सवारी दुर्घटनामा एकको मृत्यु, एक शव वरामद Mahottari

सवारी दुर्घटनामा एकको मृत्यु, एक शव वरामद

 महोत्तरी समाचारदाता
जलेश्वर, साउन १६ गते । महोत्तरी जिल्लाको माइस्थानमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

सर्लाहीको हरिवनबाट सिन्धुली तर्फ गइरहेको बा१०च ५०३८ नम्बरको स्र्कापियो जिप जिल्लाको माइस्थान ३ मा शुक्रबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा परि सर्लाही हरिवन नगरपालिका वडानं. ११ बस्ने वर्ष २६ का देव भुजेलको मृत्यु भएको छ । उनको मृत्यु घटनास्थलमै भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरिक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो । सोही घटनामा परि जीपमा सवार अन्य ११ जना घाइते भएको र उनीहरुको उपचार बर्दिवास स्थित होप अस्पतालमा भइरहेको जनाइएको छ ।

जिपका चालकलाई आवश्यक कारवाहीको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच जिल्लाको सदरमुकाम जलेश्वरमा बिहीबार साँझ वेवारिशे अवस्थामा एक पुरुष व्यक्तिको शव प्रहरीले वरामद गरेको छ ।

नाम, थर, वतन नखुलको अन्दाजी वर्ष ५५ को पुरुष व्यक्तिको शव जलेश्वर नगरपालिका २ स्थित खसी बजारमा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

निलो गंजी र सेतोमा रातो धर्का भएको कट्टु लगाएका कालो वर्ण भएको मधेशी मुलको मानिसको शव खसी बजारको काउन्टर राखिने छाप्रोभित्र कोल्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । कपडामै दिशा, पिसाव गरेको अवस्थामा फेला परेको सो व्यक्तिको मृत्यु विरामीको कारण भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको जनाइएको छ ।