jibish Mahootari ma ghotala

जिविस महोत्तरीद्वारा राष्ट्रिय सतर्कता केन्द्रको निर्देशन अवज्ञा गर्दै विनाटेन्डर एक करोड ४ लाख रुपैयाँबराबरको विद्युत् सामग्री खरिद गर्ने तयारी
नयाँ पत्रिका
महोत्तरी, १९ माघ 2067
राष्ट्रिय सतर्कता केन्द्रको निर्देशन अवज्ञा गर्दै जिल्ला विकास समिति महोत्तरीले विनाटेन्डर एक करोड ४ लाख रुपैयाँ बराबरको विद्युत् सामग्री खरिद गर्न तयारी गरेको छ । जिविसका कर्मचारी र जिविसमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संयन्त्रको संयुक्त मिलेमतोमा सतर्कता केन्द्रको निर्देशनलाई अवज्ञा गरेर विनाटेन्डर विद्युत् सामग्री खरिद गर्न लागेको हो ।
यसअघि पनि विनाटेन्डर सामग्री खरिद गर्ने तयारी गरेपछि राष्ट्रिय सतर्कता केन्द्रले जिविसलाई टेन्डर आह्वान गरेर मात्रै विद्युत् सामग्री खरिद गर्न निर्देशन दिएको थियो । स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा बसेको दलीय संयन्त्रको बैठकले कांगे्रसका कोषाध्यक्ष जयकुमार चौधरीको संयोजकत्वमा ६ सदस्यीय समितिलाईर् विद्युत् सामग्री खरिद गर्ने जिम्मा दिएको जिविस स्रोतले जनाएको छ ।
संयोजक चौधरी पेसाले ठेकेदार पनि हुन् । उनी लामो समयदेखि ठेकेदारी काममा संलग्न छन् । उनले सो सामान विनाटेन्डर आप\mनै पसलबाट खरिद गराउने तयारी गरेको स्रोतको दाबी छ । निर्माण व्यवसायी संघ महोत्तरीका अध्यक्ष मुनेश्वर चौधरीले कमिसनका लागि नियमविपरीत कोटेसनबाट सामान खरिद गर्न लागेको दाबी गरे ।
चौधरीको संयोजकत्वमा रहेको समितिले विद्युत् विकास विभागबाट विद्युत् रोयल्टीबापत जिविसलाई प्राप्त एक करोड ४ लाख रुपैयाँबाट विद्युत् सामान खरिद गर्न लागेको जिविसका एक कर्मचारीले बताए । जिविस लेखा शाखाका अनुसार सो रकम हाल वैकल्पिक ऊर्जा प्रवर्द्धन इकाइ महोत्तरीलाई पेस्की दिइएको छ ।
सार्वजनिक खरिद नियमावलीमा डेढ लाख रुपैयाँभन्दा बढी १० लाख रुपैयाँसम्मको निर्माण सामग्री खरिद गर्दा कोटेसनबाट गर्नुपर्ने प्रावधान छ । त्यसका लागि पत्रपत्रिकामा कम्तीमा १५ दिने सूचना प्रकाशित गर्नुपर्ने नियम छ । त्यसमाथिको रकमको खरिदका लागि कम्तीमा ३० दिनको म्याद दिएर राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गरेर टेन्डर प्रक्रियामा जानुपर्ने प्रावधान छ । यसअघि केही महिनापहिले सतर्कता केन्द्र छानबिन सुरु गरेपछि बखत जिविसमा रहेका दलीय संयन्त्रले विद्युत् सामग्री खरिद गर्ने प्रक्रिया स्थगित गरेका थिए ।
समितिले जलेश्वर नगरपालिका, हतिसर्वा, भंगहा, मेघनाथगोरहन्ना, रतौली, खुट्टापिपराढी, धमौरा, सिमरदही, मटिहानी, एकरहिया, बथनाहा, प्रकौली, हलखोरी, सिस्वा कटैया, सोनामाई, रघुनाथपुर, लक्ष्मीनिया, गोनरपुरा, बेलगाछी, भरतपुर र महोत्तरी गाविसका लागि नियम उल्लंघन गर्दै विद्युत् सामग्री खरिद गर्ने तयारी गरेका हुन् । ती गाविसमा ६ वटा ट्रान्सफरमर, तार, पोललगायतका सामग्री खरिद गरिनुपर्ने छ ।
विगतमा जिविसले पाउने रोयल्टीबापतको रकम जुनसुकै शीर्षकमा खर्च गरिँदै आए पनि चालू आवमा भने विभागले विद्युतीकरणमै खर्च गर्नुपर्ने निर्देशनसहितको रकम पठाएको थियो । सोहीबमोजिम विद्युतीकरण गर्नुपर्ने प्रत्येक गाविसलाई ३० हजारदेखि ३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।