जिल्ला शिक्षामा तालावन्दी
महोत्तरी समाचारदाता
जलेश्वर, फागुन २ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर स्थित जिल्ला शिक्षा कार्यालयमा विभिन्न माँग सहित तालावन्दी गरिएको छ ।
खखना लोटना उच्च माध्यमिक विद्यालयमा भइरहेको अनियमितताको माँग सहित सो गाउँका स्थानीयबासीहरुले जिल्ला शिक्षा कार्यालयमा तालावन्दी गरेका हुन् । तालावन्दीका कारण जिशिकाको काम कारवाही अवरुद्ध भएका छन् ।
सो विद्यालयको खाता संचालन गरिनुपर्ने, विद्यालयमा भइरहेको अनियमितताको छानविन गर्नुपर्ने लगायतका माँगहरु गर्दे तालावन्दी गरिएको एक अभिभावकले जानकारी दिनुभयो । उहाँले कार्यालयमा खाता संचालन नभएको कारण विगत ३ महिनादेखि शिक्षक लगायत कर्मचारीहरुले भुक्तानी पाउन नसकेको गुनासो गर्नुहुदै पटक पटक समस्या समाधानको लागि धाए पनि समाधान हुन नसके पछि वाध्य भएर तालावन्दी गरिएको जानकारी दिनुभयो ।
ज्ञातव्य छ पटक पटक सो विद्यालयमा प्रधानाध्यापक बिचको विवाद हुँदै आएको छ भने पटक पटक अभिभावकहरुले शिक्षा कार्यालयमा तालावन्दी तथा धर्ना दिदै आएका छन् ।
जिविस महोत्तरीमा कुटपिट
महोत्तरी समाचारदाता
जलेश्वर, फागुन २ गते । जिल्ला विकास समिति महोत्तरीमा सामाजिक परिचालन तथा सशक्तीकरण तालिमको विषयमा कर्मचारी र संघसंस्थाका पदाधिकारी बिच कुटाकुट भएको छ । कुटाकुट पछि प्रहरीले जिविसका एक कर्मचारीलाई आफ्नो नियन्त्रणमा लिएको जनाएको छ ।
सामाजिक परिचालन तथा सशक्तीकरण तालिमको लागि स्थानीय विकास कोषका केही कर्मचारीको मिलेमतोमा डेढ करोड भन्दा बढीको अनियमितता भएको रहस्य खुलेपछि कर्मचारी र स्थानीयबिच कुटाकुट भएको हो । स्रोतका अनुसार स्थानीय शासन तथा सामुदायिक विकासको ८७ लाख, उपेक्षित उत्पीडित तथा दलित उत्थानको ४ लाख पचास हजार, मधेसी पिछडा वर्ग र मुस्लिम उत्थान कार्यक्रमको ९ लाख गरी कोषको १ करोड ५० हजार रुपैया अनियमतिता भएको हो । जलेश्वर नगरपालिका सहित जिल्लाका ६२ गाविसमा सामाजिक परिचालन तथा सशक्तीकरणबारे चार चार पटक तालिम गरेको, प्रशासनिक खर्च, तथ्याँक संकलन एवं विश्लेषन तथा इन्धन खर्च लगायतमा ९७ लाख, विभिन्न गाउँहरुमा बा्रखा वितरण गरेको, तालिम दिएको लगायतका कार्यहरु कागजमा देखाई अनियमितता गरिएको स्रोतको दावी रहेको छ ।
तत्कालिन स्थानीय विकास अधिकारी हरिलोचन शर्मा, स्थानीय विकास कोषका प्रमुख राजेश पाठक र केही कर्मचारीको मिलेमतोमा तालिम गरेको नक्कली विल भर्पाइ पेस गरेर कोषको रकम अनियमितता गरेको भन्दै केही संघसंस्थाहरुले उजुरी गरेपछि यस्तो रहस्य खुलेको हो । सोही क्रममा कोषका कर्मचारी र केही स्थानीय संघसंस्थाका पदाधिकारीबीच झडप भएको थियो । झडप पश्चात जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरिक्षक दिनेश भण्डारीको कमाण्डमा खटिगएको टोलीले तत्कालै कोषका कर्मचारी बालकृष्ण झालाई नियन्त्रणमा लिएका थिए । उनलाई पछि छानवीनमा राख्ने भन्दै छाडिएको थियो ।
लक्षित वर्गको रकम सो वर्गमा नै खर्च नभएको भन्दै उजुरी परेपछि जिविसले केही दिनपहिला प्रमोद सिंहको नेतृत्वमा ५ सदस्यीय समिति छानविन समिति समेत चयन गरेको थियो ।