गाविस सचिव कुटिए ।
महोत्तरी समाचारदाता
जलेश्वर, माघ १९ गते । इलाका स्तरिय योजना तर्जुमा गोष्ठिमा सहभागि हुन गएका महोत्तरीका एक गाविस सचिव कुटिएको छ ।
महोत्तरी जिल्लाको वहेडा प्राविमा बुधबार ९ नं. इलाका स्तरिय गोष्ठिमा सहभागि भई फर्किदै गरेका कोल्हुवा वगेया गाविसका सचिव शत्रुधन मिश्र कुटिएका हुन् । जिल्लाकै सुगाभवानीपट्टीका निवासी सचिव मिश्रलाई स्थानीय केही युवाहरुले माइनेट खोसाखोस गर्दे कुटपिट गरेको वताइएको छ । उनलाई स्थानीय वगेया—३ का रामचरित्र साहको छोरा रामवलि साह, परशुराम महतोको छोरा कामेश्वर महतो, राजेन्द्र साहको छोरा सुरेश साह लगायतले कुटपिट गरेको नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य तथा धिरापुर गाविसका सचिव राजेशकुमार शर्माले जानकारी दिनुभयो । उहाँले कुटपिटबाट सचिव मिश्रको अवस्था गम्भिर रहेको वताउनुभयो । अहिले गाविस सचिव मिश्रको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको छ । उनको टाउको ,मुख र जिउ भरी गम्भीर चोट लागेको उपचारमा संलग्न चिकित्सले बताए ।
यसैबीच कुटपिटमा संलग्नलाई तत्काल पक्राउ गरि कारवाहि गरिनु पर्ने माग जिल्ला स्थित पेशागत संघ संगठनले गरेका छन । उनीहरुले त्यसो नगरिए आफुहरुले कडा भन्दाकडा आन्दोलन गर्ने चेतावनी समेत दिनुभएको छ ।
जिल्ला अस्पतालमा गाविस सचिव मिश्रलाई भेटन पुगेको गाविस सचिव हकहित संरक्षण केन्द्रका मोहन भगत ,नेपाल निजामति कर्मचारी संगठनका राजेश कुमार शर्मा लगायत कर्मचारी युनियन , संघ संगठन लगायतका प्रतिनिधिहरुले यस्तो माँग गरिएका हुन् ।
नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य राजेश शर्माले आफुहरु गाउँमा गाविस अध्यक्ष भएर नजाने वताउनुहुदै गाविस सचिव भएर पठाए मात्रै जाने वताउनुभयो । उहाँले अध्यक्षको कार्यभार समेत सम्हालेका कारण सचिवहरु माथि कुटपिट हुँदै आएको जानकारी दिनुभयो । सचिवहरु गाविसमा नजाने भएपछि जिल्ला विकास समिति महोत्तरीले फागुन १६ गते गर्ने जिल्ला विकास परिषद समेत प्रभावित हुने भएको छ । जिल्लामा सचिव माथिको कुटपिटको घटना बढदै गएको छ ।