संर्वद्धन हेतुले स्टुडियो निर्माण गरिएको जानकारी दिनुभयो । प्रजिअ पौडेलले सो स्टुडियोको उदघाटन गर्नुहुदै कलाकारहरुलाई यस प्रति प्रोत्साहित गर्नुपर्ने जानकारी दिनुभएको थियो ।